Monday, May 31, 2010

चरित्र

चलचित्रमा खेल्ने कलाकारहरु कथामा जस्तो चरित्रमा हुन्छन् वास्तविक जिवनमा कस्ता होलान भन्ने कोतुहल्ता सवैमा रहन्छ । नकारात्मक चरित्रमा देखिने कलाकारहरु वास्तविक जीवनमा पनि त्यस्तै होउन भन्ने अपेक्षा राखिदैन तर सकारात्मक चरित्रमा आउने कलाकारहरु विषेश गरेर नायक नायिकाहरुको यथार्थ कथा पनि पर्दामा देखिने जस्तो अनुकरणीय होस भनेर धेरैले ठानेका हुन्छन् ।
हामीले गरेको आशा उनीहरुबाट पुरा नै भएको भने हुँदैन । पर्दाको चरित्रभन्दा बेग्लै र उल्टो कथा बोकेका नायकहरु हाम्रो समाजमा छन् । हिन्दी सिनमा माइ नेम इज खान हेरेका दर्शकहरुलाई लाग्दो हो सिनेमाको जस्तो कथा नायक शाहरुख खानको वास्तविक जीवनमा पनि छ या छैन । किन भने धेरैलाई थाहा भएको कुरा के हो भने सो सिनेमामा जस्तै शाहरुखको वास्तविक जीवनमा पनि उनकी श्रीमती हिन्दू नै रहेकी छन् ।
माइ नेम इज खान शाहरुखको पछिल्लो चलचित्र हो । चलचित्रमा पनि उनी वास्तविक जीवनमा जस्तो मुस्लिम युवाकै चरित्रमा छन् । उनले विवाह गर्छन् एकजना हिन्दु युवतीसँग । शाहरुखको वास्तविक जीवन सँगिनी पनि हिन्दु नै हुन् । उनको नाम हो गौरी । माइ नेम इज खानमा एकातर्फ नायिका काजोल देवी देवताको तस्विर अगाडी उभिएर पूजा गर्छिन भने अर्को तर्फ शाहरुख टाउँको रुमालले छोपेर नवाज पढिरहेका हुन्छन् ।
सिनेमाको जस्तो यो दृश्य शाहरुखको घरमा होल या नहोला भन्ने प्रश्न उठ्नु स्वभाविक हो । हिन्दुमा जस्तो खुकुलो पना मुस्लिम धर्ममा छैन भन्ने लाग्नेहरुलाई पुरषप्रधान मुस्लिम सम्प्रदायमा गएकी गौरी शाहरुखकै मुस्लिम मन्त्रमा भिजेकी होलिन भन्ने ठान्नु अस्वभाविक हुँदैन ।
माइ नेम इज खान बन्नुभन्दा धेरैअघि तयार भएको शाहरुखको जीवनसँग जोडिएका भिडियो कथाहरुमा यी सवै कोतुहल्तालाई समेटिएको छ । माइ नेम इज खानमा जस्तो शाहरुखको घरमा पनि हिन्दू देवी देवताहरुको पूजा हुँदो रहेछ । शाहरुखका बच्च्ाहरु गायन्त्री मन्त्र पढ्न पोख्त भएका रहेछन् । उनको घरमा नवाज पनि उत्तिकै श्राद्धाका साथ पढिदो रहेछ ।
गौरी इस्लाममा विलयी भइनकी भन्ने चिन्ता लागे जस्तो शाहरुख पनि हिन्दु नै बनुन भन्ने अपेक्षा गरेको होइन । दुवैले आफ्नो बेग्लै संस्कारलाई कसरी बचाएर राखेका छन् र आपसमा कसरी मिलेर बसेका छन् भन्ने उत्सुकता रहेको थियो । भिडियो कथाले त्यसलाई पुरा गर् यो । जातीय रुपमा असहिसुष्ण बन्दै गरेको नेपाली समाजलाई यो एउटा गतिलो पाठ हुन सक्छ । वास्तविक जीवन पनि पर्दाको जस्तै अनुकरणीय देखाएकोमा शाहरुखलाई धन्यवाद ।

Sunday, May 30, 2010

लिसराको नाममा

उजिर मगर

मयूर टाइम्सकी लिसराको न्वारन गर्ने 'पण्डित' को ब्लग...
०६५ कात्तिक ११ गते हो क्यारे। नागरिक दैनिकलाई एक साथीको नामसारी लिएर काठमाडौं जिल्ला प्रशासनमा दर्ता गरिएको। त्यही साँझ मेसेजको सङ्केत मोबाइलमा बज्यो- 'बधाई छ उजिर, राम्रो नाम दर्ता भएछ 'नागरिक'। मलाई पनि मेरी छोरीको नाम चाहिएको छ। जुराउने तिम्रो जिम्मा।' यसो हेरें- नारायण वाग्लेको मेसेज।
यता हामी नागरिक दैनिकको तयारीमा जुटेका थियौं। उता नारायण दाइहरुले दैनिकीमा अनलाइन सुरु गरिसक्नुभएको थियो। उहाँहरुको उतै चटारो थियो। 'लिसरा राख्नुस दाइ'- मेसेज पठाएँ। 'लिसरा भनेको के हो ?'- प्रश्न आयो मेसेजमार्फत् नै। 'मगर भाषामा फक्रिएको सुन्दर फूल'- मैले उत्तर पठाएँ तत्काल।

'नाम त मन पर्‍यो तर मलाई 'न' बाट चाहिन्छ, सकेसम्म दुई शब्दमा, यो जमनामा लामो नाम उपयुक्त हुँदैन'- थपियो मेसेज। पछि केही दिन शब्द खोजियो, नारायण दाइको छोरीको नाम जुराउन सकिएन। यत्तिकैमा गत चैत २० गते नागरिकन्युजमा चैत २८ गतेदेखि पल्पसा क्याफेका लेखकको मयूर टाइम्स आउने समाचार आयो।

समाचारमा नारायण दाइले 'लिसरा मुख्य पात्र' छिन भनेका रहेछन्। अफिसमा सबैले बधाई दिए। त्यसमा मैले पनि दिएँ। फेरि समाचार पढेर अर्को बधाई दिएँ। कुरा बुझेछन् नारायण दाइले। 'हा...हा... ल उजिर भनेर हात ठ्याप्प पारे, उही चिरपरिचित शैलीमा।'
पराग- 'फूलभित्र हुने सुगन्धी धुलो।' लिसरा मगर भाषा हो। जसको माने 'सुन्दर फक्रिएको फूल हुन्छ।' डा. तीर्थबहादुर श्रेष्ठका अनुसार मयूर 'चराको संसारमा विश्व सुन्दरी मात्र नभई नाचेरसमेत सौन्दर्य प्रदर्शन गर्न सक्ने चरा हो।'
यतिबेला उपन्यास 'मयूर टाइम्स' मा यी दुई पात्रलाई मुख्य बनाइएको छ। लिसरा शब्द बाह्र मगरातमा बोलिने भाषाबाट आएको हो। फेरि लिसरा पुन बनेकी छन्। यसको अर्थ बाह्र मगरातमा पुन मगर प्रायः छैनन्। मधेशबाट जाने कर्मचारीका छोरा-छोरीसँगको सम्बन्ध, लगभग उपन्यासमा मधेशकी पराग यादव उपन्यासका लिसराको जस्तै हुन्छ। पहाडमा कि खस क्षत्री, मगर अनुहारमा काली अनुहारकी पराग मिसिँदा हुने वातावरणको झल्को धेरै पहाडी पाठकलाई अनुभूति हुनेछ।
जनकपुरबाट हिँडेका ओभरसियर मध्य पहाडी कुनै जिल्लामा पुगेको देखिन्छ। पराग बुबासँग त्यहीँ पुगेर एसएलसी सक्छिन्। जुनबेला बालपनमा लिसरा मगर्नीसँगको मितेरी साइनोले उनलाई पहाड झनै रमाइलो लागेको छ। कथा ०६० सालको सेरोफेरोबाट शुरूवात् गरिएको देखिन्छ। मध्य पहाडी क्षेत्रको वातावरण राम्ररी केलाइएको छ। जनआन्दोलन ३ सुरु हुनेबेला पराग काठमाडौंमा झरिसकेकी छन्। लोकतन्त्र आयो। जुन बेला उनका व्वाइफ्रेन्डसँगको केही रोचक सङ्गत। त्यही क्रममा उनी ब्याङ्कमा जागिरे। एकाएक राजधानीबाट जनकपुर मोटरसाइकलमा एक्लै यात्रा गर्ने साहसी पराग।
यतिबेलासम्म लिसरा गुमनाम छिन। पराग घर जाँदाको यात्रा संयोग बनेको छ। परागलाई भौतिक रुपको बाटो बन्द भयो। राजमार्गमा दिनै हुने बन्द। तर, बाटो बन्दले उनको भविष्यको अर्को नयाँ गोरेटो सुरु भएको छ। जो उनले नयाँ संसारमा हाम फालेकी छन्। त्यसपछि लिसरा र परागको काम अघि बढ्छ।
चुरे सकिने, तराई सुरु हुने ठाउँको कल्पना हो मयूरनगर। त्यहीँबाट सुरु भएको छ मयूर टाइम्स। शान्ति प्रक्रियापछि तराईमा देखिएको 'भयतन्त्र'। त्यही नेराघेरामा मोफसलमा पत्रकारिता कसरी गुज्रिरहेको छ भन्ने कथा हो मयूर टाइम्स। पहाडबाट विस्थापित महिमा मिस, फेरि मधेशबाट विस्थापित। महिमा मिसको साडीमा देखिएको बुट्टेदार मयूर, पुतलीप्रति परागको बालपनको सम्बन्ध सुरुदेखि अन्तसम्म।
उपन्यास पढ्नेले तराईमा रहेर मोफसल पत्रकारिता गर्नेले अझै थप अनुभूति सङ्गाल्ने छन्। यतिबेला नेपाल पत्रकार महासङ्घमा रहेका कारण थाहा छ- मधेशको पत्रकारिता कसरी गुज्रिरहेको छ। गत वर्षमात्रै ३ सय १८ जना पत्रकारलाई धम्की आएको थियो। त्यसमध्ये अधिकांश मधेशका थिए। त्यो कुरालाई उपन्यासमा राम्ररी समावेश गरिएको छ। कतिपयले परागलाई उमा सिंहको ठाउँमा राखेर हेरेका छन्। उपन्यासमा त्यो झल्किन्न।
आखाँ चिम्सा, कहिलेकाहीँ झर्किने। लिसरालाई मगर पाराको स्वभाव उपन्यासमा निक्कै झल्काइएको छ। लिसराकी आमा अहिले पहिले जस्तो कर्मचारीलाई महिनावारी खाना खुवाउने पेशा छोडेकी छन्। बुबा बारीमा गान्टे मुला उखल्दैनन्। कतार गए। गर्मीमा उतै देहवसान भयो। लिसरा क्याम्पस पढ्न झरेकी छन्, त्यतै पत्रकार बनिन्।
मयूर चिया पसलकी बूढी आमाको पीडा, सीमा वारपार व्यापार गर्ने समूहको बिगबिगी। खुकुलो सुरक्षा व्यवस्था। प्रहरीलाई राजनीतिक दबाब। छरछिमेकबाटै हुने अपहरण। त्यसलाई गहिरिएर रिपोर्टिङ गर्न नजिक पुग्छिन् पराग। सत्य लेख्छिन् लिसरा। त्यही भएर मयूर टाइम्सको चर्चा छ। तर, अस्वस्थ पत्रकारिता। अर्को डेलीको समाचार लेखाई फरक छ। त्यो प्रकृति हेर्दा कतै वीरगञ्ज वरपरको पत्रकारिता जस्तो देखिन्छ।
मधेशमा कसरी पत्रकारिता गर्ने एउटा साहस दिन्छ मयूर टाइम्सले। तर, व्यवहारमा कसरी जाने, त्यसले के असर पार्छ, उपन्यास बोल्दैन। पराग साहस गरेर घटनाको गहिर्‍याइमा पुग्छिन्, कुरा मनमै रहन्छ, मयूर टाइम्समा आउँदैन। यसमा जवाफ 'सम्बन्धित परिवारको सुरक्षाका कारण' हुनेछ। पत्रकारितामा सबैभन्दा डरलाग्दो 'सेल्फ सेन्सरसीप' हो। पराग त्यसको पात्र बनेकी छन्। हुन त पराग अपहरणमा पर्छिन्। पत्रकारिताबाट हात झिक्दिनन्। त्यो सुखद् पक्ष हो।......
मोफसलका पत्रकार कति लापरबाही गर्छन् भन्ने उदाहरण मयूर टाइम्सको शीर्षकमा देखिएको कमजोरी छापा माध्यमका पत्रकारलाई राम्ररी थाहा छ। जुन कुरा कहिलेकाहीँ 'जोक' हुने गर्छ। कहिलेकाहीँ मोफसलमा पत्रकारबीच हुने जोक छ- भूत स्रोतका अनुसार, त्यहाँ मान्छेलाई तर्साउँछ।नेपालको भूगोल अलि धेरै चाहरेकालाई रिङ्ग्याउँछ मयूर टाइम्सले। लिसरा मध्य पहाडकी हुन भन्नेमा शङ्का छैन। उनी एक्कासि तराईछेउ अर्थात् जनकपुर पुग्ने ४ घन्टावर कसरी आइपुगी मयूरनगर ? लिसराको गाउँमा स्ट्रबेरी हुँदैन। स्ट्रबेरी नुवाकोट वरपर बढी हुन्छ। यसले एक्कासि झसङ्ग बनाउँछ।

परागको गाउँ पुग्न ४ घन्टावर हेटौंडा र वीरगञ्ज वरपर झल्काउँछ। मयूर चिया पसल्नी बूढी यतै मकवानपुरका डाँडाबाट बसाई झरेको भान हुन्छ। एकाएक अहिले जातिवादी नारा घन्किरहेका बेला पत्रकारिता कसरी गर्ने भन्ने प्रश्न मयूर टाइम्सले गम्भीर रूपमा उठाएको छ।
र, अन्तमा लिसरा र परागको पत्रकारिता निरन्तर रहनेछ। मयूरनगर विस्तारै सदभावको नगर भनेर चिनिनेछ। पराग र लिसराको सम्बन्ध सधै उस्तै होस्। नारायण वाग्लेको उपन्यासकी छोरी लिसरा, नाम मैले न्वारन गरिदिएँ। पराग र लिसरा धन्य पत्रकारिता गरिरहू। नारायण दाइले भनेका छन्- प्रिय उजिरलाई लिसराको नाम मेरी छोरीलाई दिन चाह्यौ, मैले पुस्तककी एक मुख्य पात्रको न्वारन गर्न पाएँ, धन्यवादसहित।' नारा..ले २९। १२। २०६६।

Saturday, May 29, 2010

अक्षर विरुद्ध आगो

एकीकृत नेकपा माओवादी चितवनका इन्चार्ज अनिल शर्मा आफै पनि लेखक हुन् । उनले लेखेका सवै कुरा बहुसंख्यक समुदायको हितका लागि हो भन्ने उनलाई लाग्न सक्छ । उनले लेखेको मन नपराउने पनि प्रसस्तै हुन सक्छन् । मन परेन भनेर उनका अक्षरहरुलाई आगो लगाउने काम भयो भने उनको चित्तले के भन्ला अक्षरको मर्म बुझेका जो कोही पनि अक्षरमा आगो लगाउन अग्रसर हुँदैन । अक्षरको अस्तित्व त्यसरी नामेट पार्न सकिन्न भन्ने उसले बुझेको हुन्छ । तर तिनै अनिलले सल्काए अक्षरका विरुद्ध आगो ।
भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक रहस्यमय ढंगले सम्पर्क बिहिन भएपछि अनेक अड्कलहरु चल्न थाले । दिन बिते हप्ता बिते डा.भक्तमान कहाँ छन् कस्तो अवस्थामा छन् के भएर यसरी सम्पर्क बिहिन भएका हुन् भन्ने कुराहरु रहस्यमै रहन थाले । यस्तो अवस्थामा बारको नागरिकले भक्तमान मओावदीको कब्जामा भन्ने समाचार छाप्यो । कब्जामा लिनु पर्ने कारणहरु पनि समाचारमा उल्लेख थिए ।
एकीकृत नेकपा माओवादी का सह सेक्रेटरी ओवनाथ पाण्डेले फोन गरेर भने मसँग असन्तुष्ट प्रकट गरे समारचार भ्रामक हो । यस्तो समाचार छापेकाले पत्रिका जलाउने निर्णय भएको उनले सुनाए । पाण्डे र म कुनै बेलाका सहपाठी पनि हौं । उनलाई मैले भने समाचारको असन्तुष्टि यसरी सडकमा पोख्न भएन । एकीकृत नेकपा माओवादी जस्तो देश कै ठूलो पार्टीले विधिसम्मत तरिकालाई नपछ्याएर सडकमै आक्रोश पोख्दा पर्ने दुरगामी प्रभावलाई ख्याल राख्नु होला भन्ने आग्रह गरे पनि उनी अडानबाट ओर्लेनन् ।
भरतपुरको चौविस कोठीमा मध्यन्ह १२ बजे पत्रिका जलाउने निधो भए छ । ठाउँठाउँबाट माओवादीका कार्यकर्ता जम्मा भएका थिए । केही साहित्यकारहरु समेत नागरिकलाई सराप्दै अक्षर सल्काउने अनुष्ठानको शोभा बढाउन सहभागि भएका थिए । इन्चार्ज अनिल शर्माले पत्रिका जलाउनुको औचित्य सिद्ध गर्न केही बेर शब्दहरु खेर फाले । पत्रकारले मनपरि गरॆको हुँदा आफुहरुले पनि साथमा रहेको हतियार निकाल्ने उद्घोष अनिलले गरे । अनिलको पार्टीले हतियार उठाएर संघर्ष गरेको हो । अहिले हतियार कन्टेनरमा बन्द छ । कन्टेनरबाटै हतियार निकालेर पत्रकार विरुद्ध आउलान भनेर हामीले नठाने पनि माओवादीले निकाल्ने हतियार के होला भनेर सर्वसाधरणले बुझ्ने उनै एसएमसी एलएमजी नै हो ।
अनिलले त्यस्तो वाक्य नबोलेको भए राम्रो हुन्थ्यो । अक्षरका भक्त भए पनि अक्षरमा आगो साल्काउन अग्रसर हुँदा हतियारको ध्वास आइहाल्दो रहेछ । उनलाई पनि त्यस्तै भयो । पत्रिका जलाउने तयारी हुँदा माओवादीका कार्यकार्तले तालि ठोके । पार्टीका सह इन्चार्ज शोभा कट्टेलले दुई किनारमा समातेर पत्रिका झुण्ड्याइन् । अनिलले साथमा भएको हतियार ग्याँस लाइटर निकाले । शोभाको हातमा पत्रिका झुण्डीको देख्दा मनले ठान्यो कसैलाई फासिको तख्तामा राखिदै छ र जल्लादहरुले व्यक्तिको घाँटीमा फन्दा हाल्ने र खुट्टले टेकेको तख्ता तान्ने तयारी गर्दैछन् । शोभाले समाएको पत्रिकामा अनिलले आगो झोसे । विस्तारै पत्रिकालाई आगोलाई आगोले खायो । यसो गहिरिएर हेरेको आगोले खाएको पत्रिकाको अक्षर झनै तेजिला पो देखिए । माओवादीको लर्को ठूलै वर्ग दुष्मनलाई निर्मुल गरेझै विजयी भाव लिएर फक्र्यौ ।
अनिलले नागरिकले माफी नमागे जे पनि हुन सक्ने चेतावनी दिएका थिए । त्यो चेतावनीको प्रभाव भोलि पल्ट शनिबारकॊ बिहानीमा देखियो । नागरिक बोकेर काठमाडौंबाट आउँदै गरेको गाडीलाई नारायणगढको रामनगर जंगल नजिक रोकेर माओवादीका कार्यकर्ताले आगो लगाए । सात वर्षको बालक र त्यसका चालकलाई समेत ओर्लने मौका नदिएर उनीहरुले आगो झोसेर दौडिएछन् । हिजो अक्षर पोल्न अग्रसर हुनेहरु ज्युदै मान्छे पोल्न लम्केछन् । बल्ल बल्ल ज्यान जोगएका चालक किसन श्रेष्ठ र उनीसँग रहेका भतिज सात वर्षीय सुदर्शन श्रेष्ठको सातो नै गएको थियो । वालक सुदर्शन बोल्न खान छाडेर टोलाउने मात्रै भएका छन् ।
गाडीमा रहेका धेरै पत्रिका जलेका रहेछन् । बाँकी रहेको मध्येबाट एउटा पत्रिका झोलामा राखेर म फर्के । दिनभर व्यस्त रहेकाले साँझपख पत्रिका हेर्ने मौका मिल्यो । पत्रिका अगाडीको किनार आगोले खाएको थियो । एक त थाकेको शरीर त्यसमाथि पत्रिकाको जलेको अंशले मन भावुक हुँदै थियो । त्यसैबेला विदेश पुगेको साथी रामेश्वरको फोन आयो । यताको घटनाक्रमसँग जानकार उसले सोध्यो 'रमेश के गर्दैछस् ?" मैले भने "आगोले बाँकी राखेका अक्षरहरु हेर्दै छु" । उसले थप्यॊ " साथी आगोले निल्नै सक्दैन अक्षरलाई "

Friday, May 28, 2010

पछार्ने चिन्तन

नेताहरु दुई वर्षमा संविधान लेख्छु भन्ने बाचा गरेर संविधानसभाको सदस्य चुनिएका हुन् । भोट माग्ने बेलामा गरेको प्रतिवद्धता पुरा नगरेपछि मतदातासँग माफी माग्नु पर्ने हो । तर हिजोको संविधानसभाको बैठकमा यो प्रसंगले प्रवेश नै पाएन । तोकिएको समयभन्दा १५ घण्टा ढिला सुरु भएको बैठक संविधानसभाको आयुलाई एक वर्षसम्म लम्ब्याएको छ । तर नेताहरुको उचाइ घटाउँदै ल्याएको छ ।
प्रधानमन्त्रीको पद 'छाड" र 'छाड्दिन" भन्ने धम्कि र धुर्की हिजो अन्तिम अन्तिम समयसम्म पनि कायमै रहेको थियो । नेताहरुले संविधान बनाउनभन्दा कुर्चीलाई यस्तो महत्व दिएको हुँदा उनीहरुको कद कटौतीमा परेको हो । त्यसो त नेपाली नेताहरु कुन चाहि अग्लो कदका थिए र तर ऐतिहासिक जिम्मेबारीलाई सफल्ता पूर्वक पुरा गरेको भए उनीहरुको हैसियत पक्का माथि उठ्ने थियो । यो अवसर गुमाएका छन् नेताहरुले ।
कद बढाउने अवसर सदुपयोग नगरेपछि अरुलाई पछारेर आफु अग्लो हुने चाहना केहीमा हुन्छ । हो हाम्रा नेताहरुले यसैलाई अनुसरण गरे । संविधानसभामा चुनिएर गएपछि एक अर्कालाई न्याकेर पछारेमा मात्रै आफु अग्लो देखिन्छु भन्ने चिन्तनले काम गर्दा उनीहरु झगडामा रुमलिएर समय बर्बाद पारे । जिम्मेबारीको पहाड उक्लने कोसिस गर्दै गरेनन् कसैले । अरुलाई ठेगान लगाउन सत्ता हडप्ने चाहनामा बस्दा प्रधानमन्त्रीको कुर्ची माग्ने र नछाड्ने नेताहरुको बर्बराहट सुनेर समय बिताए सर्वसाधरणले ।
संविधान समयमा नलेखेपछि संविधानसभाको म्याद थप्ने अन्तिम अन्तिम क्षणसम्ममा पनि नेताहरुले गरेको पदको बर्गेनिङले अबका दिनहरुमा पनि उनीहरुको चाला नसुध्रनॆ प्रष्ट्याएको छ । देश र देशवासीको हितका लागि पनि पटक्कै झुक्न नखोज्ने नेताहरुबाट धेरै आशा गर्ने ठाउँ छदैछैन । विष्लेषक सीके लालले भने जस्तो कुनै अग्लो कद भएको भए पो झुक्न खोज्दथे हाम्रा नेताहरु । जसको कदनै अग्लो छैन उ झुक्ने कुरै आउँदैन ।
त्यसैले अरुलाई पछारेर आफ्नो आकार देखाउन खोज्ने नेताहरुले मल्ल युद्ध चलाउदा दर्शक दिर्घामा बसेर पक्ष विपक्षँमा तालि पिट्ने र हुटिङ गर्ने काममा हामी लाग्न छाडेमा नेताहरुको जोश सेलाएर जाने छ । उनीहरुलाई चुनौतीको हिमाल उक्लने दिशामा हामीले नै अग्रसर बनाउन सक्छौं । आगामी दिना यो अभिभारा हामीबाट पुरा भयो भने मात्रै सुन्न नपर्ला प्रधानमन्त्रीको पद ले र दिन्न भन्ने दोहरी । सवैमा गणतन्त्र दिवसको हार्दिक शुभकामना । अन्तिम अन्तिम समयमा भए पनि नेताहरुले संविधानसभाको म्याद थपेर आशा गर्ने ठाउँ राखिदिए । यसका लागि उनीहरुलाई धन्यवाद, हामीलाई बधाई ।


Thursday, May 27, 2010

छैन जून, जून जस्तो

पूर्णीमाको रात आकाश सफा थियो । झनै बुद्ध जयन्ति परेकाले मनले शान्तिको भरपुर अनुभूति लिनु पर्ने थियो । तर नेपालीका लागि हिजोको सफा आकाशमा चम्किएको पूर्णचन्द्र निकै वेस्वादिलो लाग्यो । कारण देशको राजनैतिक वातावरण साह्रै नराम्ररी धमिलिएको छ । अशान्तिका बाछिटाहरुको प्रहार फेरि खेप्नु पर्ने हो कि भन्ने आशंका बढेकाले पूर्णीमाको जून पनि नेपालीलाई जून जस्तो लागेन ।
वि.स.२००७ सालदेखि प्रतिक्षा गरेको संविधान बनाउने व्यक्तिहरु चुन्ने संविधान सभाको चुनाव वि.स.२०६४ सालको चैत्र २८ गते सम्पन्न भयो । वि.स.२०६५ सालको जेठ १५ गते बसेको संविधान सभाको बैठकले आफ्नो दुई वर्षे कार्यकाल भित्रै नेपालीलाई उन्नत संविधान दिने घोषणा पनि सभासद्हरुले गरे । तर त्यसपछि संविधान बनाउनभन्दा सत्ता र सरकारमा बस्ने कुरामा नेताहरु झगडा गर्न थाले । जसको परिणाम संविधान सभाको समय सकियो नयाँ संविधानको खाका पनि नेपालीले पाएनन् ।
सत्ताको खेलमा नेताहरु यसरी मग्न भए कि उनीहरुले संविधान बनाउने काम गरेका छन् भन्ने संकेत पनि नागरिकले पाउन सकेनन् । अहिले प्राविधिक रुपमा संविधान सभाका समय थप्न सकिने कुरा उठिरहेको छ तर त्यसरी समय थप्नका लागि पनि सत्ता र पदको मोलमोलाइ नराम्ररी चलिरहेको छ । एउटा भन्छ प्रधानमन्त्रीले राजिनामा नदिएसम्म थप्दै थप्दिन अर्को भन्छ राजिनामा दिन्न ।
माओवादीले शसस्त्र संघर्ष सुरु गरेपछि देशमा १० हजारभन्दा बढीले ज्यान गुमाए । यो संख्या अझै बढ्न सक्थ्यो । संविधान बनाउन प्रतिनिधि छानेर पठाए युद्ध रोकिने थियो भन्ने धेरैलाई लाग्यो । किन कि माओवादीले युद्ध रोक्ने सर्त संविधानसभाको निर्वाचनलाई बनाएको थियो । त्यसैले धेरै नेपालीले संविधान सभाको चुनावपछि मुलुक नयाँदिशामा जाने आशा गरेका थिए । तर भयो उल्टो । चुनाव भएपछि पार्टीहरु मध्ये कसैमा अहंकार बढ्यो कसैमा आशंका ।
यो अहंकार र आशंकाले सहमतिको राजनीति नराम्ररी विथोलियो । संविधान सभाको पहिलो बैठकबाट सुरु भएको असहमतिको तुष बढ्दै गएर राष्ट्रपतिको चुनाव अनि गत वर्षको सेनापति प्रकरणसम्म नराम्ररी मौलायो । त्यसपछिको यो एक वर्षमा नेताहरु एक अर्कालाई बोलि बचनले न्याक्न र पछार्न मात्रै लागे । तुच्छभन्दा तुच्छ शब्दहरुको वर्षा नै भयो । अनि यस्तो शब्दको बाढीले संविधान लेखनको कार्य सूचिलाई पखाल्दै लग्यो ।
देशमा असहमति बढेर राष्ट्र नै टुक्रा टुक्रा हुने खतरा मौलाउदा समेत नेताले सर्वसाधरणलाई आश्वस्त पार्ने प्रयास गरेनन् । जातजाति बीचको खाडल गहिरो हुँदै गएको छ । समाजमा अपराध गर्नु सम्मानित काम हो भन्ने जस्तो लाग्न थालि सकेको छ । मान्छे मारेर शक्ति आर्जन गर्ने र सत्ता हत्याउने दाउमा एकपछि अर्को समूह जन्मन थालेका छन् । यस्तो बेलामा प्रमुख भनिएका दलहरु प्रधानमन्त्रीको पद 'ले" र 'दिन्न" भन्ने साह्रै तुच्छ खेलमा मात्रै अल्झिएका छन् ।
इतिहासको यो दःखद् क्षणको साक्षी बस्दा साह्रै नरमाइलो लाग्दो रहेछ । दल र नेताहरु मिलेर काम गर्दा देश बन्छ भन्ने हामीले ठानको हो । तर यो जनविश्वासलाई ख्यालै राखेनन् नेताहरुले । दुई वर्षअघि मात्रै देशमा गणतन्त्र आएको हो । यसलाई दरिलो बनाउन संविधान चाहिन्छ र त्यसका लागि सहमति आवश्यक छ भन्ने कुरा नेताहरुले किन बिरसे किन ?
नेताहरु कुर्चीको लागि रस्सा कस्सीमा छन् । राजतन्त्र नै समाप्त भएको दुई वर्ष नपुग्दै त्यति बेलासम्मका राजा ज्ञानेन्द्र फेरि हसिलो मुख बनाउदै मुलुक चाहर्न थालेका छन् । उनी एकताको कुरा गर्छन् । असहमतिहरु निकै शालिन शब्दमा प्रकट गर्छन् । पुरातनवादी भनिएका ज्ञानेन्द्रको जत्ति पनि शैली र सोच देखिएन अग्रगामी भनिने हाम्रा नेताहरुमा । नेताहरुको यो अपरिपक्क चिन्तले देश अन्धकार तर्फ धकेलिदै छ । संयोग पनि कस्तो आजैबाट समय पनि औशीको यात्रा तर्फ अग्रसर छ ।

Wednesday, May 26, 2010

तन्नेरी तिर्थलुहरू

देवघाटधाम तनहुँ नवलपरासी र चितवनको साँध छोएको प्रख्यात धार्मिक स्थल हो । गोसाइकुण्डबाट आएको त्रिशुली र मुक्तिनाथबाट आएको कालीगण्डकी नदीको मिलन यही भएको छ । यो वेणीमा डुबुल्कि मारे मुक्ति पाइने विश्वासले मान्छेहरु टाढाटाढाबाट आउने गर्छन् । यसैको किनारमा प्राण त्याग्ने अभिलाषाले वृद्धवृद्धाहरु कल्पबासनै बस्छन् ।
यत्ति कुरा गर्दा देवघाट आउने चाहना कस्तालाई हुन्छ भन्ने थाहा पाउन गाह्रो छैन । निसन्देह प्रौढ पुस्तानै यो स्थल भनेपछि हुरुक्क हुने गर्छन् । नारायणगढबाट नजिकै भए पनि बजारको कोहलाहल र प्रदुषणबाट मुक्त छ यो ठाउँ । सुन्न पाइन्छ केवल भजन किर्तनका धुन । देख्न पाइन्छ साधु सन्तको जीवनशैली जस्मा तडक भडक होइन केवल सादगी छ ।
धार्मिक ग्रन्थहरुमा यो ठाउँमा देवताहरुनै घुम्न आउँथे भन्ने कुरा पढ्न पाइन्छ । देख्दा सुन्दामा जीवनदेखि वैराग्यकाहरु आएर बस्ने ठाउँ जस्तो लागे पनि अध्यात्मको ऊर्जाले भरिपूर्ण भएको हुन्छ देवघाट जहाँ पुगेपछि मनका तनावहरु हराउन बेर लाग्दैन । देवघाटको वास्तविकतानै यही हो । योनै हो यस ठाउँको पहिचान ।
प्रौढलाई तान्ने यो देवभूमिमा युवायुवती र किसोर किसोरीले पनि पाइला नराख्ने होइन तर उनीहरु बाहुल्य भए भने त्यहाँको सादगी र आध्यात्मिक परिवेश विथोलिन थाल्दो रहेछ । चाचल मनबाट उब्जेका गतिविधि त्यहाँको परम्परागत पहिचान अनुकुलका नहुँदा रहेछन् । गत वर्षको साउनको पहिलो सोमबारको बिहान देवघाटमा देखिएका दृश्यहरुले बोलेका कुरा हुन् यी ।
साउन महिनामा शिवको विशेष आरधाना हुन्छ । अझ सोमबारका दिन त शिवप्रति नै समर्पित हुन्छन् नारी र नरहरु । यो शिव आरधना विवाहित नारीले पतिको दिर्घायु र अविवाहितले चरित्रवान श्रीमानको कामनाका लागि गर्छन् भन्ने अलि बढी सुन्ने गरिन्छ । तर धर्मप्रति आस्था र विश्वास भएका प्राय सवैले साउन महिनामा शिवकै जपध्यान गर्छन् ।
धार्मिक ग्रन्थहरुमा साउने सोमबारको साधनाको फलका बारेमा उल्लेख भएको कुरा जानेरै हो या आपुनो बुझाइको तहबाट मात्रै ब्यख्या गरेर हो धेरैले पतिपत्नीको सम्बन्धसँग यसलाई जोड्ने गरेका छन् । पतिपत्नीको सम्बन्धसँग जोडिएर आएको हुँनाले अहिलेका किसोर किसोरी र युवायुवतीले यसलाई हिन्दु संस्करणको 'भ्यालेण्टाइन डे" जस्तो मान्न थालेका छन् ।
'आईलभयु" एकजना किसोरका गालामा यही लेखिएको छ । त्यो शब्द पानको पातको आकारको घेरा भित्र परेको छ । बेणी तर्फ झर्न लागको बेला बाटोमा भेटिएका उनी दोस्तहरुको हुलमा छन् । िलंगका हिसाबले समावेसी देखियो उनको त्यो समुह । उनीहरु शिव बाबाको जपका लागि घाट जान लागेका हुन् या म्युजिक कन्सर्टमा छुट्टयाउन गाह्रो पर् यो ।
घर फर्कन लाग्दा देवघाटको तनहुँतर्फ पुलको आडैमा देखियो अघिको किसोरले गालमा आईलभयु छाप हानेको ठाउँ । व्यपारी जोगेश्वर साह सानासाना काठको फ्रेममा तयार विभिन्न चित्र र शब्दहरु रंगमा डुबाउँदै छाप हानिदिने कारोबारमा मस्त थिए । पानको पातको घेरोमा 'आइलभयुका" साथै दिल हे तुम्हारा" र बोलबम जस्ता शब्दहरु पनि नभएका होइनन् तर बोलबमको मार्केट डाउन थियो ।
यो त थियो किसोरको च्वाइसको कुरा । तल स्नान घाटमा किसोरीहरुको करामत पनि कमको थिएन । नुहाएपछि पूजा गराउन एउटा ब्राहमण आइ हाल्दथे । शिव िलंग तयार गरु भन्ने ब्राहमणको आदेश मानेरे शिव िलंग खोज्न लागेकाहरु आकार आकारका ढुंगा टिप्दै हासेरै मुर्छा पर्दथे । पूजा पाठमा भन्दा उनीहरुको चित्त अरुनै कुरामा गएको थियो ।
पूजा चाडै सकेर हिड्ने हतारमा थिएनन् उनीहरु । पूजापछि नदी स्नानको मज्जा लिन तम्सनेमा किसोरी र युवतीहरु बढी थिए । िसंगापुर आर्मीमा भर्ति हुन चाहनेहरुलाई आधारभूत तालिम दिने संस्थामा आवद्ध सिकारु युवाहरु एका बिहानै दौडेर देवघाट पुग्छन् । नदीमा हेलिएर अभ्यास गर्छन् । त्यस दिन पनि उनीहरु त्यसै गरे । किसोरीहरु पनि त्यसैको सिको गर्न थाले ।
पौडिन जान्ने जस्ता थिएनन् उनीहरु तर नदीमा पस्ने हिम्मत गरे । कताबाट आएको हो कुन्नि त्यस्तो जोश उनीहरु लगाई रहेको कपडासँगै नदीमा पसेका हुन्थे । पौडनेभन्दा पानीमा उफ्रेर रमाइ रहेका थिए उनीहरु ।
एकजना दुईजना हो र हुलका हुल युवती पस्न थाले पानीमा । पहिला समान्य स्नानपछि छोटो पूजा अनि जलकि्रडा । लाग्दथ्यो सोमबारको दिनमा अरुभन्दा महत्वपूर्ण यही जलकि्रडानै हो । सामान्य स्नान र पूजापछिको गर्नै पर्ने पाटो हो त्यो । तर होइन युवक र किसोरहरु भने बाहिरै बसे किन हो । केटाहरुले हेलिनभन्दा हेर्नमै आनन्द माने जस्तो थियो ।
अनुभव नभए पनि नदीको वर्षे भेलमा पस्न आट गरेका युवतीहरुको हिम्मत यसरी बढ्यो की उनीहरु किनारका युवकहरु तान्न आउन थाले । युवकहरु भने आनाकानी पो गर्छन् । ुपाइन्ट सर्ट खोलेर के पस्ने त्यत्तिकै गए के फेर्नेु भन्ने ख्याल राखेको पाइयो तर महंगा कुर्था सुरुवाल र जिन्स पाइन्ट टिसर्टमा रहेका युवती किसोरीले यस्तो सोचे जस्तो लागेन ।
नदीमा नुर्थुक्क भएपछि पालो आयो फोटो सेसनको । देवघाटको वेणीमा पूजा गर्नेको जति समूह छ लगभग त्यत्तिनै समूह नदी किनारमा थियो जसले जलकि्रडाको आनन्द फोटोमा सुरक्षित राख्न चाहि रहेको थियो । यो तन्नेरी तिर्थालुहरुको कुरा भयो तर त्यो पावन भूमिमा उनीहरुकै मात्रै रजगज भने थिएन । सोमबारे स्नानको पुरानत ब्यख्या र मान्यतालाई आत्मसात गरेर आउने तिर्थालुहरु पनि उत्तिकै थिए त्यहाँ ।
विभिन्न बोलबम धामहरुमा चढाउने शुद्ध जल लिन देवघाट जाने चलन एक दशक यता ह्वातै बढेको छ । बैजनाथ धाममा चढाउने जल लिन आएका चितवनको पदमपुरका लछन महतो पनि त्यही भेटिए जसलाई जलसँग बाहेक नदीमा भएको जलकि्रडासँग कुनै मतलबै थिएन । वेणीमा जप ध्यानमा लागेका प्रौढलाई पनि ुडिस्टर्ब भए जस्तो लागेन ।
'अरे यार साउने सोमबारको ब्रतको प्रसंग पतिपत्नीको सम्बन्धसँग जोडिएको छ भने अहिलेका युवायुवती र किसोर किसोरीको मनमा छुट्टै तरंग चल्नु अस्वभाविक हुँदैन के" देवघाटको नौलो माहौलका बारेमा साथी गणेशले यस्तो टिप्णी गरे । तन्नेरी तिर्थालुको हाउभाउका बारेमा एकजना तन्नेरीले नै यो विश्लेषण सुनाउँदा हामी देवभूमि देवघाट छाडेर कोहलाहलले भरिएको नारायणगढ आइसकेका थियौं ।





Tuesday, May 25, 2010

अध्यारोमा बसेर उज्यालो नियाल्दै

घाम पश्चिमी डाडाको आडैमा छ । त्यसैले किरण ताप बिहिन थियो । हामी लक्ष्यमा नपुग्दै त्यो बिलाइ हाल्ने हो कि भन्ने आशंकाले जब्बर ठाडो उकालोमा पनि खुट्टाको चालको रफ्तार घटाउन भएको छैन । सूर्यको रापले नभए पनि हिडाइको चापले शरीर पसिनाले भिजेको थियो । थुक हराएकाले घाँटीले पानी खोज्यो । त्यसैले ज्यान एकक्षण सुस्ताउन चाहन्थ्यॊ ।
बाटॊ लागेपछि एक पटक त घाँटी भिजाए कै हो । तर त्यो जलले धेरै बल दिएन । उकालो एक तिहाइ जति बाँकी रहदा गोरेटोको दाहिने तर्फ दुई चारवटा घर भेटिए । 'पानी खान पाइन्छ होला" गोरेटो आडैको घरको आगनमा बसेकी गोरी युवतीले हास्दै भनिन् 'लौ किन नपाइने पानी पाइन्छ नि हजुर ।"
घरको धुरी नाघेर आएको घामको सुनौली किरण उनको गोरो अनुहारमा पोतिएको थियो । एक त गोरी त्यसमाथि घाम थपिएकाले उजेली अनि हसिली पनि । उनको नाम रहेछ रन्जिला चेपाङ । उनले आँगन छाडिनन् । एकजना फुच्चेले ल्यायो पानी । 'यो तिम्रो घर हो कि माइत ?" हातमा चुरा गलामा रातो पोते र भरिएको सिउँदो देखेर युवतीलाई यो प्रश्न सोध्यौं ।
'घर हो माइत गोरखाको भुम्लिचोक" उनले भनिन् । गाउँबाट त्रिशुली तरेपछि पृथ्वीराजमार्ग टेकिन्छ भने राजमार्गबाट त्रिशुली तर्नासाथ उनको गाउँ । गाडीको आवाजले कानै खान्छ । त्यस्तो ठाउँबाट यो अनकन्टार उकालोमा उनी कसरी आइपुगिन । जहाँ गाडीबाट ओर्लेपछि हामी आधा घण्टा समतल र एक घण्टा जति ठाडो उकालो हिडेर आएका छौं ।
यहाँबाट भुम्लीचोक पुगेका भरतलाई रन्जिला गाउँमै भेटेकी हुन् । लभ परेपछि बिहे भयो । मायाको डोरीले तानेको रहेछ उनलाई यहाँसम्म । अनि त्यस्तो ठाउँमा नारयणगढको चमक दमक छाडेर हामी पनि हानिएका थियौं । किन भने त्यहाँभन्दा केही माथि रहेको उपरदाङगढी पुग्नु थियो हामीलाई । गढी १८ सालसम्म चितवनकै सदरमुकाम थियो ।
त्यहाँ अहिले पनि किल्ला छ । जुन डेढ सय वर्षअघि बनेको हो । किल्लाको पर्खालमा बसेर खुट्टा हल्लाउँदै अस्ताउँदो सूर्यलाई नियालेर आनन्द लिन सकिन्छ । त्यति बेला उत्तरका गोरा हिमाल सुनौलो बन्छन् । चितवनको दाहखानी गाविसमा पर्ने त्यस ठाउँमा आदिवासी चेपाङहरुको गाउँ छ । उनीहरुको रहन सहन बुझ्न र खानपानको स्वाद लिन पाइन्छ ।
त्यसैले कष्टकर भुबनोटलाई छिचोल्ने प्रायस हामीले गरेका हौ । गढीमा पहिला पनि पुगको हो । त्यहाँ खाएको भुटेको मकै उसिनेको तरुल र पिडालुको स्वाद जिब्रोबाट पखालिनै सकेन । तर रातमा देखिने नारयणगढको झिलिमिलि उज्यालो त्यो बेला पुग्दा तुवालोमा हराएको थियो । घाम डुबेको दृश्य हेर्ने धोको पनि पुराभएको थिएन ।
'यो पटक त सनसेट जसरी पनि हेर्नै पर्छु" मात्रै एक रात त्यहाँ विताउने निधो गरेर हिडेका हामी मध्ये केही युवाले यस्तो विचार गर् यौ । साथीको बगाल छाडेर हामी अघि लाग्यौ । चितवनको सिनर्जी एफएमले आफ्नो वार्षिकोत्सवको अवसरमा सो यात्राको आयोजना गरेको थियो । साहित्यकारको लामै लर्को थियो यात्रामा । अन द स्पट कविता कोर्ने योजना थियो ।
साहित्यकार मध्ये धेरैले डुब्दो घामलाई नियाल्ने चेष्टा गरेनन् अफ्ठ्यारो बाटोका कारणले । हामीले भने हेर्ने नै प्रण गरेकाले हस्याङ फस्याङ गर्दै उकालो चढ्यौ । रन्जिला घरमा पानी खाए पछिको बाटो पहिलाको जस्तो जब्बर उकालो थिएन । त्यसैले सूर्य नडुब्दै गढीको टाकुरोमा पुग्न हिडाइको गति झनै बढायौ हामीले । आशा गरे अनुरुप घाम नडुब्दै ठाउँमा पुगियो ।
किल्लाबाट सिधै तल भिरालो पर्दै गएको बन थियो । केही पर उखुबारी जस्तो सालको घना जंगल । अनि त्यसपछि नारायणगढ बजार । नारायणीको पुलमा गाडी हिडेको पनि हेर्न सकियो । यी सवैमा लाली छर्दै केही बेरपछि पुललाई बीचोबीच पार्दै सूर्य क्षितिजमा बिलायो ।
घाम डुबेपछि अध्यारोले घेर् यॊ । उत्तरमा टल्केको हिमाल केही बेरपछि देखिनै छाडे । किल्ला वरपर झ्याकिरीहरु कराउन सुरु भयो । किल्लाभन्दा परपर जुनकिरी पिल्पीलाए जस्तो देखिन्थ्यो । छरिएर रहेको पातलो बस्तीको झुर्पाहरुका आँगनमा आगो बल्दा र पिढीमा टुकी राख्दा आएको प्रकाश थियो त्यो ।
किल्ला आसपासको पुरै इलाका विजुली बिहिन थियो । तर त्यहाँबाट दक्षिण र पश्चिम तर्फ देखिने नजरा भने बेग्लै थियो । किल्लाको दक्षिण पश्चिम कुनामा देखियो शक्तिखोरको चमक । त्यसपछि जुटपानी पिठुवा टाँडी हुँदै मधुरो बनेको ज्योति पश्चिम लाग्दै गर्दा एउटा बिन्दुमा बिलाउँछ । त्यो रहेछ टिकोलीको जंगल । जंगलको अन्धकारको फैलावट ज्यादा छैन ।
'त्यो गोन्द्राङको कोक फ्याक्ट्रि" टिकौलीको जंगल सकिए लगत्तै विजुलीको प्रकाशमा जगमगाएको ठाउँ चिन्न कुनै बेर लागेन हामीलाई । किल्लाबाट केही तल झरेर तेजबहादुर गुरुङको आँगनमा आगो ताप्दै हामीले हेर्दै छौ यी दृश्य । तेजबहादुरको भान्सामा धिपधिपे टुकीलाई उछिन्दै चम्केको आगोको ज्वालामाथिको कराहीमा खसीको मासु पाक्दै छ ।
'भरतपुर त धेरै ठूलो रहेछ" उज्यालोको फैलावटमा नारायणगढको तुलना गर्दै हामीले भन्यौ । हेर्दा हेर्दै खान खाने निम्तो आयो । अघिल्लो पटक गढी जाँदा म शाकाहारी थिए । यस पटक मासु खान सुरु गरेकोले बल्ल थाहा पाइयो पहाडी खसीको तिख्खर स्वाद । मसलाको कुनै गन्ध थिएन । मासुको महक र थकाइले धेरै भात खाइयो त्यो रात । चुठ्दै गर्दा कसैले भन्यो 'मासु भनेर सधै मसलाको स्वादमा हराइएको रहेछ । मासुको स्वाद त बल्ल पाइयो ।"
खाना खाएपछि अलि माथि गए धेरै ठाउँको उज्यालो एकै पटक देख्न सकिने कुरा सुनाए स्थानीय होमबहादुर बुढाथोकीले । उनको पछि लागेर केही पर गइयो । शक्तिखोर टाँडी भरतपुर नारायणगढसम्मको उज्यालो आँखैले एउटै फ्रेममा देख्यौं त्यहाँबाट । नारायणीको पुलमा हिँडेका बस ट्रकको मेसो पाउन पनि गाह्रो भएन ।
फर्कैदै गर्दा अध्यारो बाटोमा ढुंगाको ठेस लागेर एकजना साथी धन्नै लडेन । उता मैदानमा देखिने झलमल उज्यालोको कुनै अर्थ थिएन यहाँ । आँखाले देखेको र मनले भोगेको यो कुरालाई भोलि साहित्यकारहरुले पक्कै पनि कवितामा उतार्ने छन् । तलको उज्यालो खिच्ने गतिलो क्यामरा नभएकाले यसो भन्दै हामीले चित्त बुझायौं ।
बग्दै गरेको सयमले तिम्रो वेशीलाई सभ्य सहर बनाइदिएको छ ।
र तिमीलाई एउटा अपायक कुनामा छाडेर
,
तिम्रो अध्यारोप्रति उपहास गर्दै
,
वैभवको उज्यालोमा बाँच्न खोज्दै छ त्यो सहर ।

कवियत्री सरिता तिवारीले भोलि पल्ट बिहान रचना गरेको कविताको यो पंक्तिले हामीले भोगेका धेरै अनुभूतिहरुलाई पनि समेटेको थियो ।









Monday, May 24, 2010

यात्रा

हिजो एका बिहानै मामा घरको दैलो टेकियो । सुवास भन्दै थियो यसरी उज्यालो नहुँदै जाँदा कता तरसने हुन् । आँखा मिच्दै ढोका उघारेर बाहिर निस्कदा हजुर आमाले हामीलाई देखिहाल्नु भयो । अबुइ भन्ने शब्द उहाँको मुखबाट फुत्कियो । सुवासले थप्यो 'हामीले कता तस्रने हुन् भन्दै आएको हजुर आमाले अबुइ भने पछि त त्यस्तै भयो ।"
आइतबार पाँच बजे नारायणगढबाट मोटर साइकलमा सुवास र म पश्चिम तर्फ लाग्दा उताको क्षितिज केही अध्यारो देखिन्थ्यो । जेठ महिनामा हावाहुरीसँगै केही बेर पानी पर्नु सामान्य थियो । बुटवल नगइ नहुने भएकाले क्षितिज धमिलिए पनि यात्रा रोक्नु मनासिव थिएन । पानी आउला थामिएला भन्ने विश्वासले वाइक दौडाइयो ।
जे जस्तो भए पनि पानी नआउँदै दाउन्ने कट्नु पर्ने योजना थियो । एक पटक हेटौडा जाँदा पानी परेको समयमा वाइक नराम्ररी चिप्लिएको घटनाले पानी परेका बेलामा वाइक कुदाउन चाहिने जति आत्मविश्व्ास आउन छाडेको थियो । दाउन्नेको त्यो जब्बर उकालो ओरालेमा पानी आएपछि वाइक चलाउदा के हुने के नहुने दुविधा बढ्ने भएकोले पहाड पार नहुँदासम्म पानी नपरोस भन्ने कामना गर्दै थियौं ।
साँझ पख राजमार्गमा भिडभाड अत्याधिक हुने । वाइक सोचेको स्पिडमा दौडाउन गाह्रै भयो । सात बजेसम्म उज्यालो हुने बेलामा त्यस दिन डम्म थियो आकास तुवालो लागे जस्तो । कतै विश्राम नगरिकन एकोहोरो जाँदा पनि डण्डा कटेर चोरमारा आउने आउने बेलामा जंगलमा पानीका एक दुई छिटाले निधार छोयो ।
चोरमारा कटेर अरुणखोला पार नहुँदासम्म अध्यारो र बादलको मात्रा बाक्लिन थाल्यॊ । दुम्किवास आउने आउने बेलामा बाटोमा वाइकनै हुत्याउे गरेर हावा चल्न थाल्यो । दाउन्ने चढ्ने उकालो सुरु हुनै लाग्दा पानीका छिटा बढ्न थाले । हेर्दा हेर्दै ह्वार्रै पानी आयो । आडैको एउटा स्टाफ होटलमा छिरेर केही बेर बस्ने अनि पहाड चढ्ने निधो लियौं हामीले ।
निकै जोडले दर्केर पानी आयो । यो पानीमा दाउन्नेको उकाले चढ्नु छ भन्ने कल्पना गर्दा मन अत्तालिन सुरु भयो । कुनै दिन पानी आएका बेलामा चलाउँदा बाइक पल्टिएको थियो भन्ने कुरा अब बिस्रनुको विकल्प थिएन । चिया खादै पुरानो क्षण पखाल्ने जमर्को थाल्यौ हामीले । केही बेरपछि आकास थामियो ।
तर ह्वार्र आउने र छाड्ने पानीबाट बच्न रेनकोटको साहार लिन आवश्यक थियो । रक्षा गर दाउन्ने माई भन्दै हेडलाइट अन गरेर सुरु भयो चढाइ । पछाडी बसेको सुवाससँग कुराकानी सुरु भयो । चेन्नइमा इन्जिनियरिङ पढ्दै गरेको सुवासले हामीभन्दा अगाडी लागेको एउटा ट्रकलाई देखाउँदै भन्यो 'दाइ त्यो पछाडीको दुई चक्कालाई बीचोबीच पारेर गोलाकार वस्तु किन झुण्डिएको थाहा छ ?"
सामान्य लाग्ने त्यो गोलाकार बस्तुको भूमिका निकै बेजोडको रहेछ । हामीले त कहिल्यै वास्ता नगरेका त्यो के हेला भनेर । बाइकका लागि दाउन्नेको उकालो अपरिचित थिएन । मनमा गढेको पानी परेका बेला चलाउँदा पल्टने त्रासले मात्रै केही असजिलो बनाएको थियो । तर मनमा त्यो सम्झना पर्न नदिएपछि अगाडी बढ्न केही सकस भएन । सकुशल कट्यो दाउन्नेको उकालो ।
बर्दघाट टेकेपछि बल्ल नयाँ ठाउँमा आए जस्तो लाग्छ । दाउन्नेसम्मको माहौल सवै चितवनको जस्तै । यस्तो लाग्नुको अर्थ हामी बुटवलको नजिक आयौं भन्ने पनि हो । पानी यता नपरेको होला भन्ने अनुमान गलत भयो । यता त भर्खर पानी आउन सुरु हुँदै थियो । तर धेरै पर हेर्दा सुनौलो बादलको टुक्रा देखिन्थ्यो । बुटबल त्यही हो भन्ने अनुमान लगाउँदै हामीले थप अन्दाज लगायौ 'त्यता त परेको छैन होला पानी ।"
वासा भन्ने गाउँमा पुग्दा नपुग्दै अध्यारो झपक्कै भएर आयो । हाइवेमा गाडीको भिड बढ्न थाल्यो । हेडलाइट डिम गर्न अटेर गर्ने चालकहरुले आफै जोगिएर जाउँ भनिरहेका थिए । उता बुटवलबाट सानीमाको तारन्त्ार फोन आउथ्यो । धन्न त्यता पानी आएको रहेन छ । नभए सानीमाको अर्डर आउने थियो 'बाइक चलाउँदै नचलाउ त्यतै बस ।"
भुमही पुग्दा फेरि जोडले हुरी सुरु भयो । आकास पनि चम्कन थाल्यो नराम्रोसँग । रेनकोटको टोपी र हेलमेटको पर्खाल छिचोलेर पनि कानै थर्काउने आवाज आउथ्यो चट्याङको । त्योभन्दा अघि चम्कने बिजुली सातो नै खाने खालको हुन्थ्यो । चमक्क बिजुली देखापर्दा सारा संसारको झलक पाइन्यो अनि झमक्कै अध्यारो । कतै हेडलाईट खाइदिने हो कि भन्ने त्रास पनि बढ्यो ।
पानीआँधी र चट्याङ छिचोल्दै रुपन्दैही प्रवेश गर् यौं । तर देवदह छुन नपाउँदै वरपरको बत्ती भुयाप्पै निभ्यो । निकै होसियारीसँग वाइक हाक्दै नारायणगढबाट हिडेको साढे तीन घण्टामा पुगियो बुटवल । घरमा खाना तयार थियो । त्यसपछि लगत्तै धेरै कुराहरु गर्नु पर्ने थियो । राती जति बेला सुते पनि बिहान पाँच बजे उठेर मामा घर नगइ भएको थिएन । भोलिपल्ट चाडैभन्दा चाडै चितवन फर्कनु पनि थियो ।
बिहान पाचै बजे उठेर भेटघाट सुरु गर्दा पनि मुख्यमुख्य तीनचार ठाउँभन्दा अन्यत्र जानै सकिएन । १० बजे चितवन नै पुग्ने योजना थियो तर त्यो बेलासम्म बुटबल मै थिए म । तर ठिक १० बजे त्यहाँबाट हिँडे । वाइकमा अघिल्लो दिन सुवास थियो । फर्कदा एक्लै । साथै बाटोमा अघिल्लो दिनको जस्तो अपुठ्याराहरु पनि थिएनन् । आकास सफा थियो । बाटो पनि खुला नै । पैदल यात्रु पनि कमै देखा परे, क्या आनन्द ।

Saturday, May 22, 2010

आशा र सपना

मान्छेको जीवनलाई गतिशिल बनाउनु पर्छ भन्ने सन्दर्भमा अति बोलिने दुई शब्द हुन् आशा र सपना । उपदेश दिनेहरुको बाक्यमा अनेक पटक दोहरिएर आउने शब्द यी नै होलान् । गीत निवन्ध कथा कवितामा आशा र सपनाहरु नपर्ने सम्भावना नै रहदैन । शब्दको संग्रहमा आशाभन्दा सपनाको संख्या बढी देखिन्छ ।
मान्छे आशावादी हुनु पर्छ भन्ने बाहेकका बाक्यमा आशा शब्द परेको त्यत्ति देखिदैन । तर सपनाको प्रयोग विविध बाक्य र सन्दर्भहरुमा पनि हुने गरेको छ । यो कारण आशाभन्दा सपना बढी प्रभावशाली हो कि भन्ने लाग्छ । भारतीय कवि अवतार िसंह पासको भनाइ छ सवैभन्दा खतरनाक हुन्छ सपनाहरुको मृत्यु हुनु ।
सपनाहरु नभएको मान्छे मरे तुल्य हो भन्ने सन्देश यो वाक्यमा रहेको छ । सपना मान्छेको जीवनको उर्जा हो । मोटर गाडीहरु दौडाउन डिजेल पेट्रोल या त्यस्तै अन्य कुनै इन्धनहरु आवश्यक पर्छ । मान्छेको जीवनमा सपनाले त्यस्तै काम गर्छ । सपनाले व्यक्तिको मानसिक संरचनालाई उर्जा दिने हो । भौतिक स्वरुपलाई उर्जा दिन त हामी खाना नै खान्छौ ।
यसरी हेर्दा सपनाले नै मान्छेलाई गाडी र अन्य पशुहरुको गतिशिल अवस्था भन्दा भिन्न देखाउने गर्छ । खाएर भौतिक स्वरुपलाई चलाउन त पशुले पनि सकेको हुन्छ । सायद उसले सपना देख्दैन । डिजेल हालिदिएपछि निर्जिव मोटर कार पि दौडेकै हुन्छ । सवै गतिशिल भए पनि मान्छेको जस्तो सपना उनीहरुसँग छैन । त्यसैले मान्छे अरु भन्दा फरक छ ।
सवैभन्दा खतरनाक हुन्छ सपनाहरुको मृत्यु हुनु भन्ने मन्त्र सुन्दै आएको मैले गत हप्ता सपनाभन्दा पनि आशालाई प्राथमिकता दिएको एउटा वाक्य पढे । मेरा सपनाहरु सकिए पनि आशा जिवितै छन् भन्ने वाक्य साहित्यकार प्रकाश सायमीको फेस बुकमा पढ्न पाइयो । आशा भनेकै सपनाको मुहान हो भन्ने बुझ्न गाह्रो भएन यो पढेपछि ।
सपनाहरु राम्रा नराम्रा दुवै हुन्छन् । मान्छेले जे जस्तो सोच्ने गर्छ योजना बनाउने गर्छ त्यो नै सपनाको रुपमा प्रतिबिम्वित हुने गर्छ । सोचाइ नै सकारात्मक भयो भने सपनाहरु पनि राम्रा देखिन्छन् । आशावादी चिन्तन जस्तो सकारात्मक मनोवृत्ति अरु केही छैन । सपनाहरु सकिए भने पनि आशाले नयाँ सपनाहरु जन्माउने सम्भावना कायमै रहन्छ ।
आशावादी बनौ भन्ने उपदेश सपना देखौ भन्ने उपदेशभन्दा उन्नत जस्तो लाग्छ । अर्को तर्फ आशावादी बन्न गतिशिल जीवनमै सकिन्छ भने सपना देख्न सुत्नै पर्छ । जीवनलाई गतिशिल अवस्थाबाट हटाएमा मात्र सपना देख्न सम्भव छ । सपना देखेपछि त्यसलाई पुरा गर्न उठ्नै पर्छ । नउठी सपना पुरा हुँदैनन् । यो एउटा हिन्दी सिनेमाको संवाद हो ।