Wednesday, September 29, 2010

रिजवानको माला र केटोको नजर

रिजवान अन्सारी केही समय अगाडी निकै चर्चामा आए । माधव नेपालको सरकारमा उनी गृह राज्यमन्त्रि थिए । उनकै पार्टीका नेता प्रधानमन्त्री र पार्टीकै साथी भिम रावल गृहमन्त्री भएका बेलामा रिजवानले असमयमै राज्यमन्त्री पदबाट हात धुनु परो । देशमा दिन दाहडै मान्छे मारिन थाले । राजधानीमै गोली प्रहारबाट संचार उद्यमीको ज्यान गयो । अपराधीहरु कहिल्यै समातिएनन् । यो अवस्था प्रति असन्तुष्टि व्यक्त गरे रिजवानले । गृहमन्त्री प्रति तितो पोखे उनले । अनि चट भयो उनको राज्यमन्त्री पद ।
आम समुदायको बुझाइमा रिजवानले साँचो नै बोलेका थिए । मन्त्री प्रधानमन्त्रीको काम प्रति अन्य मन्त्रीहरुले पनि टिका टिप्पणी गरेका थिए । यो मामलामा रिजवान एक्ला थिएनन् । सीडीयो चड्काउने राज्यमन्त्री पनि थिए माधवको टिममा । प्रधानमन्त्रीलाई घुर्काउने मन्त्री पनि थिए तर अरुलाई केही भएन रिजवानले कारवाही भोगे । हरुवा व्यक्ति प्रधानमन्त्री भएको मन्त्री मण्डलमा रिजवान एमालेका तर्फबाट प्रतक्ष्य निर्वाचनमा संविधान सभा सदस्य चुनिएका एक मात्र व्यक्ति थिए । त्यसैले धेरैको सहानुभुति पाएका थिए रिजवानले त्यति बेला ।
रिजवान मधेसबाट आएका थिए अल्पसंख्यक मुसलमान समुदायका थिए युवा थिए । साँचो कुरा बोल्ने हिम्मत गर्दा रहेछन् । उनको यो गुण नै उनका लागि अभिसाप भयो । एमालेको नियत सरकारको चरित्र जनता सामु आयो त्यो घटनाले । रिजवानले मन्त्री पद गुमाए तर फोहरी राजनीतिको अनुहार सार्वजनिक गरे । तर अहिले रिजवान धेरैको सम्झनाबाट ओझेल पर्दै छन् । सधै उही कुरो सम्झेर बस्ने फुस्रद कस्को पो हुन्छ र ? रिजवान बेला बेलामा भने अवश्य सम्झिने छन् । तर आज मैले उनका लागि यी शब्दहरु खर्च गरेको अर्कै प्रशंगका लागि हो । रिजवानको फेसबुक फेला परो । त्यसमा उनले आफ्ना धेरै फोटोहरु संग्रह गरेका रहेछन् ति मध्ये एउटा फोटोमा मेरो नजर गड्यो ।
सायद संविधान सभाको निर्वाचनमा विजयी भएपछि नै उनले त्यो फोटो खिचाएको हुनु पर्छ । फोटो हेरेर त्यो के को अवसरमा खिचेको हो खुल्दैन । फोटोमा उनले अबिर लगाएका छन् । गलामा गम्छा फालेका छन् । अनि माला लगाएका छन् । माला फुलको, दुवोको होइन पैसाको नोटको हो । पाँच रुपैयाँ, दश रुपैयँ र सय रुपैयाँसम्मका नोटको मालामा देखिन्छन् । अब रिजवानले यो माला लगाएर गलत गरे के गरे भन्ने खालको टिप्पणी मैले गर्न खोजेको होइन तर मेलाई रिजवानको ठ्याक्कै अगाडी उभिएको केटोको हेराइले यो फोटो प्रति ध्यान गएको हो ।
निलो टि सर्ट र हाफ कट्टु लगाएको त्यो केटोको नजर जति अन्यत्र कतै होइन रिजवानको मालामा गडेको छ । उसले मालालाई निकै हेरेको छ । वास्तवमा उसले मालालाई हेरेको पि होइन । फुलै फुलको माला भएको भए उसले त्यसो अवश्य गर्दैन थियो होला । त्यत्रो पैसा बिचरा उसले पहिलो पटक देखेको होला अनि किन नहेरोस त त्यसरी । उसको दरावस्थाले यो भएको हो । रिजवान जस्ता नेताले जनताको अवस्था यसरी नै नियालेर उनीहरुको हितमा काम गरे पैसामा कुनै बालकको नजर किन टिक्थ्यो ? मेरो मनमा लागेको यत्ति हो । अरु कुरामा केही टिप्पणी र गुनासो छैन ।

Tuesday, September 28, 2010

कालो बादलमा चाँदीको घेरा

नेपाली काँग्रेसको १२ औं महाधिवेशन सकिएको छ । असोज एकदेखि पाँच गतेसम्म भएको अधिवेशनको अन्तिम दिन नयाँ कार्य समितिको पदाधिकारीहरुको निर्वाचन भएको थियो । सो निर्वाचनमा खसेको मतको परिणाम असोज ११ गते मात्रै पुर्णरुपमा आएको छ । काँग्रेसको राजनीतिले देशमा तरङ्ग ल्यायो । यो तरङ् अब विस्तारै साम्य हुने छ । छेउछाउमा कही कतै केही सम्झनाहरु भने छोड्ने छ । देशको राजनीतिमा पनि हल्का भए पनि प्रभाव पर्ने नै छ । जनसाधरणलाई पनि केही दिएको छ यो महाधिवेशनले । त्यसो त प्रधानमन्त्रीको कहिल्यै नजित्ने दौडमा एक्लै सहभागि हुन तम्सेर आठौं पटक पनि पराजित हुने रामचन्द्र पौडेलको पार्टीले जनसाधरणका लागि समारात्मक खालका प्रभाव के नै पारेको होला र भन्ने आम धारणा हुन सक्छ । तर अन्यौल र निराशाले ढाकेको मुलुकको राजनीतिमा आशाका कणहरु पनि छोडन सफल भएको छ काँग्रेस अधिवेशन ।
मलाइ लागेको सवैभन्दा राम्रो कुरा काँग्रेसको अधिवेशनमा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा गगन थापाले सर्वाधिक मत ल्याए । उज्यालो सपना बोकेका, राजनीतिमा सफा नियत राखेका गगनको यो सफलता दुर्गन्ध मौलाएको नेपालको राजनैतिक आकासमा मडारिएको कालो बादलमा देखिएको चाँदीको घेरा जस्तै हो । महाधिवेशनअघि वैचारिक रुपमा काँग्रेसमा राजनीति हुने गर्छ भन्ने भावना जगाउने काम भिमबहादुर तामाङ नरहरि आचार्यको उम्मेदवारीले गरेको थियो । तर त्यो समुहले निर्वाचनमा साह्रै झिनो मत ल्यायो । नरहरि आचार्य जस्तो व्यक्तित्वलाई नपत्याउने काँग्रेसका कार्यकर्ता कस्ता होलान भन्ने सवैलाई लाग्यो थियो । गगन थापालाई उनीहरुले धेरै मत दिए । काँग्रेस कार्यकर्ता प्रति नकारात्मक धाराणा राख्नेहरु अब दुई प्रतिशत भए पनि कम भएका छन् ।
सभापतिमा बुढा कोइरला चुनिए । पदाधिकारीमा पुरनाकै बर्चस्व छ । यी सवै कुराले आशा राख्ने ठाउँ धेरै देखाउँदैन । तर देशको राजनीतिमा गन्हाएका गोविन्दराज, चिरििजंविहरुलाई प्रतिनिधिहरुले पाखा लगाए । राजनीतिलाई फोहर बनाएर त्यसमा खेल्न सिकेका खतरनाक खेलाडी खुमबहादुर खड्का तेस्रो स्थानमा नपरेको भए काँग्रेसका कार्यकर्तालाई सलाम गर्नेहरु अझै एक प्रतिशत बढ्ने सम्भावना थियो । तै पनि गन्हाएका बहुमत नेताहरु महाधिवेशनमा पछारिए यसले गर्दा काँग्रेस प्रतिको सहानुभुति केही जोगियो ।
पदाधिकारीमा चित्रलेखा यादवको जितले व्यक्तिगत रुपमा म औधि हसर्ित छु । यादव कोषध्यक्षमा विजयी भइन । शेरबहादुर देउवाले प्रतिनिधि सभा असमयमै विघटन गरेपछि सभामुख उपसभामुख रहे अरु सवै सकिए । सभामुख राजको पक्षमा लागे । जन आन्द्योलनको बलमा विघटित प्रतिनिधि सभा स्थापित भयो । पहिलो बैठक राख्दा तत्कालिन सभामुख तारानाथ रानाभाट किनारा लगाइए । चित्रलेखा यादवले त्यो ऐतिहासिक बैठक संचालन गरिन । त्यो बेलाको उनको बोली मेरो मन मस्तिष्कमा अझै गुजि रहन्छ । त्यो व्यक्तिको सम्मान काँग्रेसका मतदाताले गरे । काँग्रेसको महाधिवेशन राम्रो ठान्न मेरो मनलाई प्रेरित गर्नेमा चित्रलेखा यादवको जितको भुमिका ८० प्रतिशत छ । गगनको पहिलो स्थानले १९ प्रतिशत ठाउँ ओगटेको छ । नरहरी अचार्यले राम्रो मत ल्याएको भए चक्र बास्तोला सुप्रभा मध्ये कसैले जितेको भए चित्र लेखाको विजयी भुमिका ५० प्रतिशतमा खुम्चने थियो । खुमबहादुरको तेस्रो स्थान सहितको जितले खुम्चाएको मेरो मनलाई गोविन्दराज चिरिजंविको हारले केही फुकायॊ । तर समर्गमा काँग्रेस उस्तै छ। तर सवै रातको बिहानी अवश्य हुन्छ । काँग्रेस प्रति आशावादी बन्न सकिने सम्भावनाका कणहरु भने देखा परेका छन् ।


Saturday, September 25, 2010

जता ततै उस्तै हाल

अघिल्लो भदौ महिनामा चितवनको मंगलपुरमा गैंडा मरेको खवर आयो । चर्दै आएको गैंडा गाउँलेले धान जोगाउन खेतमा तार घेरेर त्यसमा छाडेको विजुलीको करेण्टको झड्काले मरेको थियो । धान बचाउने उपाएका कारण घानमा परेको गैंडा खाल्डोमा पुर्न थियो । गैंडा पुर्नु चान चुने कुरा होइन । अस्ती पृथ्वीराजमार्गको कुरिनटारमा पहिरो खस्दा स्काभेटरको सहयोगले सफा गर्नु परेको थियो । गैंडा पुर्न पनि त्यस्तै पहिरो पन्छाउनु जस्तै काम हो । किन भने अचेल गैंडा पुर्न पनि स्काभेटर नभइ हुँदैन । मंगलपुरमा पनि सामुदायिक वन उपभोक्ता समुहले स्काभेटर ल्याएर त्यसको साहारामा गैंडालाई उचाल्ने खाल्टो खन्ने र पुर्ने काम सकायो ।
गैंडा स्काभेटरले उठाएर मरेको ठाउँबाट करिब दुई सय मिटर पर सामुदायिक वन उपभोक्ता समुहको कार्यालय परिसर भित्र लग्यो । त्यहाँ खाल्टो खन्यो र गाड्यो । मरेको ठाउँबाट पुर्ने ठाउँसम्म ल्याउन एक मिनेट पनि लागेको होइन गैंडालाई । तर स्काभेटरले तुर्लङग गैंडा झुण्डाएर हिडाएको दृश्य हृदय विदारक थियो । गैंडा विश्वकै दुर्लभ वन्य प्राणी हो । नेपालमा चितवन निकुंज यसको मुख्य वासस्थल हो । गैंडा हेर्नकै लागि देश विदेशमा पर्यटकहरु चितवन आउँछन् । गैंडा यहाँको आर्थिक उन्नतिसँग प्रतक्ष्य जोडिएको जनावर हो । तर मरेपछि गैंडाको त्यत्रो अपमान । मान्छेबाट त्यो हदसम्मको निर्दयिता प्रदर्शन ।
जंगली हात्तीले पुर्वी नेपालमा धेरै दुःख दिन्छ । भारतको आसामा डुवस्र हुँदै नेपालको झापासम्म आउने हात्तीले त्यहाँ मान्छेको घरबास भत्काउने अन्न र बालीनाली खाइदिने गरेर हैरान पार्छन । तर ति हात्ती पनि निकै निर्दयिता पुर्वक मारिन्छन् । हात्तीलाई मान्छेले हातले मार्न त निकै गाह्रो हुँदो हो । तर भारतमा हात्ती रेलको ठक्करले भटाभट मारिन थालेको खवर आइरहेको छ । अस्ति असोज आठ गते शुक्रबारको भारतीय पत्रिका हिमालय दर्पणको मुख्य पेजमा ठुलो फोटो छापिएको थियो । एका बिहानै हिमालय दर्पणको इ भस्रन कमप्युटरमा हेर्दा आङनै जिरिङ भएको थियो । फोटो ठुलो रंगिन र विभत्स थियो ।
जनावरहरुको यस्तो विभत्स हाल गराउने मान्छे नै हो । त्यसैले आफ्नो बस्तीमा पसेर आफ्नो स्व्भाव अनुसार हामीलाई वितण्डा लाग्ने गतिविधि गर्ने हात्तीभन्दा मानव कुन हदसम्म निर्दयी रहेछ त्यो फोटोमा झल्कन्थ्यो । मान्छे साह्रै निर्दयी हुदो रहेछ अरुलाई व्यवहार गर्ने बेलामा । त्यो हात्तीलाई क्रेन नै लगाएर उठाएको फोटो भोलि पल्ट हिमालय दर्पणले नै छाप्यो । यता गैंडालाई स्काभेटरले उठाएर सार्वजनिक प्रदर्शन गरिन्छ उता सिमाना पारि पनि उस्तै हाल रहेछ । जनावरको बारेमा मान्छे अलिपति पनि संवेदनशिल हुन नसकेको उदाहरण हो यो ।
मान्छेले मानव अधिकारको कुरा निकै उठाउँछ । मानव अधिकार भित्र जन्मेदेखि मर्दासम्म मान्छेले सम्मानित जीवन व्यतित गर्न पाउनु पर्ने कुराहरु पर्छन् । त्यसैले मान्छे जन्मदा सवैको चासो हुन्छ । मरेपछि पनि सवै लगेर अन्तिम कि्रया गर्छन राम्रोसँग यो काम पुरा गर्छन । मान्छेका बारेमा यत्रो व्यवस्था गर्न जानेको मान्छेले आफुभन्दा निर्धो जनावरका लागि भने किन केही नसोचेको होला । तिनै जनावरको आधारमा आर्थिक गतिविधि मौलाएको छ तर मान्छे तिनीहरुलाई पुरा जिवन बचाउने र मरेको अवस्थामा पनि सम्मान दिने कुरामा चुकेको छ ।


Friday, September 24, 2010

चिनियाँ जन कम्युनको जानकारी

नेपाल मजदुर किसान पार्टी र यसको भातृ संगठनले चितवनमा बेला बेलामा बहस कार्यक्रमहरु लिएर आउने गर्दछ । यस पटक पनि पार्टीका अध्यक्ष सहितको टोली फेरि चितवन आएको छ । समाजवादी व्यवस्थाको आवश्यकता र चरित्रलाई केन्द्रमा राखेर गरेर बहसहरु हुने गर्छन् । यसका लागि विभिन्न पुस्तकहरु माथि टिप्पणी र छलफल गराइन्छ । समाजवादी मुल्य र मान्यतालाई प्रचार प्रसार र जनमानसमा त्यसलाई स्थापित गराउन यस्ता कार्यक्रमहरुले सहयोग गर्छ । यस पटक पनि विभिन्न कितावहरु माथि टिप्पणी हुने छन् त्यस मध्ये मेरो भागमा परेको चिनियाँ जन कम्युन भन्ने पुस्तकको चर्चा म गर्न गइरहेको छु ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले लेखेको यो किताव ७८ पेजको रहेको छ । चीनमा कम्युनहरुको स्थापना, संचालन र कम्युनले राष्ट्रिय अर्थतन्त्र, नागरिकहरुको जिवन स्तर, सामाजिक संरचना, भूमिको उत्पादकत्व क्षमता, वितरण प्रणाली जस्ता पक्षँको जानकारी पुस्तक पढेपछि प्राप्त हुन्छ । वर्कस्र पब्लिकेशनस्ले निकालॆको पुस्तकमा तीनवटा अध्यायहरु छन् । पहिलो अध्यायमा चीनको पुरानो भूमि व्यवस्थाको जानकारी जन कम्युन स्थापनको प्रारम्भिक स्वरुप र प्रकृयाको चर्चा गरिएको छ । दोस्रोमा जन कम्युनको यथेष्ट जानकारी संचालन, प्रकृया जस्ता विवरणहरु समेटिएका छन् । तेस्रो अध्यायमा चीनका तीनवटा कम्युन पेचिङ सहरी कम्युन, पश्चिमी झीलको लोक कम्युन र शांघाई माछ्याऊको जन कम्युनहरुको लेखकले गरेको अध्ययनलाई ठाउँ दिइएको छ ।
सन् १९६० मा लेखक स्वयम चीन गएर संकलन गरेको विवरणमा आधारित भएर पुस्तकहरु तयार भएको रहेछ । नेता माओको नेतृत्वमा चीनमा सन १९४९ मा क्रान्ति सम्पन्न भयो । त्यसपछि स्वाधिन अर्थतन्त्रका निर्माणका लागि चीनले चालेको कदमको प्रतिफल जन कम्युन स्थापना हो भन्ने कुरा पुस्तक पढेपछि थाहा पाइन्छ । पुरानो भूमि प्रणलीलाई विस्थापित गरेपछि नयाँ भूमि सुधारको नीति बन्यो त्यो लागु पनि भयो । तर प्रभावकारी कार्यन्वयनका लागि पारस्परिक सहयोगी दल खडा भयो । प्राथमिक सहकारी निर्माण र त्यसपछि उन्नत स्वरुपको सहकारी हुँदै चिनिया समाजले जन कम्युनमा फड्को मारेको रहेछ । पुरानो भुमि व्यवास्थमा किसानहरुको दुरावस्था, भुमिसुधारको प्रयास, पारस्परिक सहयोगी दलको आवश्यकता, सहकारीको गठन र जन कम्युनसम्मको यात्रा र त्यपछि चिनिया समाजले गरेको प्रगतिसम्मका कुराहरु पुस्तकमा पढ्न पाइन्छ ।
कृषिमा औद्योगिकरणका लागि जन कम्युनले गरेको योगदानको चर्चा पनि पुस्तकमा छ । भुमिमा सामन्ति संरचना हावी भएको तर भुमि सुधारको चर्चा हुने गरेको हाम्रो देशका नीति निर्माताले पनि चिनिया प्रयासको जानकारी लिन पुस्तक पढ्नै पर्ने देखिन्छ । सहकारीको ताकत केसम्मको हुँदो रहेछ ? सिद्धान्त्बाट पर गएर सहकारी चलाउने आरोप लागेका नेपालका सहकारी संचालकले पनि यो पुस्तक पढ्नु पर्छ । क्रान्तिपछि चीनले स्वाधिन अर्थ तन्त्र निर्माणका लागि किसानहरुमा समेटेर निर्माण गरेको कम्युनको चर्को आलोचना पनि नभएको होइन तर आज चीन जे जस्तो अवस्थामा छ त्यसको श्रेय कम्युनहरुलाई नै जान्छ भन्ने निश्कर्ष लेखकको रहेको छ । चीन आज आर्थिक रुपले पनि अति शक्तिशाली मुलुक हो । आर्थिक रुपमा पर निर्भर नेपाललाई क्रान्तिपछि चीनले अपनाएको विधि बुझ्न पनि पुस्तक सहयोगी हुनेछ । राजनीतिक क्रान्तिलाई आर्थिक र सामाजिक क्षेत्रमा स्थापित गराउन केही साहसिक कदम चाल्नु पर्छ भन्ने ज्ञान नेपालका सत्ता संचालकलाई अझैसम्म हुन सकेको छैन ।
देशको बिकास र जनता प्रति उत्तरदायी राजनीतिक कर्मीलाई यो पुस्तकले पक्कै केही न केही प्रेरणा अवश्य दिन्छ । पुस्तक कम्युनको सकारात्मक बर्णन गर्दै सकिएकॊ छ । उदार अर्थतन्त्र र प्रजातन्त्रका हिमायतीहरुले कम्युनको चर्को विरोध गरे । त्यसको प्रशंग पनि पुस्तकमा उल्लेख नभएको होइन तर विरोधीको आलोचनाको प्रतिवाद कमै भएको छ पुस्तकमा । कतै त विरोधीको तर्कलाई नै पुष्टी गर्ने प्रशंगहरु पुस्तकमा परेका छन् । जस्तो विरोधीहरु कम्युनलाई व्यारेक भन्ने संज्ञा दिन्थ । पुस्तकमै उल्लेख तथ्य अनुसार कम्युनका आफ्नै जन सेना पनि हुने रहेछ । ती जन सेना उस्तै परे राष्ट्रिय सेनासँग मिलेर विदेशी फौजसँग पनि लड्न जाँदो रहेछ । जन सेनाको आवश्यता र औचित्यको चर्चा नभएको होइन तर विरोधीहरुले दिने व्यरेकको संज्ञालाई नै ति प्रष्ट्याइँहरुले बल दिन्छ ।
त्यस्तै जन कम्युनले कृषिमा ठुलो फड्को मारेको बुझ्न गाह्रो भएन । तर चीनलाई औद्योगिक विकासमा फड्को मार्न यसले कसरी भुमिका खेल्यो भन्ने चर्चा पुस्तकमा छैन । जसरी हिजोको शामन्ति आर्थिक संरचनाको कितावमा संक्षिप्त चर्चा छ त्यसरी नै आजको औद्योगिक महाशक्ति चीनको केही प्रशंग उठाएर त्यसलाई कम्युनको योगदानसँग जोड्ने पर्दथ्यो लेखकले । किन भने आजको चीन उद्योगले विश्व हाँकेको चीन हो । आलोचकहरु कम्युनबाट हट्नाले चीनले यो विकास गरेको हो भन्ने तर्क गर्छन् । लेखकको मान्यता कम्युनकै योगदानले चीनमा यो विकास सम्भव भएको हो भन्ने चर्चा छ । यी कुराहरु खासमा के हो धेरै नेपालीलाई अन्यौलनै छ जुन अन्यौल समाप्त गर्न पुस्तकले पनि सकेन भन्ने मेरो बुझाइ छ ।
कम्युनका चर्चा गर्दा त्यसका कुनै कमजोरी अथवा सुधार गर्नु पर्ने कुराहरु कतै उल्लेख गरेका छैनन् लेखकले । त्यसैले यो पुस्तकमा लेखक एक पक्षीय देखिए । तर जे जति कुराहरु आएका छन् ती तथ्यंगत छन् स्थलगत विवरणहरुले भरपर्दौ बनाएको छ पुस्तकलाई । त्यसैले कम्युनको सकारात्मक पाटोको राम्रै विवरण दिन्छ यो कितापले ।

Thursday, September 23, 2010

बाघ समाउन कस्तो सास्ती

चितवनको सौराहामा बाघ गैंडा जस्ता दुर्लभ वन्यजन्तु हेर्न अभिलाशाले आएका स्वदेशी विदेशी पर्यटकहरु बस्ने होटल छन् । तिनै पर्यटकहरु बस्ने मध्येको एउटा होटलमा बिहीबार जंगलबाट बाघ आएर सात घण्टा बितायो । जंगलमा समेत भाग्यले भेटिने बाघ होटलमै आएपछि धेरै जसो पर्यटकले बिहीबार जंगल यात्रा नै रद्ध गरे । बाघ निकुंजले नलग्दासम्म रमितेको भिड लाग्यो ।
बाघ होटल पार्क साइडको कम्पाउण्ड भित्रको झाडीमा बसेको थियो । 'बिहान साढे पाँच बजे उठेको एक्कासी विरालो कराएको जस्तो ठुलो आवाज आयो । माथि गएर हेरेको अजंगको बाघ पो रहेछ " होटलको पर्खालसँगै घर जोडिएकी प्रमिला पाण्डेले बताइन् । केही बेर कराउँदै यता उता गरेको बाघ पछि झाडीमा बस्यो ।
निकुंजका कर्मचारीहरु नौ बजे आएर सुरुमा आसापासको क्षेत्रमा सेतो कपडाको घेरा बनाए । सेतो कपडाको घेरो बाघले ननाघ्ने हुँदा मान्छे भएको क्षेत्रमा बाघ पसेर बितण्डा नगरोस भन्नका लागि त्यसो गरेको बाघको आनिबानीका बारेमा जानकार विष्णु लामाले बताए । निकुंज मुख्यालय कसाराबाट टोली आउँदा १० बज्यो ।
सो टालीले बाघलाई लठ्याएर डार्ट गरेर नियन्त्रणमा लिने निर्णय गर् यो । 'बाघ अलि अशक्त जस्तो लाग्यो । त्यसै जंगल लखेट्न उपयुक्त नहुने ठानेर डार्ट गरेर नियन्त्रणमा लिने र अशक्त भए उपचार गरेर छाड्ने निधो गरको हौं" निकुंजका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताए ।
डार्ट गर्नका लागि टोली निस्कन निकै समय लाग्यो । त्यो बेलासम्म होटलमा बाघ भेटिएको खवर वनको डढेलो झै पुरै सौराहामा फैलिएको थियो । अग्ला घरहरुमा बसेर पर्यटक र स्थानीय सर्वसाधरण समेत बाघको एक झल्को पाउन मरिहत्ते गरेको देखिन्थ्यो । पर्यटकका स्तरीय डिजिटल क्यामरादेखि क्यामरा भएका मोवाइल फोनको सामान्य सेट पनि बाघ तर्फ सोझिन्थे । तर बाघको आधा शरीर झाडीमा बिलाएको थियो ।
बाघको झलक नपाए पनि हेर्ने उत्सुकताले सौराहा भरी मान्छेको भिड लाग्यो । डार्ट गर्ने बेलामा निकुंजका कर्मचारीले माइकबाटै परपर जान आग्रह गर्नु पर् यो । सौराहाका धेरै घरमा आज बिहान भात पाकेन । बच्चा बच्चि स्कुल जान पाएनन् बाघ पसेको पार्क साइड होटलका कर्मचारी राधा श्रेष्ठले बताए । उत्सुकताले सवै होटलमै झुम्मिएका थिए ।
मध्यान्नको समयमा निकुंजको टोलीले बाघलाई डार्ट गर् यो । लठ्ठिएको बाघको नजिक पुगेपछि बाघको अवस्था अघि अधिकारीहरुले कल्पना गरे जस्तो अशक्त नै पाइयो । तीन वर्ष जतिको सो भाले बाघको गर्धन र अगाडीका खुट्टामा धेरै घाउहरु थिए । कसार लगेर उपचार गर्ने र निको नहुँदासम्म खोरमा राख्ने निको भएपछि छाड्ने सहायक संरक्षण अधिकृत पौडेलले जानकारी दिए ।




Wednesday, September 22, 2010

नेता बिरामी,कार्यकर्ता दुर्घटनामा

नेपाली काँग्रेसको १२ औं महाधिवेशन अस्ति सकियो । पदाधिकारी चयनका लागि त्यस दिन भएको मतदानको नतिजा हिजो आर्थत असोज ६ गते बिहान सवेरै आयो । सभापति पदको नतिजा सुरुमा घोषणा भयो । नेता शुसिल कोइरला विजयी भए । तर विजयको खुसी साट्न पाएका छैनन् शुसिलले । उनी निमोनियाले थलिएका छन् । तत्कालै त्रिवि शिक्षण अस्पतालमा भर्ना र्भका छन् उनी । एक दुई दिन हो र पुरै पाँच दिन अस्पतालमै बसेर आराम गर्नु पर्ने चिकित्सकहरुको सल्लाह छ । देशभरबाट महाधिवेशनमा आएका सवै कार्यकर्ता फर्केपछि बल्ल अस्पतालबाट निस्कने भए शुसिल ।
हिजो शुसिलको शिथिल अनुहार टेलिभिजनहरुले देखाइरहे । साँझ फेरि काँग्रेस र महाधिवेशनसँग् जोडिएर अर्को नमिठो खवर आउन थाल्यो संचारमा । काठमाडौंबाट फर्केका कास्कि काँग्रेसका नेता कार्यकर्ताहरु चढेको कार चितवनको कुरिनटार नजिक पृथ्वीराजमार्गबाट तीन सय फिट तल खसेछ । घटना स्थलमै तीनजनाको ज्यान गयो । मर्नेमा कास्कि काँग्रेसका क्षेत्रीय सभापतिसम्मका थिए । घाइते तीनजनामा पनि क्षेत्रीय सभापतिदेखि जिल्ला सदस्यसम्मका छन् । घाइते मध्ये दुईको अवस्था नाजुक नै छ । महाधिवेशन सक्दा नसक्दै नेता बिरामी हुने र कार्यकर्ता दुर्घटनामा परेर ज्यानै जानेसम्मको दुखद अवस्था काँग्रेसले बेहोर्नु परो ।
महाधिवेशनले महामन्त्रिमा प्रकासमान िसंह र कोषाध्यक्षमा चित्रलेखा यादवलाई छानेको खवर सुन्न नपाइ कास्कि काँग्रेसका केही प्रतिवद्ध कार्यकर्ताहरु परमधाम भए । चित्रलेखा यादव कोषाध्यक्षमा चुनिएकोमा म एकदमै खुसी छु । तराइको महिला मात्रै होइनन् उनी जनआन्दोलनका बलमा पुर्नस्थापित प्रतिनिधि सभाको पहिलो बैठक चलाएकी उनले राष्ट्रिय छवी बनाएकी थिइन् । तत्कालिन सभामुख तारानात रानाभाटले प्रजातान्त्रिक आन्दोलन अनुकुलको काम नगरेपछि सभामुखको हैसियतमा रानाभाटले पुन स्थापित संसदको बैठक चलाउन पाएनन । तत्कालिन उपसभामुख चित्रलेखा यादव आन्दोलनमा पनि सकि्रय थिइन र पुर्नस्थापित संसदको पहिलो बैठक पनि चलाउन पाइन् । उनको त्यति बेलाको बजनदार आवाज नबिसे्रको मलाई उनी काँग्रेसको कोषाध्यक्ष पदमा निर्वाचित भएको खवरले खुसी बनायो ।
यो राम्रो खवर सुन्नुअघि मैले आफु काम गर्ने पत्रिकालाई काँग्रेसका तीनजना कार्यकर्ताको दुर्घटनामा ज्यान गएको समाचार पठाउनु परेको थियो । अस्पतालमा छटपटाएका लौ लौ सकिए भन्ने अवस्थाका काग्रेस कार्यकर्तालाई भेटेर आउनु परेको थियो । काँग्रेसमा भिमबहादुर तामाङले सभापति पदमा एक दमै झिनो मत ल्याएको र महामन्त्रिमा नरहरी आचार्यको पनि ठ्याक्कै उही हालत भएको खवर पनि दुखदायि नै हुन । उनीहरुले नजिते पनि निष्ठाको राजनीतिको काँग्रे भित्र अलि बोलाबाला हुन पर्दथ्यो । यस्तोछ कि भन्ने पनि लागेको थियो । तर चुनावी परिणामले काँग्रेस भित्र सिद्धान्त र निष्ठाको राजनीित गर्नेहरु अति नगन्य रहेछन् भन्ने देखायो । यस्तै हालतले हो पार्टी नवनिर्वाचित सभापति वस्तो बिरामी हुने छ । यस्तै अवस्थाले हो पार्टी भित्र पृथ्वीराजमार्गको जस्तो अनेपेक्षित दुर्घटना ल्याउने । यो देशकै लागि दुर्भाग्य हो ।

Tuesday, September 21, 2010

आज लाखेहरु नाच्दै

लाखे नाच रमाइलो हुन्छ । अलि डर लाग्दो पनि हुन्छ केटाकेटीहरुलाई । नेवारहरुको जात्रा पर्वहरु प्रशस्त हुन्छन् । जनै पुर्णीमापछि सुरु हुन्छ जात्रा पर्व । लाखे नाच पनि नेवाहरुले निकाल्ने गर्छन् । यो नाचको साँस्कृतिक आध्यात्मिक र सामाजिक पक्षका बारेमा मलाई फिटिक्कै केही थाहा छैन तर सानैदेखि लाखे नाचेको देख्दै आएको हो । लाखे देख्दा सुरुमा खुवै डर लाग्थ्यो । टाउकोमा लामो कपाल थपेको अगाडी डर लाग्दो मुखौटो लगाएको अनौठो भेषभुषा र ढङढङढङ गर्ने बाजा र झ्याम झ्याम झ्याम गर्ने ख्यालीको तालमा हातमा रुमाल हल्लाउँदै नाच्थ्यो लाखे । यो कहाँबाट झरेको होला भन्ने लाग्थ्यो । लाखेसँगै नाच्ने एउटा जोक्कर हुन्थ्यो । त्यसले भने रमाइलो गर्दथ्यो । सानो छदाँ त्यही जोक्कर पि्रय लाग्थ्यो । लाखे त्यसलाई भेटायो कि भकुथ्र्यो । रमाइलो गराउनेलाई लखेट्ने लाखे देखेर रिस उठ्यो । यो लाखे राक्षस हो भन्ने लाग्थ्यो ।
विस्तारै लाखे नाच्न छाड्यो । बरु टिभीमा देखिन थाल्यो लाखे । हाम्रो गाउँमा चानचुने नाच हुँदो रहेनछ टिभीमा समेत नाच्ने ठुलो नाच हुँदो रहेछ भन्ने परो । तर गाउँ र सहरका टोलहरुमा लाखे नाच्न छाड्यो । गाउँमा हुँदा तिज आउन आउन लाग्यो भन्ने समयमा राती राती त्यही ढङढङ र झ्याम झ्याम सुनिन्थ्यो । त्यो लाखेले नाचको तयारी सुरु गरेको हो भन्ने पाका पुरानाहरु । तिजको दिन महिलाहरु स्कुल र मन्दिरमा जम्मा भएर गीत गाउँथे । दुई तीन बजेपछि लाखे नाच्न आइ हाल्थ्यो । विस्तारै राती सुनिने लाखे नाचको तयारीको ढङढङ र झ्याम झ्याम आवाज हरायो । तिजको दिन नाच्ने लाखे पनि विलायो । नाच्न निकै मिहेनत लाग्छ रे, जस्तो तस्तोले सक्दैनन रे, पहिला नाच्ने गरेको मान्छे बिरामी भयो रे, उ नाच्न नसकेकाले लाखे ननिस्केको रे जस्ता कुराहरु गाउँमा सुन्न पाइन्थ्यो । पछि गाउँनै छाडेपछि लाखे नाच कथा भयो । उही टिभीमा झल्याक झुलुक देखिन्थ्यो त्यत्ति हो ।
तर बजारमा पनि अब लाखेहरु छपक्कै हुने भएका छन् । नारायणगढ बसपार्क टोलसुधार समितिले तीन वर्षअघि लाखे नाचको प्रतियोगिता सुरु गरेपछि लाखेको रौनक फेरि ब्युँझिएको छ । तीन वर्षअघि समुह थोरै थिए तर यस पटक भसक्कै छन् टोलीहरु पनि । देशका विभिन्न जिल्लाबाट २५ टोली आएका छन् । उनीहरुले पाउने पुरस्कारको राशी पनि धेरै नै छ । पहिलो हुनेले ३०, दोस्रोले २०, र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छ यस पटक । विजेता नभएकाहरु पनि निरास हुने छैनन् किन कि सहभागि भएको प्रोत्साहन स्वरुप सवैले पाँच हजार पाउने रहेछन् । टोल सुधार समितिले देशभरबाट समुह जुटाएर लाखे चनाउँदै छ । आज बुधबार असोज ६ गते नारायणगढ बसपार्कमा ति लाखेहरु नाच्दा कम्ता रमाइलो हुने छैन । टोलवासीले यसलाई ठुलो पर्वको रुपमा लिएका छन् ।
हिजो पाँच गते मंगलबार साँझ प्रतियोगिताको प्रचार गर्न शोभा यात्रा निस्कियो । टोलवासीले घरघरमा पुर्ण घडा राखेर शोभा यात्राको स्वागत गरे । सहभागि २५ वटै समुहले झाँकी देखाए शोभा यात्रामा जसले आजको नाचको स्वादको संकेत छाडेको छ । लाखे नाचमा ढङढङ र झ्याम झ्याम मात्रै ताल हुँदो रहेनछ । हाम्रो नियमको धुन पनि मिसाएर भजन गाएर लाखे नचाइदो रहेछ । यी नौला खाले ताल लय र नाच हेर्न कस्ले छुटाउला र । म आज साँझ नारायणगढ बसपार्कमा हुने रमाइलो माहौलको कल्पना गरेरै दंग परेको छु ।




Monday, September 20, 2010

कामरेड रोहितका खस्रा कुरा

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहित संविधान सभाका सदस्य पनि हुन् । असोज ४ गते सोमबार नारायणगढमा सो पार्टीको विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा कामरेड रोहितले निकै घत लाग्ने कुराहरु बोले । उनका कुरा खस्रा हुन्छन् । उनले संविधान सभामा हुने केटाकेटी पन ठुला दलको चरित्र र देश नै डुवाउने गरेर चलाइने गरेको बहस र बनाइन थालेको नीति विरुद्ध चर्का टिप्पणी गरे । जग्गाको भाउ बढाएर धन कमाउनेहरुको स्वार्थमा चल्ने गरेको चितवनलाई राजधानी बनाउनु पर्छ भन्ने हौवा मच्चिएकै ठाउँमा आएर रोहितले राजधानी दाङ सार्नु पर्छ भन्ने तथ्यसँगत कुरा गरे । घडेरी व्यपारीहरु फेरि दाङ हानिने हुन कि भन्ने आशंका हिजोबाट सुरु भएको छ ।
संविधान सभामा सदस्य संख्या धेरै भएर परेको आफ्ठेरो सुनाए । संविधान सभामा सदस्यहरु धेरै छन् त्यसमाथि कुरा नबुझ्ने अति नै छन् । एनजीओको एजेण्डा लैजाने अर्का थरी छन् । विदेश घुम्ने ध्याउन्न मात्रै भएकाहरुको संख्या पनि काम छैन भन्छन् रोहित । संविधानसभाका सदस्यहरुले संविधान केहो भन्ने कुरा नै मेसो नपाएको उनले अनुभव गरेको रहेछन् । खालि माग मात्रै राखे जस्तो गरेर अल्झाउने गरेको रोहितले बताए । देउवाकी जहान अर्थात काँग्रेसकी सभासद आरजु र राप्रपाकी सभासद अर्थात देउवाकी सासु प्रतिभा राणाले संविधानमा लेख्ने कुराहरुमा बहस चल्यो कि खाली महिलालाई प्राथमिकतामा राख्नु पर्छ मात्रै भन्ने गरेको उनले सुनाए । देशमा राष्ट्रपति राख्ने कि प्रधानमन्त्री कार्यकारी बनाउने भन्ने कुरामा छलफल हुँदा यी दुई आएर 'हैन महिलालाई प्राथमिकता दिउँ" भन्ने जस्ता अडमिल्दा कुरा गर्ने उनले सुनाए ।
संविधान सभा सदस्यको संख्या धेरै गराएर समस्या मात्रै परेको उनको भनाइ थियो । मात्रै सयजना सदस्य बनाएर त्यसमा पनि विषय विज्ञहरुलाई प्राथमिकता दिएको भए यस्तो झमेला हुँदैन थियो भन्छन रोहित । संविधानसभामा मधेसका दलहरुले झिक्ने बखेडा र पार्ने दिक्दारीको पनि रोहितले कार्यक्रममा चर्चा गरे । हरेक विषय निस्कना साथै मधेसी भनेर अड्को थाप्ने गर्दा रहेछन् उनीहरु । त्यस्तालाई रोहितले जवाफ दिदा रहेछन् 'तपाइँ मात्रै हो र मधेसी हामी पनि हो । तपाइँहरु भारतबाट भर्खर भर्खर आएर २५ सालमा नागरिकता लिएको हामी मल्ल राजासँगै भारतको वैशालीबाट काठमाडौं छिरेको । त्यसैले तपाइँ नयाँ मधेसी हामी नेवार पुराना मधेसी ।"
नेवारलाई आदिवासी जनजाति मान्ने कुराको पनि विरोधी रहेछन् नेवार बिजुक्छे । नेवार जस्ले राज्य नै चलाएर बस्यो त्यो आदिवासी जनताति हुँदै हुँदैन भन्ने तर्क उनले गरे । काठमाडौं उपत्यकामा आएर नेवारहरुले जसमाथि शासन गरे अर्थात ज्यापुहरु भने आदिवासी जनताति हुन सक्ने उनले बताए । जातको आधारमा संघीयता बनाउने कुराको कट्टर आलोचक रोहितले नेवारहरुले राज्य माग्नु सुहाउने कुरा नभएको बताए । पृथ्वीनारायण शाहाको पालामा समेत राज्य जोगायन नसक्नेले अब के चलाउलान भन्ने उनको भनाइ थियो । नेवारहरुले आफ्नो कला संस्कृति जोगाएर राख्नु पर्नेमा उनले जोड दिए । यसका लागि राजधानीलाई काठमाडौंबाट सार्नै पर्छ भने । राजधानी भएकाले काठमाडौंमा बाहिरका मान्छेको चाप बढेर नेवारहरु अल्पमतमा परेको उनले बताए । यस कारण राजधानी काठमाडौंमा हुनु नेवारको हितमा छैन भने रोहितले ।
राजधानी हड्ताल र बन्द भइरहेने ठाउँ हो । पुर्व पश्चिम राजमार्गले छिचोलेको ठाउँ चितवनमा राजधानी राखे पटक पटक हुने बन्द हड्तालले पुर्व पश्चिम र उत्तर लाग्नेले सधै हैरानी उठाउनु पर्छ त्यसैले चितवनमा पनि राजधानी नराखौ भने उनले । चितवनको प्राकृतिक सम्पदा जोगाउन सके दिर्घकालसम्म यहाँ पर्यटन फष्टाउँछ । पर्यटन फष्टाए विकास त्यसै हुन्छ । राजधानी बनाएर भिड मात्रै बढाए प्राकृतिक सम्पदाहरु स्वाहा हुन्छन् चितवन चाडै कुरुप हुन्छ । घडेरीको भाउ तत्कालै बढाएर नाफा कमाउन चाहनेहरुको योजना अनुसार आएको राजधानी चितवनलाई बनाउँ भन्ने अभियान बास्तवमा चितवनका लागि हितकर छैन । रोहितका तर्क सुनेपछि चितवनवासीको मनमा यस्ता कुरा उठ्छन ।
जातीय राज्यले मुलुकमा हुने दुरदशाको चित्र भयावह हुने रोहितको चेतावनी छ । सुडानमा सन् १९५३ सा जातीयताका आधारमा तीनवटा संघ बनेछन् । असन्तुष्टि बढेपछि एक हप्तापछि नै बढाएर १४ वटा बनाइएछ । अहिले २६ वटा जातीय राज्य भए तर सुडानमा साम्प्रदायिक िहंसा र जातीय राज्यको माग अझै टुिगंएको छैन । जातीयताको आधारमा संघ बनाए नेपाल सुडान हुने सम्भावनाबाट टाढा छैन भन्छन् रोहित । जातीयताले साम्प्रदायिकता बढ्ने उनको भनाइ छ । साम्प्रदायिकता रोक्न प्राकृतिक स्रोत र भुगोललाई आधार बनाएर संघ निर्माण गर्न उनको पार्टीले प्रस्ताव गरेको छ । साम्प्रदायिक िहंसाको भयावह चित्र पनि उनले प्रस्तुत गरे भारतको उदाहरण दिएर ।
भारत विभाजन हुँदा हिन्दु र मुसलमान गरेर दुईवटा सम्प्रदायका बीचमा फैलिएको साम्प्रदायिक मनमुटावले १० लाखको ज्यान गयो भन्छन उनी । विरोधीहरुले जवान छोरी बुहारीको आँखा अगाडी इज्जत लुट्न थालेपछि पाका मान्छेले त्यो बिडम्बना भोग्नुभन्दा आफ्नै सन्तानलाई मारेर मट्टितेल खन्याएर जलाउने सम्मको घटना भारतमा भयो भन्छन् रोहित । भारतमा त्यो सवै गराउन अंग्रेज लागेको थियो नेपालमा त्यस्तै िहंसा गराउन भारत लागेको छ भन्छन रोहित । भारतको यो चाललाई ठुला पार्टीले बुझेर पनि नबुझे जस्तो गरेकोमा रोहितको मनन अमिलो भएको छ । तर उनीहरुले त्यसो गरे भनेर अरु चुप लाग्नु भएन भन्छन रोहित ।





Sunday, September 19, 2010

बाटोमा बिजोग

पृथ्वीराजमार्ग काठमाडौंलाई बाँकी देशसँग जोड्ने मुख्य बाटो हो । यो बाटेमा गाडी कुदे भने काडमाडौंमा बसेकाहरु नेपालको अरु भुभाग जान सक्छन् अरु भुभागमा भएकाहरु काठमाडौं छिर्न सक्छन् । अस्ति असोज १ गते शुक्रबार बिहानै पाँचै बजेबाट यो बाटो ठप्प भयो । नारायणगढदेखि ५१ किलो मिटर टाढा र मुग्लिनदेखि १५ किलो मिटर पर चितवन दारेचोक गाविसको फिस्लिङमा ठुला घर जत्रा ढुंगा खसेका रहेछन् जसका कारण बाटो बन्द । त्यो ठाउँमा शनिबार बिहान १० बजे पुग्दा यता मुग्लिन बजारमा गाडी बाटाभरी फिजारिएका थिए । मोटर साइकल छिराउन पनि गाह्रो । अनि मुग्लिनभन्दा अगाडीको सडकमा गाडीको लाइन मात्रै थियो । फिस्लिङ उता पनि लाइनको लर्को योभन्दा लामो भएको जानकारी प्रहरीले दिए । हज्जारौं यात्रु सडकमा अलपत्र थिए । मिडिया काठमाडौंमा सुरु भएको काँग्रेसका महाधिवेशन चिरफार गर्न केन्द्रित थियो ।
पहिरोले ३० मिटर सडक पनि छोपिएको थिएन तर त्यो पार गर्न सक्ने अवस्थाको रहेन । पहिरो झरेको ठाउँभन्दा निकै माथि पहाडबाट मान्छेहरु आवत जावत गरि रहेका थिए । बलयाहरु आँटेर मात्रै त्यो बाटो हिडेका थिए । किन भने सिम सिम पानी परेको थियो । भर नभएको बाटोमा दह्रो पाइला राख्ने ठाउँ पनि थिएन । बाटो साँधुरो र अक्करमा परेको थियो । समाउने झारहरु पनि नभएको डाँडामा पाइला खुस्किए सत्यानास । त्यसैले ज्यान हत्केलामा राख्न धेरै तयार भएका थिएनन् । पहिरो गएको १५ घण्टापछि स्काभेटर आएर ढुंगा फुटाउन थाल्यो । पहाड खन्तीले कोतरे जस्तो लाग्दथ्यो त्यो काम । त्यै पनि बाटो खुल्ला भन्ने आशा बटुवाहरुलाई लाग्न थाल्यो । सद्दे मान्छे त कुर्ला भोक प्यास खटाउला तर सद्दे मात्रै थिएनन त्यहाँ । हामी पुग्दा काडमाडौं उपचारका लागि हिडाएकी विष्णुमाया थापा एम्बुलेन्समा छटपटिएको फेला परिन त्यो बेला ।
छिर्ने छिद्र पनि नभएको बाटोमा बसेर कति कुर्नु । राती १ बजे आएको रे १० बजेसम्म कुरेर मात्रै बसेका थिए । ज्वरोले थलिएकी थापालाई पाँच दिन भरतपुरको अस्पतालमा राख्दा पनि थर्मोमिटरको पारो नओर्लिए पछि काठमाडौं दौडाइएको रहेछ । बाटो खुल्ने छाँट नदेखेपछि आफन्ते एम्बुलेन्स फर्काए । बाटो शनिबार साँझबाट एकतर्फी खूल्यो रे यो खवर देशभर फैलियो । आइतबार बिहान १० बजे फेरि फिस्लिङ लागियो । मुग्लिनदेखि सवै सफा भए छ बाटो । तर फिस्लिङ आउने आउने बेलामा फेरि देखिए गाडीको लर्को । उहि पुगेपछि थाहा भयो फेरि बाटो ठप्प भएछ । सामुन्ने हिजोको जस्तै एम्बुलेन्स थियो । हेर्दा हेर्दै तीनवटा एम्बुलेन्स जम्मा भए । सिकिस्त विरामी थिए त्यहाँ । खुलेको खवरले आएका एम्बुलेन्स बाटोको यथार्थ अवस्थालॆ अलपत्र परे । ट्राफिक प्रहरीले त भन्नु पर्ने भन्ने गुनासो गरे बुटबलबाट मुटुरोगी बृद्धलाई बोकेर आएका एम्बुलेन्स चालक नारायण सुवेदीले ।
सहरमा झगडीयाले चक्का जाम गरे भने एक एक खवर लाइव गर्न तछाड मछाड गर्छन् यहाँका एफएमहरु । त्यत्रा हज्जारौ यात्रु अलपत्र परेको बाटो बन्दको खवर स्थलगत रुपमा सायदै कसैले दिए । यहाँ एफएमहरुले बाटो खुल्यो भन्दा उता बन्द भइसकेको हुन्छ । कमसे कम एउटालाई त्यही खटाएर पलपलको खवर दिने गरेको भए विरामी बोकेका एम्बुलेन्सहरु त हानिएर जाने थिएनन् होला त्यहाँ ।

Saturday, September 18, 2010

उत्खनन

राष्ट्रिय मानव अधिकार आगोगको अगुवाइमा जनकपुर नजिकको कमला नदी किनारमा यस पटक उत्खन कार्य चलेको छ । माओवादीले चलाएको शसस्त्र संघर्षका बेलामा सरकारका मान्छे अर्थात प्रहरीले समातेका युवालाई सेनाले मारेर पुरेको आशंका लागेका ठाउँहरुमा खन्ने काम भएको हो । खन्दा युवाहरुको कंकाल, गोलीका खोका र लत्ता कपडा पनि भेटिएको समाचारहरु प्रकाशित भएका छन् । माओवादीले चलाएको शसस्त्र संघर्षका बेलामा मान्छेको ज्यानलाई भुसुना बराबर पनि नठानेर मार्ने र लाश गायब पार्ने प्रचलन खुवै मौलायो । राज्यनै यो काममा अग्रसर थियो । माओवादीलाई मारेपछि कतै प्रश्न उठ्दैन भन्ने दम्भ थियो, ठम्म्याइ थियो । पापधुरीबाट कराउछ भने जस्तै आज शान्ति सम्झौता भएको चार वर्ष पुग्नै लाग्दा चिहान खोतलीदै छ र सरकारको ताकत भएमा उ बेला मार्नेहरु अब थुनिने छन् ।
कमला नदीमा उत्खनन भइ रहँदा माओवादी चुप छ । माओवादी चुप लाग्दा उत्खनन जारी राख्न मद्दत मिल्छ । माओवादीको यो सहयोगले दण्डहिनतालाई अन्त्य गर्न राम्रो सन्देश जान्छ । अहिले चरा मारे जसरी मान्छे मार्ने गरेका तराईका हतियारधारी समुह पनि तस्रने छन्, यो उत्खननले किन भने मान्छे मारेमा कुनै न कुनै बेला कठारघारमा उभिनु पर्छ भन्ने उनीहरुलाई लाग्न सक्छ । मान्छेको जिवनको मुल्य उनीहरुलाई थाहा लाग्न सक्छ । तर यसो भइ हाल्ला भन्ने ग्यारेण्टी भने छैन है, त्यो पनि माओवादीकै कारणले हुने हो अरुका कारणले होइन । कमला किनारमा उत्खनन गरेर सेना प्रहरीलाई कारवाही गराउने कुरामा माओवादी चुप छ तर पत्रकार डेकेन्द्र थापाको कंकाल खोज्ने क्रममा माओवादीले ठुलो आपत्ति जनायो । यसले विद्रोहीहरुले संघर्षका बेलामा गरेको जस्तो सुकै कामको पनि पछि आवाज उठाउन पाइदैन भन्ने सन्देश जानसक्छ र मधेसमा अहिले हतियार बोकेर हिडेका समुह उन्मत्त हुने खतरा रहन्छ ।
पत्रकार डेकेन्द्र थापाको अस्थिपंजर खोजीको विषयमा माओवादीले आपत्ति जनाएको कुरा पुरानो हुन सक्छ हालैमा एउटा त्यस्तै खालको नयाँ नौलो घटना भएको छ । माओवादीका सभासद बालकृष्ण ढुंगेल ज्यान मुद्दामा सर्वोच्च अदालतबाट समेत दोषि ठहर भए । ओखलढुंगाका यी सभासदलाई वि.स. २०५६ सालमा मुद्दा लागेको रहेछ । सेना प्रहरी मारेको होइन सर्वसाधरण उज्ज्नकुमार श्रेष्ठलाई सुराकीको आरोपमा मारेको अभियोगमा उनी माथि त्यस्तो सजाय भएको रहेछ । तर माओवादी शसस्त्र संघर्षका बेलामा भएको घटना भएकाले अदालतले गरेको सजाय नमान्ने बताउँदै आएको रहेछ । माओवादीले एउटा कुरा भन्दै गर्ला राज्यको ऐन कानुनले अर्को कुरा भन्दै गर्ला, हामीले त्यो सवै हॆर्दै गरौंला ।
आफुलाई परेको अफ्ठेरोमा माओवादी युद्ध कालको मुद्दा व्युँताएको भनेर आक्रोशित हुन्छ । सेना प्रहरीले गरेको अपराध खोज्न राज्यले चालेको पहलमा चुपचाप रहन्छ । ढुंगेलको सजायमा आपत्ति जनाउने माओवादी कमला नदी छेउमा भएको उत्खननमा किन केही नबोलेको हो ला ? आखिर यो पनि युद्धकालमा भएको घटना नै त हो नि । कमला उत्खननमा मेरो कुनै आपत्ति छैन गैर न्यायिक लाग्ने हरेक घटनाको अब स्वतन्त्र उत्खनन आवश्यक छ तर राज्य संलग्न घटनामा चुप लाग्ने माओवादी आफु संलग्न घटनामा भने 'अन्याय भयो युद्ध कालको घटना यसरी खोतल्न हुँदैन थियो" भन्छ । मलाई यो कुरा मात्रै चित्त नबुझेको हो । तर यसरी चित्त नबुझाउनेहरु माओवादी दृष्टीकोणमा प्रतिकि्रयावादी कहलिन्छन । तर डेकेन्द्र थापाको अस्थिपन्जर खोज्दा चित्त दुखाउने माओवादीहरु कमला नदीमा खन्ने काम हुँदा किन त्यसो नगरेको भनेर प्रश्न गर्नु अवश्य गलत हुँदैन ।
माओवादीहरु मैना सुनुवारको हत्या काण्डका आरोपिहरुलाई कारवाही हुँदा जायज भन्छन । सिन्धुपाल चोकका कुनै सर्वसाधरणको हत्या या अपहरण के को हो आरोपमा मुछिएका पार्टीका नेता अग्नि सापकोटलाई विदेश जाँदा सोही आरोपका कारण भिसा नमिल्दा रडाको मच्चाउँछन् । मैना सुनुवार हत्या काण्ड ज्यादै जघन्य अपराध हो यसका अराधीहरुले उनमुक्ति पाउनु हुँदैन । तर त्यस्तै अपराधका आरोपि माओवादीका मान्छेले के कारणले हो उनमुक्ति पाउनु पर्ने नबुझेको कुरा यही हो । के यसरी प्रश्न गर्ने न पाइने हो ? अथवा के हो ? घोत्लिदै जाँदा कमला उत्खननले चरित्रको पनि उत्खनन् गरेको छ ।