Tuesday, August 31, 2010

बाढीको शक्ति

पानी जिवन हो अनि यही पानीको रौद्र रुप अर्थात बाढी विनासको जड हो बाढीको शक्तिको प्रतिवाद गर्ने ताकत मान्छेमा भएन भने जिवनको अन्त्य हुन्छ बाढीले जितेमा बर्बादी मात्रै आउछ यस्तै बर्बादीले खाएको चितवनको माडी क्षेत्रको अवलोकन गर्न जाँदा झण्डै झण्डै जितेको थियो बाढीले भेल तरेको कुनै अनुभव थियो पौडी नै खेल्न जानिएको साथ लागेर गएकालाई यी दुवैको अनुभव थियो बढेको खोलो त्यसैको आधारमा तर्ने आँट गरेको हो तर हेलिएपछि मन भित्र खोलोको भेल जस्तै डर उर्लिन थाल्यो
माडीमा भदौ गते बाढी जाँदा रिउ खोला छेउछाउका गाउँहरु जलमग्न भएका थिए इमिलिया, पौवारी, सिमरा जस्ता गाउँबाट मान्छेहरु विस्थापित भएका छन् रिउको बाढीले बगाउँदा इमिलियाकी मुनरी माझीको अझै अत्तोपत्तो छैन अरु ठाउँका दुईजनाको लाशै भेटियो गोपालनगरमा माछा पोखरी नै सखाप भए यी सवै हेर्ने जमर्को पहिला पनि दुई पटक गरे कै हो तर झरी खहरे खोलाहरुमा अचानक आउँने बाढीले बाधा हालेका कारण विनासमा परेका गाउँमा पुग्न सकिएको थिएन
तेस्रो पटक आँट गरेर मंगलबार बिहान त्यता लागियो हिड्दा सिमसिम पानी परेको थियो रिउ बढ्यो होला भन्ने शंकाले मन डराइ रहेको थियो रिउ बढेमा बनकट्टाबाटै तर्न गाह्रो हुन्थ्यो फेरि अलि परबाट त्यही खोलो तरेर इमिलिया, पौवारी पुग्न सम्भव नै हुन्थेन बनकट्टामा गाडाले तार्ने गर्छ भने अरु ठाउँमा हेलिएरै पार लाग्नु पर्छ तर पानी ठुलो परेन बनकट्टा पुग्दा रिउ शान्त् थियो तर्न सकिने भयो भन्ने लाग्यो पारीबाट गाडा वालाहरु कराए 'चाडै मोटरसाइकल राखिहाल्नु होस बाढी बढ्दै गाह्रो हुन सक्छ "
हतार गरेर गाडामा रिउ तरियो तरेपछि बनकट्टा गाउँसम्म पुग्ने तीन सय मिटर बाटो क्षत विक्षत मोटरसाइकल पनि राम्रोसँग चलाउन नमिल्ने जसो तसो गरेर गर्दी गाविसको कार्यालय पुगियो इमिलियाका बाढी पिडितहरुले सोमबारबाट त्यहाँ धर्ना सुरु गरेका छन् वस्ती नै सार्नु पर्ने उनीहरुको माग अगुवा लालबहादुर विश्व्कर्मासँग कुरा गर्दै गर्दा एकजना युवा अगाडी सेरर भने 'होइन उतै गाउँ पनि पुगेर आयौ विनास हेर्नु पर्छ अझैसम्म कोही नगएको त्यो ठाउँमा तपाइँहरु पनि जान्न नभन्नु है " उनी रहेछन् कर्णबहादुर विश्वकर्मा उनी सहित तीनना एउटै वाइकमा रिउ आडैको गाउँ भैरवपुरसम्म पुगियो
भैरवपुरमा वाइक राखेर केही वेर पैदल हिडेपछि घोल, पाँगो माटोको थुप्रो काँशको गाँजसँग संघर्ष सुरु भयो चप्पल लगाउन नमिल्ने हाफ पाइन्ट पनि माथि सार्नु पर्ने काँशको पातले बलाबेलामा पाछ्ने यस्तो बाटो १० मिनेट हिडियो होला तर एक घण्टा हिडे जस्तै लाग्यो इमिलियाबाट तरेर आएका केही महिला बाटोमा भेटिएका थिए उनलाई कर्णबहादुरले पानी कति भनेर साधे महिलाहरुले च्यापु तलसम्म आएको कुरा गरे मेरो सातो जान थाल्यो आडैमा पुग्दा रिउ निकै फैलिएको थियो हिउँदको नारायणी नदी जस्तै थियो रिउको रुप केही उर्लेको आवाज पनि आयो त्यति ठुलो थिएन आवाज तै पनि डर झन बढ्यो
कर्णले केही फराकिलो ठाउँबाट तारे हामीलाई पानी कम्मरभन्दा माथि आएन खोलो तरेपछि ठुलो सास तान्यौ यति भएपछि फर्कदा सजिलै तर्न सकन्छ भन्ने भयो किन कि बिहान पानी आएको थियो अहिले घाम लाग्न थालेको त्यसैले फर्कदा रिउ रौद्र रुपमा हुँदैन भन्ने लाग्यो तर कुरा सोचे जस्तो भएन त्यो कुरा सुरुमा हामीलाई के थाहा हामी खोलो तरेपछि विनास हेर्न थाल्यौ निश्फिर्की भएर सुरुमा शनिश्चर माथिको घर भएको ठाउँ आयो माझी घर भएको ठाउँमा अहिले गोलो खाल्डो , मकवानपुरमा अग्नीको जहाज खस्दा बनेको जस्तो खाल्डो घरको कुनै अवशेष नै छैन उनी श्रीमतीलाई बगाएको थियो बाढीले उनी पार लागे श्रीमती मुनरी अझै वेपत्ता छिन्
शनिश्चर बसेको ठाउँबाट पसेर हामी पुरै गाउँ घुमेर रिउको किनारमा आयो गाउँ झण्डै अंग्रेजीको यु अक्षर आकारको रिउको किनारमा आउँदा अचम्म खोलो अघिकोभन्दा निकै उर्लेको जाँदा हामी रिउसँग अर्को खोलो पनि मिसिएपछिको ठाउँबाट तरेका थियौ अव त्यहाँबाट तर्न सम्भवै नहुने भयो बाढीको तह निकै बढेको थियो माथि अलि फराकिलो ठाउँ हेर्दै आएको भेल भुल्को धेरै नै भए पनि एउटा ठाउँ अलि उपयुक्त लागेछ कर्णलाई पहिला कर्ण गए बिचार गर्न उनी स्वाट्टै तरे पानी कम्मरभन्दा केही माथिसम्म थियो ' सकिन्छ तर्न" भने उता गएर उनले हामीलाई पनि तरिएला जस्तो लाग्यो उनले तरेको ठाउँ नेर आफ्नो झोला छाडे
'त्यताबाट भन्दा यताबाट अलि सजिलो होला आउनु होस" भन्दै उनले हामीलाई खोलामा हेलिन लगाए उनी पनि केही माथिबाट हामी तर्फ आउन खोलामा पसे तर त्यहाँ गहिरो रहेछ कर्ण डुबे, पौडन जानेकाले तत्कालै उत्रेर उनले 'यता नआउनु है" भनेर कराए हामी खोलाको लगभग बीचमा छौ पानी घुँडाभन्दा माथि तर अब यता जाने या उता भइयो कर्णको हाल देखेर झन डर लाग्यो कर्ण पौडी खेल्दै हाम्रा सामु नआउँदासम्म हामी बीच मै रोकियौ झोला उनले समाए हामीलाई दौडी दौडी आउनु है भन्दै उनी अघि लागे खोलो तरेको अनुभव छैन पैडी खेल्न पनि आउँदैन तै पनि भेलमा पसिएको बगाए हाले भने कर्णले बचाउँछन् भन्ने लाग्यो फेरि किनारमा अर्को माझी पनि थियो त्यसैले आँट गरेको हो यस्तो आधार नभएको भए सायदै पसिन्थ्यो खोलोमा
दौडि दौडि खोलो तरेको घरी उच्च ठाउँमा पाइला पर्छ घरी होचो ठाउँमा पहिला तरेको बेलामा कर्णले राखेको झोला आडैमा उत्रने योजना बनाएको तलतल पो पुग्न लागियो अब भने डर बढ्न थाल्यो तर डराए खोलामा नै पल्टिने पक्का थियो त्यसैले छिटोभन्दा छिटो पाइला चालियो झोला राखेको ठाउँभन्दा १० मिटर पर गएर किनार भेटियो किनारमा उत्रेपछि शरीर गलेर फत्रक्कै भयो हिड्ने आँटै आएन अघि बाढीले सत्या नास पारेको गाउँमा घुडाघुडासम्म हिलोमा डुब्दै कतै पछारिदै अढाई घण्टा हिड्दा बरु थकाइ लागेको थिएन खोलो तर्न अढाइ मिनेट पनि लागेको थिएन तर शरीरको शक्ति सवै सकिए
खोलोको किनारमा बसेर एक पटक उत्तर तर्फको त्यही इमिलियालाई नियाँले बाढीले पुरेका धान खेत मात्रै होइन पानीले भिजेका भकारी आँखामा नाच्न थाले भकारीमा धान थाँक्रोमा मकै टुसाएर हरियो हुन लागेका थिए जंगल आडैको गाउँमा देउमाया परियार धरधरी रोइन उनकै घरको तलामा समेत बाढीले हिर्काएको रहेछ 'यस्तो ठाउँमा कसरी बस्नै" भनेर बिलौना गर्दै थिइन् उनी त्योभन्दा पर शुक्रबहादुर परियार 'मेरो घर छिर्नु " भन्दै घरै भित्र उर्मेर जमारा भएका मकै देखाउँदै आँशु बगाएका थिए सिङ्गो केही छैन, सद्दे केही छैन गाउँमा मन भाँचिएको यो बेला बस्ती सरकारले सारिदेओस भन्ने सवैको माग यही माग पुरा गराउन पिडितहरु भोकभोकै निद्रा पनि नभनि गाविसमा भेला एका छन् अघि तीन वर्षको बालक काखामा सुताएर महिलाहरुको समुहमा धर्नामा बसेकी श्रीमाया भण्डारीको सम्झना भयो
सवै सम्झेर ल्याएँदा त्यहाँ गाउँलेले कति ठुलो सास्ती भोगेका छन् भन्ने लाग्यो अनि हामी किन थकित हुने भने झै लाग्यो शरीरमा कता कताबाट शक्ति दौडन थाल्यो बाढी ग्रस्त अरु क्षेत्र पनि घुमेर बनकट्टा आउँदा रिउ बिहानकोभन्दा झनै ठुलो भएको रहेछ गाडाले अहिले भाडा पनि डबल गरेछन् बाटामा सीपी सुवेदी भेटिए उनी भन्दै थिए 'अघि डेढ घण्टा गाडा पनि तरेन रे भेल बढेर" त्यही बेला हामी माथि इमिलियाबाट फर्कदा रिउमा हेलिएका रहेछौं


No comments:

Post a Comment