Monday, May 10, 2010

बोल्ने व्यपारी, गोदाई खाने पत्रकार


माओवादीको औचित्य हिन बन्दका विरुद्ध अमेरिका लगाएतका विदेशी राजदुतको दवाब अति नै बढेपछि प्रचण्डले त्यसलाई स्थगित गरेको घोषणा गरे । भन्न त उनले जनतालाई परेको मर्कालाई ख्याल राखेर आन्दोलनको स्वरुप बदलेको भने तर यो नियतले बन्द फिर्ता लिएको भए उनी खुला मंचमा किन सर्व साधरणका विरुद्ध त्यसरी खनिएका हुन त ?
प्रचण्डले सुरु गरेको आन्दोलनले देश चौपट हुने भयो भनेर खुलम खुल्ला सडकमा चुनौती दिन यस पटक नेपालका व्यापारिक संघसंस्थाहरु अग्रसर भए । पहिलाका ऐतिहासिक आन्दोलनहरुमा देखिने नागरिक समाज र पेशागत संघसंस्थाहरु यो पटक कता बिलाए कता । तर बन्द विथोल्ने दोष जति प्रचण्डले यस पटक बुद्धिजिवि र पत्रकारहरु माथि थोपरे ।
पत्रकार र बुद्धिजिविले कॆ लेखे के भने त्यसको हिसाब राखिने छ भनेर प्रचण्डले हुँकार गरेको भोलि पल्टै आइतबार काठमाडौंमा पत्रकारहरु नराम्ररी कुटिए । पत्रकारहरु कुटिएपछि नेपाल पत्रकार महासंघ केही चलमलाएको छ । पत्रकार महासंघलाई माओवादी आन्दोलनका बारेमा बोल्न गाह्रो थियो होला तर खुला मंचको भाषणको प्रतिवाद किन नगरेको ?
पत्रकार महासंघ राजनीतिक विषयमा यसअघि निकै नजागेको पनि होइन । संविधान बनाउन छाडेर दलहरु कुर्चीको छिनाझप्टीमा लाग्न थाल्दा महासंघ यस पटक पनि बोलेको भए राम्रो हुन्थ्यो । श्रमजिवि पत्रकारहरुको संस्था महासंघ भन्दा ठूला पत्रिका र टेलिभिजन चलाउने संचार उद्यमीहरुको संस्था यो पटक बढी सकि्रय भए महासंघ पछाडी पर् यो ।
माओवादीको आम हड्ताल सुरुहुनु भन्दाअघि व्यपारीहरुको संस्थाले निर्णयक बहस भन्ने कार्यक्रम चलायो । नेपालका धेरै टेलिभिजन र एफएम रेडियोले त्यसलाई प्रतक्ष्य प्रसारण गरे । कार्यक्रममा मिडिया उद्यमी र ठूला व्यपारीको मुहार देखिदा र मन्तब्य सुन्न पाउँदा पत्रकारका नेता धर्मेन्द्र झा कतै झुल्केनन् ।
हिजो आन्दोलनकारी कै एजेण्डा बोकेर सडकमा टायर बाल्न निस्कने पत्रकार महासंघ देशको संवेदनशिल अवस्थामा चुप लागेर राजैनिक रुपमा निरपेक्ष भएको देखिन खोज्यो । हड्ताल लब्बिदै जाँदा एक दिन मिडिया उद्यमीहरुको संस्था मिडिया सोसाइटीका संयोजक कैलाश सिरोहियाको पछि लागेर धर्मेन्द्र झा बालुवाटार छिरेछन् । धन्न नाम सुन्न पाइयो ।
माओवादीको हड्ताल सुरु हुन लाग्दा त्यसलाई आलोचना गर्नेमा कुशकुमार जोशी र उनी अध्यक्ष रहेको संस्था नेपाल उद्योग बाणिज्य महासंघको नाम बढी प्रचारित भयो । यीनै मान्छेहरुले नेताहरुलाई राखेर बार्तामा मध्यस्तता समेत गरेछन् । हड्तालले सास्ति भयो भनेर आवाज बुलन्द गर्न उनै जोशी र सुरेन्द्रबिर मालाकारहरु सकि्रय भए ।
यस पटकको आम हड्तालमा व्यपारीहरुको अग्रसरताले असर देखायो । नागरिक समाजका नाममा बोल्ने देवेन्द्रराज पाण्डे कृष्ण पहाडी र पेशागत संस्थाको तर्फबाट बोल्ने पत्रकार महासंघ बार एसोसियसनका पदाधीकारीहरु कता कुना पसे कता । बार एसोसिएसनका अध्यक्षले बसन्तपुरको होहल्लामा यसो दुई चार कुरा गरे जस्तो लाग्छ । धन्न देखियो उनलाई ।
राजाले सत्ता लिएपछि सुरु भएको जनाआन्दोलनमा नागरिक समाज र पेशाकर्मीको संस्थाले प्रभावकारी भूमिका खेलेका थिए । यो पटक उनीहरु दुलो पसेपछि व्यपारिक संघसंस्थाहरुको भूमिकाले सम्बन्धित पक्षलाई घचघच्याउने काम गर् यो । नाफा नोक्सान तौलेर काम गर्ने व्यपारीहरु जाग्दा लागेको कुरा बोल्न नडराउने समुदाय किन यसरी बिलायो खै ?
हड्तालका विरुद्ध सर्वसाधरणलाई सडकमा ल्याउन व्यपारीका संस्थाले नेतृत्व लिए । हड्ताल रोक्न विदेशीको दवाव पनि थेग्नै नसक्ने गरेर थपिएपछि माओवादी पछाडी हट्यो । जनजीवन कष्टकर हुँदै जाँदा त्यसको बोध गरेर आन्दोलनबाट पछाडी नहटेको प्रमाण भोलि पल्ट प्रचण्डले खुला मंचको भाषण मार्फत गरे । बन्द रोक्न दवाव दिने विदेशी र व्यपारी विरुद्ध उनी चु बोलेनन् आन्दोलनका बेलामा चुपचाप जस्तै रहेका नागरिक समाज बौद्धिक समुदाय र पत्रकार माथि एकोहोरो खनिए ।
के लेख्यौ त्यसको हिसाव राख्छौं भन्ने प्रचण्डको बोलीलाई देशभरबाट खुला मंचमा जम्मा भएका माओावदीका कार्यकार्ताले पत्रकारहरु खत्तम भन्ने प्रचण्ड बाणीको रुपमा ग्रहण गरेर जिल्ला फर्कने छन् । पार्टीका अध्यक्षले नै खुलम खुल्ला पत्रकार विरुद्ध तथानाम बोलेपछि तिनका कार्यकर्ताले जिल्ला र गाउँमा पत्रकारहरुलाई केसम्म गर्लान् यस तर्फ पनि पत्रकार महासंघले अहिले नै सोच्नु पर्ने होइन र कि घटना भएपछि मात्रै विज्ञप्ति निकाल्ने हो ? आखिर बोल्दै नबोले पनि माओवादीले छाड्दा रहेनछन् भन्ने देखिएपछि लागेको कुरा भन्न र पेशाकर्मीको सुरक्षाका विषयमा किन नबोल्ने ?


1 comment:

  1. Mahasangh kin jagthyo ra , chairman ka aphna lai dukh pare po jagne, yaha ta aru patrakarle dukh, dhamki paye, mariye bhane relese nikalne ta ho . Patrakarko sastha le lead garna sakena , tesaile malik jage jasto cha . jay hos malik ko

    ReplyDelete