Wednesday, January 26, 2011

माओवादीको आँगनीमा राजावादी

अस्ति माघ ७ गते चितवनको शक्तिखोरमा रहेको माओवादीका जनसेना रहने तेस्रो डिभिजनमा ठुलो तामझामका साथ सभा भयो । सो सभामा जनसेना विषेश समिति मातहत आएको घोषणा गरियो । कार्यक्रममा प्रवेश पाउन पत्रकारका लागि जिल्ला प्रशासन कार्यालयले दिने पास अनिवार्य छ भनेपछि कार्यक्रम सुरु हुन लाग्दा पनि पत्रकारहरु पास बनाउन जिल्ला प्रशासनका हाकिमहरुलाइ हारगुहार लगाउँदै भरतपुरमै भौतारीनु परेको थियो । तर कार्यक्रम स्थलमा पासको कुनै परवाहा नै गरिन । आएको जो पनि पस्न पाइरहेका थिए । एक हिसावले राम्रै हो । तर पस्न पाउनेमा अचम्मका अनुहार पनि थिए ।
अचम्मका यो अर्थमा कि केही दिन पहिला चितवनमा एउटा ठुलै काण्ड भएको थियो । टाइगर टप्स गोली काण्डपछि पुर्वयुवराज पारस चितवन प्रहरीको नियन्त्रणमा आए । पारस हिरासतमा बस्दा सकि्रय भएका अनुहारहरु माओवादीको तेस्रो डिभिजनमा पनि देखा परे । पारसको समर्थनमा हुने प्रर्दशनलाई व्यापक बनाउने निर्देशन दिने नाइके जो पारसलाई प्रहरी तालिम केन्द्र लैजादा गाडीमा सँगै बसेको थियो जिल्ला प्रशासनबाट छुट्दा ठ्याकै दाहिने तर्फ देखिन्थ्यो त्यो युवकनै माओवादी क्याम्पमा भेटिए । देखिनु मात्रै ठुलो कुरो होइन उनी त माओवादीको सलाम खाँदै विशिष्ट व्यक्तिहरु बसेको पाल तर्फको लागे । जुन ठाउँमा जान निम्त्याइएका ठुला नेता कर्मचारी र कुटनीतिज्ञहरु बाहेक अरु कसैलाई अनुमति थिएन । पत्रकारहरुलाई चिहाउँदा पनि माओवादीका छापामार रिसाउँथे ।
यहाँ भएको फोटोमा पारसको दाहिने तर्फ भएको व्यक्ति र जनसेनालाई पृष्ठभुमिमा पार्दै क्याम्पको विशिष्ट क्षेत्र तर्फ लागेका व्यक्ति एउटै हुन् । उनी चितवनको रामनगरमा बस्छन् । नामका बारेमा म प्रष्ट छैन । कार्यक्रममा नेपालका सवै दलका ठुला नेता आएका थिए । माओवादीको कटु आलोचक केपी कामरेडलेसम्म सलाम पाएको त्यो ठाउँमा गणतन्त्रको कटु आलोचक कमल थापा भने देखिएनन् । थापा दल खोलेर संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै हिडेका छन् । तर थापा नआएको कार्यक्रममा थापाको होइन पारसकै कार्यकर्ताको राम्रै स्वागत भयो जो थापाको पार्टी राप्रपा नेपालमा समेत छैनन् । सोझै पारसका मान्छे हुन् ।
यी पारसको मान्छे एक्लै देखिएनन् त्यहाँ । अर्को उदेक लाग्दो अनुहार पनि त्यहाँ फेला परो । शिवबहादुर पाण्डे अधिवक्ता हुन् । उनी राजावादी पनि हुन् । यही हैसियतले उनले चितवन टाइगर टप्स होटलको गोली काण्डमा पारसका तर्फबाट वकालत गरे । पारसको तर्फबाट वकालत गरेको आधारमा मात्रै उनी राजावादी हुन् भनिएको होइन उनको पृष्ठभुमिनै राजावादी हो । हो यी पाण्डे पनि त्यस दिन कार्यक्रममा देखिए । त्यो पनि सामान्य अवस्थामा होइन रक्सीको नसामा लठ्ठिएका थिए उनी ।
उनलाई स्वागत सत्कार त त्यस्तो केही भएको होइन तर नसामा धुत त्यस्तो मान्छे समेत नेताहरु र अन्य विशिष्ठ व्यक्तिले खाना खाने ठाउँमा निस्फिक्री ओहर दोहर गर्दथे जहाँ जाँदा पत्रकारलाई छापामारको सोधपुछको सामना गर्नु पर्दथ्यो । पाण्डे भने मोवाइलमा चर्को चर्कौ स्वरमा सुर बेसुरका कुरा गर्दै त्यही बसेका हुन्थे । नेतालाई धनुष्टङ्कार नमस्कार गर्न पुग्दथे । उनले एमालेका अध्यक्ष झलनाथ खनाललाई पनि त्यसै गरी नमस्कार गरे अनि दुई चार मिनेट गफ समेत गरे । दुई दिन अघि मात्रै सुनसरीमा एकजना सर्वसाधरणको चड्कन खाएका खनालले खै किन हो जड्याहा पाण्डेको कुरा भने खुवै चाख दिएर सुने ।
नेताहरु सवै एक साथ कार्यक्रम स्थल तर्फ लम्किए । कता कताबाट हो तिनै पाण्डे आएर नारा भट्टाए 'सवै पार्टी जिन्दावाद हाम्रा नेता अमर रहुन् ।' त्यस दिन कार्यक्रम स्थलमा कुनै नाराबाजी भएको थिएन । पाण्डेले भट्टाए पनि उनलाई कसैले साथ दिएनन् । केही बेर एक्लै नारा लगाए अनि मंचको अगाडी गएर बसे । हुन त यो देशमा राजा त सर्वसाधरण भएका छन् भने राजाका समर्थकहरुको के कुरा ।



Monday, January 24, 2011

सुदको सक्रियता

नेपालका लागि भारतीय राजदूत राकेश सुद सामान्य खालका दूत होइनन् । यी सधै सक्रिय रहने मनुवा हुन् । काठमाडौंमा उनी सधै सक्रिय हुन्छन् । कहिले नेताको घर घर र कार्यालय धाउँछन् त कहिले नेतालाइ आफ्नै कार्यालय रहेको ठाउँ लैनचौरमा बोलाएर कुराकानी गर्छन् । काठमाडौंमा मात्रै सिमित छैन सुदको सक्रियता । उनी नेपालको कुना काप्चा पनि घुम्छन् । माओवादीलाई देखिसहन्नन् सुदले । अनि सुदलाई पनि आँखाको कसिङगर नै ठान्छ माओवादी । भारतलाई प्रधान शत्रु भन्ने या नभन्ने विवादमा माओवादी भित्र चिरा परेको छ । पार्टीमा चिरा पार्ने कारक मानिएको भारत देशको राजदुत प्रति माओवादी अति उग्र रुपमा प्रस्तुत हुन्छ । सुदले केही महिनाअघि सोलुखुम्बुमा माओवादीले हानेको जुत्ता खाए । माओवादीका केन्द्रयि नेता गोपाल किरातीको नेतृत्वमा नै सुदमाथि जुत्ता फालियो ।
सक्रिय सुदको माओवादीसँगको सम्बन्ध सुमधुर छैन कटुता बढी छ । सुदलाई माओवादीले देख्यो कि झम्टि हाल्ला भन्ने सोच्छन् मान्छेहरु । माओवादीले मात्रै होइन् नेपालका सर्वसाधरणले पनि त्यत्ति रुचाउँदैनन् । सुदको अनावश्यक सक्रियताले उनलाई यो हदसम्म पुराएको हो । जस्तै भारतीय बहुराष्ट्रिय कम्पनी डाबरले उत्पादन गर्ने रियल जुसमा किरा भेटिएको भन्ने समाचार नेपाली मिडियामा एक पटक छपक्कै छाए । सुदले नेपाली मिडियाले बिज्ञापन नपाएको हुँनाले त्यस्तो समाचार छापेकाहुन् भन्दै बिज्ञप्ति निकाले । यी र यस्ता व्यवहारले सुदको उपस्तिथी अरु नेपालीलाई पनि सुपाच्य लाग्न नथालेको हो ।
सुद अस्ति माघ ७ गते माओवादी जनसेनाको चितवन शक्तिखोरमा रहेको अस्थायी शिविरमा देखा परे । शक्तिखोरमा रहेको तेस्रो डिभिजनमा त्यस दिन माओवादी लडाकुहरु विषेश समितिमा आएको औपचारिक घोषणा गर्न सभा आयोजना गरिएको थियो । प्रधानमन्त्री सहित धेरै मन्त्रि आएका थिए । प्रचण्ड सहित अरु दलका पनि सवै ठुला नेता त्यहाँ थिए । संयुत्तः राष्ट्र संघका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि थिए । नेपाल स्थीत धेरै विदेशी राजदुतहरु आएको मेसोमा सुद पनि नमिसिने कुरै भएन ।
जिपबाट झरे सुद । छापामारहरुले माला लगाएर स्वागत गरे । सुद झेपछि नै भकाभक झरे अरु देशका राजदुतहरु । सुद अगाडी बसेका रहेछन् र झर्न पनि पहिला भए छन् । सुदको सक्रियताको नमुना हो यो । स्वागत गरेर छापामारले उनलाई भित्र लगे । स्वागत खाँदै सवै भित्र जाँदै गर्दथे । मन्त्रीदेखि नेतासम्म कर्मचारी देखि कुटनीतिज्ञसम्म सवै भित्र गए । पाल मुनि बसे । एक आपसमा भलाकुसारी गर्दै समय कटाए । तरल सुद चुपचाप बसेनन् । उनी क्यामरा बोके अनि पोज लिदै फोटो खिच्न थाले । सवै बसेको टेण्ट मुनीको क्षेत्र उनका लागि साँघुरो ठहरियो । त्यहाँबाट बाहिर निस्के यता उताका फोटो पनि खिचे ।
प्रधानमन्त्री लगायतका मुख्य व्यक्तिहरु अलि अबेला आए शक्तिखोर । त्यो बेलासम्म पहिला आएकाले खाना खाने काम भयो । प्रधानमन्त्रीहरु आएपछि स्वागत र केही बेरको भलाकुसारीपछि खाना खान आए । भारतीय राजदुत राकेश सुद खाना खान व्यवस्था भएको पालमुनी आइपुगे । प्रधानमन्त्री लगायतले खाना लिएको फोटो धमाधम खिच्न थाले । गृहमन्त्री भिम रावलले सुदलाई देखे । सुदको नजिकै गएर रावलले दाहिने हातका पाँचै औला एकै ठाउँ जोडेर ओठसम्म लगे । सुदले रावलको इसारा बुझेछन् अनी हिन्दी लवजमा नेपाली शब्दमा निकालॆ 'खायो ।' प्रधानमन्त्रीको टोलीले खाना खाए लगत्तै कार्यक्रम सुरु भयो क्याम्पको दक्षिण तर्फ रहेको को फुटबल मैदानमा । डेढ सयभन्दा बढी अतिथि अटाएको विशाल मंचमा सुद गएर बसे ।
कार्यक्रम सुरु भयो । पासाङले स्वागत मनतब्य राखे । प्रधानमन्त्री र माओवादीका अध्यक्षले माओवादी लडाकुलाई विशेष समिति अन्तर्गत ल्याउने सहमति पत्रमा हस्ताक्षर गरे । विशेष समिति अन्तर्गतको सचिवालयका संयोजक बालानन्द शर्माले त्यसलाई पढेर सुनाए । यो बेलामा सुदले के गरे होलान हेक्का भएन । तर जव प्रचण्ड मन्तब्य दिन मंचमा आए सुद फेरि देखा परे । मिलाई मिलाई दुई चारवटा फोटो खिजे प्रचण्डको सुदले । अनि प्रचण्डको भाषण जब रफ्तारमा जान थाल्यो सोफामा बसेका सुदले झोलाबाट किताव निकालेर पढ्न पो थाले । प्रधानमन्त्रीले भाषण गर्दा पनि सुदले छाडेनन् किताव ।
अरु बेला थुपुक्क बस्न नसकेका सुद सायद थाकेर भाषणका बेलामा कितावमा मग्न भएको पक्कै होइन होला । भाषण भइरहेको त्यत्रो चर्को कोहलाहल युक्त ठाउँमा बसेर उनले कसरी किताव पढ्न सकेका । तिमीहरुले जुत्ता हाने पनि तिम्रै सेनाकै क्याम्प भित्र म निस्फिक्री घुम्न सक्छु म हतास छैन भन्ने देखाउनका लागि मात्रै सुदले अघिल्ला गतिविधि गरेका पो हुन कि ।

Thursday, January 20, 2011

देवी. कसैले उक्साएको त हैन नि तिमीलाई ?

व्यक्तिगत रुपमाभन्दा एमालेका नेता झलनाथ खनालसँग मेरो कुनै रिस राग छैन । उनको व्यक्तित्व आर्कषक छ । एमालेका अध्यक्ष पनि हुन । मान्छे हेर्दा शालिन भए पनि नेताको रुपमा उनको भुमिका साह्रै कमजोर भयो । मुलुकलाई यो बेलामा राम्रो र सक्षम नेता चाहिएको छ त्यो पुरा हुन सकेन । यसमा झलनाथ मात्रै परेका होइनन् नेपालका सवै नेताको पारा यस्तै रहयो । देवीप्रसाद रेग्मी भन्ने एकजना सर्वसाधरणले यी नेता मध्येका एक नेता झलनाथलाई हिजो बिहीबार दिउँसो गालामा चड्काएछन् । चड्काए राम्रै गरे भन्नुभन्दा अगाडी म आफ्ना केही धारणा राख्नेछु । देवीप्रसादले कुनै व्यक्ति नेता समुदाय पार्टीको उक्साहट र योजना मुताविक हानेका हुन् भने म उनको कार्यसँग सहमत छैन । आफ्नै अन्तरमनले भनेपछि चड्कन लगाउनै पर्ने देखेर चड्काएका हुन् भने मैले देवीप्रसादले राम्रो गरे । झलनाथलाई हानेका हुनाले राम्रो गरेभन्ने पनि मेरो आशय होइन । चड्कनभन्दा बढी अरु केही व्यवहार गरेको भए मैले उनको काम यति सजिलै समर्थन गर्ने थिइँन ।
देवीप्रसादको चड्कन नेपाली सर्वसाधरणको मन भित्र गुम्सिएर रहेको, उकुस मुकुस भएर बसेको आक्रोशको सानो अभिव्यक्ति मात्र हो । म नेतालाई देवीप्रसादले जस्तै चड्कन लगाउने छु भन्ने सर्वसाधरणको बहुमत नै छ यो देशमा । देशका नेताले नेपाली जनताको अतिभन्दा अति अपमान गरेका छन् । जनताप्रति जवाफदेही नै हुन सकेनन् नेताहरु । जनताले गर भनेर पठाएको मुख्य काम नै गर्न विर्से । संविधान लेख्न छाडेर प्रधानमन्त्रीको पद अर्थात कुर्चीका लागि लडेको लडेइ गर्दा पनि एउटा प्रधानमन्त्री दिन सकेनन् नेताले । मुलुकका समस्या सामाधान गर्ने कुरामा सिन्को भाँचेनन् । अनि कुरा गर्नु पर्दा आफ्नै धाक लगाउने आफै सर्वमान्य हुँ भन्ने ठान्ने । झलनाथको मात्रै हो र आम नेता यस्तै चरित्रका रहे ।
जनता लोडसेडिङको मारमा परे अपहरणकारीले सताइए मागेको जति चन्दा नदिदा ज्यानै गुमाउनु पर्ने अवस्था आयो । महंगीको कुरै नगरौं रोग व्यधि पनि यस्तै आयो । कर्णाली अंचलमा नुन समेत खान पाएनन् मान्छेले । जनताको कि दैनिक दुःख घटाउन नेताले कुनै चासो दिएनन् । संविधान लेख्ने कुरा बिसे्र जनतालाई सुविधा दिने कुरा ख्यालै भएन यी नेतालाई । अनि आफुले सुविधा लिने कुरा कहिल्यै भुलेनन् । भ्रष्टाचार गर्न लाज मानेनन् । संयुक्त राष्ट्र संघको मिसनमा गएका प्रहरीलाई पठाउने सामानमा समेत अकुत भ्रष्टाचार गरे नेताहरुले । वैदेशिक रोजगारीमा जानेहरुबाट हजार रुपैयाँ लिएर खडा गरेको कोषको पैसामा समेत राइदाइ गर्न भुलेनन् नेताले ।
गर्नु पर्ने काम गर्दै नगर्ने, नगर्नु पर्ने काम गर्ने । नगर्नु पर्ने भन्नाले नेताले होइन चोर डाँका र फटाहाले गर्ने काम भने घुँडा धसेर गरे नेताहरुले । अनि जनताको असन्तोष कति बढ्यो होला । त्यो असन्तोष निस्काशन गरे देवीप्रसादले । मेरो छोरालाई किन जागिर नदिएको भनेर खनाललाई झापड हानेका हुन भने राम्रो गरेनन् देवीप्रसादले भन्नु पर्छ । तर नेताले जति अत्याचार गरे पनि जनतासँग तर्सन नपर्ने अवस्था आयो । देवीप्रसादले जे गरे त्यसले नेता अब जनताको सामुन्ने जाँदा तर्सन भए । सीडीओलाई चड्कन लगाउने मन्त्री यही देशमा छन् । तर सीडीओ चड्काउने मन्त्रीले कुनै कारवाही भोग्नु परेन । नेतालाई पिटेको जनता तत्कालै प्रहरीको नियन्त्रणमा पुगेका छन् । जनतालाई कमजोर र निमुखा ठान्ने कार्यकर्ता बनाएर बुद्धिभुट्ने मेसो मात्रै गर्ने नेताले भविश्यमा कति चड्कन भेट्ने हुन हेर्दै जाउ । सधै जनता अपमानित भए यो देशमा । अब सार्वजनिक समारोहमा अपमानित हुने पालो नेताको हो ।


Tuesday, January 18, 2011

आँखा अगाडी आफ्नै सालिक देखेर दंग परे 'आँखा बा'

आँखा रोगको उपचारमा लामो समयदेखि लागेको हुनाले धेरैले उनलाई 'आँखा बा' भनेर सम्बोधन गर्छन् । आँखाको ज्योती फर्काइ दिएर गुन लगाएकाले होला 'आँखा बा' अर्थात डा.रामप्रसाद पोखरलेलाई जिउँदैमा आफ्नो सालिक देख्ने अवसर मिल्यो । नेपालका पुराना आँखा चिकित्सक पोखरलेको अर्ध कदको मुर्ती मंगलबार भरतपुरमा उनकै आँखा अगाडी अनावरण भयो ।
समाजका लागि योगदान गर्नै व्यक्तिको नेपालमा मृत्युपछि सालिक बनाएउने चलन छ । 'तर आँखा रोगको उपचारको क्षेत्रमा उहाँको योगदान अतुलनीय छ । ज्युदैमा सालिक बनाएर उहाँप्रति सम्मान दर्शाएका हौं' नेपाल नेत्र ज्योती संघ चितवन शाखाका अध्यक्ष चीजकुमार मास्केले भने । आँखाका ज्योती गुमाएकालाई उपचार गरेर संसार देखाएका पोखरेलले आफ्नो सालिक देख्न पाए ।
चितवनमा संघ स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा आयोजित रजत महोत्सव समारोह अन्तर्गत चितवन शाखाले पोखरेलको सालिक बनाएको हो । भरतपुर आँखा अस्पताल परिसरमा सो सालिक रहेको छ । डा. पोखरले वि.स. २०३५ सालमा स्थापना भएको नेपाल नेत्र ज्योती संघका संस्थापक केन्द्रीय सदस्य पनि हुन् । उनी २० वर्षदेखि संघको केन्द्रीय सभापति छन् ।
पोखरेलले बेलायतबाट वि.स.२०२७ सालमा आँखा रोग उपचार सम्बन्धि सवैभन्दा विशिष्ट तह एफआरसीएस उत्तीर्ण गरे । त्यसको एक वर्षपछि नेपाल आएर सेवा गर्न थाले । एफआरसीएस उत्तीर्ण गर्ने उनी पहिलो नेपाली हुन् । नेत्र ज्योती संघ खोलेर आँखा उपचार सेवालाई विस्तार गर्न पहल गरे । संघ स्थापना भएपछि नै नेपालमा आँखा रोगको अवस्था बारेमा विस्तृत राष्ट्रिय सर्वेक्षण भयो ।
'त्यो सर्वेक्षणबाट नै आँखा उपचारको रणनीति र अरु योजाना बनाउन ठुलो सहयोग मिल्यो' डा.पोखरेलले बताए । उबेला कर्णाली अंचल र पुर्वका हिमाली जिल्लामा सर्वेक्षण गर्ने मान्छे ओसार्न क्यानडाबाट हेलिकोप्टर भाडामा ल्याएको पोखरेलले बताए । संघकै पहलमा सरकार यसका लागि तयार भएको थियो ।
संघको सकि्रयताले नेपालमा आँखा रोग उपचारका क्षेत्रमा धेरै विकास भयो । संघ गठन हुँदा नेपालमा जम्मा छजना नेत्र चिकित्सक थिए । काठमाडौं वीर अस्पतालमा मात्र १६ शैया नेत्र रोगलाई छुट्टाइएको थियो । अहिले नेपाल भर साढे तीन सय नेत्र चिकित्सक रहेको पोखरेलले बताए । त्यस्तै १५ ठाउँमा ठुला आँखा अस्पताल खुली सकेका छन् ।
'सायद यही योगदानको मुल्याङ्कन भएको होला । तर मैले यो अपेक्षाले काम त गरेको होइन तै पनि साथीहरुले सम्झे खुसी लाग्यो' डा. पोखरेललको प्रतिकृया छ । नेपालले आँखा उपचारमा चाहिनॆ जनशक्ति र पुर्वधारमा ठुलो फड्को मारेको छ । तर सेवा र सुविधाका बारेमा जनमानसमा जानकारी पुग्न नसकेको डा.पोखरेललको अनुभव छ ।
उनले भने 'भारतमा आँखा उपचारका बारेमा ठुलो प्रचार प्रसार हुन्छ । त्यहाँ अन्धोपन तथा आँखा सम्बन्धि अन्य रोगको उपचार लिने चलन व्यापक छ । तर नेपालमा प्रचार प्रसार नपुगेर सर्वसाधरणले सुविधा लिन पाएनन् ।' यस तर्फ बेलैमा कदम चाल्न सरकारसँग उनले आग्रह गरे ।



Monday, January 17, 2011

ब्लाङकेट पोलेर आगो ताप्नेहरु

माघको जाडेमा आगो त्यसै प्यारो हुन्छ । आगोले शरीर तताउने हो । आगोले जहाँ बोल्यो त्यही ताप दिन्छ । मगलको आगो बाहेक अरु आगोलाई उही स्वरुपमा चाहेको ठाउँमा लौजान सकिन्न । बलेको ठाउँमा गुजुमुज्ज भएर बस्यो ताप्यो हिड्यो । सिरक ब्ल्ाङकेट च्यादर पछ्यौराले पनि शरीरलाई ताप दिन्छ । अनि यि बस्तुहरुको विषेशता आगोकोभन्दा फरक पनि छ । जस्तै साना खाले सिरक र सवै प्रकारा च्यादर ओढेरै एक ठाउँबाट अर्को ठाउँ गइआइ गर्न सकिन्छ । जाडो हुँदा झिक्यो ओढ्यो नभए पटाएर राख्यो ।
अब यस्तो सजिलो बस्तुलाई सवैले जोगाएरै राख्छन् । एउटा माघ गए अर्को आउँछ त्यो बेलालाई पनि चाहिन्छ । सिरक च्यादर ब्लाङकेटको सक्दो संरक्षण गर्नु मानवीय स्वभाव नै हो । आगो ताप्नु पनि उसै गरि लालायित हुन्छ यो जाडोमा । आगो बाल्न दाउरा चाहिन्छ भन्ने कस्लाई थाहा नभएको हो र । तर दाउरा बाहेक भुस र अरु धेरै चिजबाट पनि बाल्ने र त्यो आगो ताप्ने गरिन्छ जाडोमा । तर मुढोको आगो सवैभन्दा मज्जाको हुन्छ ।
मुढो नपाइएमा काम चलाउने चिज अरु धेरै हुन्छन् । तर अरु बेला ओढ्न काम लाग्ने जाडोको अत्यन्त भर पर्दो साथी ब्लाङकेट बालेर आगो ताप्ने कुरा यो त असामान्य मनस्थितिकाले नै गर्ने काम हो । जो सुकेले यस्तो काम त गर्दैन । अनि जस्ले गरे पनि यस्तो गरेको देखेपछि मनमा अनेक कुराहरु खेल्न थाल्दो रहेछ । त्यसो गर्ने असली पात्रसँग गाउँ समाज समुदाय र राष्ट्रका अनेक पात्रहरुको अनुहार मिसिएर दिमागमा नाच्न थाल्दो रहेछ ।
कुरा देवघाटकै हो । माघ दुई गते मध्यान्ह देवघाटको बेणीमा पुग्दा केही बाबाहरु बगरमा मस्त निदाएका थिए । अगाडी मुडाको आगो बलि रहेको थियो । मधुरो मधुरो घाम पनि थियो । बाबाहरु सह्रै निष्लोट भएर निदाएका थिए । उनीहरु जाँगदा दिउँसोको तीन बजि सकेको थियो । घाम साह्रो मलिन थियो । मुढो धेरै जलेर सकिएको थियो । सिरोठो चल्न सुरु भएको थियो । बाबाहरु जाग्दा चिसो फैलदै थियो । अलि बेर आगो तापे । बाबाहरु सुरमै देखिन्थे । गाँजाले सुरु हराएका जस्ता लागेनन् । गफ बढ्दै जाँदा आगोको राप भने घट्दै जान थाल्यो । एउटा गतिलो ज्वालाको आवश्यकता थियो । बाबाहरुले झोलाबा धमाधम ब्लाङकेट निकाले मुढामाथि राखे । राँको निस्कियो त्यसपछि ।
बाबाहरुले के गरे यस्तो वरपर बसेकाले अचम्म माने । बाबाहरु भने निस्फिक्री देखिए । त्यो बगरमा यसो खोज्ने हो भने मुढा सल्काउने झिँजा जति पनि पाइन्थे । उस्तै परे ठुलै दाउरा भेटिन्थे । त्यत्ति नगरेर बाबाहरुले जाडोको भरपर्दौ साथी ब्लाङकेट बालेर आगो तापे । नेपालीमा उखान छ घर पोले खरानीको के चिन्ता । दुई मिनेटको न्यानोका लागि दुई वर्ष खप्ने ब्लाङकेट डढाए बाबाहरुले ।
हुन त बाबाहरुले यस्ता ब्लाङकेट अरु पनि पाइहाल्छन् सित्तैमा । त्यसै पाउने मालको के चिन्ता । के वस्तुको के महत्व हो त्यो थाहा नभएपछि यस्तै विध्वंस गर्न मन लाग्दो हो । यस्तो मनोवृत्ति भएका पात्रहरु अनेक छन् । तपाइँहरुले पनि चिन्नु भएकै होला ?


Sunday, January 16, 2011

पैसाको लागि चुम्बकको बल्छी

पानीमा माछा मार्न बल्छी फल्ने गर्छन् । यो सुने देखेकै कुरा हो । अनि नदीमा पैसा टिप्न बल्छी हान्ने कुरा सुने पनि धेरैले नदेखेको कुरा हो । चुच्चो अंकुशेमा पिठो या गड्यौला उनेर बाँसको लौरोमा बाँधेको बलियो धागो त्यसमा कसेर पानीमा फालेपछि माछा भएको खोल्सा, खोला र नदीमा माछा पर्न बेर लाग्दैन । खानाको लोभमा फँसेपछि छटपटीएका माछा बल्छीबाट निकालेर झोलामा हाल्छन् बल्छी समाएकाले । यो दृश्य कुनै नौलो र अनौठो होइन जहाँ पनि देख्न पाइन्छ । पैसा समात्न पनि बल्छी ....यो भने नौलो नै होला भन्ने मलाई लाग्छ । खोलामा माछा त पाउन मुस्कील भएको बेलामा पैसा फसाउँन के को बल्छी ? हैन त ।
हिजो माघ २ गते दिनभर देवघाटको बेणी अर्थात त्रिशुली र कालिगण्डकीको संगम स्थलमा बिताइयो । अस्ति माघ १ गते पनि गएकै हो । केही कुरा लेखेकै हो ब्लगमा । अनि हिजो फेरि काम विशेषले दिनभर त्यतै भएपछि ब्लगमा लेख्न मिल्ने दुई चार कुराभेटाइयो पनि । सबै कुरा लेख्न थाल्दा दिक्क पनि लाग्न सक्ला र तर दुईवटा कुरा भने लेख्ने निधो गरे । त्यस मध्ये आज 'पैसाको लागि चुम्बकको बल्छी ।' भोलि बिजुलीले साथ दिएमा देवघाटकै त्यही बेणीकै अर्को एउटा दृश्य वर्णन गर्ने छु ।
माघ १ गते बेणीमा मान्छे खचाखच थिए । दुई गते दुलही अनमनाएको आँगन जस्तो सुनसान हुँदो रहेछ त्यो बेणी । तै पनि यता उता कोही न कोही देखिन्थे । सय डेढ सयको हाराहारीमा मान्छेहरु थिए हिजो पनि देवघाटको बेणीमा । नदीमा तीन चारवटा डुंगा पनि थिए । ओहर दोहर गर्नेलाई तारिदिन्छे माझीहरु । हैन मान्छे मात्रै तारेका पनि छैनन् यिनले केही गरेका पनि हुन कि जस्तो लाग्यो । हो बल्छी फालेका हुन् पानीमा,.. गतिविधि हेर्दा त्यही लाग्यो । अनि झल्याँस्स सम्झना भयो देवघाटको यो बेणीमा त रैथाने बोटेले पनि माछा मार्न पाउँन्न । अनि डुंगामा बसेर केका लागि फालेका छन् त बल्छी ।
'पैसा बटुलेको हो नि दाई' डुंगा किनार लागेका बेलामा सोध्दा १४ वर्षे हिमाल बोटेले उत्तर दिए । हिमाल डुंगामा बसेर साथी राजु बोटेसँगै बल्छी खेली रहेका थिए । राजु उमेरमा हिमाल भन्दा साना रहछन् । नदीको बीच बीचमा पनि पैसा पुगेको हुँदो रहेछ । नाइलनको पातलो डोरीमा बाँधेको गोलाकार चुम्बक स्वाट्टै नदीमा झारेपछि एक दुई रुपैयाँको सिक्का टाँसीदो रहेछ । अघिल्लो दिन माघे संक्रान्तिमा भक्तले नदीलाई चढाएको सिक्का यी बालकको खल्तीमा यसरी पर्दो रहेछ ।
बिहे गरेका आइमाइहरु पनि आउँछन् खोज्न' हिमालले साना केटा केटी मात्रै यस्तो काममा नलाग्ने जानकारी दिए । भक्तको भिड लागेका बेलामा चढेका हुनाले खोज्न हिँड्नेले कम्तीमा पनि गोजीमा सय दुई सयवटा सिक्का राखेछ । यो त भयो डुंगा भएकाहरु बीचो बीच गएर बल्छी हान्नेहरुले गरेको आम्दानी । सवैसँग त्यस्तो डुंगा कहाँ हुन्छ र अनि किनारमा बसेर चुम्बकको बल्छी हुर्राउनेहरु पनि हुन्छन् । आठ वर्षका सुमित बोटो (फोटोको बालक ) तिनै मध्येका एक हुन् । उनी किनारमा बसेर बल्छी खेलेका थिए । उनको बल्छीमा पनि साँझासम्मा ४० वटा सिक्का आयो ।
माघे संक्रान्तिमा देवघाट नुहाउन मान्छे धेरै आउँछन् । पैसा खोज्न बल्छी थाप्नेहरु पनि धेरै नै हुन्छन् । यति हुँदा हुँदै पनि सवैले केही धेरै पैसा बटुले कै हुन्छन् । तर माघे संक्रान्तिपछि पनि देवघाट आउने जाने गर्छन् मान्छे । अनि नदीमा पैसा छ कि भनेर हिमालहरु हप्ताको एक दिन अर्थाता शनिबारको दिन यसरी नै बल्छी खेल्छान बेणीमा । पारी चितवन तर्फको सितारामा संस्कृत माविमा पढ्ने यी बोटे बालकले यसैबाट किन्छन कापी र कलम ।



Saturday, January 15, 2011

मेलाका मुहारहरु

हिजो माघ १ गते थियो । देवघाटमा मान्छेको ठुलो घुइँचो लाग्छ । यसो हेर्दा दोभानमा मान्छे बगरमा मान्छे । सडकमा मान्छे अर्थात जता ततै मान्छे नै मान्छे । मान्छेको भिडबाट आँखा पर लैजानै सकिदैन । तर यस पटक भिड तुलनात्कम रुपमा कम भएको अनुभव धेरैले गरे । डुंगा चलाइ रहेका धनबहादुर गुरुङलाई मेलै सोध्दा उने
'भने पोहरकोभन्दा त निकै कम हो । परारको जति पनि मान्छे छैनन् जस्तो छ ।' पोहर माघे संक्रान्तिकै दिनमा सूर्य ग्रहण पनि परेको थियो । त्यसैले दोहरो फल लिन मान्छेहरु ठाउँठाउँबाट अत्याधिक आए । पोहर त कि मान्छे थिए कि उनीहरुले चढेका गाडी थिए जता ततै । तर यस पटक त्यो मात्रामा मान्छे नआएकै हुन् । डुंगा चलाउने मात्रै हो र पुल चोकमा बस्नेहरुले पनि उस्तै अनुभव गरे । एकजना स्थानीय व्यपारीले मलाई भने 'दाई पहिला पहिला पुसको मसान्तिको दिउँसोको तीन नबज्दै देउघाट देउघाट भन्दै गाडीवालाहरु कराउँथे । यस पटक साँझ पर्दा पनि त्यो भनेको सुन्न पाइएन ।'
ल अब यो मान्छे कम भएका बारेमा केहीले गरेको अनुभुति यत्ति नै । तर जे भए पनि माघे संक्रान्तिमा देवघाटमा मान्छे छपक्कै हुन्छन् । समर्गमा मान्छे मान्छेको टाउँको बाहेक केही देखा पर्दैन । तर अलि नियालेर हेर्न थाल्ने हो भने पृथक पृथक कुराहरु सामुन्ने आउन थाल्छन् । देवघाट नुहाउन जाने हो माघे संक्रान्तिका दिन । सवैले जानेको कुरा यही नै हो । यो नुहाउन जान्छन् देवघाटमा । तर यो बाहेक पनि अरु केही कुरा हुन्नछन् मेला जात्रा लागेका ठाउँहरुमा । अब ति देखेका कुराहरुलाई अलि कता भए पनि म यहाँ राख्ने छु ।
नुहाउनु बाहेक कमाउनु देवघाट मेलाको अर्को पाटो हो । नुहाउन आउनेलाई सेवा दिदा कमाइ हुन्छ । यो बारेमा अन्यथा सोचेको होइन मैले । गाडी चढ्यो पैसा तिर्नै पर्छ । हिजो बिहान देवघाट जाँदा हामी चढेको बसले रामनगर यता १५ मिनेट गाडी रोकेरै भाडा उठायो । दुई चार पैसा भए पनि गुम्ला भन्ने पिर उसलाई छ । माग्नेहरु देवघाट मेलाको अर्को अनुहार हुन् । अघिल्लो दिन साँझै होला मान्छेको भिडभाड हुने क्षेत्रमा मिलाएर कपडा बिछ्याइएको थियो । मान्छेहरु शितले भिजेका ति कमपा माथि चामल दिदै जान्थे ।
अनौठा बाबाहरु मेलामा देख्न पाइयो । तुलनात्मक रुपमा केही बाबाहरु सुकिला मुकिला पनि थिए । कोही बाबा गाँजा तान्दै गरेका भेटिए । माग्नेको लाममा घुसेको बाबा ताल तालका थिए । उता काली र त्रिशुलीको संगममा नुहाएर फर्कने बाटोमा बसेको माग्नेहरुको लाममा एउटा बाबा कुकुरलाई अंगालो हालेर बसेका थिए । ति बाबा थोरै चामल दिए रिसाउँदै त्यत्ति नै चामल बाहिर फ्याँकी दिन्थे । तर चामल दिनेले यो दृश्य चाल पाएको हुँदैन थियो । हैन यस्ता बाबालाई कस्ले धेरै नै चामल दिएको रहेछ र हो वरपरको अरुकोभन्दा उनको थुप्रो ठुलै थियो ।
माघ महिना यसै त चिसो त्यसमाथि नुहाएर आउँदा झनै चिसो । यता चितवन तर्फ ठाउँ ठाउँमा पसल थिए परिकार थिए तर तातो खाने कुरा पाउन गाह्रो । नारायणगढ जेसिजले चीया पकाउँदै दिदै गरेको रहेछ । ल ल तातो चियो खाएर जाउँ भनेर जेसिजका मान्छेहरु कराइ रहेका थिए । पैसा लाग्दैन थियो तै पनि चियाका गिलास समाउने हातहरु कमै थिए । नुहाएर पुण्य कमाउन आएकालाई लाग्दो हो यो जाडोमा उनीहरुको चिया खाए त सेवा गरको आधारमा उनीहरुले बढी फल पाउन सक्छन् त्यसैले खान्न म सित्तैको चिया भनेका हुन कि जस्तो लाग्यो मलाई । किन भने पैसा तिरेका पसलमा परिकार गुणस्तरका नभए पनि भिड थियो । यता सित्तैमा पाउने जेसिजको चियाको स्वाद आहा जो नखाए ओ पछताए भन्ने तहको थियो । चिनी चिया र मसलाको मिश्रणले त्यो चियालाई उच्चकोटीको बनाएको थियो ।
मान्छेको त्यो भिडमा मसिनो गरेर हेर्ने हो भने अरु पनि धेरै कुरा देखिएला । सवै कुराको चर्चा यहाँ के गर्ने । एउटा कुरा भने मलाई भन्नै मल लाग्या छ त्यो अलि फोहरी कुरा हो । तपाइँहरुले यो कुरा सुनेर मलाई गाली भने नगर्नु होला । मेलामा मान्छे आउँछन् । दिसा पिसाब लाग्छ । शरिरबाट निस्कन चाहने त्यो बिकारलाई त फाल्न पर्छ । नभए बित्याँस निम्तन्छ । हो त्यस्तलाई सुविधा दिन भनेर उता दोभानो आडमा लहरै अस्थाई चर्पीहरु उभ्याइएका थिए । तर लाख मान्छे आउने भनिएको देवघाटमा चर्पी भने १५ वटा पनि छैनन् । अनि त्यो चर्पीको क्षमता मान्छेको आवश्यकताको तुलनामा कता हो कता अर्थात हात्तीको मुखमा जिरा । अनि बिकारको विस्रजन नुहाउने घाट वरपर यत्रतत्र सर्वत्र । छ्याँ भन्न पनि भएन देवभुमिमा बसेर । तर सहन पनि सकिएन मान्छे विष्टाको त्यो दुर्गन्ध ।