Thursday, August 19, 2010

लोकको भलो चाहने, लोकबहादुर

चितवनको शक्तिखोर गाविस वडा नं ८ . देविटारमा बस्छन् लोकबहादुर मगर । चितवनको पहाडी गाविस भनिन्छ शक्तिखोरलाई । तर लोकबहादुरको घर पहाडमा हैन कयर खोलाको टारमा पर्छ । कयर खोला उर्लदा उनको घर पुग्न सकस हुन्छ । वनले छोएको करेसाबारी छ । त्यसैले लोकबहादुरको जीवन वनसँग जोडिएको छ । तर उनको दृष्टिकोण फराकिलो छ । उनी नामका मात्रै लोकबहादुर होइनन् मनका पनि लोकबहादुर हुन् । त्यो कुनामा बसेर पनि उनी लोक अर्थात संसारकै भलो सोच्ने गर्छन् ।
अहिले विश्वलाई बढ्दो तामक्रमले उब्जाएको जलवायुको अस्वभाविक परिवर्तनले निकै पिरोलेको छ । लोकबहादुर यो समस्याको निराकरणमा लागेका छन् । जंगल जोगाउने बढाउने र त्यसबाट जलवायु परिवर्तनमा हुने अस्वभाविक परिवर्तन रोक्ने उनको चाहना छ । यस अनुसार केही काम पनि सुरु गरेका छन् लोकबहादुरले । बिरुवा रोप्ने काम त सवैले गर्छन् तर त्यो विरुवालाई जोगाउने तर्फ कमैको ध्यान गएको हुन्छ । लोकहादुरले बिरुवा जोगाउने गजबको योजना ल्याएका छन् । त्यो हो परिवार र गाउँलेको नाममा विरुवाको नामाकरण ।
उनको घरमाथिको वन कवुयिती वन हो । राष्ट्रिय वन क्षेत्र भित्र ५० वर्षसम्मका लागि आय आर्जनका कामहरु गर्न भनेर जिल्ला वन कार्यालयमा कवुलेर उनी लगाएत छजनाले साढे चार हेक्टर वन जिम्मा लिएका छन् । वनमा पहिला हुर्के बढेका कुनै रुख विरुवा काट्न पाइदैन । बेसार अदुवा केरा अमि्रसो आँप कटहर जस्ता फफुल र वाली त्इहाँ भित्र रोपेर आम्दानी लिन पाइन्छ । यसले गर्दा विग्रेको वन राम्रो हुँदै आउछ भने गाउँलेको पनि आयआर्जन बढ्छ । लोकबहादुर वन क्षेत्रलाई अझ हराभरा र घना बनाउन चाहन्छन् । त्यसेले विरुवा रोप्छन् ।
विरुवा रोपेर त्यसमा समुहका पदाधिकारीउनको आमा बुबा र छोराछोरीको नाम टास्न अनिवार्य गराएका छन् लोकबहादुरले । नाम टाँसेको विरुवा मर्दा विरुवा होइन मान्छे नै मरे बराबरको शाक पर्ने लोकबहादुरलाई लागेको छ । त्यसैले गाउँलेहरुले दत्तचित्त भएर विरुवाको स्याहार गर्छन् । त्यसरी नाम टाँसेको विरुवा अनाहकमा काट्ने नास्ने कुरै आउँदैन । त्यसो गर्दा विरुवाको होइन व्यक्तिको हत्या गरे सरह हुने छ । विरुवासँगै मन पनि त्यसैमा रोप्ने अभियान हो लोकबहादुरले सुरु गरेको । कुनै विरुवा मर्न पनि सक्छ । हावाहुरीले ढाल्न सक्छ । रोग किरा लाग्न सक्छ । नयाँ रोप्न या रोग किराको उपचार गर्न लाग्ने खर्चको जोहो गर्न समुहमा कोष पनि बनाएका छन् लोकबहादुरले । जसलाई उनीहरुले विरुवाको विमा भन्ने गर्छन् ।
विश्व्मा छ अरब जनसंख्या भएको सुनेका लोकबहादुरले प्रत्येक व्यक्तिले आफ्नो गाउँ ठाउँमा यसरी नै विरुवा रोपेर र हुर्काउने योजना ल्याए छ अरव विरुवा रोपिने र हुर्कने देखेका छन् । छ अरब बिरुवा बढ्दा कार्बनडाइ अक्साइड ग्याँस उत्पादन धेरै रोकिने उनले बुझेका छन् । कार्बन ग्याँस कम उत्पादन हुनु भनेको पृथ्वीलाई तातो बनाउने ग्याँस उत्पादन कटौती हुनु हो । जसले गर्दा जलवायुमा पर्ने अस्वभाविक परिवर्तन कम हुने उनले ठानेका छन् । यसरी चितवनको एउटा साघुँरो ठाउँमा बस्ने लोकबहादुरले सोचेको कुरा छैन त साच्चिकै लोक कल्याणकारी ।



No comments:

Post a Comment