Sunday, May 30, 2010

लिसराको नाममा

उजिर मगर

मयूर टाइम्सकी लिसराको न्वारन गर्ने 'पण्डित' को ब्लग...
०६५ कात्तिक ११ गते हो क्यारे। नागरिक दैनिकलाई एक साथीको नामसारी लिएर काठमाडौं जिल्ला प्रशासनमा दर्ता गरिएको। त्यही साँझ मेसेजको सङ्केत मोबाइलमा बज्यो- 'बधाई छ उजिर, राम्रो नाम दर्ता भएछ 'नागरिक'। मलाई पनि मेरी छोरीको नाम चाहिएको छ। जुराउने तिम्रो जिम्मा।' यसो हेरें- नारायण वाग्लेको मेसेज।
यता हामी नागरिक दैनिकको तयारीमा जुटेका थियौं। उता नारायण दाइहरुले दैनिकीमा अनलाइन सुरु गरिसक्नुभएको थियो। उहाँहरुको उतै चटारो थियो। 'लिसरा राख्नुस दाइ'- मेसेज पठाएँ। 'लिसरा भनेको के हो ?'- प्रश्न आयो मेसेजमार्फत् नै। 'मगर भाषामा फक्रिएको सुन्दर फूल'- मैले उत्तर पठाएँ तत्काल।

'नाम त मन पर्‍यो तर मलाई 'न' बाट चाहिन्छ, सकेसम्म दुई शब्दमा, यो जमनामा लामो नाम उपयुक्त हुँदैन'- थपियो मेसेज। पछि केही दिन शब्द खोजियो, नारायण दाइको छोरीको नाम जुराउन सकिएन। यत्तिकैमा गत चैत २० गते नागरिकन्युजमा चैत २८ गतेदेखि पल्पसा क्याफेका लेखकको मयूर टाइम्स आउने समाचार आयो।

समाचारमा नारायण दाइले 'लिसरा मुख्य पात्र' छिन भनेका रहेछन्। अफिसमा सबैले बधाई दिए। त्यसमा मैले पनि दिएँ। फेरि समाचार पढेर अर्को बधाई दिएँ। कुरा बुझेछन् नारायण दाइले। 'हा...हा... ल उजिर भनेर हात ठ्याप्प पारे, उही चिरपरिचित शैलीमा।'
पराग- 'फूलभित्र हुने सुगन्धी धुलो।' लिसरा मगर भाषा हो। जसको माने 'सुन्दर फक्रिएको फूल हुन्छ।' डा. तीर्थबहादुर श्रेष्ठका अनुसार मयूर 'चराको संसारमा विश्व सुन्दरी मात्र नभई नाचेरसमेत सौन्दर्य प्रदर्शन गर्न सक्ने चरा हो।'
यतिबेला उपन्यास 'मयूर टाइम्स' मा यी दुई पात्रलाई मुख्य बनाइएको छ। लिसरा शब्द बाह्र मगरातमा बोलिने भाषाबाट आएको हो। फेरि लिसरा पुन बनेकी छन्। यसको अर्थ बाह्र मगरातमा पुन मगर प्रायः छैनन्। मधेशबाट जाने कर्मचारीका छोरा-छोरीसँगको सम्बन्ध, लगभग उपन्यासमा मधेशकी पराग यादव उपन्यासका लिसराको जस्तै हुन्छ। पहाडमा कि खस क्षत्री, मगर अनुहारमा काली अनुहारकी पराग मिसिँदा हुने वातावरणको झल्को धेरै पहाडी पाठकलाई अनुभूति हुनेछ।
जनकपुरबाट हिँडेका ओभरसियर मध्य पहाडी कुनै जिल्लामा पुगेको देखिन्छ। पराग बुबासँग त्यहीँ पुगेर एसएलसी सक्छिन्। जुनबेला बालपनमा लिसरा मगर्नीसँगको मितेरी साइनोले उनलाई पहाड झनै रमाइलो लागेको छ। कथा ०६० सालको सेरोफेरोबाट शुरूवात् गरिएको देखिन्छ। मध्य पहाडी क्षेत्रको वातावरण राम्ररी केलाइएको छ। जनआन्दोलन ३ सुरु हुनेबेला पराग काठमाडौंमा झरिसकेकी छन्। लोकतन्त्र आयो। जुन बेला उनका व्वाइफ्रेन्डसँगको केही रोचक सङ्गत। त्यही क्रममा उनी ब्याङ्कमा जागिरे। एकाएक राजधानीबाट जनकपुर मोटरसाइकलमा एक्लै यात्रा गर्ने साहसी पराग।
यतिबेलासम्म लिसरा गुमनाम छिन। पराग घर जाँदाको यात्रा संयोग बनेको छ। परागलाई भौतिक रुपको बाटो बन्द भयो। राजमार्गमा दिनै हुने बन्द। तर, बाटो बन्दले उनको भविष्यको अर्को नयाँ गोरेटो सुरु भएको छ। जो उनले नयाँ संसारमा हाम फालेकी छन्। त्यसपछि लिसरा र परागको काम अघि बढ्छ।
चुरे सकिने, तराई सुरु हुने ठाउँको कल्पना हो मयूरनगर। त्यहीँबाट सुरु भएको छ मयूर टाइम्स। शान्ति प्रक्रियापछि तराईमा देखिएको 'भयतन्त्र'। त्यही नेराघेरामा मोफसलमा पत्रकारिता कसरी गुज्रिरहेको छ भन्ने कथा हो मयूर टाइम्स। पहाडबाट विस्थापित महिमा मिस, फेरि मधेशबाट विस्थापित। महिमा मिसको साडीमा देखिएको बुट्टेदार मयूर, पुतलीप्रति परागको बालपनको सम्बन्ध सुरुदेखि अन्तसम्म।
उपन्यास पढ्नेले तराईमा रहेर मोफसल पत्रकारिता गर्नेले अझै थप अनुभूति सङ्गाल्ने छन्। यतिबेला नेपाल पत्रकार महासङ्घमा रहेका कारण थाहा छ- मधेशको पत्रकारिता कसरी गुज्रिरहेको छ। गत वर्षमात्रै ३ सय १८ जना पत्रकारलाई धम्की आएको थियो। त्यसमध्ये अधिकांश मधेशका थिए। त्यो कुरालाई उपन्यासमा राम्ररी समावेश गरिएको छ। कतिपयले परागलाई उमा सिंहको ठाउँमा राखेर हेरेका छन्। उपन्यासमा त्यो झल्किन्न।
आखाँ चिम्सा, कहिलेकाहीँ झर्किने। लिसरालाई मगर पाराको स्वभाव उपन्यासमा निक्कै झल्काइएको छ। लिसराकी आमा अहिले पहिले जस्तो कर्मचारीलाई महिनावारी खाना खुवाउने पेशा छोडेकी छन्। बुबा बारीमा गान्टे मुला उखल्दैनन्। कतार गए। गर्मीमा उतै देहवसान भयो। लिसरा क्याम्पस पढ्न झरेकी छन्, त्यतै पत्रकार बनिन्।
मयूर चिया पसलकी बूढी आमाको पीडा, सीमा वारपार व्यापार गर्ने समूहको बिगबिगी। खुकुलो सुरक्षा व्यवस्था। प्रहरीलाई राजनीतिक दबाब। छरछिमेकबाटै हुने अपहरण। त्यसलाई गहिरिएर रिपोर्टिङ गर्न नजिक पुग्छिन् पराग। सत्य लेख्छिन् लिसरा। त्यही भएर मयूर टाइम्सको चर्चा छ। तर, अस्वस्थ पत्रकारिता। अर्को डेलीको समाचार लेखाई फरक छ। त्यो प्रकृति हेर्दा कतै वीरगञ्ज वरपरको पत्रकारिता जस्तो देखिन्छ।
मधेशमा कसरी पत्रकारिता गर्ने एउटा साहस दिन्छ मयूर टाइम्सले। तर, व्यवहारमा कसरी जाने, त्यसले के असर पार्छ, उपन्यास बोल्दैन। पराग साहस गरेर घटनाको गहिर्‍याइमा पुग्छिन्, कुरा मनमै रहन्छ, मयूर टाइम्समा आउँदैन। यसमा जवाफ 'सम्बन्धित परिवारको सुरक्षाका कारण' हुनेछ। पत्रकारितामा सबैभन्दा डरलाग्दो 'सेल्फ सेन्सरसीप' हो। पराग त्यसको पात्र बनेकी छन्। हुन त पराग अपहरणमा पर्छिन्। पत्रकारिताबाट हात झिक्दिनन्। त्यो सुखद् पक्ष हो।......
मोफसलका पत्रकार कति लापरबाही गर्छन् भन्ने उदाहरण मयूर टाइम्सको शीर्षकमा देखिएको कमजोरी छापा माध्यमका पत्रकारलाई राम्ररी थाहा छ। जुन कुरा कहिलेकाहीँ 'जोक' हुने गर्छ। कहिलेकाहीँ मोफसलमा पत्रकारबीच हुने जोक छ- भूत स्रोतका अनुसार, त्यहाँ मान्छेलाई तर्साउँछ।नेपालको भूगोल अलि धेरै चाहरेकालाई रिङ्ग्याउँछ मयूर टाइम्सले। लिसरा मध्य पहाडकी हुन भन्नेमा शङ्का छैन। उनी एक्कासि तराईछेउ अर्थात् जनकपुर पुग्ने ४ घन्टावर कसरी आइपुगी मयूरनगर ? लिसराको गाउँमा स्ट्रबेरी हुँदैन। स्ट्रबेरी नुवाकोट वरपर बढी हुन्छ। यसले एक्कासि झसङ्ग बनाउँछ।

परागको गाउँ पुग्न ४ घन्टावर हेटौंडा र वीरगञ्ज वरपर झल्काउँछ। मयूर चिया पसल्नी बूढी यतै मकवानपुरका डाँडाबाट बसाई झरेको भान हुन्छ। एकाएक अहिले जातिवादी नारा घन्किरहेका बेला पत्रकारिता कसरी गर्ने भन्ने प्रश्न मयूर टाइम्सले गम्भीर रूपमा उठाएको छ।
र, अन्तमा लिसरा र परागको पत्रकारिता निरन्तर रहनेछ। मयूरनगर विस्तारै सदभावको नगर भनेर चिनिनेछ। पराग र लिसराको सम्बन्ध सधै उस्तै होस्। नारायण वाग्लेको उपन्यासकी छोरी लिसरा, नाम मैले न्वारन गरिदिएँ। पराग र लिसरा धन्य पत्रकारिता गरिरहू। नारायण दाइले भनेका छन्- प्रिय उजिरलाई लिसराको नाम मेरी छोरीलाई दिन चाह्यौ, मैले पुस्तककी एक मुख्य पात्रको न्वारन गर्न पाएँ, धन्यवादसहित।' नारा..ले २९। १२। २०६६।

No comments:

Post a Comment