Tuesday, November 20, 2012

मितेरीको देउसीमा समिरको ह्वील चियर डान्स

ह्वील चियरमा फनफनी घुमे समिर
तिहारमा भाइ टीकापछि खेलिने देउसी भैलो आलोचना मुक्त हुन सक्दैन । तर यो पटक आलोचकबाट आउन सक्ने सम्भावित टिका टिप्पणीको वास्ता नगरी टीकापछिको देउसी खेलियो । कात्तिक ३० गते भाइ टीका थियो तर मंसिर २ र ३ गते खेलेको देउसी एउटा अस्मरणीय क्षण बनेको छ । जीवनमा यसअघि पनि देउसी भैलो नखेलेको होइन । देउसी खेल्दा जम्मा भएको पैसा चामल तह लगाउन पिकनिक गइयो । टोलका लागि देउसी गाइयो । आफ्नो समुदायको लागि पनि पटक पटक खेलियो । तर भाइटीकापछि जीवनमा पहिलो पटक खेलेको देउसी यी उद्देश्यभन्दा माथि थियो ।
 विस २०६७ सालको जेठमा च्याउ खाएर चितवन लोथर गाविसको वडा नं. ९ मा पर्ने कान्दा गाउँका एकै घरका आठजनाको ज्यान गयो । कान्दा गाउँका बारेमा अचेल केही नकेहीले सुनेकै छन् । तर च्याउ खानुअघि र खाएको केही समयपछि सम्म पनि यो गाउँका बारेमा यता मैदानी इलाकाका सर्वसाधरण मात्रै होइन सरकारी निकाय पनि पुरै बेखवर थियो । च्याउ खाएर मान्छे मरेको लगभग २० दिनपछि मसहित हामी तीनजना पत्रकार एकल सिलवाल र प्रतिमा सिलवाल त्यो ठाउँमा पुग्दा गाउँलेहरु भन्दथे यो ठाउँमा वाहिरका मान्छे वर्षौदेखि आएकै थिएनन् । घटनापछि मुचुल्का उठाउन गएको प्रहरी टोली गाउँभन्दा तीन घण्टा वरैको ठाउँबाट फर्केर गएको देख्दा गाउँलेहरु सरकारी चाला सम्झेर दुख्ख मनाउ गर्दथे । 
कान्दा पुग्ने पुग्ने बेलामा एकान्त ठाउँमा एउटा घर छ । विस २०६७ सालको असार ३ गते दिउँसो पहिलो पटक त्यो घरमा पुग्दा एकजना महिलाको कम्मरमाथि कपडा नै थिएन । कम्मर तल मैलो न मैलो लुङ्गि थियो । अनि उनको कोखमा नवजात शिशु थियो । त्यो लेकको ठाउँ यसैत चिसो त्यसमाथि पानी परेर जाडो थपिएको थियो । काखको शिशु च्याच्या गरेर रुन थालेपछि महिलाले लुङ्गि तानेर न्यानो बनाउन खोज्थिन तर उनको प्रयास बेकार हुन्थ्यो । ति महिला २२ दिनकी सुत्केरी रहिछन् । योभन्दा अघि पनि उनले आठ सन्तान जन्माइ सकेकी । केही छोरासँगै थिए । जाडो छल्न अगेनामै घुर्सेर बसेका थिए उनीहरु । हामीलाई देख्दा क्वा क्वा गर्दै रुन थाले । २२ दिनकी सुत्केरीले एक हप्तापछि नै खन्ने पानी बोक्ने जस्ता घरको काम सम्हाल्न थालेकी सहिछन् । खान्की सिस्नो र मकैको पिठोको खोले मात्रै ।
त्यो सुत्केरी महिला, उनका सन्तान र घरको नाजुक अवस्था देख्दा हामी चितवनमा नभएर अन्य कुनै विकटभन्दा विकट गाउँमा पो आइ पुग्यौ कि भन्ने लाग्यो । अथवा चितवनमै बसेर कुनै नाटक हेरेका छौ र अगाडीको स्टेजमा पात्रहरुले आआफ्नो भुमिका पो निभाइ रहेका हुन कि भन्ने सम्मको भान प¥यो । चितवनमा यस्तो हुन्छ भनेर कल्पना गर्न नसकिने दृश्य भरतपुरबाट हिडेको लगभग १२ घण्टापछि चितवनमा नै देखेका थियो हामीले । भरतपुरबाट पुर्वपश्चिम राजमार्गको लोथर बजारसम्म ट्रकमा गएपछि त्यहाबाट लागातार पैदल हिँडेर हामी त्यहाँ पुगेका थियो । साथमा थिए कान्दाको प्रथामिक विद्यालयमा शिक्षक बलकृष्ण थपलिया । उनै थपलियाले च्याउ खाएका कान्दालीलाई भरतपुरसम्म ल्याए । गाउँमै तीनजना मरेका थिए । अस्पताल ल्याएका पाँचजना पनि जोगिएनन् ।
कान्दा नजिक भेटिएकी सुत्केरी र उनका बालबच्चाको अवस्था ।
अति सिमान्तकृत वर्गमा पर्ने चेपाङ चितवनका आदिवासी हुन् । भिर पखेरामा बसेका उनीहरुको अवस्था ज्यादै नाजुक छ । त्यसैले पेट भर्न अन्नकोभन्दा बढी जंगली कन्दमुलको भर पर्नु पर्छ । अनि कुनै बेला भसक्कै ज्यान नै जान्छ । च्याउ खानु पर्दा ज्यान गुमाउनेको पिडा र आङ छोपिने लुगाा र दुई गेडा अन्न समेत नभएकी सुत्केरीको कथा समाचार बनेर निस्कन्छ ।
 कान्दाबाट फर्के लगत्तै म लामो समयसम्म चितवन बाहिर रहनु प¥यो । तर सुत्केरीको समस्याका बारेको समाचार मैले काम गर्ने पत्रिका नागरिक दैनिकमा निस्केपछि काठमाडौंबाट तत्कालै न्यानो कपडा जुट्यो । म चितवनमा नभएकाले सुत्केरीलाई आएको त्यो कपडा प्रतिमा मार्फत कान्दा पुग्यो । तर साथी एकल सिलवाललाई त्यो घटनाले निकै छोयो । उहाँले तत्कालै पनि न्यानो कपडा र खानेकुरा दिनु भएको थियो । पछि पनि लागातार कान्दा जाने आउने गर्नु भयो र उहाँको मित रविन्द्र बानियाँलाई पनि सँगै लानु भयो । पछि यी दुई मितले कान्दाको समस्यामा सहयोग गर्न अभियान नै चलाउने निधो गरेर मितेरी फाउण्डेशन नामको संस्था नै खोले । फाउण्डेशनले कुनै विदेशी दातृ निकायको सहयोग बिना नै सहयोगी भावना भएका व्यक्तिहरुबाटै दुई चार पैसा जुटाएर कान्दाको लागि काम गर्दै आएको छ ।
 त्यो संस्थामा अहिले रामपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख उपप्रध्यापक डा.होमबहादुर बस्नेत र भरतपुर अस्पतालका चिकित्सक डा.कृष्ण पौडेल समेत जोडिन आइ पुगेका छन् । यी डाक्टरहरु कान्दा पुगेर त्यहाँको अवस्था देखि सकेका मान्छे हुन् । भरतपुर अस्पताल भित्र रहेको मेरुदण्ड भाँचिएका बिरामीहरुलाई उपचार गरिने स्पाइनल इन्जुरी सेन्टरका इन्चार्ज हुन् डा.पौडेल । फाउण्डेशनको यो समूहले यो पटक निर्णय गरेछ तिहारमा देउसी खेल्ने र जम्मा भएको पैसा दुईवटा काममा लगाउने । एउटा काम थियो कान्दामा विपन्न चेपाङका लागि घर बनाउने अर्को थियो मेरुदण्डमा चोट लागेर उपचार गराएका बिरामीहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक सीप सिकाउने ।
मेरुदण्डमा चोट लागेपछि प्राय त्यस्तो व्यक्तिले ह्वील चियरको मद्दत लिनु पर्छ । त्यस्ता व्यक्तिलाई आत्मनिर्भर बनाउन सीप सिकाउने उद्देश्य राख्नु साह्रै स्रहानीय कुरा थियो । समय व्यवस्थापन गर्दा टीकापछि देउसी खेले पनि जुन उद्देश्यका लागि कार्यक्रम आयोजना गरिएको हुँदा अन्यथा सोच्न आवश्यक नै थिएन । यो शहरले तिहार आउनुभन्दा अघि र टीका सकिएको धेरैपछि सम्म पनि जुवा खेलेर लाखौ हारजितका रुने हास्ने गरेको छ । अनावश्यक भोज भतेर र मदिरामा त्यति नै पैसा बगाउँ छ भने सतकामको लागि दुई दिन पछाडी देउसी खेल्दा के गिज्याउला त भन्न लाग्यो र देउसी खेल्न हिडियो ।
फाउण्डेशनका महासचिव अनिता खनाल र प्रभा पौडेलले रचना गरेको गीत भट्ट्याउँदा कान्दाको अवस्था र देउसी खेल्नुको उद्देश्य प्रष्ट हुन्थ्यो । सुरक्षा बरालले नाँच्नका लागि साना साना नानीहरु जम्मा गरेर साँस्कृतिक देउसीलाई कायम राख्न सहयोग गरेकी थिएन् । अनि यसमा छुटाउनै नमिल्ने कुरो स्पाइनल इन्जुरी सेन्टरका कर्मचारी र पदाधीकारीको भुमिका पनि हो । ह्वील चियर र तीन पाङग्रे स्कुटरमा बसेर स्पाइनल सेन्टरसँग सरोकार राख्ने पदाधीकारीले देउसीमा पुरै साथ दिए ।
 समिर ठकुरी भर्खर २३ वर्षका भएका छन् ।  मंसिरमा नै उनको जन्म भएको हो । तर गत वर्षको मंसिर उनका लागि पिडा बोकेर आयो । झापा जाँदा उनी चढेको गाडी दुर्घटना भयो । उनको मेरुदण्ड भाँचियो । अनि अहिले ह्वील चियरको साहारामा हिड्नु पर्छ । यी समिर समेत निकै जोशका साथ पुरै समय देउसीमा भाग लिए । ह्वील चियरमा बसेका छन् भनेर बिर्सदा समिरको जोश र उत्साह अरुको भन्दा कम थिएन ।
  दोस्रो दिनको साँझ पख देउसी टोली त्रिवेणी एफएमबाट बाहिरीने क्रममा थियो । अन्तिम क्षणमा समिर ह्वील चियर निकै मज्जाले घुमाउन थाले । उनले यसरी घुमाएकी मनौ एउटा राम्रो कलाकार स्टेजमा नाच्दै छ । उनले त्यो गतिविधि गर्दा मेलै समिर ह्वील चियरमा छन् भन्ने नै बिर्से । कुनै युवक दुई खुट्टाको भरमा कम्मर मरकाइ मरकाइ नाचेको झै लाग्यो ।
  पछि मैले समिरसँग थोरै कुरा गरे । उनले भने ‘मेरुदण्ड भाँचिएपछि सुरुमा त्यस्ता व्यक्तिले म हिड्डुल गर्न सक्दिन भन्ने कुरा सोच्नै सक्दैन । जब त्यो तितो यथार्थ उसले बुझ्न थाल्छ अनि संसारमा एक्लो र निरस व्यक्ति आफुनै हो भन्ने ठान्छ ।’ तर समिर अहिले त्यस्ता व्यक्तिहरुलाई जीवनको यथार्थ बुझाउदै आशावादी बनाउने काममा खटिएका रहेछन् । ह्वील चियरबाटै नाचेर उनले आफ्नो खुवी देखाइ छाडे । हो यस्तो सम्भावनालई मलजल गर्न नै आयोजना भएको थियो यो देउसी । दुर्घटनाबाट पिडित जो पनि हुन सक्छ तर पिडितलाई सक्षम बनाउने निकायलाई उकास्ने योजना राख्दा अलि कति बेमौसमी जस्तो लागे पनि मितेरी फाउण्डेशनको देउसीमा बजारबासीले ज्यादै नै सौहार्दता देखाए । आखिर संस्कृतिको जगेर्ना गर्दै सामाजिक उत्थानमा लाग्ने मेसो थियो यो ।
   

Friday, November 16, 2012

‘लुतो र कम्युनिष्ट’

भनिन्छ लक्ष्यमा भन्दा यात्रामा भेटिनेहरुको सम्झना बढी हुन्छ । वरिष्ठ पत्रकार मैनालीले यात्रामा भेटिएका पात्र र दृश्यहरुलाई राम्रोसँग टिपेर पुस्तकमा लिपिवद्ध गर्दा पाठकका लागि निकै उपयोगी सामग्री तयार भएका छन् ।
पत्रकारिता सिकाउँदा र पढाउँदा आदरणीय गुरु मोहन मैनाली भन्ने गर्नु हुन्थ्यो ‘हिड्ने डुल्ने गर्नु पर्छ । घत लाग्दा दृश्य र शब्दहरु भेटाउन कुनै गाह्रो हुँदैन ।’ दुरदराजका बस्तीमा भेटिने सामान्य व्यक्तिले पनि बेजोड शब्द र वाक्य बोल्छ भन्ने उहाँको भनाइ हुन्थ्यो । उनै गुरु मोहन मैनालीले घुम्दा र डुल्दा दखेका सुनेका कुराहरुलाई समेटेर पुस्तक तयार पार्नु भएको छ । हलासालै बजारमा आएको पुस्तक ‘उपल्लो थलो’मा गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लेकाली र हिमाली जनजीवन तथा वातावरणको वर्णन छ । साथै नेपालको पश्चिमी नाकाबाट गरिएको कैलाश यात्राको विवरण पनि त्यसमा छ ।    
 नेपालको पुर्वी तथा पश्चिम भेगबाट काठमाडौं जाने आउनेले पृथ्वीराजमार्गमा पर्ने बेनीघाट बजार देखेकै हुनु पर्छ । बेनीघाटबाट टाउको उठाएर यसो उत्तर तर्फ हेर्ने हो भने के नै देख्न सकिन्छ र ? तर कस्सीएर त्यता लाग्ने हो भने एउटा बेग्लै संसार अनुभव गर्न पाइन्छ । बेनीघाटबाट उत्तरमा पर्ने त्यो संसार टिपेर हाम्रा सामु राख्ने काम भएको छ पुस्तक ‘उपल्लो थलो’मा । पुस्तकमा वर्णन भएको ठाउँ चाहे गोरखाका हुन या दार्चुलाका प्रकृतिले सिंगारेको ति थलोमा सरकारी बेथिति जही त्यही छ ।
 गोरखामा जीवनसँग लड्दै गरेका लेखक र उनका साथीलाई स्थानीयले बचाउँछन् । त्यस्तै कैलाश यात्राका क्रममा एकजना भारतीय सुरक्षाकर्मी भेट हुन्छ सर्वेश । मैदानी क्षेत्रमा हुर्के बढेको उ हिमाली क्षेत्रमा हिड्दा बिरामी पर्छ र जीवन मरणको दोसाधमा पुग्छ । सर्वेश बिरामी अवस्थामा भए पनि त्यसलाई उसका साथीले छाडेर जान्छन तर लेखकले डोराउँदै ठाउँमा पु¥याएपछि उसले बल्ल नयाँ जीवन पाउँछ । समग्रमा भन्नु पर्दा पुस्तकमा सरकारी वेवास्ताका कारण जन्मेका बेथिति, स्थानीयका कष्टकर जीवन र प्रकृतिका सुन्दर दृश्यहरु अटाएका छन् । अनि जीवनसँग जोडिएर आउने मानवीयता र आत्मीयता पनि  त्यसमा गाँसिएको छ ।
पुस्तकमा घत लाग्दा एक हैन अनेक प्रशंगहरु छन् । लेखक एउटा घरमा बासबस्न पुग्छन् जहाँ खाना र ओढ्ने लुगाको अभाव  । तर मान्छेको गलामा भने १० लाख रुपैयाँभन्दा बढीका गहना झुण्डिएका छन् । मान्छेको गलामा मात्रै होइन त्यो उपल्लो थलोले प्रकृतिको पनि असिम माया पाएको छ । तर गलाको माला र त्यहाँको अपार प्राकृतिक स्रोतको अवस्था एकै छ । हे¥यो बस्यो उपभोग गर्न सकिने सम्भावनाको खोजी नै छैन ।
 पढ्दै जाँदा मलाई पुस्तकमा भेटिएका तीनवटा प्रशंग भने निकै घत लागे । पुस्तकको पृष्ठसंख्याका आधारमा ति तीन प्रशंग यहाँ एकपछि अर्को गर्दै राख्न गइ रहेको छु । पहिलो प्रशंग पेज नं. ९२ रहेको ‘पाठाको ठाउँमा मान्छे’ शिर्षकको लेखमा छ । वास्तवमा त्यो पुरै लेख नै मार्मिक छ । लेखकलाई सुत्ने ठाउँ दिनको लागि विरामी पाठोलाई खोरबाट निकालिन्छ । भोलिपल्ट बिहान त्यो पाठो मर्छ । एउटा पाठोको मुल्य के हो लेखमा बर्णन छ । पाठो मर्दा गोठालोले के गुमायो त्यसको हिसाब किताव पनि लेखमा छ । तर साह्रै घत लाग्ने कुरा भनेको भेडाको बगालमा रहेका दुईवटा लक्का भेडा आपसमा जुध्छन् । ती दुई लक्का भाले भेडा भेडीमाथि आधिपत्य जमाउन जुधेका थिए ।
 अनि पुस्तकमा भनिएको छ ‘पछाडी घुम्रिएका सिंग भिडाएर ती निकै बेर जुधि रहे । तिनका सिंग ठकठक गरेर बजिरहेका थिए । मानिस जुधेका भए रमितेको भिड लाग्दथ्यो । तर वैंशले मात्तीएका दुई भेडा जुधेको घटनालाई अरु भेडाले त्यत्ति महत्व दिएका थिएनन् ।’ सवैभन्दा विवेक हिन मान्छेलाई उपमा दिन प¥यो भने भेडो भनिन्छ तर भेडाको संसार मान्छेको भन्दा कति माथि । लेखमा यस्तै भन्न खोजीएको छ र निचोडमा भनिएको छ ‘लड्ने भेडाहरुले पनि लड्दा अरुलाई दुख्ख दिएका थिएनन् । लडाइबाट टाढा बस्न खोज्नेले बढी भुक्तमान खप्नु पर्ने मान्छेको जस्तो थिएन त्यो लडाई ।’ यो निचोड मलाई साह्रै नै घत लाग्दो लाग्यो ।
 अर्को घत लाग्दो कुरो पेज नं. १०८ मा छ । लेखको शिर्षक छ ‘लुतो र कम्युनिष्ट’ । पञ्चायत कालमा पञ्च र बहुदलकालमा काँग्रेस भइ सकेका व्यक्ति हुन् जगत भन्ने गाउँका होटल मालिक बलबहादुर कार्की । मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार बनेपछि उनै बलबहादुर फेरि एमाले भएछन् । किन एमाले भएको त भन्ने लेखको सोधाइमा बलबहादुरको उत्तर आउँछ ‘म कम्युनिष्ट भए । किन भने यो कम्युनिष्ट भन्ने चीज लुतो जस्तो रहेछ । जति कन्यायो त्यति सन्चो । एउटाबाट अर्कोमा चाडै सरिहाल्ने ।’ नेपालमा कम्युनिष्ट निकै फैलिए । संविधानसभामा समेत कम्युनिष्टको राम्रै जमघट थियो । कम्युनिष्टका कुरा पनि राम्रै हुन्छन् । तर काम के गर्छन् जगजाहेर छ । विश्वका मजदुर एक हौं भन्नेहरुको नेपालमा अनेक पार्टी छन् । अनि जो नजिकको मित्र शक्ति हो भन्छन् उसैको सत्तो सराप गर्छन् सिध्याउन पनि उसैलाई कसिन्छन् । सर्वहारा र गरिवको हितको कुरा गर्छन् तर उनीहरुका् जीवनशैली कुनै महाराजाकोभन्दा फरक भएन ।
दुरदराजको गाउँको एक व्यक्तिले कम्युनिष्टलाई ‘लुतो’सँग तुलना गरेर साच्चे सही बिम्ब दिए । जुन बिम्ब कुनै राजनीतिज्ञले निकालेको थिएन । कुनै भाषविद्ले मेसो पाएको थिएन । कुरा राम्रा राम्रा गर्दै फैलदै गएका कम्युनिष्टले काम भने त्यस अनुरुपको गरेनन् । कन्याउँदा आनन्द आउने र पछाडी पोल्ने लुतोभन्दा के फरक भए त उनीहरु भन्ने कुरा बलबहादुरको मुखबाट निस्केको छ । जुन मलाई पनि निकै घत लाग्दो लाग्यो ।
 अर्को प्रशंग पेज नं. १५८ मा छ ।  त्यो घत लाग्दो मात्रै होइन विचरणीय विवरण हो । नीति निर्माताले विचार गर्नु पर्ने विषय हो । नीति निर्मातालाई दबाब दिन सक्ने पक्षले ख्याल राख्नु पर्ने कुरा हो । ‘घरभरी लुगा विरेत नाङ्गै’ शिर्षकको लेखमा हाम्रा अमुल्य वन जंगल कसरी कौडीको मोलमा बिक्री गर्न नासिदै गरेका छन् भन्ने कथा छ । ल्यो, स्यो, स्याला र सामा गाउँमा बन फाँडेर तिब्बत काठ लैजाने र तिब्बतबाट अन्न साटेर ल्याउने चलनले हाम्रो सम्पदा सखाप हुँन लाग्दैछ । यो विषयमा वृत्तचित्र नै बनाएर लेखले जापानसम्म प्रदर्शन गरेको कुरा पुस्तकको त्यो लेखमा पढ्न पाइन्छ ।
ती गाउँमा वन जंगल जडिबुटी, फूल र हिमालको चमात्कारी दृश्य छ ।  प्रकृतिले यसरी सिंगारेका गाउँमा धमाधम जंगल फाँडेको दृश्य देखेपछि जापानमा जापानीहरुले लेखकलाई सोधेछन् ‘उनीहरुले यस्तो राम्रो जंगल किन मासेको ?’ लेखकको उत्तर थियो ‘गरिबिको कारणले ।’ तर जापानीहरुले पत्याएनन् र फेरि सोधे छन् ‘प्रकृतीले यति धेरै कुरा दिएको यस्तो धनी ठाउँमा पनि गरिवीले पाइला हाल्न सक्छ र ?’ अर्थात हामीलाई प्रकृतीले साह्रै धनी बनायो तर हामी त्यसको सदुपयोग गर्न नसकेर अथवा नजानेर आफैलाई गरिव ठानेर बसेका छौं । पुरै कथा घत लाग्दो छ त्यसमाथि जापानीहरुको जिज्ञासाले हामी गरिव हुनुको रहस्य उद्घाटन गरेको छ ।
यस्तो किन भयो ? सत्ताको लागि लड्ने र त्यो लडाइका सरोकार नराख्ने सवैलाई सताउने दलको परिपाटी, अनि चाहिदोभन्दा नचाहिदो कुरामा वास्ता दिने हामी सर्वसाधरण र कुरा राम्रो गरे पनि काम घातक गर्ने नेता यस्ता दुई चारवटा कुराले नै हामीलाई समस्यामा पारेको हुन सक्छ भन्ने लागेर मलाई पुस्तकका यी तीन प्रशंग निकै घत लाग्दो लागेको हो । भनिन्छ लक्ष्यमा भन्दा यात्रामा भेटिनेहरुको सम्झना बढी हुन्छ । वरिष्ठ पत्रकार मैनालीले यात्रामा भेटिएका पात्र र दृश्यहरुलाई राम्रोसँग टिपेर पुस्तकमा लिपिवद्ध गर्दा पाठकका लागि निकै उपयोगी सामग्री तयार भएका छन् ।
   

Sunday, November 4, 2012

निकुञ्जभित्र होटल

चितवन निकुञ्जभित्र पर्यटकहरु राख्न होटलहरु निर्माण गरिएको छ। त्यहाँ सातवटा होटल भएपनि एउटा होटल तीन वर्षअघि नै बन्द भएको थियो। त िहोटलहरुले संचालन गर्नका लागि पाएको अनुमति यो असार मसान्तबाट सकिएको छ। होटल संचालकहरुले प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई प्रभावमा पारेर म्याद थपका लागि निकै चलखेल गरे। सरकार म्याद थपका लागि लगभग तयार भएका बेला एकजना कानुन व्यवसायीको तर्फबाट सर्वोच्च अदालतमा मुद्धा पर्योा। सर्वोच्च अदालतले भदौ २७ गते अन्तरिम आदेश जारी गरेर निकुञ्जभित्र रहेका होटलको म्याद अन्तिम निर्णय नआउँदासम्मका लागि नथप्नु भन्ने आदेश दियो। सर्वाेच्चबाट यस्तो अन्तरिम आदेश आए पनि होटल संचालकहरुले म्याद थपको प्रयास त्यागेका छैनन्।
निकुञ्ज भित्रका होटल बाहिर सार्नुपर्छ भन्ने माग निकै पहिलेदेखि उठेपनि २०६३ सालयता यो आवाज अलि व्यवस्थित तरिकाले बाहिर आएको हो जसका कारण निकुञ्ज भित्रका होटलको म्याद २०६६ असार मसान्तमा सकिदा नथप्न भन्दै जिल्लामा ठुलो आन्दोलन भयो। पछि सरकारले पर्यटन वर्षका लागि भनेर २०६६ सालको मंसिरमा थपेको म्याद यो असार मसान्तबाट समाप्त भएको छ। सरकारले त्यो बेलामा अन्तिम पटककका लागि भनेर म्याद थपेको थियो। होटल संचालन पर्यटनसँग जोडिएको विषय हो। पर्यटन नेपालको वैदेशिक मुद्रा आर्जनको प्रमुख माध्यम पनि हो। त्यसैले होटलसँग सिधै अर्थतन्त्र जोडिएर आउने भएकाले होटल बन्द हुँदा देशलाई नोक्सान होला कि भन्ने चिन्ता छ। तर, चितवन निकुञ्जभित्र होटल संचालन गर्न दिने विषयलाई यसरी निरपेक्ष आर्थिक कोणबाट मात्रै विश्लेषण गर्नुहुँदैन। विश्वमै दुर्लभ मानिएका एक सिंगे गैंडा र पाटे बाघको संरक्षणका लागि स्थापना भएको हो, यो निकुञ्ज।
यो निकुञ्ज विस्तारको क्रममा जंगल भित्र पर्ने आदिवासी समुदायका थुप्रै पुराना गाउँहरु हटाइएको छ। गाउँ हटाउने क्रम २०५५ सालसम्म जारी थियो। पछिल्लो पटक पदमपुर गाउँ निकुञ्ज बाहिर स्थानान्तरण भएको हो। चितवनमा निकुञ्ज स्थापना हुनुभन्दा आठ वर्षअघि नै जंगलभित्र टाइगर टप्स होटल स्थापना भएको हो। निकुञ्ज विस्तारका क्रममा टाइगर टप्स वरपरका सुखिभार, जर्नेली जस्ता गाउँहरु बाहिर ल्याइयो होटल भने केही गरिएन। आदिवासीका पुराना बस्तीहरु हात्ती लगाएर धमाधम हटाइयो तर धन हुनेले निकुञ्जभित्र होटल नै राख्न थाले। निकुञ्ज नजिकका गाउँमा बस्नेहरुले निकुञ्जबाट काठ दाउरा झिक्न पाउँदैनन्। यस्तो काम वर्जितै छ। कहिले काही साग र निउरो टिप्दा पनि कानुन लाग्छ। गोठका गाइभैसी फुत्केर निकुञ्ज छिरे भने पनि जरिवाना तिर्नुपर्छ।
सर्वसाधरणले निकुञ्जका लागि भनेर यस्तो बन्देज सहनु परेको छ। निकुञ्जको जंगल छिचोलेर पुगिने माडीमा अ्कझै विजुली पुगेको छैन। माडीवासीलाई सुविधा हुने कामहरु गर्दा निकुञ्जको वातावरणमा असर पर्छ भन्ने गरिन्छ। विस्थापन र बन्देजको पीडा सर्वसाधरणले मात्रै भोग्नुपरेको छ। पैसा हुनेले निकुञ्जभित्रै होटल खोलेर आर्जन गर्न थाले। निकुञ्ज आफैमा संवेदनशिल क्षेत्र हो। त्यसमाथि दुर्लभ जनावरहरुको मुख्य वासस्थलको रुपमा रहेको निकुञ्जमा पर्यटनका लागि निर्वाध छुट दिन हुँदैन। चितवन निकुञ्ज विश्वमा थोरै मात्रामा पाइने एक सिंगे गैंडाको मुख्य वासस्थल हो।
भारत आसाम राज्यमा पर्ने काजिरङ्गा राष्ट्रिय निकुञ्जमा विश्वमा सवैभन्दा बढी एकसिंगे गैंडा पाइन्छन्। त्यसपछि नेपालको चितवन निकुञ्जमा पाइन्छन्। काजिरङ्गामा निकुञ्ज भित्र होटल छैनन्। दुर्लभ जनावरको वासस्थान भएकाले वर्षमा जम्मा छ महिना मात्रै पर्यटकहरु निकुञ्जभित्र जान पाउँछन्। तर, चितवन निकुञ्जभित्र १२ महिना पर्यटक ओहर-दोहोर गर्छन। अनि निकुञ्ज भित्रै होटल समेत छन्। यस्तो कार्यले दुर्लभ वन्यजन्तुको संरक्षणमा नकारात्मक असर पर्छ। 


मिति २०६९ कात्तिक २० को नागरिक दैनिकमा प्रकाशित

Saturday, November 3, 2012

बार लाउँदा पनि दुख्खबाट पार पाइएन

विद्युतीय तारबारको आड लागेर बसेका नेपाली सेना । अमरबहादुरको घरको आडैमा यो तारबार थियो ।
जगलबाट हात्ती गाउँ नआउस भन्नका लागि विजुली नभएको ठाउँमा सोलारबाट विद्युतीय तार बार गरे पनि माडीमा यसको प्रभावकारीता देखिएन । १६ लाख रुपैयाँ खर्च गरेर तार बार गरे पनि गाउँलेको खेतको धान मात्रै होइन ज्यान पनि जोगिएन । गर्दी गाविस वडा नं. १ इमिलियामा जंगली हात्तीको आक्रमणबाट एकजना वृद्धको मृत्यु गएको छ । करिब तीन महिनाअघि देखि रातको समयमा गाउँ पसेर धान खाँदै आएको सो हात्तीले कात्तिक १७ गते मध्यरातमा स्थानीय ६५ वर्षीय अमरबहादुर थापा मगरको  ज्यान लिएको हो । इमिलिया चितवन निकुञ्जसँग जोडिएको बस्ती हो ।
    गाउँमा जंगली जनावर नआउन भन्नाका लागि विद्युतीय तारबार गरे पनि त्यसले हात्तीबाट सुरक्षा दिन नसकेको गाउँलेहरु बताउँछन् । विजुली बत्ती नपुगेको माडीमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सक्रियतामा सौर्य उर्जाबाट संचालन हुने विद्युतीय तारबार लगाइएको छ । इमिलिया गाउँलाई पुरै घेरेर २७ किलो मिटर तारबार गरिएको छ ।
    ‘तारबार त भयो तर हाम्रो खेतको धान पनि जोगिएन ज्यान पनि रहेन’ मृतकका छोरा योगेन्द्र थापा मगरले भने । शौचालय जानका लागि मध्यरातमा घर बाहिर निस्कदा अमरबहादुरलाई हात्तीले दौलो अगाडी नै आक्रमण गरेको थियो । उनलाई लछार पछार गर्दै घर पछाडी लगेर छाडेको परिवारका सदस्यहरुले बताएका छन् । अमरबहादुरको टाउँको र छातीका ठुलो चोट लागेको थियो ।
    ‘घरबाट लतार्दै पछाडी लगेर फाल्यो । हामी गएर हेर्दा उहाँको ज्यान गइसकेको थियो’ मृतकको ज्वाइ लक्षमण थापा मगरले भने । इमिलियामा जंगली जनावरले सधैं दुख्ख दिन्छन् । अमरबहादुरले पनि विस २०४४ सालमा भालुको आक्रमणमा परेर दाहिने आँखा गुमाएका थिए । त्यसैले जनावर रोक्न विद्युतीय तारबार गरिएको थियो ।
    ‘डब्लुडब्लुएफले चार लाख दिएको थियो । मध्यवर्ती र गाविस समेत मिलेर कुल १६ लाख रुपैयाँको लागतमा तारबार गरेका थियौं’ गर्दीको पाँच पाण्डब मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष यमकान्त भुषालले भने । गएको जेठमा मात्रै विद्यतीय तारबारको काम सकिएको थियो । तर खेती र मान्छेको ज्यान जोगाउन त्यो प्रभावकारी भएन भन्छन् गाउँलेहरु ।
    हात्तीले इमिलिया गाउँको ५० विघाभन्दा बढी खेतको धान नष्ट गरेको छ । हात्तीले दुख्ख दिदा सुरक्षित रहने उपाएर उपकरणका बारेमा गाउँलेहरुलाई प्रशिक्षण दिए पनि आपत आउँदा त्यसले काम नगरेको गाउँलेहरु गुनासो गर्छन् । अमरबहादुरको मृत्युपछि आक्रोशित स्थानीयले हात्ती नियन्त्रणको प्रभावकारी उपाय निकाल्न निकुञ्ज प्रशासनसँग आग्रह गरेका छन् ।
    विद्युतीय झड्काले हात्ती नतर्सेको गाउँलेहरुको भनाइ छ । ‘गैंडा बरु तर्सेको छ । हात्तीले त पोल नै भत्काएर गाउँ पसेको पाइयो’ मध्यवर्ती अध्यक्ष भुषालले सुनाए । चितवन निकुञ्ज आसपसामा जंगली हात्तीले वर्षेनी दुख्ख दिने गरेको छ । चितवन निकुञ्ज कार्यालयबाट प्राप्त जानकारी अनुसार दुई वर्षअघि हात्तीले १२ जनाको ज्यान लिएको थियो । गत वर्ष दुइृजना मरेका थिए ।

Friday, November 2, 2012

दशैं मान्ने धन नहुँदा ज्यान फाले धनबहादुरले

चितवन माडीको अयोध्यापुरी गाविस वडा नं. ७ गणेशकुञ्जका ५० वर्षीय धनबहादुर परियारले बनाएको मादल बजाउँदै यो तिहारमा धेरैले देउसी भैलो खेल्ने छन् । उनकी ३६ वर्षीय श्रीमती गीताले बनाएका सिलौटामा मसला पिँधेर दशैं स्वादिलो बनाउने पनि कम छैनन् । तर मादल सिलौटा बनाएर गुजरा चलाउने परियारको परिवारले यो दशैंमा ठुलो पिडा बेहोर्नु प¥यो ।
 दशैंको टीकाको अघिल्लो साँझ अर्थात नवमीका दिन धनबहादुरले झुण्डिएर आत्महत्या गरे । श्रीमती गीताका अनुसार साथमा पैसा नभएकाले धनबहादुरले केही दिनका लागि उधारेमा मासु खोजेका थिए । तर नगद नभइ गाउँमा कसैले मासु दिएनन् । छ केटाकेटीका पिताले दशैंको बेलामा मासुको जोहो गर्न नसकेपछि साह्रै नमिठो मानेका थिए ।
 गाउँलेले बाँकी मासु नदिएपछि धनबहादुरले घरमा रहेको एउटा मादल र सिलौटो बेचे । त्यसको पैसाले ब्रोइलर कुखुरकाको एक किलो मासु र रक्सी किनेर ल्याए । आठजनाले साँझ बाँडिचुडी खाए । तर भोलिपल्ट बिहान धनबहादुर ओछ्यानमा थिएनन् । घरदेखि छुट्टै रहेको खाना पकाउने गरेको छाप्रोमा उनी झुण्डिएको अवस्थामा फेला परे ।
 अयोध्यापुरी गाविसका पुर्व अध्यक्ष नारदमणि पौडेलका अनुसार धनबहादुर जस्तो विपन्न व्यक्ति पुरै अयोध्यापुरीमा सायदै अरु कोही छ । ‘धनबहादुरले आत्महत्या गरेको सुनेपछि मैले पनि के भएर त्यसो गरे होलान् भन्ने बुझे । उधारोमा मासु नपाउँदा खिन्न हुँदै सुतेका थिए रे । भोलि पल्ट मृत फेला परेछन्’ पौडेलले भने ।
 धनबहादुर चितवनको लोथरबाट १५ वर्षअघि गणेशकुञ्जको ऐलानी जग्गामा आएर सामान्य छाप्रो बनाएर बसेका थिए । उनका चार श्रीमती रहेका थिए । दुईजना उनलाई छाडेर अन्यत्रै गए । एकजनाको निधन भयो । अहिलेसाथमा गीता थिइन् । गीताको कोखबाट जन्मेका पाँचजना सन्तानसहित उनको परिवारमा अहिले छजना छोरा छोरी थिए ।
 सवैभन्दा जेठो सन्तान छोरी हुन् जो १२ वर्षकी छन् । ‘गुजरा चलाउन साह्रै धौ थियो । दशैंमा राम्रोसँग मासु खान नपाउँदा उसले विरक्तिएर ज्यान फालेका देखिन्छ’ पौडेलले भने । गीताका अनुसार धनबहादुरले खसीको नभएर राँगाको मासु किन्न खोजेका थिए । परिवारलाई भरपेट पुग्ने मासुका लागि १५ सय रुपैयाँ भए पुग्दथ्यो ।
 तर धनबहादुरले त्यो १५ सय रुपैयाँ जोगाड गर्न सकेनन् । दशैंमा उधरो मासु प्रया पाइदैन । भरतपुर ठोरी हुलाकी सडकमा पर्ने माडीको टमटा बजारदेखि पैदल हिडेर डेढ घण्टामा पुगिन्छ धनबहादुरको घरमा । त्यहाँबाट पोष्टमार्टमा गर्न उनको लाश ५३ किलो मिटर टाढा भरतपुर अस्पताल ल्याउनु पर्ने भयो ।
लाश पोष्टमार्टमका लागि लैजान र गाउँमा ल्याउनका लागि चाहिने खर्चको जोहो भने गाउँलेले गरे । ‘गाविस कार्यालयले चार हजार रुपैयाँ, मध्यवर्ती उपभोक्ता समितिले दुई हजार र स्थानीयले पाँच हजार रुपैयाँ उठाएर लाश पोष्टमार्टम गर्नेका लागि भरतपुर लैजाने र त्यसपछि गाउँमा लाश ल्याउने खर्च जुटाएका थियौं’ अयोध्यापुरी गाविसका पुर्व अध्यक्ष पौडेलले भने ।    

Thursday, November 1, 2012

कलम, बन्दुकका सामुन्ने झुकेन तर .........

कलमलाई तरवारले परास्त गर्न सक्दैन, बन्दुकले दवाउन सक्दैन । तरवारभन्दा कलम बलियो जस्ता भनाईसँग हामी परिचित नै छौं । विचारभन्दा शसक्त केही हुँदैन भन्ने दशार्उन यी उद्गारहरु प्रयोग हुने गर्छन । इतिहासले प्रमाणित पनि गरेको छ विचार र कलमका अगाडी तरवार र बन्दुक परास्त भएकै छ । कलम शिक्षकले प्रयोग गर्छन । विद्यार्थीले बोक्छन् । लेखक, विचारकले सधै सँगै राख्छन् । अनि पत्रकारले हरदम बोक्ने साधन हो कलम । अरुले प्रयोग गर्नेभन्दा पत्रकारको कलमका बारेमा यहाँ चर्चा गर्न खोजिएको हो । अझ प्रष्टसँग भन्नु पर्दा यो चर्चा भर्खर बजारमा आएको किताप ‘कलम’मा केन्द्रित छ ।
   पत्रकार पुष्करलाल श्रेष्ठको बारेमा अर्का पत्रकार अशोक सिलवालले लेखेको किताप हो ‘कलम’ । विस २०४१ साल मंसिरमा पहिलो अंक निस्केको सिने पत्रिका ‘कामना’सँग जोडिएका पत्रकार हुन पुष्करलाल । सो पत्रिका निकै सफल मासिक पत्रिकार हो । पुष्करलालले पछि कामना प्रकाशन नै स्थापना गरे । जहाँबाट साधना, महानगर र नेपाल समाचारपत्र दैनिक निस्कन्छ । कामना प्रकाशन समूहले अनलाइन पनि चलाउँदै आएको छ । महानगर सन्ध्याकालिन दैनिक थियो । सो पत्रिका अहिले बन्द छ । साधना पहिला खोजमुलक रिपोर्टहरु निस्कने मासिक थियो । अहिले स्वास्थ्य सम्बन्धि विषयहरु समेटिने गर्छ ।
    सिनेमा सम्बन्धि सामग्री छाप्ने मनोरञ्जन मुलक पत्रिका सुरु गरेर स्थापित प्रकाशन गृह हाँक्ने अवस्थासम्म पुगेका पुस्करलालका अनुभव सो कितापमा लिपिवद्ध भएका छन् । पुष्करलालको त्यो बेलादेखि यो बेलासम्मका भोगाइहरु पढेपछि भन्न सकिन्छ ‘साच्चै नै बन्दुकभन्दा कलम नै बलवान रहेछ ।’ पुष्करलालको कलम बन्दुकका अगाडी झुकेको छैन । उनको कलममा बन्दुकले बिर्को लगाउन सकेको छैन । तर त्यो कलम अर्को कुनै कुराको अगाडी झुक्नु परेको छ । र पुस्तकको अन्तिम अन्तिम पानामा पुष्करलालले पत्रकारिता नै त्याग्ने अर्थात कलम बन्द गरेर बस्ने निश्चय समेत गरेको दुखान्त दृश्य वर्णन छ ।
    अ हो के ताकत हो त त्यस्तो, बन्दुकले झुकाउन नसक्ने कलमलाई रोक्न खोज्ने शक्ति के रहेछ त ? यो जिज्ञासा शान्त पार्न तपाइ पुस्तक पढ्न बस्नु भयो भने तपाइँले नेपाली समाजको एउटा साह्रै नै अध्यारो र दुखद पाटोसँग साक्षत्कार गर्नु हुने छ । अनि तपाइँ पनि खुइइय गर्दै भन्नु हुने छ ‘अ हो यो अवस्थामा पुगेका रहेछ है हाम्रो समाज ।’ अर्थात ‘कलम’मा व्यक्त पुष्करलालको भावनाहरुले पत्रकारको व्यथाको रुपमा नेपाली समाजको एउटा अध्यारो पाटोलाई पटाक्षेप गरेको छ ।
    विस २०५८ साल जेठ १९ को मध्यरातमा राजदरवार हत्याकाण्ड भएपछि भोलि बिहानको नेपाल समाचारपत्र दैनिकले प्रमुखताका साथ त्यो समाचार छाप्यो । तर अरु दैनिक पत्रिकामा समाचार नै थिएन । अरु दैनिक पत्रिकाले थाहा नपाएर र पुष्करलालले मात्रै थाहा पाएर त्यो समाचार नेपाल समाचारपत्रमा मात्रै छापिएको थिएन । भएको के हो त ? त्यो समाचार छाप्न पुष्करलालले के के गरे पढ्दा कुनै बेला आङ्नै सिरिङ हुन्छ । अनि भन्न मन लाग्छ वा क्या काम गरेछन् उनले ।
    पुस्तकको पेज नम्बर २३६ मा यो विवरण सुरु हुन्छ । घटनाका बारेमा थाहा पाएर सुचनाहरु संकलन गरेका बेलामा दरावार सम्वद्ध अधिकारीहरुबाट समाचार ननिकाल्न दवाव आउन थाल्यो पुुष्करलाललाई । राजदरवारका संवाद सचिवालयका तत्कालिन सचिव मोहनबहादुर पाण्ेडले फोन गरेर उनलाई भनेछन् ‘त्यो समाचार भोलि दिने काम छैन ।’
    देशमा त्यात्रो घटना हुँदा दुई अक्षर नलेखी बस्ने हो भने पत्रकारिता छाडेर जिरा मरिचको पसल थापे भइ हाल्यो नि भन्ने सोचका साथ पुष्करलालले खवर छापेछन् । अरु पत्रिकामा नआउनु दवावले काम गरेको थियो होला । तर पुष्करले दावका अगाडी विवेक लगाए अर्थात पत्रकारको धर्म निभए । तर त्यसरी दवारको दवावका सामुन्ने नझुकेका पुष्करलाई झुकाउने कुराहरु भने अरु नै हुन थाले ।
    पत्रिकाको बजार विस्तार गर्न उनले लगानीकर्ता खोजे । लगानीकर्ताहरु फेला पनि परे । तर ती लगानीकर्ताले पत्रकार पुष्करलालको हक्की स्वभावलाई काबुमा लिन खोजेको विवरण पुस्तकमा छ । २३६ पेजमा उल्लेख पुष्करलालको निडर छवी पुस्तकको २५५ पेजमा ओइलाउन थाल्छ । उनको प्रकाशन गृहमा छिरेका लगानीकर्ता मध्येका एक कुमुद दुगडलाई पुस्कारलाल भोलि पल्ट छापिने आफ्नो लेख देखाउँछन् । दुगडलाई देखाउनै पर्ने भएर होइन कि लेखको चर्चा भइरहेको बेलामा दुगड पुगेकाले उनले पुष्पकरलालको लेख हेरेका थिए ।
    सुरुमा लेख राम्रो छभनेका दुगडले तीन चार घण्टापछि पुष्करलाई फोन गरेर त्यो लेख नछाप्न भन्छन् । दुगडले मात्रै होइन अर्का साझेदार पशुपति मुरारकाले पनि दुगडलाई लेख नछाप्नु भन्न थाले । कामना प्रकाशन गृहमा दुगडको ३०, मुरारकाको ३० र पुष्करको ४० प्रतिशत हिस्सेदारी थियो । दुगड र मुरारकाले नछाप भनेपछि पुष्करलाल नछाप्ने निधोमा पुगे । उनले भनेका छन् ‘पत्रकारिता नै गर्ने हो जे सुकै होस भनेर निर्णय लिन सक्ने अवस्था थिएन । यदी त्यस्तो ग¥यो भने भोलि संस्थाको निरञ्तरतामाथि नै प्रश्न खडा हुन सक्थ्यो । आखिर त्यो लेख नछापिने नै भयो ।’ कुरा यत्तिमै सकिदैन । पेज नम्बर २६२ सम्म यस्ता थुप्रै विवरण छन् ।
    पत्रिकाका साझेदार पशुपति मुरारकाका काकाको अपहरण भएछ । मुरारकाले फोन गरेर खवर नछाप्न भनेछन् । पुष्करलालले नछाप्ने निधो गरे तर टीभी च्यानलहरुले अपहरणको ब्रेकिङ न्युज दिन थाले । हेर्नु होस त कहाँबाट कहाँ पुगे पुष्करलाल । सवैभन्दा दुख्द कुरा त के छ भने सुस्तामा भारतले सिमा मिच्यो भन्ने स्थलगत समाचार नेपाल समाचारपत्रमा छापियो । अनि पुष्करलालका लागि तनाव पुर्ण दिनहरु सुरु भए । साझेदारहरुले यो समाचारको कुनै फलो अप नदिनु भनेर खवरदारी गरेछन् । पुष्करलालले भनेका छन् ‘त्यो दिन म खुव रोए । एक्लै बाथरुम भित्र रोए । सुस्तामा सिमा मिचेको कुरा उठाउँदा यस्तो सजाय भोग्नु पर्ने भनेर पिडा भयो ।’
    दरवार र बन्दुकको दवाव अगाडी नझुक्ने कलम आखिर पैसावाल व्यपारीको सामुन्ने गल्न थाल्यो । पुष्करले भनेका छन् ‘व्यपारी समुदायलाई साथ लिएर स्वतन्त्र पत्रकारिता गर्न सकिदो रहेनछ । आफ्नो नैतिकतालाई पनि जोगाउन नसकिने । व्यवसायिक धर्म पनि पालना गर्न नसकिने । अखवार पनि एक्दमै एक्सप्लोइट हुने ।’
    सुस्ता काण्डले त्यसै बिराम लिदैन । सो सामाचार आएपछि भारतीय दूतावासले कामना प्रकाशन गृहमा नाकाबन्दी नै लगाउँछ । बहुराष्ट्रिय कम्पनीको विज्ञापन नै रोकिन्छ । हनहनी ज्वरो आएका दिन पुष्करलाल भारतीय राजदूतलाई भेट्न दूतावास जानु पर्ने हुन्छ । खासमा सम्बन्धलाई समान्यकरण गर्नका लागि भन्दै उनी दूतावास पस्छन् र तत्कालिन राजदूत शिवशंकर मुखर्जीसँग उनी ४५ मिनेट बिताउँछन् । ति ४५ मिनेटका कुराकानी पुस्तकमा उल्लेख छैनन् तर पुष्करले त्यो समय कोर्ट मार्शलका लागि बसेको जस्तो भयो भनेका छन् ।
    दूतावासबाट बाहिर निस्कदा ननिस्कदै उनलाई रिङ्गटा लाग्यो । आफ्नो देशको सिमानाका बारेमा लेख्दा यस्तोसम्म भोग्नु पर्ने रहेछ भन्ने सम्झेर उनलाई भाउन्न हुन थाल्यो । अनि निधो गरे रे ‘आजबाट म पत्रकारिता छाड्छु ।’ पत्रकारिता छाड्छु त भने तर सम्झेर ल्याउँदा त्यो सम्भव थिएन । अहिले पनि उनी पत्रकारिता मै छन् ।
    पुस्तकको अन्तिम वाक्याशं छ ‘उनले ५० प्रतिशत जोश जाँगर, व्यवसायीकता र इन्डिपेन्डेन्सी गुमाए ।’ पुष्करलालको पत्रकारिता जीवनको सुरुवात साह्रै नै रसिलो छ । लोभ लाग्दो छ । पेशामा मग्न छन् । काममा इमान्दार छन् । व्यवसायिकतामा प्रतिवद्ध छन् । बन्दुक बोक्नेहरुसँग डराउँदैनन् । दरबारसँग झुक्दैनन् । राजाका कुरा बाहिर ल्याउँछन् । मिडिया र मिडियाकर्मीले के सुधार गर्नु पर्ने हो निर्धक्क कुरा राख्न पछाडी गर्दैनन् । क्या हक्कि पुष्कर । पुस्तक पढ्दा यस्तै अनुभुतिका साथ अगाडी बढिन्छ ।
    जब पैसावालाहरु उनको पत्रिकामा लगानीकर्ताको रुपमा भित्रन्छन् कथाले मोड लिन्छ । कुनै प्रेम कथामा खलनायकहरुको प्रवेश भए जस्तो छ त्यो अवस्था । अनि पत्रकारिताको सिद्धान्तलाई जोगाउनु पर्छ, दवावका अगाडी झुक्न हुँदैन, राष्ट्रियतालाई रक्षा गर्नु पर्छ भन्ने भावना बोकेको एउटा पत्रकार गल्दै जान्छ । पुस्तकले कुनै दुखान्त प्रेम कथाको अभास गराउछ । बन्दुकका अगाडी नझुक्ने कलमलाई पैसाका लागि यसरी गलाउने अवस्थाका साक्षी बस्ने हो कि यसबाट मुक्त गारउन केही गर्ने हो ? समाजलाई सोच्न बाध्य बनाउँछ कितापले ।