Sunday, January 13, 2013

भाग्य दुर्भाग्य

 शिशुसँग चालिसे
यो कथा जन्मदा वित्तिकै सालनाल सहित पोको पारेर फालिएकी नवजात शिशु स्याहार्ने एक प्रौढ पुरुषको हो । जन्मदाताबाट मिल्काइएकी ति बच्चीका लागि उनले सम्पुर्ण माया खनाए । तर आफैसँग सधै राख्न पनि पाएनन् । संयोग पनि कस्तो प¥यो भने पुर्णीमाका दिन फेला परेकी शिशुलाई १५ दिनपछि आएको औशीका दिन अर्कैलाई सुम्पिए ।
पुस १३ गते स्थानीय एफएमहरुले साल नालसहितको नवजात बच्ची भरतपुरको आस्था चोकमा भेटिएको खवर प्रशारण गरे । सो शिशु फेला परेपछि प्रहरीले भरतपुर अस्पताल लगेको थियो । यो खवर सुनेपछि भरतपुरबाट नौ किलो मिटर टाढा रत्ननगर नगरपालिकाको वडा नं. ७ कपरखोरी घर भएका ४६ वर्षीय इन्द्रप्रसाद चालिसेका पाइला अस्पताल तर्फ लम्किए ।
 एफएममा समाचार बज्दा उनी टिकौली जंगलमा कुलपुजामा सामेल हुन आएका थिए । ‘पुजामा पैसा उठाउने अभिभारा मेरो थियो । खवर सुनेपछि मन कस्तो कस्तो भयो । अहो न्यानो काख चाहिने बच्चीलाई स्याहार्ने कोही छैन भन्ने भयो । म त कुलपुजाको काम च्यात्तै छाडेर अस्पताल दौडिए’ चालिसेले सुनाए ।
अस्पताल पुग्दा बच्चीको शरिर निलो भएको थियो । कपासले बेरेर नर्सहरुले न्यानो बनाउने प्रयास गरेका थिए । शरीरको रुप रंग फेरिदै आएपछि नर्ससँग उनले बच्ची मागे । कपडाले बेरेर जकेट भित्र घुसाइ छातीमा टाँसेर राखे । ‘त्यसो गरेको केही बेरपछि बच्ची च्याँ गरेर रोइ । मेरो शरीरमा थोरै दिसा पनि चुहाइ छ’ चालिसेले भने ।
अस्पतालमा तीन रात राखेपछि बच्चा डिस्चार्ज गरेर उनले आफ्नो घर लगे । यो तीन रातमा दुई घण्टाभन्दा बढी सुतिन भन्छन् उनी । चालिसेकी श्रीमती निर्मला हुलाकी जागिरे हुन् । चालिसे पनि प्रहरी सेवाबाट अवकाश लिएका व्यक्ति हुन् । उनका १५ वर्षकी छोरी र १३ वर्षका छोरा छन् । घर लगेपछि सवै मिलेर शिशुको स्याहार गरे ।
चालिसेकी छोरी फरक क्षमताकी अर्थात सुस्त मनस्थिती भएकी छन् । त्यो छोरीको स्याहारमा उनी दत्त चित्त भएर लाग्छन् । त्यसैले नवजात शिशु स्याहार्न कुनै अल्छि र आलस्य नलागेको उनले बताए । पुसको ठण्डीमा त्यसै मिल्काइएकी शिशुलाई चिसोले निकै गाँजेको थियो । तेल तताउँदै मालिस गर्ने र कोइलाको रापमा सेक्ने गर्दा शिशु चिसोको चपेटाबाट मुक्त भइन् ।
    ‘प्रहरीमा २२ वर्ष बिताएको हुँ । कयौ बच्चाहरु मरेको देखे । चोट लागेका कयौ बच्चालाई काखमा राखेर उपचार गर्न अस्पताल पु¥याँए । त्यस्तो बेलाम मनमा कतै केही उब्जदैन थियो । यो पटक त के भयो के’ चालिसेको भनाइ छ । जन्मेको ११ औ दिनका दिन उनको वैदिक विधि अनुसार चालिसेले न्वारन पनि गरेर अनि नाम राखिदिए ‘पुर्णीमा’ ।
वेवारिसे बच्ची फेला परेको खवर सुनेपछि अस्पताल दौडिनेमा चालिसे मात्रै थिएनन् । विस २०५५ सालमा बिबाह भएको तर हालसम्म निसन्तान रहेका नवलपरासी त्रिवेणी गाविस वडा नं. ९ विष्णुनगरका शोभाखर र गोमा ज्ञवाली पनि उनलाई स्याहार्ने मनसाय राखेर अस्पताल पुगेका थिए । तर अस्पतालबाट बच्चा चालिसेले बुझेर लगे पनि सन्तान रहरमा रहेको ज्ञवाली दम्पति  चुप लागेर बसेन ।
जिल्ला वालकल्याण समितिमा यो विषय प्रवेश भयो । समितिले चालिसेले खन्याएको ममता हे¥यो । ज्ञवाली दम्पतिको चाहना सुन्यो । चालिसेलाई एक पटक आग्रह पनि गर्ने विचार ग¥यो ।  ‘यो बच्ची कसैलाई दिएपछि त म बाच्नै सक्दिन विक्षप्त भएर मर्छु हजुर’ चितवन जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सामुन्ने धरधरी आँशु चुहाउँदै उनले बिलौना गरे ।
चालिसेबाट शिशु लिदै ज्ञवाली दम्पति (बाँया)
 तर चालिसेको मन परिवर्तन भयो । उनी जिल्ला वालकल्याण समितिले जे निर्णय गर्छ त्यो मान्छु भन्न राजी भए । जिल्ला प्रशासनमा पुस २७ गते शुक्रबार चालिसे र ज्ञवाली दम्पति जम्मा भए । ‘चालिसे ज्युको ममतामा हामीलाई शंका होइन । ज्ञवाली जी पनि बच्चाको चाहनामा हुनु हुँदो रहेछ । सन्तान सुखको अनुभुती गराउन चालिसे जीले त्याग गर्नु प¥यो’ सहायक प्रजिअ गेलालले आग्रह गरे ।
 त्यपछि निकै भावुक हुँदै चालिसे धारा प्रवाह बोल्न थाले । उनको भनाइको सार थियो ‘छोरी कसैलाई दिन्न भन्ने अडान त लिए । तर ज्ञवाली दम्पतिको चाहनालाई ख्याल गरे । संसारमा लिनुमा भन्दा दिनुमा माहनता छ भन्ने उद्गार पनि स्मरण गरे । अनि जे निर्णय हजुरहरुले गर्नु हुन्छ मान्छु भनेर दरो मन बनाएर आएको हुँ ।’
 चालिसेको सकारात्मक जवाफ सुन्दा वित्तिकै ज्ञवाली दम्पतिको आँखा रसायो । चालिसे शिशुलाई गालमा टाँसेर राख्न थाले । निकै बेर त्यसो गरेपछि यसो भन्दै उनले त्यो शिशु जिम्मा लगाए ‘सेकी राख्नु होला । उमालेको पानी मन तातो बनाएर खुवाउने गर्नु होला । तातो तेल खुट्टामा घसी राख्नु होला । राम्रोसँग हुर्काउनु यदी राम्रो गर्नु भएन भने म तपाइँको घरमा आगो लगाइ दिन्छु ।’

Friday, January 4, 2013

हजामको भुमिकामा हेडसर

हजामको भुमिकामा हेडसर

दारोचोक गाविसमा पर्छ कमेरे गाउँ । पृथ्वीराजमार्गको कुरिनघाटबाट उत्तर तर्फ केही उकालो बाटो हिडेपछि पुगिन्छ सो ठाउँमा । त्योभन्दा पनि उत्तरमा छ चैतारा गाउँ । जहाँ विस २०६२ सालको चैत्र ८ गते तत्कालिन शाही नेपाली सेनाको रेञ्जर बटालियन र माओवादीको ठुलो भिडन्त भएको थियो । माओवादीका २० भन्दा बढी लडाकुले ज्यान गुमाए तर सेनाको केही क्षति भएन भन्ने खवर आएको थियो । सत्य कुरा बुझ्न स्थलगत रिपोर्टिङमा जाँदा पहिलो पटक कमेरे गाउँ र चौतरा पुगिएको थियो भिडन्त भएको दोस्रो दिन । कमेरेमा भेट भएको थियो नारायणप्रसाद अधिकारीसँग । हामीले भेट्दा अधिकारी स्थानीय राप्रावि कमेरेको प्रधानअध्यापक हुनु हुन्थ्यो । सो भेटपछि  अधिकारीसँग निकै आत्मिय सम्बन्ध कायम भएको छ ।
चौतारामा दोहराएर पनि गइयो विस २०६५ सालको चैत्रमा । पहिलो पटक जाँदा चौतारा पुगेर समाचार संकलन गरी फर्केर कमेरेमा बास बस्न आइएको थियो । दोस्रो पटक जाँदा कमेरेमा बास बसेर चौतारा हानिएको थियो । यस पटक फेरि चौतार जाने मनसाय राखेर कमेरे तर्फ पाइला बढाइयो । तर चिसोले गर्दा ठाडो उकालो चढ्ने आँट आएन त्यसैले एक रात कमेरे गाउँमा बसेर भरतपुर फर्कियो । कमेरे गाउँ पुग्दा नारायणप्रसाद अधिकारीसँग भेट भएकै हुन्छ । शिक्षण पेशाबाट अवकाश लिएपछि अधिकारीको सक्रियता राजनीति र सामाजिक काममा निकै बढेको छ । नेकपा(एमाले) चितवन जिल्ला कार्य समितिको सचिवालय सदस्य अधिकारी निष्ठाको राजनीति गर्ने साह्रै कम व्यक्ति मध्येका एक हुनु हुन्छ । समाज सेवामा सामजिक उन्नतिको स्वार्थ बाहेक अन्य केही भावना राख्नु हुन्न । 
हामी पहिलो पटक जादा उहाँले सम्मालेको राप्रावि कमेरेको प्रध्यानअध्यापकको पदमा अहिले ऋषिराम अधिकारी पुग्नु भएको छ । पुस १८ गते साँझ हामी कमेरे पुगेका थियौं । बिहान गाउँ घुम्न निस्कियौ । कमेरेभन्दा पल्लो पाखोमा घर बनाएका ध्रुव अधिकारीलाई भेटेका थियौ । मिजासिला ध्रुवको दम्तिनै शिक्षण पेशामा आवद्ध रहेछन् । दम्पति मिलेर अम्रिसो खेती गरेका । अन्य अन्नवालीभन्दा यो फाइदा जनक थिए भन्ते उनीहरु । कारण अन्नबाली लगायो बाँदरले सखाप पार्ने । छोराछोरी भरतपुर बसेर पढ्ने । आफुहरु पढाउन गाउँदेखि एक घण्टा परको स्कुल जाने । पढाउने बेलामा पनि बाँदरले मकै खायो कि भनेर पिरोलीनु पर्ने । अम्रिसो लगाएपछि क्या आनन्द । बाँदरले नखाने मात्र होइन पैसो पनि कमाइन थाले छ यो खेतीबाट । 
पढाउने र खेती गर्ने ध्रुब गजल लेख्दा रहेछन् । मन परेका अरुका गजल समेत कापीमा सारेर गाउँने पनि  रहेछन् । ध्रुबसँग भलाकुसारी गरेर हामी कमेरे तर्फ फर्कियौं । नारायण अधिकारीको घरभन्दा दुई सय मिटर पर छ विद्यालय । विद्यालयमा आइ पुग्दा प्रधानअध्यापक ऋषिराम अधिकारी एकजना कपाल जिङरिङ्ग भएको विद्यार्थीका अगाडी थिए । उनी त्यसलाई कपाल किन नकाटेको बाबु भनेर केरकार गर्दै थिए । केटो केही बोल्न सकेको थिएन । त्यसो भए तेरो कपाल मै काटि दिन्छु भन्दै प्रधानअध्यापक अधिकारीले कैची र काइयो मगाए । त्यसपछि मिलाई मिलाई कपाल काटिदिन लागे । कक्षा दुईमा पढ्ने सो विद्यार्थीको नाम सरोज पोखरेलले रहेछ । कपाल राम्रैसँग काटिदिए प्रधानअध्यापकले ।
विद्यार्थीको हात खुट्टा धोइ दिदै प्रअ अधिकारी
कपाल मात्रै काटि दिएको हो र उनले त अर्को उधुम गर्न थाले । ठुलो ठुलो ढुंगा बटुलेर तीन मुखे चुल्हो बनाउन लगाए । छात्राहरुले डेक्चीको बाहिर खरानी लगाएर चुल्होमा राखे । त्यो डेक्चीमा पानी तताउन भने । पानी मन तातो भएपछि शिशु कक्षामा पढ्ने भुराहरुलाई बाहिर निकाले । अनि उनीहरुका खुट्टा धोइदिन थाले । ति बालबालिकाहरुको खुट्टामा मैलाको पत्रैपत्र थियो । मैले आज धोएर पठाए भने भोलीदेखि लाजले पनि अभिभावकले खुट्टा धाइ दिन थाल्छन् भन्ने प्रधानअध्यापक अधिकारीको तर्क थियो । 
सो विद्यालयमा ६६ जना पढ्दा रहेछन् । जसमा ३२ जना चेपाङ समुदायका बालबालिका रहेछन् । चेपाङ समुदाय नेपालको अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी हो । पाखा पखेरामा बस्ने अधिकांश चेपाङहरु विपन्न छन् । सफा सुग्घर भएर बस्नु पर्छ भन्ने ज्ञान कमैलाई छ । चेपाङ मात्रै हो र त्यहाँ पढ्ने क्षेत्री बाहुन समुदायका केटाकेटीको हालत पनि उस्तै हो । तर उनीहरुलाई सफा सुग्घर बनाउन प्रधानअध्यापक अधिकारीले गरेको प्रयास प्रशंसनीय छ ।
गाउँमा पत्रकार आएका बेलामा यो काम गरे प्रचार हुन्छ भन्ने ठानेर अधिकारीले केटाकेटीको कपाल काट्ने र खुट्टा धोइ दिएको पक्कै होइन होला । केटाकेटीलाई सफा सुग्घर राख्न अभिभावकलाई नझक्झकाइ हुँदैन । त्यसका लागि केही न केही गर्नै पर्ने ठानेर अकिारीले कैची चलाउन र जग डुवाउन परेको होला भन्ने हामीलाई लाग्यो । किन कि नारायण अधिकारी जस्तो निष्ठावान व्यक्ति बसेको ठाउँमा कसैले केवल प्रचारका लागि मात्रै केही गर्न अघि सर्छ भन्ने हामीलाई लागेन । आशा छ प्रधानअध्यापक ऋषिराम अधिकारी सरले नानीहरुलाई सफा सुग्घर हुने बानी बसाल्न हाम्रा अगाडी गरेको काम अरु बेला पनि गर्नु हुने छ ।