Thursday, December 27, 2012

असली ध्रुबे

अटेरी मेडिकल कलेजको वागिश्वरी वनमा रहेको भवन

निकुञ्जबाट वस्तीमा आएको एउटा जंगली हात्तीले भटाभट मान्छे मार्न थालेपछि त्यसलाई पनि मार्न भन्दै अहिले अनेक हर्कत भएका छन् । तर जति खोजे पनि ध्रुबे भनेर ख्याति कमाएको सो हात्ती नियन्त्रणमा आएको छैन । अटेरीको अर्को नाम जंगली हात्ती भएको छ अहिले । तर चितवनमा त्योभन्दा पनि अर्को अटेरी छ जसलाई कमैले चिनेका छन् । त्यो हो भरतपुरका पुरानो मेडिकल कलेजका संचालकहरु ।  जैविक, धार्मिक र ऐतिहासिक महत्वको वागिश्वरी वनमा मेडिकल कलेज राख्न दिने सरकारको निर्णय राष्ट्रघात भएको सर्वोच्च अदालतले १६ वर्षअघि गरेको फैसलामा उल्लेख छ । त्यस्तो राष्ट्रघात हुने काम अझै सच्चिएको भने छैन । 
यस पटक माडिकल कलेजले सो क्षेत्र खाली गर्छ कि भन्ने लक्षण देखिएको थियो । तर जिल्ला वन र देवघाट क्षेत्र विकास समितिबीच चाँबी कस्ले बुझ्ने् भन्ने कुरा टुंगो नलाग्दा कलेजलाई नै फाइदा पुग्ने अवस्था आएको छ । सानो कुरामा पनि बन्द हड्ताल र तोडफोडमा उत्रनै चितवनका दलहरु यस विषयमा मौन छन् ।
तत्कालिन सरकारले विस २०५० सालको फागुन १६ गते वागिश्वरी जंगलको  ४२ बिघा जग्गा अहिले पुरानो मृडिकल कलेज भनेर चिनिने इन्टर नेशनल सोसाइटी फर मेडिकल कलेजलाई भाडामा लिने निर्णय गरेको थियो । जसका विरुद्ध चितवनमा अनशन मात्रै भएन सर्वोच्च अदालतमा मुद्दा नै प¥यो । कलेजलाई जग्गा भाडामा दिने सरकारको निर्णय सर्वोच्चले ५३ साल बैशाख १७ मा बदर ग¥यो । तर सो बेला बनेका भवनहरु कलेजले अझै प्रयोग गर्दै आएको छ । त्यहाँ १५० जना अटाउने छात्राबास र पुस्ताकालय रहेको छ । फर्मेसीको पढाई त्यही हुन्छ । फार्मेसी पढ्ने १२० जना विद्यार्थी छन् । 
सर्वोच्चको आदेशपछि चितवनको जिल्ला वन कार्यालयले कलेजलाई हट्न भन्दै आठआठ पटक सूचना निकाल्यो । तर तीन वर्षअघि वन मन्त्रालयले नयाँ सम्झौता गरेर फेरि मेडिकल कलेजलाई नै त्यो ठाउँ भाडामा लगायो । जुन सर्वोच्चको आदेशको अपहेलाना थियो तर कसैले कुरा उठाएन ।
अदालतको आदेशको प्रतिकिुल हुने गरेर तीन वर्षअघि गरेको सम्झौता पनि असोज मासन्तमा सकिएको छ । तर पनि मेडिकल कलेज हट्ने कुनै छेक छन्द देखिएको छैन । कलेजका संचालकहरु भारतीय नागरिक हुन् । देशको सर्वोच्च अदालतले १६ वर्षअघि गरेको आदेश विपरित भारतीयहरु त्यो ठाउँमा बस्दै आउनु विडम्बना पुर्ण दृश्य बनेको छ । 
वागिश्वरीको विषयमा फैसाल गर्दा सर्वोच्च अदालतले भनेको छ ‘राष्ट्रिय विषयको महत्वमा श्री ५ को सरकारले निर्णय गर्दा राष्ट्रिय हितलाई ध्यानमा राखेर संविधान तथा कानुन विपरित नहुने गरी निर्णय गरिनु पर्ने हुन्छ ।’
अनि पैmसलामा अगाडी भनिएको छ ‘यदी सरकारले संविधानमा व्यवस्थित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु विपरित गएर निर्णय गर्छ भने त्यस्तो अवस्था औलाउन नसकिने होइन ।’ सरकारले निर्णय गर्दा राष्ट्रिय हितलाई ध्यानमा राखेर संविधान तथा कानुन विपरित नहुने गरी निर्णय गर्न नसकेको कुरा अदालतले औलाइएको छ ।
फैसलामा पुरातात्विक महत्वका वस्तु र सम्पदाको हेरविचार र संरक्षण सरकारको प्रमुख  दायित्व हो भनिएको छ । पुरातात्विक प्राचिन वस्तुको संरक्षण नगर्ने हो भने हाम्रो देशको प्राचिन सभ्यता र संस्कृति हामी आफैले विर्सन सक्छौ भनेर अदालतले चिन्ता व्यक्त गरेको छ ।
पुरातात्विक चीज बस्तुहरु रहेको धार्मिक ठाउँमा उत्खनन् हुन नपाउँदै मेडिकल कलेज बनाउँदा त्यहाँ रहेका प्राचिन मन्दिर तथा चीज वस्तु नष्ट हुदैनन् भन्न नसकिने भनेर फैसलामा उल्लेख छ । तर सर्वोच्चको आदेश कार्यन्वयन नहुँदा त्यस्ता चीज बस्तुहरु नष्ट भए नभएको कसैलाई वास्ता छैन । 
फैसलाको मुख्य अंशमा भनिएको छ ‘प्राकृतिक, धार्मिक एवम पुरातात्विक दृष्टीले महत्वपुर्ण भएको वन जंगलले घेरिएको देवघाट क्षेत्रको जग्गा मेडिकल कलेजलाई दिने सरकारको मिति २०५०। ११ । १६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ ।’ तर अदालतको आदेश अटेर गरेर मेडिकल कलेजले ठाउँ नछाड्दा राष्ट्रियता, संस्कृतिक सम्पदा र पुरातात्विक धरोहरहरुमा लगातार आक्रमण भएको तर्फ कमैको ध्यान गएको छ । 

Friday, December 21, 2012

ध्रुबेले मात्रै हो र सताउने


कात्तिक १७ गतको मध्यरातेदेखि मंसिर ३० गतेको मध्यरातसम्म चितवनको माडी क्षेत्रमा पर्ने गर्दी गाविसमा जंगली हात्तीले आक्रमण गर्दा चारजनाको ज्यान गयो । डेढ महिना भित्रै एकै गाविसमा यति धेरै मान्छेको ज्यान गएपछि अहिले यो घटना राष्ट्रव्यापी चर्चामा छ । तर चितवन राष्ट्रिय निकुञ्ज आसपासका गाउँमा जंगली जनावरको आक्रमणको घटना नौलो भने  होइन । 
यस पटकको हात्ती आक्रमणको चर्चासँगै केही गम्भिर विषय भने जन्मेको छ । त्यो हो जंगली जनावरको सधै त्रास रहने निकुञ्ज नजिकका गाउँमा जनावरको आक्रमणबाट मानिसहरुलाई जोगाउन कुनै भरपर्दो ठोस पहल नगरे ज्यान लिने जनावर मारी हाल्नु पर्छ भन्ने माग उठि रहन सक्छ । जुन कुरा संरक्षणका दृष्टीले निकै घातक हुने छ । 
वर्षेनी १० भन्दा बढीले ज्यान गुमाउँछन्      चितवन राष्ट्रिय निकुञ्ज विस २०३० सालमा स्थापना भएको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज विश्व मै दुर्लभ मानिएका एक सिंगे गैंडा, पाटो बाघ लगायतका वन्यजन्तुको मुख्या वासस्थल पनि हो । यी जनावरहरु निकै ह्रिसंक पनि हुन्छन् । त्यस्तै भिमकाय जनावर हात्ती पनि पानी र आहारका लागि चितवन निकुञ्जमा विचरण गर्छ । 
 विस २०६७ साल पुसमा जंगली हात्तीले आक्रमण गरेर ज्यान गुमाएका
माडी अयोध्यापुरीका सुकराम सुनारको किरिया बसेका छोराहरुको फाइल फोटो ।
निकुञ्जसँगै जोडिएका बस्तीहरु छन् । त्यसैले जनावरको आक्रमणमा पर्न जंगलै छिर्नु पर्दैन गाउँ मै आएका जंगली जनावरले स्थानीयको ज्यान लिने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट प्राप्त जानकारी अनुसार विस २०६८ सालको साउनदेखि ६९ सालको असारसम्म जंगली जनावरले मान्छेमाथि आक्रमण गरेका ३३ घटना छन् । जसमा दुईवटा घटना मात्रै निकुञ्ज भित्र भएका छन् । 
यी घटनाहरुमा १३ जनाको ज्यान गएको र २० जना घाइते भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । चितवन निकुञ्ज भित्र गत वर्षको चैत्रमा बाघको आक्रमणमा परेर पटिहानीका किसान महतोको ज्यान गएको थियो । त्यस्तै पटिहानी कै नरबहादुर मगरलाई गएको बैशाखमा निकुञ्ज भित्रै गैंडाले हानेर मारेको थियो । यो बाहेकका सवै घटना निकुञ्ज बाहिर भएका छन् ।
बदेल र भालुको आक्रमणमा परेर फाट्ट फुट् मान्छे नमरेका होइनन् तर मान्छेकै ज्यान लिने गरेर आक्रमण गर्ने जंगली जनावरको सूचिमा बाघ, गैंडा र हात्ती नै रहेको छ । यो वर्ष हात्ती आक्रमण चर्चामा छ । तर दुई वर्षअघि विस २०६७ सालको साउनदेखि ६८ सालको असारसम्म जंगली हात्तीले हान्दा चितवन निकुञ्ज आसपासका गाउँमा बस्ने १० जनाको ज्यान गएको थियो ।
चितवन निकुञ्जका रेञ्जर बिष्णु थपलिया भन्छन् ‘त्यो आर्थिक वर्षमा जंगली हात्तीले १० जना मारेको थियो भने गत आर्थिक वर्ष २०६८÷०६९ मा दुईजनालाई मारेको थियो ।’ यो वर्ष भदौमा जंगली हात्ती गाउँमा देखा परेको थियो । माडीको गर्दी र चितवनको पुर्वी सिमना पिप्ले गाविसमा हात्तीले धान खान थाल्दा यो पटक हात्ती आतंक यो हदसम्म जाला भनेर सायदै कसैले सोचेको थियो । 
माडी गर्दी गाविस वडा नं. १ अमेलिया गाउँका ६५ वर्षीय अमरबहादुर थापा मगरलाई विस २०४४ सालमा भालुले आक्रमण गरेको थियो । त्यो बेला उनको दाहिने आँखा गुमेको थियो । उनै अमरबहादुरलाई कात्तिक १७ गते मध्यरातमा घरको पिढिबाटै हात्तीले तानेर छातिमा कुल्च्यो । यस पटक उनको ज्यान जोगिएन ।
पुर्वभन्दा पश्चिम क्षेत्र असुरक्षित ः 
निकुञ्जबाट निस्केका जनावरहरुले ज्यान लिने घटना निकुञ्जको पुर्वी क्षेत्रभन्दा पश्चिम क्षेत्रका गाउँमा बढी देखिएको छ । अघिल्लो आर्थिक वर्षको तथ्याङकलाई आधार मान्ने हो भने पनि कुल ३३ घटनामध्ये छवटा घटना मात्रै पुवी क्षेत्रका छन् । त्यस्तै ज्यान गुमाउने १३ मध्ये दुईजना मात्रै पुर्वी क्षेत्रका छन् ।
 चितवन निकुञ्जको मुख्यालय कसराभन्दा पश्चिममा क्षेत्रहरुमा गैंडा धेरै रहेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की बताउँछन् । संरक्षण शिक्षाका लागि समुदायमा जागर फैलाउने काममा सक्रिय हुँदै आएका चितवन निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादवको अनुभव पनि त्यस्तै छ । नेपाल भर ५३४ र  चितवन निकुञ्जमा मात्रै ५०३ वटा गैंडा छन् । 
‘अहिले पश्चिममा धेरै गैंडा छन् । जंगलबाट निस्केर गाउँमै जान्छन् । उखुबारीमा गैंडा आएर बच्चा जन्मायो भन्ने खवर समेत मलाई बेला बेलामा आउँछ । यसरी गैंडा बाहिर आउँदा आक्रमणका घटना हुने नै भए’ यादवले भने । नवलपरासीको नारायणी, कवासोती, पिठौली, दुम्किवास, कोल्हुवा गाविस र चितवनको जगतपुर, मेघौली गाविसमा गत वर्ष गैंडाले हानेर १२ जना घाइते भए ।
निकुञ्ज मुख्यालय कसराबाट प्राप्त विवरणमा गैंडाले हानेर पुर्वी क्षेत्रका जम्मा दुईजना मात्रै घाइते भएको देखिन्छ । गत वर्षको फागुन १९ गते पुर्वी चितवन रत्ननगर नगरपालिका वडा नं. ७ का सावित्री देवकोटा र शिशिर रेग्मीलाई गैंडाले आक्रमण गर्दा घाइते भएका थिए । यो एक दिनको घटना बाहेक पुर्वी चितवनमा गैंडा आक्रमणको घटना दोहरिएन ।
पुर्वमा गैंडा कम मात्रै भएको होइन भएका गैंडा पनि जंगलबाट गाउँमा नपसोस  भन्नका लागि विद्युतीय तारबार ठाउँ ठाउँमा गरिएको छ । त्यसैले आक्रमणका घटना कम भएको हुन सक्ने अधिकारीहरुको अनुमान छ । नारायणी नदीसँग जोडिएका पश्चिमका गाउँहरुमा त्यसरी विद्युतीय बार लगाउन सम्भव पनि छैन । त्यसैले गैंडा गाउँमा छिरेको छ ।
बाघको आक्रमण नदी आसपासमा ः
बाघले आक्रमणका घटना नारायणी नदी आसपासमा क्षेत्रमा बढी हुने गरेका छन् । गत वर्ष बाघको आक्रमणमा पाँचजनाको ज्यान गयो । जसमध्ये चारजना नदी आसपासका गाउँलेहरु छन् । मृतकमध्ये तीनजनालाई माछा मार्न लागेको बेलामा बाघले नदी मै आक्रमण गरेको थियो । यो वर्ष अहिलेसम्मको एक मात्र बाघ आक्रमणको घटना पनि नदी आसपासमा भएको छ ।
गत वर्षको भदौ ११ गते पश्चिम चितवन मेघौली वडा नंं ३ का ५० वर्षीय बिष्णुबहादुर कुमाललाई बाघले मा¥यो । डुंगामा बसेर नदीमा माछा मार्न लागेका बेला उनीमाथि बाघले आक्रमण गरेको चितवन निकुञ्जले जानकारी दिएको छ । त्यस्तै  यही जेठ २७ गते नवलपरासीको रजहर वडा नं. ७ का हिराबहादुर माझीलाई बाघले नदीमै आक्रमण गरेर ज्यान लियो ।
मुकुन्दपुर गाविसको वडा नं. ९ मा पर्ने नारायणी नदीको तीन भंगालो भन्ने ठाउँमा माझीलाई बाघले आक्रमण गरेको थियो । माझीको ज्यान गएको हप्ता दिन बित्दा नबित्दै सोही भंगालोमा बाघले फेरि आर्को आक्रमण ग¥यो । असार ३ गते एका बिहानै सो ठाउँमा बाघले आक्रमण गर्दा माछा मार्न आएका प्रगतिनगर वडा नं. १ का ५४ वर्षीय देवीबहादुर बोटेको निधन गएको थियो । 
नदीभन्दा बाहिर गत बैशाख १२ गते मेघौली गाविस वडा नं. ५ की ३५ वर्षीया राधा भण्डारीलाई स्थानीय सदाबाहार मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेर मारेको थियो । सो ठाउँ निकुञ्जलाई छोएर बग्ने अर्को ठुलो नदी राप्ती नजिक । नदीभन्दा टाढा गत चैत्र २३ मा बाघको आक्रमणमा परेर पटिहानी  गाविस वडा नंं २ का २१ वर्षीय किसान महतोको ज्यान गएको थियो ।
यो वर्ष पनि नदी आसपासमा बाघको आक्रमण सुरु भएको छ । यही भदौ १३ गते मेघौली गाविसको वडा नं. २ का ५० वर्षीय दिलबहादुर कुमालको बाघको आक्रमणमा परेर ज्यान गएको छ । ‘केही वर्षयता मेघौली र यस आसपासका गाउँ जो नारायणी नदीसँग जोडिएका छन् त्यहाँ बढी बाघको आक्रमण हुने गरेको छ’ चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले भने । 
चितवन निकुञ्ज नेपालमा बाघको मुख्य बासस्थल हो । नेपाल भर कुल १५५ वटा बाघ रहेकोमा १२५ वटा बाघ चितवन निकुञ्जमा नै छन् । निकुञ्ज भित्र बाघलले खाने आहार प्रजातिका चित्तल, बदेल कम हुँदै गएपछि बाले मान्छेको सिकार गर्न थाल्छ ।
सुरक्षा र राहतको प्रवन्ध ः
जंगली  जनावरलाई बस्तीमा आउन रोक्न उनीहरुलाई चाहिने पर्याप्त आहारको व्यवस्था निकुञ्ज भित्रै मिलाउनु पर्छ । त्यसका लागि निकुञ्जमा पर्याप्त घाँसे मैदान हुनु पर्छ । तर केही वर्षयता घासे मैदानको क्षेत्र निरञ्तर खुम्चदै गएको छ । 
मंसिर ३० गते मध्यरातमा हात्तीले आक्रमण गर्दा ज्यान गुमाएका
माडी गर्दी गाविस वडा नं. ९ द्रोपतीनगरका वृद्धदम्पत्तिको लाश कुर्दै उनका छोराहरु ।
यसरी आउने जनावरलाई रोक्न नियन्त्रित रुपमा विद्युत छाडेर गरिएको विद्युतीय तारबार (इलेक्ट्रीक फेन्स) ले केही हदसम्म काम गरेको छ । जसको सिको गर्दै विजुली नै नभएको माडी क्षेत्रमा  सौर्य ऊर्जाबाट चल्ने इलेक्ट्रिक फेन्स राखिएको । एक किलो मिटरको एक लाख रुपैयाँ खर्च गरेर माडीमा ३८ किलो मिटर इलेक्ट्रिक फेन्सगरिएको छ । तर प्रभाव राम्रो परेन ।
विषेश गरेर जंगली हात्तीलाई तारबारले कुनै असर नगरेको माडी गर्दी गाविसमा रहेको पाँचपाण्डब मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष यमकान्त भुषालको भनाइ छ । पुर्वी चितवनमा गत वर्ष निधन हुने दुईजना पनि हात्ती कै आक्रमणमा परेका थिए । चितवन माडीका चार गाविस र पर्साको ठोरीमा हात्तीबाट जोगिने उपाएका बारेमा गाउँलेलाई प्रशिक्षित पनि नगरेको होइन ।
निकुञ्जका पशु चिकित्सक डा.कमल गैरेका अनुसार हात्ती रक्सीको गन्धमा आकर्षित हुन्छ । केराका रुख खान रुचाउँछ । कमजोर खालका घरहरु भत्काउने र त्यहाँ बसेका मान्छेलाई पनि हान्ने मार्ने गर्छ । हात्ती प्रभावित क्षेत्रमा बस्नेहरुले यस्ता कुरा ख्याल राख्न आवश्यक छ । तर व्यवहारमा यस्ता कुरा लागु हुन सकेका छैनन् ।
चितवन निकुञ्जले वर्षमा १० करोड रुपैयाँको हाराहारीमा आम्दानी गर्छ । त्यसको आधा रकम मध्यवर्ती समितिहरुलाई जान्छ । निकुञ्जसँग जोडिएका गाउँलेहरुलाई समेटेर मध्यवर्ती उपभोक्ता समिति गठन हुन्छ । समितिले सो रकमबाट संरक्षण र विकास मुलक कार्यक्रमका साथै वन्यजन्तुको आक्रमणमा परेकाहरुलाई उपचार र राहत खर्च गर्ने व्यवस्था गरेको हुन्छ । 
वन्य जन्तुको आक्रमणमा परेर घाइते हुनेले उपचार वापत बढीमा ५० हजार रुपैयाँ पाउने व्यवस्था छ । त्यस्तै मृतकका परिवारले एकजना मृतकको डेढ लाख रुपैयाँ राहत पाउँछन् । सो रकम पाँच लाख पु¥याउनु पर्ने आफुहरुको माग रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियार बताउँछन् ।
सरकारले तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । तर पुर्ण वजेट नआउनाले निर्णय कार्यन्वयन हुन सकेको छैन । चितवन निकुञ्जमा केही वर्षयता वन्यजन्तुको संख्या लगातार बढेको छ । त्यस्तै घुम्न आउने पर्यटकको संख्या र निकुञ्ज छेउछाउमा बस्नेहरु पनि बढेका छन् । तर जनावरको वासस्थान व्यवस्थापन र स्थानीयको सुरक्षाका बारेमा पर्याप्त चासो र कार्यक्रमहरु भने छैनन् ।