Friday, June 28, 2013

किन बढ्न लागेको हो खानेपानी महशुल, थाहा छ ????

धारामा हो र पाइप फुटेर सडकमा बढी छ्यालब्याल हुन्छ पानी ।
सरकारले सञ्चालन गरेको संस्थानले खानोपानी आपुर्ती राम्रोसँग गर्न सकेन भनेर भरतपुरमा एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नयाँ खानेपानी आयोजना सुरु भयो ।  एडीबीले सर्त राख्यो संस्थान हटाउनै पर्छ । करोडौंको आयोजना सञ्चालनमा भ्रष्टाचार पनि उत्तिकै भयो । यस्तो कमअसल पाइप राख्यो कि पाइप फुटेर खानेपानीको पानी उपभोक्ताको धारामा कम सडक चोक जताततै छ्यालब्याल हुन थाल्यो । एडीबीलाई १५ वर्ष भित्र पैसा फिर्ता चाहिएको छ । भ्रष्टचारीहरुलाई जनताको खल्ती निचर्नु छ । गाँठी कुरो नै यही हो शुल्क बढ्नु को ।
१५ वर्ष भित्र एडीबीलाई ऋण तिर्ने सर्तमा भरतपुर नगरपालिकामा सञ्चालन भएको शहरी वातावरण सुधार परियोजना अन्तर्गत सो खानेपानी आयोजना तयार भएको हो । सोही ऋण तिर्नका लागि अहिले उपभोक्ताको थाप्लोमा मुल्यबृद्धीको भार परेको हो । यो मुल्यवृद्धीलाई चुपचाप स्वीकार गरे हे नगरवासी खानेपानीको जिम्मा नै निजी क्षेत्रको हातमा जाने छ । अनि धारमा पानी आकाशको फल हुने छ ।
नगरवासीहरुलाई उपयोग गरेर नेपाल खानेपानी संस्थानलाई भरतपुरबाट हटाउन सफल भएपछि खानेपानी व्यवस्थापन बोर्ड चर्को मुल्यवृद्धीको तयारीमा जुटेको छ । नगरक्षेत्रमा खानेपानीमाथि बोर्डको एकाधिकार कायम भएको वर्ष दिन नपुग्दै मुल्य बढ्ने भएपछि उपभोक्ताहरु ‘संस्थान हटाएको पाप लाग्न सुरु भएको’ टिप्पणी गर्न थालेका छन् ।
एसियाली विकास बैंक (एडीबी) को २६ करोड २७ लाख रुपैयाँ खर्च गरेर सम्पन्न भएको खानेपानी आयोजना सुरुदेखि नै भ्रष्टाचारको अखण्डा बनेको थियो । कमअसल खालको पाइप राखेका कारण ठाउँ ठाउँमा फुटेर आहाल बन्दा पनि मर्मतमा ढिलाई गर्ने बोर्डले मुल्य बढाउन थाल्दा उपभोक्ता आक्रोशित भएका छन् ।
उपभोक्ताले पानी उपभोग गरे वापत अहिले न्युनतम ५० रुपैयाँ तिरेका छन् । १० युनिट पानी खपत गर्दा यो शुल्क तिर्नु पर्छ । अब बोर्डले ११० रुपैयाँ न्ुनतम शुल्क लगाउने तयारी गरेको छ । १० युनिटभन्दा माथि उपभोग गर्दा प्रति युनिट १५ रुपैयाँ तिर्दै आएकोमा अब १८ हुने भएको छ ।
घरायसीका साथै संस्थागत र निजी संस्थागतमा पनि शुल्क बढाउने बोर्डको योजना छ ।  बढ्न लागेको शुल्कको बारेमा बोर्डले असार १५ मा भरतपुर नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम समेत राखेको छ । खानेपानी संस्थान हटाउ आन्दोलनका अगुवाहरु मुल्यवृद्धिको विरुद्ध देखिएका छैनन् ।
भरतपुर नगरपालिकामा लामो सयमदेखि नेपाल खानेपानी संस्थानले पिउने पानी आपुर्ती गर्दै आएको थियो । तर संस्थाले गुणस्तरीय सेवा दिन नसकेको भन्दै एडीबीले संस्थानलाई विस्थापन गर्ने सर्तमा नगरपालिकालाई खानेपानी आयोजनामा सहयोग गरेको थियो । गत वर्षको भदौबाट संस्थान भरतपुरबाट हटेको छ
तर आयोजना सम्पन्न नभएको दुई वर्ष पुग्दा नपुग्दै पाइप फुटेर ठाउँ ठाउँमा पानीको भल नै बगेको छ । मर्मतमा बोर्डले सिन्को पनि नभाँचेको उपभोक्ताहरु बताउँछन् । बोर्डका कार्यकारी निर्देशक शालिकराम पौडेल आयोजना निर्माणमा भएको कमजोरीले यस्तो दुरावस्था आएको जिकिर गर्छन् । खानेपानी वितरणका लागि कमजोर पाइप राखेको उनको भनाइ छ ।    
 खानेपानी आपुर्ती गर्न ३५० किलो मिटर पाइप बिछ्याइएको छ । जसमध्ये तीन सय किलो मिटर पाइप पोलिथिनको छ । ‘पोलिथिनको पाइप भएको ठाउँमा नै अहिले समस्या आएको छ । सायद निर्माण गर्दा नै गलत सामग्री छनौट भएको हुनु पर्छ । पोलिथिनले पानीको दवाव झेल्न सके जस्तो देखिएन’ कार्यकारी निर्देशक पौडेलले भने ।   
विस २०६७ सालको पुसमा खानोपानी आयोजना सम्पन्न भएको थियो । तर दुई वर्ष नहुँदै ठाउँ ठाउँमा फ्ट्न थालेको छ ।     आयोजना चरणमा नै यस्तो लापरवाही हुनु र अहिले मर्मतमा चासो नदेखाइनुले बोर्डको काम संस्थानको भन्दा पनि गए गुर्जेको अवस्थामा पुगेको छ । बरु बोर्ड आएपछि जडान र महशुल चर्को भएको थियो । सुरुदेखि कै चर्को शुल्कमा थप बृद्धि हुने भएको छ ।
    
   

Thursday, June 27, 2013

गैंडा हेर्न बाघखोरमा

गैंडा हेर्न को हुँदैन हुरुकक
चितवन निकुञ्ज आसपासका गाउँमा गैंडा देखिनु नौलो कुरा हुँदैन । गैंडा हेर्न जाँदा बास बस्नु परे होटल नपाइएला भन्ने पिरलो पनि छैन । तर गैंडाका बथान, बास बस्ने ठाउँमा न्यानो स्वागत सत्कार र जिब्रोमा गढ्ने स्वादिला स्थानीय परिकार । यी सवै कुरा नवलपरासी अग्यौली गाविसको बाघखोर गाउँमा बाहेक अन्यत्र सायदै पाइएला । पछिल्लो समय ठाउँ ठाउँमा होमस्टे खुल्ने लहर नै चलेको छ । तर प्रचारमा आए जस्तो राम्रो सेवा सुविधा दिन नसकेको गुनासो पनि उत्तिकै छ । अग्यौली गाविसको वडा नं. ५ मा पर्ने बाघखोर गाउँमा खुलेका होमस्टे हेर्दा चिटिक्कका छन् । सञ्चालक मिजाशिला छन् । उनीहरुले खुवाउने खाना नास्ता रुचिकरका साजै स्वास्थ्यका लागि पनि हितकर छन् ।
पुर्व पश्चिम राजमार्गको डण्डा बजारबाट सात किलो मिटर दक्षिणमा छ बाघखोर गाउँ । गाउँको आडमा छ गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वन । वनसँगै छ नारायणी नदी । नारायणी पारी छ विश्व प्रशिद्ध चितवन राष्ट्रिय निकुञ्ज । निकुञ्ज, नदी र वन दुर्लभ वन्यजन्तु, पंक्षी र जलचरको वासस्थल हो । यी हेर्न पर्यटक आउने नै भए ।
 नेपालको पहिलो जंगल लज टाइगर टप्स होटलका संचालकहरुले नै दुई दशकअघि सोही गाउँमा थारु लज खोलेका थिए । निकुञ्ज भित्र रहेका मचान होटल र टेम्पल टाइगर होटलले पनि भित्र होटल राख्न नपाउने भएपछि बाघखोरमा नै होटल बनाएका छन् । पर्यटनको सम्भावना देखेपछि सोही गाउँका थारु समुदायले होमस्टे सुरु गरेका छन् ।
आदिवासी थारु समुदायका आफ्नै पोशाक, संस्कार, संस्कृति र खानपान छ । गैंडा हेर्न बाघखोर जाँदा यी सवै कुरा देख्न भोग्न पाइन्छ । होमस्टेमा बस्ने पाहुना आउँदा सञ्चालकहरु एकै ठाउँ भेला भएर फुल अबिरले स्वागत गर्छन् । आफ्नो मौलिक पोशाक र गहनासहित स्वागतमा उपश्थित हुन्छन् उनीहरु ।
 फर्कदा विदाइ पनि त्यसरी नै गर्छन् उनीहरु । स्वागत, बिदाई र त्यसबीचमा हुने सवै खालका गतिविधि झट्ट बिर्सन सक्दैन बाघखोर आउनेले । सामुहिक स्वागतपछि घर घरमा बस्ने पाहुनाको छिनोफानो हुन्छ । घरमुलीले साथमा लैजान्छन् आफ्ना पाहुनालाई । आँगनमा रहेको खाटमा बसेर हात बुना पङ्खा हल्लाएर  हावा खाँदै गर्दा घरमुली अङ्खरा भरी धाराको चिसो पानी लिएर आउँछन् ।
 अनदी धानको चामल बाफमा पकाएर तयार गरिन्छ चिच्चर नामको परिकार । पिठोको राटी पनि वाफमा नै बफाएर पकाइन्छ । थारु समुदायका यी खास खान्की खाजा र खानाका रुपमा प्रयोग गर्न सकिन्छ । तरकारीमा हुन्छ हाँस, कुखुरा या सिद्रा र ठुला माछाका परिकार । उनीहरुको भान्सामा पाकेका घिरौला, लौका र चिचिण्डा पनि भिन्न स्वादका हुन्छन ।
‘निमिर्चा’ नुन र रातो खुर्सानी पिसेर बनाएको धुलो हो । हेर्दा सामान्य लाग्छ तर स्वाद बिछट्टैको हुन्छ । ‘हाम्रो होमस्टेमा भुटानका पाहुना आएर बस्नु भएको थियो । निमर्चा उहाँहरुले यस्तो मन पारउँनु भयो कि बस्दा सधै खानु भयो । जाँदा पनि पोको पारेर कोशेलीका रुपमा लैजानु भयो’ होमस्टे नं. १ का सञ्चालक रुपनारायण थारुले भने ।
खान खाएपछि सुत्नुअघि सवै पाहुनालाई भेला पारेर गाउँमा थारु नाँच देखाइन्छ । बोटे पनि छन् गाउँमा । उनीहरुको नाँच पनि पाहुनालाई पस्कन्छन् होमस्टे सञ्चालकहरु । होमस्टेको सुविधा पनि चर्को मुल्य तिर्ने होटल सरहको छ । एटेच ट्वाइलेट बाथ रुम भएका होमस्टे चिटिक्क र सफा छन् । भान्सामा पलेटी मारेर परिवारसँग खाना नास्ता खाँदा छुट्टै आनन्द आउँछ ।
खाँदा बस्दा मात्रै होइन डुल्दा पनि बेग्लै रमाइलो हुन्छ बाघखोर गाउँमा । थारुका डेढ सयभन्दा बढी घर छन् । गाउँको बीचबाट हात्ती या गाडामा बसेर गैंडा हेर्न वन छिर्ने गरिन्छ । ‘हाम्रो वनमा ३० वटा गैंडा छन् । एकै ठाउँमा १२ या १५ वटासम्म गैंडा देख्न सकिन्छ’ अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रेमशंकर मरदनीयाले भने ।
बाघखोरमा मुसहर पनि छन् । नदी र खोलामा माछा मारेर गुजरा गर्ने समुदाय हो मुसहर । निकुञ्जका सिमाना भित्र माछा मार्न उनीहरुका लागि सहज छैन अहिले । त्यसैले गाउँमा आठवटा माछा पोखरी छन् । घुम्न आएका पाहुनाहरु तालमा आफै बल्छी थापेर माछा मार्ने र तिनै माछा होमस्टेमा पकाएर खाने बन्दोवस्ता पनि मिलाइएको छ ।
शहरको होहलाहलबाट पर गाउँमा बस्दाको आनन्द बाघखोर पुग्नेले अनुभव गर्न सक्छ । एक रात बसेको तीन सयदेखि चार सय रुपैयाँ तिरे पुग्छ । खाजाको सय रुपैयाँ पर्छ । एक छाक मांछा मासुसहितको खानाको डेढ सय रुपैयाँ पर्छ । शाकाहारी खाना ९० रुपैयाँमा नै पाइन्छ । सस्तो मुल्यमा सुविधा युक्त होमस्टेमा स्वादीला खाना आत्मिय सत्कार । बाघखोरका होमस्टेका विशेषा हो यो ।
 बाघखोरमा २० घरमा होमस्टे छन् । जहाँ ८० जनासम्म बस्न सकिन्छ । एउटा होमस्टे तयार गर्न दुई लाख रुपैयाँ खर्च लागेको छ । मध्यवर्ती क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को तराइ भूपरिधि कार्यक्रम (ताल) ले ५० हजार रुपैयाँ सहयोग गरेको छ । अरु रकम गाउँले आफैले जुटाएका हुन् । जेठ पाँच गतेबाट होमस्टे सञ्चालनमा आएका हुन् । होमस्टे सञ्चालनमा आएदेखि सवैमा गरेर ८४० जना पर्यटक बास बस्न आएका छन् । पाहुनको आवागमन सन्तोषजक देखिएपछि गाउँलेहरु निकै उत्साहित बनेका छन् ।