Wednesday, September 28, 2011

चरीमाया

फोटो हेर्दा अलि उमेर भए झै देखिन्छ, तर यी मान्छे सानै छन् । शरीरले नसमाएको ह्वाङ्ल्याङ्गको हरियो ब्लाउज, आकासे रङ्को बुट्टे सारी, दाहीने नाडीमा हरियो चुरा, देब्रे नाडीमा एउटा हरियो र अरु रातो चुरा, खुट्टामा नमिलेको प्लाष्टिकको कालो चप्पल, नाकमा गोलो मुन्द्री यो या बुलाँकी के हो झुण्डीएको, यस्तो पहिरनकी ति युवतीको अनुहारमा कुनै चहक छैन । साह्रै नै पिर परेर टोलाएकी जस्ती, रुदा रुदै भर्खर थामिएकी बालिका जस्ती । उनी बालिका होइनन् । यो कुरा उमेर र अरु कुराले भन्दा पनि गलामा झुण्डीएको लामो रातो पोतेले भनि रहेको छ ।
'तिम्रो नाम के हो ?' नजिकै गएर सोध्दा उनी झसङ्ग भइन । उनी साच्चिकै टोलाएर बसेकी रहिछन् । मेरो आवाज सुनेपछि उनको आँखा केही सल्बलाए । गालामा अडाएको हात झिकिन र घुँडामा पुराइन् । सारीलाई घुँडाबाट केही तल सारिन् । तर मेरो सोधाइको सुनुवाइ गरिनन् । अनि मैले फेरि उनलाई पहिलाको प्रश्न दोहराए । आडैमा एकजना युवक थिए, दाहिने हातले विस्तारै कोट्टाइन उसलाई । त्यसपछि के होला भन्दै युवकले म तर्फ हेरो । मैले फेरि सोध्नु परो उनको नाम के हो भनेर ।
'उसको नाम चरी माया हो' युवकले भन्यो । त्यो युवक चरीमायाको लोग्ने रहेछन् । युवक पनि खाइ लाग्दो थिएन । मैले सोधे उ चरीमाया भए तिमी को नि यसले भन्यो 'म बुधराम ।' यी दुवै नेपालका सिमान्तकृत आदिवासी समुदाय चेपाङको छोराछोरी हुन् । चेपाङहरु चितवनको पहाडी क्षेत्रमा बस्छन् । चितवनको विकट पहाडी क्षेत्र लोथर गाविसको वडा नं. ९ कान्दाका बासिन्दा हुन् चरी र बुध । कान्दा जान पैदल हिड्नु पर्छ । पैदल हिड्ने बानी नभएकाहरुलाई राजमार्गबाट १२ घण्टाभन्दा बढी लाग्छ कान्दा पुग्न । कान्दाका बासिन्दाले छ या सात घण्टामा काट्छन् यो बाटो ।
चरीमायालाई सोध तिम्रो उमेर कति हो भनेर । तर उत्तर बुधरामले नै दिए १७ भनेर । बिहेबारी २० पारी भन्ने नारा त्यो कान्दामा के लागु हुनु । अझ उनीहरुको बिहे भए कै पाँच वर्ष पुगे छ । तिम्रो उमेर कति नि मैले बुधरामलाई सोध्दा उनले २१ भने । अर्थात बुधराम १६ र चरीमाया १२ कि हुँदा यी दुईबीच लगन गाँठो बाँधिएको रहेछ । बिहेको दुई वर्षमा चरीमायाले छोरी जन्माइछन् । यी चरी १४ वर्ष मै आमा बनेकी रहिछन् । तर चरीको कोख अहिले रित्तै छ ।
जन्मेको १० महिना मै छोरीको मृत्यु भएको रहेछ । 'घाँटी घ्यारघ्यार भइरहन्थ्यो । बचाउ नै सकिएन' बुधरामले खिन्न हुँदै भने । उनलाई के भएको हो गाउँको ठुलो धामीले पनि खुट्ट्याउन सकेन । धामीले नसकेपछि कालले लैजाने नै भयो भन्छन् बुधराम । त्यो ठाउँमा डाक्टर भने पनि भगवान बने पनि त्यही धामी नै हो । 'अस्पताल त ज्यादै टाढा पो छ है सर' बुधरामले भने । टाढा भएकाले अस्पताल आँगन टेक्न पाउँदैनन् धेरैले ।
'कान्दा' यो नामले तपाइँहरुलाई पक्कै केही सम्झना भएकै होला । यो त्यही गाउँ हो जहाँ गत वर्षको जेठमा जंगलबाट ल्याएको विषालु च्याउ पकाएर खाँदा एकै घरका आठजनाको ज्यान गएको थियो । चितवन जस्तो कहलिएको सुगम जिल्लामा भइकन पनि कान्दाको कष्ट कर्णाली क्षेत्रको कुनै गाउँको जस्तो छ । चरीमायाको पोते यसैको उदाहरण हो । चरीमायाको रित्तो कोख यसैको प्रमाण हो । कान्दा चितवनका सरकारी निकायको आँखा पर्न नसकेको गाउँ हो । जहाँ चरीमायाको जस्तो पिडा, त्यहाँ रहेका ५६ घरमै चाडै ननिस्कने पाहुना जस्तो बास बसेको छ ।

Wednesday, September 14, 2011

देउजरकी हरिमाया

हरिमायलाई मैले साउनको अन्तिम हप्ता भरतपुर अस्पतालमा देखेको थिए । उनी गर्भवती भएकी रहिछन् । गर्भवती महिलाले स्वास्थ्य केन्द्रमा नियमित जाँच गराउनु पर्छ । त्यसैका लगि उनी अस्पताल आएकी थिइन् । नाम हरिमाया चेपाङ र ठेगना सिद्धि गाविसको देउजर हो भन्ने सुनेपछि मेरा कान केही ठाडा भएका थिए । सिद्धि गाविस चितवनको पहाडी गाविस हो जहाँ ८५ प्रतिशतभन्दा बढी चेपाङ बसेका छन् । चेपाङहरु सिमान्तकृत वर्गमा पर्ने नेपालका आदिवासी जनजाती हुन् । पहाडी पाखेरामा कष्टकर जिवन बिताइ रहेका उनीहरुको आर्थिक अवस्था कमजोर छ । अनि शिक्षा र स्वास्थ्य तथा समाजिक जागरणको क्षेत्रमा पनि पछाडी छन् भन्ने गरिन्छ ।
त्यस्तो ठाउँ र सामाजिक अवस्थाकी हरिमाया स्वास्थ्य परीक्षणको लागि भरतपुरसम्म आइन भन्ने सुन्दा कान ठाडो हुनु स्वभाविकै हो । भरतपुर आसपास कै धेरै गर्भवती महिला अत्यावश्यक नियमित स्वास्थ्य जाँचका लागि अस्पतालनआउने परिपाटी छ । भरतपुरबाट धेरै टाढा देउजर गाउँकी हरिमाया भने आइछन् । अरुले पछाडी परेको भनेर बुझ्ने गरेको चेपाङ समुदायमा स्वास्थ्यका लागि आएको गज्जबको चेतनको रुपमा लिए मैले यसलाई । त्यो उ बेलाको कुरा थियो । उनै हरिमाया हिजो भदौ २८ गते बुधबार फेरि भेट भइन् ।
देउजर उनको पुरानो गाउँ रहेछ । केही वर्षयता भने पदमपुरको नयाँबस्तीमा बस्ने गरेकी रहछिन् । त्योबस्ती भन्दा झण्डै तीन किलो मिटर पर दक्षिणमा रहेको जुटपानीको प्राथमिक स्वास्थ्य केन्द्रमा देखिएकी हुन् उनी । एक महिनाअघिको भेषभुषामै थिइन उनी, त्यही पुरानो र मैलो म्या_िक्स भिरेकी कपाल पनि राम्रोसँग नकोरेकी हरिमाया लौन पेट दुख्यो भन्दै स्वास्थ्य केन्द्र आएकी रहेछन् । परीक्षण पछि स्वास्थकर्मीले हरिमाय सुत्केरी हुने अवस्थामा पुगेको ठहर गरे तर उनी भने घर जाने अडान राख्न थालिन् ।
'घरमा कोही छैन । बाख्रा चराउँदा चराउदै यसो दाम्लोमा बाधेर आएको । घाँस हाल्न पनि पाएको होइन' हरिमायले घर जानु पर्ने बाध्यता खोलिन् । हरिमायाले योभन्द्या अघि दुईवटा बच्चा जन्माएकी छन् । जेठी छोरी नौ र अर्को छोरो छ वर्षको छ । यी दुई बाहिर बसेर पढ्छन् । घरमा लोग्ने र उनी मात्रै । सातवटा बाख्रा छन् घरमा । कमाइको राम्रो स्रोत हो यो । लोग्ने साह्रै सिधा र सोझा छन् । कुल्ली काममा जान्छन् । बिहान बाख्रा लिएर जंगल जाँदा लोग्ने कुल्ली काममा निस्केका थिए । त्यसैले घरमा बाख्रा स्याहार्ने कोही भएन भनेर हरिमाया निकै पिरोलिएकी थिइन् ।
पेट दुखेपछि साइकल चढेर हुत्तिदै उनी स्वास्थ्य केन्द्रमा आइपुगेकी थिइन् । साइकलमा दौडिदै गएर बाख्रालाई घाँस बाँधेर फेरि आइ हाल्छु भन्ने प्रस्ताव राखिन उनले । तर नस्रहरुले जाँदौ गर्दा बाटो मै बच्चा जन्मियो भने के हुन्छ भनेर हकारे । यो हकराइले पनि हच्किनन् हरिमाया । उनी बेडमा बस्नुको साटो दौलोमा आएर उभिन थालिन् । मौका मिले साइकल टिपेर घर दौडने हुन कि भन्ने पिरलो भयो स्वास्थ्यकर्मीलाई । कसैसँग खवर पठाएर श्रीमानलाई यही बोलाउ भन्ने सल्लाह दिए हरिमायालाई उनीहरुले । केन्द्रमा आएको एक युवकलाई केही कुरा भनेर पठाइन उनले । हरिमायाको लाग्नेलाई पनि मैले भरपुरमा भेटेको थिए देखे चिन्न सक्छु । मै गएर ल्याइदिउँ क्याहो भन्ने लाग्यो र तिम्रो लोग्ने कहाँ छन् भनेर सोधे उने क्ल्व चोकमा घर बनाउने काम गर्दैछन् भनिन् । क्लव चोक टाढा थिएन । त्यसैले मैले बाइक लिएर उनको श्रीमान खोजिदिन गए । पुरा क्लव चोकका एकएक घर हेरे तर हरिमायाका श्रीमान देखा परेनन् म रित्तो हात फर्के ।
स्वास्थ्यकेन्द्र छिर्दा मैले हरिमायाका श्रीमानलाई बेाजमा टुक्रुस्स बसेको देखे । लोग्ने गएपछि हरिमाया केही ढुक्क देखिन् । उनले लोग्नेलाई घर गएर बाख्रा स्याहर्न र फेर्ने कपडा लिएर आउन अराइन् । साइकल बोकेर हरिमायाका लोग्ने गए त्यसपछि बल्ल हरिमाया शैयामा गएर पल्टिन् । जुटपानीको प्राथमिक स्वास्थ्य केन्द्रमा प्रशुति सेवा सुरु भएको एक वर्ष पुगेको रहेछ । कुल ७२ जना त्यहाँ आएर सुत्केरी भएका रहेछन् । हरिमाया जस्ता चेपाङ समुदायका कतिजना सुत्केरी भए छन् त ? नस्रहरुले ढड्डा नै पल्टाएर खोज्न थाले ७२ मा चेपाङ महिला जम्मा दुईजना मात्रै रहेछन् ।