Sunday, March 17, 2013

त्यो बेलाको कान्दा


कान्दा अचेल संचारमाध्यममा धेरै आउने चितवनको एउटा विकट गाउँ हो । सो गाउँमा च्याउ खाएर आठजनाको निधन हुँदा बरु त्यत्ति चर्चामा आएको थिएन । सो गाउँमा विस २०६७ साल असार ३ गते पहिलो पटक पुगेर लेखेको समाचार हो यो । यस पटक कान्दा पुगेकी सावित्री सापकोटालाई उ बेलाको कान्दा जान्न मन लागे छ र मलाई पुरानो समाचार खोजी दिन अनुरोध गरिन । पुरानो समाचार पढ्दा म पनि दङ खाए । वास्तवमा कान्दा अहिले धेरै फेरिएको छ । 

‘खर्च नभएकाले किरिया पनि गरेको छैन’
रमेशकुमार पौडेल,
कान्दा (चितवन), असार ५ ।
दायाँ बयाँ रहेका साना छाप्रामा बाच्छी सहितको एउटा गाई र केही सँगुरहरु छन् । मान्छे बस्ने बीचको घरको दैलोमा सानो ताला झुण्डीएको छ । खानका लागि जंगलबाट खोजेर ल्याएको दुईवटा डोकोमा राखेको कन्दमुल गिठ्ठा उम्रेर डोको बाहिरै लहरा निस्केको छ । जंगली च्याउ खाएर परिवारका आठजनाको निधन भएको सो घर अहिले उराठ लाग्दो छ । 
गाडीबाट ओर्लेपछि लगातार १२ घण्टा पैदल हिडेर पुगिने चितवनको लोथर गाविस वडा नं ९ को कान्दा गाउँमा रहेको सो घरको आडैमा कान्दा खोला सुस्याएको सुनिन्छ । नजिकै उच्च पहाड छ । त्यो घरको आँगनमा बस्दा मान्छेको आवाज र अरु घरहरु देख्न मुस्किल छ । त्यहाँबाट १५ मिनेट हिडेपछि देविमाया चेपाङको घर आउँछ ।
देविमाया कान्दाका ६५ वर्षीय बाबुराम चेपाङकी तीन मध्येकी जेठी श्रीमती हुन् । बाबुराम माइली श्रीमती मतीमाया सहित दुई छोरा,दुई बुहारी, दुई नातिनी र नौ महिने एक नातीसहित देविमाया बस्नेभन्दा तलकोे घरमा छुट्टै बस्थे । उनै बाबुरामले जंगलबाट ल्याएर पकाएको च्याउ खादा सानो नाती बाहेक बाबुरामको परिवारको सवै आठजनाको निधन भयो । 
देवमाया अहिले १५ वर्ष भएको छोरो सन्त्बहादुर सहित अलग्गै भान्सा गरेर बसेको १० वर्षभन्दा बढी भयो । उनले भनिन् ‘म त तल बेसीमा बसेको थिएँ । फागुनमा बुढाले किन टाढा बस्छेर हिड् आडैमा घर बनाइ दिन्छु भनेर बैशाखमा यहाँ आए । आखिर च्याउ खाएर सवै नासिए ।’ कम्म्रमाथि आङमा कपडाको नाममा घागो पनि नलगाएकी उनले भनिन् ‘उनीहरु सवै मरेर गए । मलाई आपत थपियो । पैसा नभएकाले किरिया पनि गर्न सकिएन ।’ 
जेठ १४ गते शुक्रबार बाबुरामको परिवारले च्याउ पकाएर खाएको थियो । त्यसको हप्ता दिन भित्र जेठ २२ गते शनिबारसम्म आठजनाको ज्यान गएको हो । बाबुराम उनकी श्रीमती र कान्छी नातिनीको गाउँमै निधन भयो । भरतपुर अस्पतालमा उपचारका बेलामा बाबुरामका जेठा छोरा पूर्णबहादुर पूर्णबहादुरकी श्रीमती र उनीहरुको जेठी छोराीको मृत्यु भयो । 
बाबुरामका माइला छोरा जीतबहादुरको सवैभन्दा पछि उपचारका क्रममा काठमाडौंमा ज्यान गएको हो । जीतबहादुरकी श्रीमतीले पनि भरतपुर अस्पतालमै प्राण त्यागेकी हुन् । संगोलमै रहे पनि सानो भएकाले च्इाउ नखाएका नौ महिने बालक सन्सरबहादुर मात्रै अहिले जिवित छन् । उनलाई भरतपुरको एसओएस बालग्रामले आश्रय दिएको छ । 
पहाडी भिरालो बाटोबाट उपचारका लागि हिँडाएर भरतुरसम्म ल्याउँदा लगभग २४ घण्टा लागेको थियो । उपचारमा ढिलाई भएकाले कलेजोमा असर भएर उनीहरुलाई बचाउन नसकेको चिकित्सक डा.विजय पौडेलको भनाइ छ । काठमाडौंमा मृत्यु भएका जीतबहादुरको मात्रै आर्यघाटमा दाहसंस्कार भयो । भरतपुर र गाउँमा मरेका सवैलाई खाल्टोमा गाडियो । 
‘कान्दा खोलाको तिरमा लगेर जलाउने गर्दथ्यौं । त्यहाँ पु¥याउन दुई घण्टा लाग्दथ्यो । बोक्ने मान्छे नभएर घरभन्दा केही पर लगेर बुढाबुढीको लाशलाई नजिक नजिक खाल्डो खनेर पु¥यौं’ कान्दाका ४५ वर्षीय सिताबहादुर चेपाङले बताए । भरतपुर अस्पतालमा मृत्यु भएका चारजनालाई नारायणीको किनारमा गाडेको स्थानीय शिक्षक बालकृष्ण थपलियाले बताए । 
कान्दा गाउँमा ३८ घर छन् । नजिक नजिकमा कुनै घर छैनन् । डाडा र कोप्चेरामा अलग अलग  घर बनाएर मान्छेहरुले बस्ने बासको जोहो गरेका छन् । उपचारका लागि बिरामी बोकेर झण्डै १२ जना भरतपुर झरेपछि गाउँमा मलामीको समेत संकट परेको हो । 
किरिया उम्काउन सुँगुर काट्ने, जाँड बनाउने, पाहुना भेला गरेर मरेकाहरुले मन पराएका चिजहरु खुवाउने गर्नु पर्छ । यसका लागि चाहिने खर्च छैन भन्छिन् देविमाया । ‘नुन आफैले फुकाए्र खान थालेकी छु । किरिया उम्काउने आँट भने आएन’ उनले भनिन् । यो असरा भित्र जसरी पनि किरिया नउम्काइ हुँदैन । यो कुराले उनलाई निकै पिरोलेको छ । 
‘किरिया नगरेकाले होला साह्रै तस्राउन थालेको छ । साँझ पर्न हुँदैन बुढाले दाउरा चिरेरको र बुहारीहरुले घाँस काटेको देख्ने गरेको छु । साह्रै डर मात्रै लाग्छ अचेल’ उनले आफ्नो समस्या सुनाइन् । पहाडी पखेरोमा बस्ने गरेकाले चेपाङहरुलाई वर्षभरी खान निकै कठिन छ । आर्थिकरुपमा पनि उनीहरु निकै कमजोर छन् । चेनताको पनि अभाव छ । 
‘खाने कुराको अभावले नै च्याउ खानु परेको हो’ स्थानीय कानबहादुर चेपाङले बताए । उपचारको लागि गाउँकै धामी झाक्रीको भर पर्छन् । च्याउ खाएर थला पर्न लागेपछि उनीहरुलई कुकुरको र सुँगुरकोु दिसा पानीमा घोलेर खान दिइयो । गर्भवती आईमाई खोजेर नाध्न लगाइयो । टुमुर र खरानी घोलेर ख्वाइयो । तर अस्पताल हिडाउने विचार कसैले गरेनन् ।
‘शुक्रबार च्याउ खाएछन् आएतबार दिउँसो तीन बजेसम्म दुईजनाको ज्यान गएपछि यहाँ राखेर हुँदैन । भरतपुर जाउँ भनेर मैले निकै कर गरेपछि बल्ल उनीहरुले अस्पताल देख्न पाए’ स्थानीय शिक्षक थपलियाले बताए । उनै शिक्षकले विरामीलई काठमाडौंसम्म पु¥याए । बाँचेको एकजना बालकलाई बालग्राममा राख्न पहल गरे ।
यो बाहेक राज्यको तर्फबाट विकटका विपन्न चेपाङलाई सहयोग गर्न अझैसम्म कोही तयार छैन । घटना स्थलको मुचुल्का गर्न चितवनको भण्डाराबाट आएर प्रहरी टोली बैशाखसम्म देविमाया बस्ने गरेको बेसीको घरसम्म आएर फर्के छ । घटना स्थल त्यहाँबाट झण्डै डेढ घण्टा पर छ । ‘सर नभएको भए च्याउ खाएर यत्रा मान्छे मरेको खवर यही गाउँमै गुपचुप हुन्थ्थ्यो’ स्थानीय सीताबहादुर बताउँछन् । गाउँमा च्याउ खाएर यसरी मान्छे मरेको कसैलाई सम्झना छैन । तर अन्न सकिएर गिठ्ठा र कन्दमुलको भर पर्नु पर्ने बेलामा फेरि च्याउ टिपेर खाने सम्भावना उत्तिकै छ । त्यसैले यस्तो घटना दोहरिने हो कि भन्ने त्रास गाउँमा छ । 
अहिलेलाई अरु गाउँले भन्दा पनि बढ्ता शोकमा घर अलग बनाएर बसेकी बाबुरामकी जेठी श्रीमती देविमाया नै छन् । मरेर जाने बाबुरामकी माइली श्रीमती मतीमाया पनि देविमायाको आप्mनै बहिनी हुन् । ‘एकजना बतिलो बचेछ । अरु सवै गए । त्यो बतिलोलाई पनि कता हो राखेर रे । खै गएर भेट्न पाइँछ पाइँदैन । त्यो गाउँ कहिले आउने हो । आएको दिन भगवान नै गाउँ पसे जस्तै हुने थियो’ देविमायाले एसओसएमा आश्रय पाएको सानो नाति सम्झदै आँशु झारिन् । बाबुरामकी कान्छी श्रीमती कोपीमायाको धेरै वर्षअघि निधन भएको थियो । मर्ने छोराहरु कोपिमायाकै सन्तान हुन् । बाबुरामसँग सगै बस्ने माइली मतिमायाका कुनै सन्तान थिएनन् । 


Sunday, January 13, 2013

भाग्य दुर्भाग्य

 शिशुसँग चालिसे
यो कथा जन्मदा वित्तिकै सालनाल सहित पोको पारेर फालिएकी नवजात शिशु स्याहार्ने एक प्रौढ पुरुषको हो । जन्मदाताबाट मिल्काइएकी ति बच्चीका लागि उनले सम्पुर्ण माया खनाए । तर आफैसँग सधै राख्न पनि पाएनन् । संयोग पनि कस्तो प¥यो भने पुर्णीमाका दिन फेला परेकी शिशुलाई १५ दिनपछि आएको औशीका दिन अर्कैलाई सुम्पिए ।
पुस १३ गते स्थानीय एफएमहरुले साल नालसहितको नवजात बच्ची भरतपुरको आस्था चोकमा भेटिएको खवर प्रशारण गरे । सो शिशु फेला परेपछि प्रहरीले भरतपुर अस्पताल लगेको थियो । यो खवर सुनेपछि भरतपुरबाट नौ किलो मिटर टाढा रत्ननगर नगरपालिकाको वडा नं. ७ कपरखोरी घर भएका ४६ वर्षीय इन्द्रप्रसाद चालिसेका पाइला अस्पताल तर्फ लम्किए ।
 एफएममा समाचार बज्दा उनी टिकौली जंगलमा कुलपुजामा सामेल हुन आएका थिए । ‘पुजामा पैसा उठाउने अभिभारा मेरो थियो । खवर सुनेपछि मन कस्तो कस्तो भयो । अहो न्यानो काख चाहिने बच्चीलाई स्याहार्ने कोही छैन भन्ने भयो । म त कुलपुजाको काम च्यात्तै छाडेर अस्पताल दौडिए’ चालिसेले सुनाए ।
अस्पताल पुग्दा बच्चीको शरिर निलो भएको थियो । कपासले बेरेर नर्सहरुले न्यानो बनाउने प्रयास गरेका थिए । शरीरको रुप रंग फेरिदै आएपछि नर्ससँग उनले बच्ची मागे । कपडाले बेरेर जकेट भित्र घुसाइ छातीमा टाँसेर राखे । ‘त्यसो गरेको केही बेरपछि बच्ची च्याँ गरेर रोइ । मेरो शरीरमा थोरै दिसा पनि चुहाइ छ’ चालिसेले भने ।
अस्पतालमा तीन रात राखेपछि बच्चा डिस्चार्ज गरेर उनले आफ्नो घर लगे । यो तीन रातमा दुई घण्टाभन्दा बढी सुतिन भन्छन् उनी । चालिसेकी श्रीमती निर्मला हुलाकी जागिरे हुन् । चालिसे पनि प्रहरी सेवाबाट अवकाश लिएका व्यक्ति हुन् । उनका १५ वर्षकी छोरी र १३ वर्षका छोरा छन् । घर लगेपछि सवै मिलेर शिशुको स्याहार गरे ।
चालिसेकी छोरी फरक क्षमताकी अर्थात सुस्त मनस्थिती भएकी छन् । त्यो छोरीको स्याहारमा उनी दत्त चित्त भएर लाग्छन् । त्यसैले नवजात शिशु स्याहार्न कुनै अल्छि र आलस्य नलागेको उनले बताए । पुसको ठण्डीमा त्यसै मिल्काइएकी शिशुलाई चिसोले निकै गाँजेको थियो । तेल तताउँदै मालिस गर्ने र कोइलाको रापमा सेक्ने गर्दा शिशु चिसोको चपेटाबाट मुक्त भइन् ।
    ‘प्रहरीमा २२ वर्ष बिताएको हुँ । कयौ बच्चाहरु मरेको देखे । चोट लागेका कयौ बच्चालाई काखमा राखेर उपचार गर्न अस्पताल पु¥याँए । त्यस्तो बेलाम मनमा कतै केही उब्जदैन थियो । यो पटक त के भयो के’ चालिसेको भनाइ छ । जन्मेको ११ औ दिनका दिन उनको वैदिक विधि अनुसार चालिसेले न्वारन पनि गरेर अनि नाम राखिदिए ‘पुर्णीमा’ ।
वेवारिसे बच्ची फेला परेको खवर सुनेपछि अस्पताल दौडिनेमा चालिसे मात्रै थिएनन् । विस २०५५ सालमा बिबाह भएको तर हालसम्म निसन्तान रहेका नवलपरासी त्रिवेणी गाविस वडा नं. ९ विष्णुनगरका शोभाखर र गोमा ज्ञवाली पनि उनलाई स्याहार्ने मनसाय राखेर अस्पताल पुगेका थिए । तर अस्पतालबाट बच्चा चालिसेले बुझेर लगे पनि सन्तान रहरमा रहेको ज्ञवाली दम्पति  चुप लागेर बसेन ।
जिल्ला वालकल्याण समितिमा यो विषय प्रवेश भयो । समितिले चालिसेले खन्याएको ममता हे¥यो । ज्ञवाली दम्पतिको चाहना सुन्यो । चालिसेलाई एक पटक आग्रह पनि गर्ने विचार ग¥यो ।  ‘यो बच्ची कसैलाई दिएपछि त म बाच्नै सक्दिन विक्षप्त भएर मर्छु हजुर’ चितवन जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सामुन्ने धरधरी आँशु चुहाउँदै उनले बिलौना गरे ।
चालिसेबाट शिशु लिदै ज्ञवाली दम्पति (बाँया)
 तर चालिसेको मन परिवर्तन भयो । उनी जिल्ला वालकल्याण समितिले जे निर्णय गर्छ त्यो मान्छु भन्न राजी भए । जिल्ला प्रशासनमा पुस २७ गते शुक्रबार चालिसे र ज्ञवाली दम्पति जम्मा भए । ‘चालिसे ज्युको ममतामा हामीलाई शंका होइन । ज्ञवाली जी पनि बच्चाको चाहनामा हुनु हुँदो रहेछ । सन्तान सुखको अनुभुती गराउन चालिसे जीले त्याग गर्नु प¥यो’ सहायक प्रजिअ गेलालले आग्रह गरे ।
 त्यपछि निकै भावुक हुँदै चालिसे धारा प्रवाह बोल्न थाले । उनको भनाइको सार थियो ‘छोरी कसैलाई दिन्न भन्ने अडान त लिए । तर ज्ञवाली दम्पतिको चाहनालाई ख्याल गरे । संसारमा लिनुमा भन्दा दिनुमा माहनता छ भन्ने उद्गार पनि स्मरण गरे । अनि जे निर्णय हजुरहरुले गर्नु हुन्छ मान्छु भनेर दरो मन बनाएर आएको हुँ ।’
 चालिसेको सकारात्मक जवाफ सुन्दा वित्तिकै ज्ञवाली दम्पतिको आँखा रसायो । चालिसे शिशुलाई गालमा टाँसेर राख्न थाले । निकै बेर त्यसो गरेपछि यसो भन्दै उनले त्यो शिशु जिम्मा लगाए ‘सेकी राख्नु होला । उमालेको पानी मन तातो बनाएर खुवाउने गर्नु होला । तातो तेल खुट्टामा घसी राख्नु होला । राम्रोसँग हुर्काउनु यदी राम्रो गर्नु भएन भने म तपाइँको घरमा आगो लगाइ दिन्छु ।’

Friday, January 4, 2013

हजामको भुमिकामा हेडसर

हजामको भुमिकामा हेडसर

दारोचोक गाविसमा पर्छ कमेरे गाउँ । पृथ्वीराजमार्गको कुरिनघाटबाट उत्तर तर्फ केही उकालो बाटो हिडेपछि पुगिन्छ सो ठाउँमा । त्योभन्दा पनि उत्तरमा छ चैतारा गाउँ । जहाँ विस २०६२ सालको चैत्र ८ गते तत्कालिन शाही नेपाली सेनाको रेञ्जर बटालियन र माओवादीको ठुलो भिडन्त भएको थियो । माओवादीका २० भन्दा बढी लडाकुले ज्यान गुमाए तर सेनाको केही क्षति भएन भन्ने खवर आएको थियो । सत्य कुरा बुझ्न स्थलगत रिपोर्टिङमा जाँदा पहिलो पटक कमेरे गाउँ र चौतरा पुगिएको थियो भिडन्त भएको दोस्रो दिन । कमेरेमा भेट भएको थियो नारायणप्रसाद अधिकारीसँग । हामीले भेट्दा अधिकारी स्थानीय राप्रावि कमेरेको प्रधानअध्यापक हुनु हुन्थ्यो । सो भेटपछि  अधिकारीसँग निकै आत्मिय सम्बन्ध कायम भएको छ ।
चौतारामा दोहराएर पनि गइयो विस २०६५ सालको चैत्रमा । पहिलो पटक जाँदा चौतारा पुगेर समाचार संकलन गरी फर्केर कमेरेमा बास बस्न आइएको थियो । दोस्रो पटक जाँदा कमेरेमा बास बसेर चौतारा हानिएको थियो । यस पटक फेरि चौतार जाने मनसाय राखेर कमेरे तर्फ पाइला बढाइयो । तर चिसोले गर्दा ठाडो उकालो चढ्ने आँट आएन त्यसैले एक रात कमेरे गाउँमा बसेर भरतपुर फर्कियो । कमेरे गाउँ पुग्दा नारायणप्रसाद अधिकारीसँग भेट भएकै हुन्छ । शिक्षण पेशाबाट अवकाश लिएपछि अधिकारीको सक्रियता राजनीति र सामाजिक काममा निकै बढेको छ । नेकपा(एमाले) चितवन जिल्ला कार्य समितिको सचिवालय सदस्य अधिकारी निष्ठाको राजनीति गर्ने साह्रै कम व्यक्ति मध्येका एक हुनु हुन्छ । समाज सेवामा सामजिक उन्नतिको स्वार्थ बाहेक अन्य केही भावना राख्नु हुन्न । 
हामी पहिलो पटक जादा उहाँले सम्मालेको राप्रावि कमेरेको प्रध्यानअध्यापकको पदमा अहिले ऋषिराम अधिकारी पुग्नु भएको छ । पुस १८ गते साँझ हामी कमेरे पुगेका थियौं । बिहान गाउँ घुम्न निस्कियौ । कमेरेभन्दा पल्लो पाखोमा घर बनाएका ध्रुव अधिकारीलाई भेटेका थियौ । मिजासिला ध्रुवको दम्तिनै शिक्षण पेशामा आवद्ध रहेछन् । दम्पति मिलेर अम्रिसो खेती गरेका । अन्य अन्नवालीभन्दा यो फाइदा जनक थिए भन्ते उनीहरु । कारण अन्नबाली लगायो बाँदरले सखाप पार्ने । छोराछोरी भरतपुर बसेर पढ्ने । आफुहरु पढाउन गाउँदेखि एक घण्टा परको स्कुल जाने । पढाउने बेलामा पनि बाँदरले मकै खायो कि भनेर पिरोलीनु पर्ने । अम्रिसो लगाएपछि क्या आनन्द । बाँदरले नखाने मात्र होइन पैसो पनि कमाइन थाले छ यो खेतीबाट । 
पढाउने र खेती गर्ने ध्रुब गजल लेख्दा रहेछन् । मन परेका अरुका गजल समेत कापीमा सारेर गाउँने पनि  रहेछन् । ध्रुबसँग भलाकुसारी गरेर हामी कमेरे तर्फ फर्कियौं । नारायण अधिकारीको घरभन्दा दुई सय मिटर पर छ विद्यालय । विद्यालयमा आइ पुग्दा प्रधानअध्यापक ऋषिराम अधिकारी एकजना कपाल जिङरिङ्ग भएको विद्यार्थीका अगाडी थिए । उनी त्यसलाई कपाल किन नकाटेको बाबु भनेर केरकार गर्दै थिए । केटो केही बोल्न सकेको थिएन । त्यसो भए तेरो कपाल मै काटि दिन्छु भन्दै प्रधानअध्यापक अधिकारीले कैची र काइयो मगाए । त्यसपछि मिलाई मिलाई कपाल काटिदिन लागे । कक्षा दुईमा पढ्ने सो विद्यार्थीको नाम सरोज पोखरेलले रहेछ । कपाल राम्रैसँग काटिदिए प्रधानअध्यापकले ।
विद्यार्थीको हात खुट्टा धोइ दिदै प्रअ अधिकारी
कपाल मात्रै काटि दिएको हो र उनले त अर्को उधुम गर्न थाले । ठुलो ठुलो ढुंगा बटुलेर तीन मुखे चुल्हो बनाउन लगाए । छात्राहरुले डेक्चीको बाहिर खरानी लगाएर चुल्होमा राखे । त्यो डेक्चीमा पानी तताउन भने । पानी मन तातो भएपछि शिशु कक्षामा पढ्ने भुराहरुलाई बाहिर निकाले । अनि उनीहरुका खुट्टा धोइदिन थाले । ति बालबालिकाहरुको खुट्टामा मैलाको पत्रैपत्र थियो । मैले आज धोएर पठाए भने भोलीदेखि लाजले पनि अभिभावकले खुट्टा धाइ दिन थाल्छन् भन्ने प्रधानअध्यापक अधिकारीको तर्क थियो । 
सो विद्यालयमा ६६ जना पढ्दा रहेछन् । जसमा ३२ जना चेपाङ समुदायका बालबालिका रहेछन् । चेपाङ समुदाय नेपालको अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी हो । पाखा पखेरामा बस्ने अधिकांश चेपाङहरु विपन्न छन् । सफा सुग्घर भएर बस्नु पर्छ भन्ने ज्ञान कमैलाई छ । चेपाङ मात्रै हो र त्यहाँ पढ्ने क्षेत्री बाहुन समुदायका केटाकेटीको हालत पनि उस्तै हो । तर उनीहरुलाई सफा सुग्घर बनाउन प्रधानअध्यापक अधिकारीले गरेको प्रयास प्रशंसनीय छ ।
गाउँमा पत्रकार आएका बेलामा यो काम गरे प्रचार हुन्छ भन्ने ठानेर अधिकारीले केटाकेटीको कपाल काट्ने र खुट्टा धोइ दिएको पक्कै होइन होला । केटाकेटीलाई सफा सुग्घर राख्न अभिभावकलाई नझक्झकाइ हुँदैन । त्यसका लागि केही न केही गर्नै पर्ने ठानेर अकिारीले कैची चलाउन र जग डुवाउन परेको होला भन्ने हामीलाई लाग्यो । किन कि नारायण अधिकारी जस्तो निष्ठावान व्यक्ति बसेको ठाउँमा कसैले केवल प्रचारका लागि मात्रै केही गर्न अघि सर्छ भन्ने हामीलाई लागेन । आशा छ प्रधानअध्यापक ऋषिराम अधिकारी सरले नानीहरुलाई सफा सुग्घर हुने बानी बसाल्न हाम्रा अगाडी गरेको काम अरु बेला पनि गर्नु हुने छ । 

Thursday, December 27, 2012

असली ध्रुबे

अटेरी मेडिकल कलेजको वागिश्वरी वनमा रहेको भवन

निकुञ्जबाट वस्तीमा आएको एउटा जंगली हात्तीले भटाभट मान्छे मार्न थालेपछि त्यसलाई पनि मार्न भन्दै अहिले अनेक हर्कत भएका छन् । तर जति खोजे पनि ध्रुबे भनेर ख्याति कमाएको सो हात्ती नियन्त्रणमा आएको छैन । अटेरीको अर्को नाम जंगली हात्ती भएको छ अहिले । तर चितवनमा त्योभन्दा पनि अर्को अटेरी छ जसलाई कमैले चिनेका छन् । त्यो हो भरतपुरका पुरानो मेडिकल कलेजका संचालकहरु ।  जैविक, धार्मिक र ऐतिहासिक महत्वको वागिश्वरी वनमा मेडिकल कलेज राख्न दिने सरकारको निर्णय राष्ट्रघात भएको सर्वोच्च अदालतले १६ वर्षअघि गरेको फैसलामा उल्लेख छ । त्यस्तो राष्ट्रघात हुने काम अझै सच्चिएको भने छैन । 
यस पटक माडिकल कलेजले सो क्षेत्र खाली गर्छ कि भन्ने लक्षण देखिएको थियो । तर जिल्ला वन र देवघाट क्षेत्र विकास समितिबीच चाँबी कस्ले बुझ्ने् भन्ने कुरा टुंगो नलाग्दा कलेजलाई नै फाइदा पुग्ने अवस्था आएको छ । सानो कुरामा पनि बन्द हड्ताल र तोडफोडमा उत्रनै चितवनका दलहरु यस विषयमा मौन छन् ।
तत्कालिन सरकारले विस २०५० सालको फागुन १६ गते वागिश्वरी जंगलको  ४२ बिघा जग्गा अहिले पुरानो मृडिकल कलेज भनेर चिनिने इन्टर नेशनल सोसाइटी फर मेडिकल कलेजलाई भाडामा लिने निर्णय गरेको थियो । जसका विरुद्ध चितवनमा अनशन मात्रै भएन सर्वोच्च अदालतमा मुद्दा नै प¥यो । कलेजलाई जग्गा भाडामा दिने सरकारको निर्णय सर्वोच्चले ५३ साल बैशाख १७ मा बदर ग¥यो । तर सो बेला बनेका भवनहरु कलेजले अझै प्रयोग गर्दै आएको छ । त्यहाँ १५० जना अटाउने छात्राबास र पुस्ताकालय रहेको छ । फर्मेसीको पढाई त्यही हुन्छ । फार्मेसी पढ्ने १२० जना विद्यार्थी छन् । 
सर्वोच्चको आदेशपछि चितवनको जिल्ला वन कार्यालयले कलेजलाई हट्न भन्दै आठआठ पटक सूचना निकाल्यो । तर तीन वर्षअघि वन मन्त्रालयले नयाँ सम्झौता गरेर फेरि मेडिकल कलेजलाई नै त्यो ठाउँ भाडामा लगायो । जुन सर्वोच्चको आदेशको अपहेलाना थियो तर कसैले कुरा उठाएन ।
अदालतको आदेशको प्रतिकिुल हुने गरेर तीन वर्षअघि गरेको सम्झौता पनि असोज मासन्तमा सकिएको छ । तर पनि मेडिकल कलेज हट्ने कुनै छेक छन्द देखिएको छैन । कलेजका संचालकहरु भारतीय नागरिक हुन् । देशको सर्वोच्च अदालतले १६ वर्षअघि गरेको आदेश विपरित भारतीयहरु त्यो ठाउँमा बस्दै आउनु विडम्बना पुर्ण दृश्य बनेको छ । 
वागिश्वरीको विषयमा फैसाल गर्दा सर्वोच्च अदालतले भनेको छ ‘राष्ट्रिय विषयको महत्वमा श्री ५ को सरकारले निर्णय गर्दा राष्ट्रिय हितलाई ध्यानमा राखेर संविधान तथा कानुन विपरित नहुने गरी निर्णय गरिनु पर्ने हुन्छ ।’
अनि पैmसलामा अगाडी भनिएको छ ‘यदी सरकारले संविधानमा व्यवस्थित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु विपरित गएर निर्णय गर्छ भने त्यस्तो अवस्था औलाउन नसकिने होइन ।’ सरकारले निर्णय गर्दा राष्ट्रिय हितलाई ध्यानमा राखेर संविधान तथा कानुन विपरित नहुने गरी निर्णय गर्न नसकेको कुरा अदालतले औलाइएको छ ।
फैसलामा पुरातात्विक महत्वका वस्तु र सम्पदाको हेरविचार र संरक्षण सरकारको प्रमुख  दायित्व हो भनिएको छ । पुरातात्विक प्राचिन वस्तुको संरक्षण नगर्ने हो भने हाम्रो देशको प्राचिन सभ्यता र संस्कृति हामी आफैले विर्सन सक्छौ भनेर अदालतले चिन्ता व्यक्त गरेको छ ।
पुरातात्विक चीज बस्तुहरु रहेको धार्मिक ठाउँमा उत्खनन् हुन नपाउँदै मेडिकल कलेज बनाउँदा त्यहाँ रहेका प्राचिन मन्दिर तथा चीज वस्तु नष्ट हुदैनन् भन्न नसकिने भनेर फैसलामा उल्लेख छ । तर सर्वोच्चको आदेश कार्यन्वयन नहुँदा त्यस्ता चीज बस्तुहरु नष्ट भए नभएको कसैलाई वास्ता छैन । 
फैसलाको मुख्य अंशमा भनिएको छ ‘प्राकृतिक, धार्मिक एवम पुरातात्विक दृष्टीले महत्वपुर्ण भएको वन जंगलले घेरिएको देवघाट क्षेत्रको जग्गा मेडिकल कलेजलाई दिने सरकारको मिति २०५०। ११ । १६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ ।’ तर अदालतको आदेश अटेर गरेर मेडिकल कलेजले ठाउँ नछाड्दा राष्ट्रियता, संस्कृतिक सम्पदा र पुरातात्विक धरोहरहरुमा लगातार आक्रमण भएको तर्फ कमैको ध्यान गएको छ । 

Friday, December 21, 2012

ध्रुबेले मात्रै हो र सताउने


कात्तिक १७ गतको मध्यरातेदेखि मंसिर ३० गतेको मध्यरातसम्म चितवनको माडी क्षेत्रमा पर्ने गर्दी गाविसमा जंगली हात्तीले आक्रमण गर्दा चारजनाको ज्यान गयो । डेढ महिना भित्रै एकै गाविसमा यति धेरै मान्छेको ज्यान गएपछि अहिले यो घटना राष्ट्रव्यापी चर्चामा छ । तर चितवन राष्ट्रिय निकुञ्ज आसपासका गाउँमा जंगली जनावरको आक्रमणको घटना नौलो भने  होइन । 
यस पटकको हात्ती आक्रमणको चर्चासँगै केही गम्भिर विषय भने जन्मेको छ । त्यो हो जंगली जनावरको सधै त्रास रहने निकुञ्ज नजिकका गाउँमा जनावरको आक्रमणबाट मानिसहरुलाई जोगाउन कुनै भरपर्दो ठोस पहल नगरे ज्यान लिने जनावर मारी हाल्नु पर्छ भन्ने माग उठि रहन सक्छ । जुन कुरा संरक्षणका दृष्टीले निकै घातक हुने छ । 
वर्षेनी १० भन्दा बढीले ज्यान गुमाउँछन्      चितवन राष्ट्रिय निकुञ्ज विस २०३० सालमा स्थापना भएको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज विश्व मै दुर्लभ मानिएका एक सिंगे गैंडा, पाटो बाघ लगायतका वन्यजन्तुको मुख्या वासस्थल पनि हो । यी जनावरहरु निकै ह्रिसंक पनि हुन्छन् । त्यस्तै भिमकाय जनावर हात्ती पनि पानी र आहारका लागि चितवन निकुञ्जमा विचरण गर्छ । 
 विस २०६७ साल पुसमा जंगली हात्तीले आक्रमण गरेर ज्यान गुमाएका
माडी अयोध्यापुरीका सुकराम सुनारको किरिया बसेका छोराहरुको फाइल फोटो ।
निकुञ्जसँगै जोडिएका बस्तीहरु छन् । त्यसैले जनावरको आक्रमणमा पर्न जंगलै छिर्नु पर्दैन गाउँ मै आएका जंगली जनावरले स्थानीयको ज्यान लिने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट प्राप्त जानकारी अनुसार विस २०६८ सालको साउनदेखि ६९ सालको असारसम्म जंगली जनावरले मान्छेमाथि आक्रमण गरेका ३३ घटना छन् । जसमा दुईवटा घटना मात्रै निकुञ्ज भित्र भएका छन् । 
यी घटनाहरुमा १३ जनाको ज्यान गएको र २० जना घाइते भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । चितवन निकुञ्ज भित्र गत वर्षको चैत्रमा बाघको आक्रमणमा परेर पटिहानीका किसान महतोको ज्यान गएको थियो । त्यस्तै पटिहानी कै नरबहादुर मगरलाई गएको बैशाखमा निकुञ्ज भित्रै गैंडाले हानेर मारेको थियो । यो बाहेकका सवै घटना निकुञ्ज बाहिर भएका छन् ।
बदेल र भालुको आक्रमणमा परेर फाट्ट फुट् मान्छे नमरेका होइनन् तर मान्छेकै ज्यान लिने गरेर आक्रमण गर्ने जंगली जनावरको सूचिमा बाघ, गैंडा र हात्ती नै रहेको छ । यो वर्ष हात्ती आक्रमण चर्चामा छ । तर दुई वर्षअघि विस २०६७ सालको साउनदेखि ६८ सालको असारसम्म जंगली हात्तीले हान्दा चितवन निकुञ्ज आसपासका गाउँमा बस्ने १० जनाको ज्यान गएको थियो ।
चितवन निकुञ्जका रेञ्जर बिष्णु थपलिया भन्छन् ‘त्यो आर्थिक वर्षमा जंगली हात्तीले १० जना मारेको थियो भने गत आर्थिक वर्ष २०६८÷०६९ मा दुईजनालाई मारेको थियो ।’ यो वर्ष भदौमा जंगली हात्ती गाउँमा देखा परेको थियो । माडीको गर्दी र चितवनको पुर्वी सिमना पिप्ले गाविसमा हात्तीले धान खान थाल्दा यो पटक हात्ती आतंक यो हदसम्म जाला भनेर सायदै कसैले सोचेको थियो । 
माडी गर्दी गाविस वडा नं. १ अमेलिया गाउँका ६५ वर्षीय अमरबहादुर थापा मगरलाई विस २०४४ सालमा भालुले आक्रमण गरेको थियो । त्यो बेला उनको दाहिने आँखा गुमेको थियो । उनै अमरबहादुरलाई कात्तिक १७ गते मध्यरातमा घरको पिढिबाटै हात्तीले तानेर छातिमा कुल्च्यो । यस पटक उनको ज्यान जोगिएन ।
पुर्वभन्दा पश्चिम क्षेत्र असुरक्षित ः 
निकुञ्जबाट निस्केका जनावरहरुले ज्यान लिने घटना निकुञ्जको पुर्वी क्षेत्रभन्दा पश्चिम क्षेत्रका गाउँमा बढी देखिएको छ । अघिल्लो आर्थिक वर्षको तथ्याङकलाई आधार मान्ने हो भने पनि कुल ३३ घटनामध्ये छवटा घटना मात्रै पुवी क्षेत्रका छन् । त्यस्तै ज्यान गुमाउने १३ मध्ये दुईजना मात्रै पुर्वी क्षेत्रका छन् ।
 चितवन निकुञ्जको मुख्यालय कसराभन्दा पश्चिममा क्षेत्रहरुमा गैंडा धेरै रहेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की बताउँछन् । संरक्षण शिक्षाका लागि समुदायमा जागर फैलाउने काममा सक्रिय हुँदै आएका चितवन निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादवको अनुभव पनि त्यस्तै छ । नेपाल भर ५३४ र  चितवन निकुञ्जमा मात्रै ५०३ वटा गैंडा छन् । 
‘अहिले पश्चिममा धेरै गैंडा छन् । जंगलबाट निस्केर गाउँमै जान्छन् । उखुबारीमा गैंडा आएर बच्चा जन्मायो भन्ने खवर समेत मलाई बेला बेलामा आउँछ । यसरी गैंडा बाहिर आउँदा आक्रमणका घटना हुने नै भए’ यादवले भने । नवलपरासीको नारायणी, कवासोती, पिठौली, दुम्किवास, कोल्हुवा गाविस र चितवनको जगतपुर, मेघौली गाविसमा गत वर्ष गैंडाले हानेर १२ जना घाइते भए ।
निकुञ्ज मुख्यालय कसराबाट प्राप्त विवरणमा गैंडाले हानेर पुर्वी क्षेत्रका जम्मा दुईजना मात्रै घाइते भएको देखिन्छ । गत वर्षको फागुन १९ गते पुर्वी चितवन रत्ननगर नगरपालिका वडा नं. ७ का सावित्री देवकोटा र शिशिर रेग्मीलाई गैंडाले आक्रमण गर्दा घाइते भएका थिए । यो एक दिनको घटना बाहेक पुर्वी चितवनमा गैंडा आक्रमणको घटना दोहरिएन ।
पुर्वमा गैंडा कम मात्रै भएको होइन भएका गैंडा पनि जंगलबाट गाउँमा नपसोस  भन्नका लागि विद्युतीय तारबार ठाउँ ठाउँमा गरिएको छ । त्यसैले आक्रमणका घटना कम भएको हुन सक्ने अधिकारीहरुको अनुमान छ । नारायणी नदीसँग जोडिएका पश्चिमका गाउँहरुमा त्यसरी विद्युतीय बार लगाउन सम्भव पनि छैन । त्यसैले गैंडा गाउँमा छिरेको छ ।
बाघको आक्रमण नदी आसपासमा ः
बाघले आक्रमणका घटना नारायणी नदी आसपासमा क्षेत्रमा बढी हुने गरेका छन् । गत वर्ष बाघको आक्रमणमा पाँचजनाको ज्यान गयो । जसमध्ये चारजना नदी आसपासका गाउँलेहरु छन् । मृतकमध्ये तीनजनालाई माछा मार्न लागेको बेलामा बाघले नदी मै आक्रमण गरेको थियो । यो वर्ष अहिलेसम्मको एक मात्र बाघ आक्रमणको घटना पनि नदी आसपासमा भएको छ ।
गत वर्षको भदौ ११ गते पश्चिम चितवन मेघौली वडा नंं ३ का ५० वर्षीय बिष्णुबहादुर कुमाललाई बाघले मा¥यो । डुंगामा बसेर नदीमा माछा मार्न लागेका बेला उनीमाथि बाघले आक्रमण गरेको चितवन निकुञ्जले जानकारी दिएको छ । त्यस्तै  यही जेठ २७ गते नवलपरासीको रजहर वडा नं. ७ का हिराबहादुर माझीलाई बाघले नदीमै आक्रमण गरेर ज्यान लियो ।
मुकुन्दपुर गाविसको वडा नं. ९ मा पर्ने नारायणी नदीको तीन भंगालो भन्ने ठाउँमा माझीलाई बाघले आक्रमण गरेको थियो । माझीको ज्यान गएको हप्ता दिन बित्दा नबित्दै सोही भंगालोमा बाघले फेरि आर्को आक्रमण ग¥यो । असार ३ गते एका बिहानै सो ठाउँमा बाघले आक्रमण गर्दा माछा मार्न आएका प्रगतिनगर वडा नं. १ का ५४ वर्षीय देवीबहादुर बोटेको निधन गएको थियो । 
नदीभन्दा बाहिर गत बैशाख १२ गते मेघौली गाविस वडा नं. ५ की ३५ वर्षीया राधा भण्डारीलाई स्थानीय सदाबाहार मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेर मारेको थियो । सो ठाउँ निकुञ्जलाई छोएर बग्ने अर्को ठुलो नदी राप्ती नजिक । नदीभन्दा टाढा गत चैत्र २३ मा बाघको आक्रमणमा परेर पटिहानी  गाविस वडा नंं २ का २१ वर्षीय किसान महतोको ज्यान गएको थियो ।
यो वर्ष पनि नदी आसपासमा बाघको आक्रमण सुरु भएको छ । यही भदौ १३ गते मेघौली गाविसको वडा नं. २ का ५० वर्षीय दिलबहादुर कुमालको बाघको आक्रमणमा परेर ज्यान गएको छ । ‘केही वर्षयता मेघौली र यस आसपासका गाउँ जो नारायणी नदीसँग जोडिएका छन् त्यहाँ बढी बाघको आक्रमण हुने गरेको छ’ चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले भने । 
चितवन निकुञ्ज नेपालमा बाघको मुख्य बासस्थल हो । नेपाल भर कुल १५५ वटा बाघ रहेकोमा १२५ वटा बाघ चितवन निकुञ्जमा नै छन् । निकुञ्ज भित्र बाघलले खाने आहार प्रजातिका चित्तल, बदेल कम हुँदै गएपछि बाले मान्छेको सिकार गर्न थाल्छ ।
सुरक्षा र राहतको प्रवन्ध ः
जंगली  जनावरलाई बस्तीमा आउन रोक्न उनीहरुलाई चाहिने पर्याप्त आहारको व्यवस्था निकुञ्ज भित्रै मिलाउनु पर्छ । त्यसका लागि निकुञ्जमा पर्याप्त घाँसे मैदान हुनु पर्छ । तर केही वर्षयता घासे मैदानको क्षेत्र निरञ्तर खुम्चदै गएको छ । 
मंसिर ३० गते मध्यरातमा हात्तीले आक्रमण गर्दा ज्यान गुमाएका
माडी गर्दी गाविस वडा नं. ९ द्रोपतीनगरका वृद्धदम्पत्तिको लाश कुर्दै उनका छोराहरु ।
यसरी आउने जनावरलाई रोक्न नियन्त्रित रुपमा विद्युत छाडेर गरिएको विद्युतीय तारबार (इलेक्ट्रीक फेन्स) ले केही हदसम्म काम गरेको छ । जसको सिको गर्दै विजुली नै नभएको माडी क्षेत्रमा  सौर्य ऊर्जाबाट चल्ने इलेक्ट्रिक फेन्स राखिएको । एक किलो मिटरको एक लाख रुपैयाँ खर्च गरेर माडीमा ३८ किलो मिटर इलेक्ट्रिक फेन्सगरिएको छ । तर प्रभाव राम्रो परेन ।
विषेश गरेर जंगली हात्तीलाई तारबारले कुनै असर नगरेको माडी गर्दी गाविसमा रहेको पाँचपाण्डब मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष यमकान्त भुषालको भनाइ छ । पुर्वी चितवनमा गत वर्ष निधन हुने दुईजना पनि हात्ती कै आक्रमणमा परेका थिए । चितवन माडीका चार गाविस र पर्साको ठोरीमा हात्तीबाट जोगिने उपाएका बारेमा गाउँलेलाई प्रशिक्षित पनि नगरेको होइन ।
निकुञ्जका पशु चिकित्सक डा.कमल गैरेका अनुसार हात्ती रक्सीको गन्धमा आकर्षित हुन्छ । केराका रुख खान रुचाउँछ । कमजोर खालका घरहरु भत्काउने र त्यहाँ बसेका मान्छेलाई पनि हान्ने मार्ने गर्छ । हात्ती प्रभावित क्षेत्रमा बस्नेहरुले यस्ता कुरा ख्याल राख्न आवश्यक छ । तर व्यवहारमा यस्ता कुरा लागु हुन सकेका छैनन् ।
चितवन निकुञ्जले वर्षमा १० करोड रुपैयाँको हाराहारीमा आम्दानी गर्छ । त्यसको आधा रकम मध्यवर्ती समितिहरुलाई जान्छ । निकुञ्जसँग जोडिएका गाउँलेहरुलाई समेटेर मध्यवर्ती उपभोक्ता समिति गठन हुन्छ । समितिले सो रकमबाट संरक्षण र विकास मुलक कार्यक्रमका साथै वन्यजन्तुको आक्रमणमा परेकाहरुलाई उपचार र राहत खर्च गर्ने व्यवस्था गरेको हुन्छ । 
वन्य जन्तुको आक्रमणमा परेर घाइते हुनेले उपचार वापत बढीमा ५० हजार रुपैयाँ पाउने व्यवस्था छ । त्यस्तै मृतकका परिवारले एकजना मृतकको डेढ लाख रुपैयाँ राहत पाउँछन् । सो रकम पाँच लाख पु¥याउनु पर्ने आफुहरुको माग रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियार बताउँछन् ।
सरकारले तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । तर पुर्ण वजेट नआउनाले निर्णय कार्यन्वयन हुन सकेको छैन । चितवन निकुञ्जमा केही वर्षयता वन्यजन्तुको संख्या लगातार बढेको छ । त्यस्तै घुम्न आउने पर्यटकको संख्या र निकुञ्ज छेउछाउमा बस्नेहरु पनि बढेका छन् । तर जनावरको वासस्थान व्यवस्थापन र स्थानीयको सुरक्षाका बारेमा पर्याप्त चासो र कार्यक्रमहरु भने छैनन् ।


Tuesday, November 20, 2012

मितेरीको देउसीमा समिरको ह्वील चियर डान्स

ह्वील चियरमा फनफनी घुमे समिर
तिहारमा भाइ टीकापछि खेलिने देउसी भैलो आलोचना मुक्त हुन सक्दैन । तर यो पटक आलोचकबाट आउन सक्ने सम्भावित टिका टिप्पणीको वास्ता नगरी टीकापछिको देउसी खेलियो । कात्तिक ३० गते भाइ टीका थियो तर मंसिर २ र ३ गते खेलेको देउसी एउटा अस्मरणीय क्षण बनेको छ । जीवनमा यसअघि पनि देउसी भैलो नखेलेको होइन । देउसी खेल्दा जम्मा भएको पैसा चामल तह लगाउन पिकनिक गइयो । टोलका लागि देउसी गाइयो । आफ्नो समुदायको लागि पनि पटक पटक खेलियो । तर भाइटीकापछि जीवनमा पहिलो पटक खेलेको देउसी यी उद्देश्यभन्दा माथि थियो ।
 विस २०६७ सालको जेठमा च्याउ खाएर चितवन लोथर गाविसको वडा नं. ९ मा पर्ने कान्दा गाउँका एकै घरका आठजनाको ज्यान गयो । कान्दा गाउँका बारेमा अचेल केही नकेहीले सुनेकै छन् । तर च्याउ खानुअघि र खाएको केही समयपछि सम्म पनि यो गाउँका बारेमा यता मैदानी इलाकाका सर्वसाधरण मात्रै होइन सरकारी निकाय पनि पुरै बेखवर थियो । च्याउ खाएर मान्छे मरेको लगभग २० दिनपछि मसहित हामी तीनजना पत्रकार एकल सिलवाल र प्रतिमा सिलवाल त्यो ठाउँमा पुग्दा गाउँलेहरु भन्दथे यो ठाउँमा वाहिरका मान्छे वर्षौदेखि आएकै थिएनन् । घटनापछि मुचुल्का उठाउन गएको प्रहरी टोली गाउँभन्दा तीन घण्टा वरैको ठाउँबाट फर्केर गएको देख्दा गाउँलेहरु सरकारी चाला सम्झेर दुख्ख मनाउ गर्दथे । 
कान्दा पुग्ने पुग्ने बेलामा एकान्त ठाउँमा एउटा घर छ । विस २०६७ सालको असार ३ गते दिउँसो पहिलो पटक त्यो घरमा पुग्दा एकजना महिलाको कम्मरमाथि कपडा नै थिएन । कम्मर तल मैलो न मैलो लुङ्गि थियो । अनि उनको कोखमा नवजात शिशु थियो । त्यो लेकको ठाउँ यसैत चिसो त्यसमाथि पानी परेर जाडो थपिएको थियो । काखको शिशु च्याच्या गरेर रुन थालेपछि महिलाले लुङ्गि तानेर न्यानो बनाउन खोज्थिन तर उनको प्रयास बेकार हुन्थ्यो । ति महिला २२ दिनकी सुत्केरी रहिछन् । योभन्दा अघि पनि उनले आठ सन्तान जन्माइ सकेकी । केही छोरासँगै थिए । जाडो छल्न अगेनामै घुर्सेर बसेका थिए उनीहरु । हामीलाई देख्दा क्वा क्वा गर्दै रुन थाले । २२ दिनकी सुत्केरीले एक हप्तापछि नै खन्ने पानी बोक्ने जस्ता घरको काम सम्हाल्न थालेकी सहिछन् । खान्की सिस्नो र मकैको पिठोको खोले मात्रै ।
त्यो सुत्केरी महिला, उनका सन्तान र घरको नाजुक अवस्था देख्दा हामी चितवनमा नभएर अन्य कुनै विकटभन्दा विकट गाउँमा पो आइ पुग्यौ कि भन्ने लाग्यो । अथवा चितवनमै बसेर कुनै नाटक हेरेका छौ र अगाडीको स्टेजमा पात्रहरुले आआफ्नो भुमिका पो निभाइ रहेका हुन कि भन्ने सम्मको भान प¥यो । चितवनमा यस्तो हुन्छ भनेर कल्पना गर्न नसकिने दृश्य भरतपुरबाट हिडेको लगभग १२ घण्टापछि चितवनमा नै देखेका थियो हामीले । भरतपुरबाट पुर्वपश्चिम राजमार्गको लोथर बजारसम्म ट्रकमा गएपछि त्यहाबाट लागातार पैदल हिँडेर हामी त्यहाँ पुगेका थियो । साथमा थिए कान्दाको प्रथामिक विद्यालयमा शिक्षक बलकृष्ण थपलिया । उनै थपलियाले च्याउ खाएका कान्दालीलाई भरतपुरसम्म ल्याए । गाउँमै तीनजना मरेका थिए । अस्पताल ल्याएका पाँचजना पनि जोगिएनन् ।
कान्दा नजिक भेटिएकी सुत्केरी र उनका बालबच्चाको अवस्था ।
अति सिमान्तकृत वर्गमा पर्ने चेपाङ चितवनका आदिवासी हुन् । भिर पखेरामा बसेका उनीहरुको अवस्था ज्यादै नाजुक छ । त्यसैले पेट भर्न अन्नकोभन्दा बढी जंगली कन्दमुलको भर पर्नु पर्छ । अनि कुनै बेला भसक्कै ज्यान नै जान्छ । च्याउ खानु पर्दा ज्यान गुमाउनेको पिडा र आङ छोपिने लुगाा र दुई गेडा अन्न समेत नभएकी सुत्केरीको कथा समाचार बनेर निस्कन्छ ।
 कान्दाबाट फर्के लगत्तै म लामो समयसम्म चितवन बाहिर रहनु प¥यो । तर सुत्केरीको समस्याका बारेको समाचार मैले काम गर्ने पत्रिका नागरिक दैनिकमा निस्केपछि काठमाडौंबाट तत्कालै न्यानो कपडा जुट्यो । म चितवनमा नभएकाले सुत्केरीलाई आएको त्यो कपडा प्रतिमा मार्फत कान्दा पुग्यो । तर साथी एकल सिलवाललाई त्यो घटनाले निकै छोयो । उहाँले तत्कालै पनि न्यानो कपडा र खानेकुरा दिनु भएको थियो । पछि पनि लागातार कान्दा जाने आउने गर्नु भयो र उहाँको मित रविन्द्र बानियाँलाई पनि सँगै लानु भयो । पछि यी दुई मितले कान्दाको समस्यामा सहयोग गर्न अभियान नै चलाउने निधो गरेर मितेरी फाउण्डेशन नामको संस्था नै खोले । फाउण्डेशनले कुनै विदेशी दातृ निकायको सहयोग बिना नै सहयोगी भावना भएका व्यक्तिहरुबाटै दुई चार पैसा जुटाएर कान्दाको लागि काम गर्दै आएको छ ।
 त्यो संस्थामा अहिले रामपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख उपप्रध्यापक डा.होमबहादुर बस्नेत र भरतपुर अस्पतालका चिकित्सक डा.कृष्ण पौडेल समेत जोडिन आइ पुगेका छन् । यी डाक्टरहरु कान्दा पुगेर त्यहाँको अवस्था देखि सकेका मान्छे हुन् । भरतपुर अस्पताल भित्र रहेको मेरुदण्ड भाँचिएका बिरामीहरुलाई उपचार गरिने स्पाइनल इन्जुरी सेन्टरका इन्चार्ज हुन् डा.पौडेल । फाउण्डेशनको यो समूहले यो पटक निर्णय गरेछ तिहारमा देउसी खेल्ने र जम्मा भएको पैसा दुईवटा काममा लगाउने । एउटा काम थियो कान्दामा विपन्न चेपाङका लागि घर बनाउने अर्को थियो मेरुदण्डमा चोट लागेर उपचार गराएका बिरामीहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक सीप सिकाउने ।
मेरुदण्डमा चोट लागेपछि प्राय त्यस्तो व्यक्तिले ह्वील चियरको मद्दत लिनु पर्छ । त्यस्ता व्यक्तिलाई आत्मनिर्भर बनाउन सीप सिकाउने उद्देश्य राख्नु साह्रै स्रहानीय कुरा थियो । समय व्यवस्थापन गर्दा टीकापछि देउसी खेले पनि जुन उद्देश्यका लागि कार्यक्रम आयोजना गरिएको हुँदा अन्यथा सोच्न आवश्यक नै थिएन । यो शहरले तिहार आउनुभन्दा अघि र टीका सकिएको धेरैपछि सम्म पनि जुवा खेलेर लाखौ हारजितका रुने हास्ने गरेको छ । अनावश्यक भोज भतेर र मदिरामा त्यति नै पैसा बगाउँ छ भने सतकामको लागि दुई दिन पछाडी देउसी खेल्दा के गिज्याउला त भन्न लाग्यो र देउसी खेल्न हिडियो ।
फाउण्डेशनका महासचिव अनिता खनाल र प्रभा पौडेलले रचना गरेको गीत भट्ट्याउँदा कान्दाको अवस्था र देउसी खेल्नुको उद्देश्य प्रष्ट हुन्थ्यो । सुरक्षा बरालले नाँच्नका लागि साना साना नानीहरु जम्मा गरेर साँस्कृतिक देउसीलाई कायम राख्न सहयोग गरेकी थिएन् । अनि यसमा छुटाउनै नमिल्ने कुरो स्पाइनल इन्जुरी सेन्टरका कर्मचारी र पदाधीकारीको भुमिका पनि हो । ह्वील चियर र तीन पाङग्रे स्कुटरमा बसेर स्पाइनल सेन्टरसँग सरोकार राख्ने पदाधीकारीले देउसीमा पुरै साथ दिए ।
 समिर ठकुरी भर्खर २३ वर्षका भएका छन् ।  मंसिरमा नै उनको जन्म भएको हो । तर गत वर्षको मंसिर उनका लागि पिडा बोकेर आयो । झापा जाँदा उनी चढेको गाडी दुर्घटना भयो । उनको मेरुदण्ड भाँचियो । अनि अहिले ह्वील चियरको साहारामा हिड्नु पर्छ । यी समिर समेत निकै जोशका साथ पुरै समय देउसीमा भाग लिए । ह्वील चियरमा बसेका छन् भनेर बिर्सदा समिरको जोश र उत्साह अरुको भन्दा कम थिएन ।
  दोस्रो दिनको साँझ पख देउसी टोली त्रिवेणी एफएमबाट बाहिरीने क्रममा थियो । अन्तिम क्षणमा समिर ह्वील चियर निकै मज्जाले घुमाउन थाले । उनले यसरी घुमाएकी मनौ एउटा राम्रो कलाकार स्टेजमा नाच्दै छ । उनले त्यो गतिविधि गर्दा मेलै समिर ह्वील चियरमा छन् भन्ने नै बिर्से । कुनै युवक दुई खुट्टाको भरमा कम्मर मरकाइ मरकाइ नाचेको झै लाग्यो ।
  पछि मैले समिरसँग थोरै कुरा गरे । उनले भने ‘मेरुदण्ड भाँचिएपछि सुरुमा त्यस्ता व्यक्तिले म हिड्डुल गर्न सक्दिन भन्ने कुरा सोच्नै सक्दैन । जब त्यो तितो यथार्थ उसले बुझ्न थाल्छ अनि संसारमा एक्लो र निरस व्यक्ति आफुनै हो भन्ने ठान्छ ।’ तर समिर अहिले त्यस्ता व्यक्तिहरुलाई जीवनको यथार्थ बुझाउदै आशावादी बनाउने काममा खटिएका रहेछन् । ह्वील चियरबाटै नाचेर उनले आफ्नो खुवी देखाइ छाडे । हो यस्तो सम्भावनालई मलजल गर्न नै आयोजना भएको थियो यो देउसी । दुर्घटनाबाट पिडित जो पनि हुन सक्छ तर पिडितलाई सक्षम बनाउने निकायलाई उकास्ने योजना राख्दा अलि कति बेमौसमी जस्तो लागे पनि मितेरी फाउण्डेशनको देउसीमा बजारबासीले ज्यादै नै सौहार्दता देखाए । आखिर संस्कृतिको जगेर्ना गर्दै सामाजिक उत्थानमा लाग्ने मेसो थियो यो ।
   

Friday, November 16, 2012

‘लुतो र कम्युनिष्ट’

भनिन्छ लक्ष्यमा भन्दा यात्रामा भेटिनेहरुको सम्झना बढी हुन्छ । वरिष्ठ पत्रकार मैनालीले यात्रामा भेटिएका पात्र र दृश्यहरुलाई राम्रोसँग टिपेर पुस्तकमा लिपिवद्ध गर्दा पाठकका लागि निकै उपयोगी सामग्री तयार भएका छन् ।
पत्रकारिता सिकाउँदा र पढाउँदा आदरणीय गुरु मोहन मैनाली भन्ने गर्नु हुन्थ्यो ‘हिड्ने डुल्ने गर्नु पर्छ । घत लाग्दा दृश्य र शब्दहरु भेटाउन कुनै गाह्रो हुँदैन ।’ दुरदराजका बस्तीमा भेटिने सामान्य व्यक्तिले पनि बेजोड शब्द र वाक्य बोल्छ भन्ने उहाँको भनाइ हुन्थ्यो । उनै गुरु मोहन मैनालीले घुम्दा र डुल्दा दखेका सुनेका कुराहरुलाई समेटेर पुस्तक तयार पार्नु भएको छ । हलासालै बजारमा आएको पुस्तक ‘उपल्लो थलो’मा गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लेकाली र हिमाली जनजीवन तथा वातावरणको वर्णन छ । साथै नेपालको पश्चिमी नाकाबाट गरिएको कैलाश यात्राको विवरण पनि त्यसमा छ ।    
 नेपालको पुर्वी तथा पश्चिम भेगबाट काठमाडौं जाने आउनेले पृथ्वीराजमार्गमा पर्ने बेनीघाट बजार देखेकै हुनु पर्छ । बेनीघाटबाट टाउको उठाएर यसो उत्तर तर्फ हेर्ने हो भने के नै देख्न सकिन्छ र ? तर कस्सीएर त्यता लाग्ने हो भने एउटा बेग्लै संसार अनुभव गर्न पाइन्छ । बेनीघाटबाट उत्तरमा पर्ने त्यो संसार टिपेर हाम्रा सामु राख्ने काम भएको छ पुस्तक ‘उपल्लो थलो’मा । पुस्तकमा वर्णन भएको ठाउँ चाहे गोरखाका हुन या दार्चुलाका प्रकृतिले सिंगारेको ति थलोमा सरकारी बेथिति जही त्यही छ ।
 गोरखामा जीवनसँग लड्दै गरेका लेखक र उनका साथीलाई स्थानीयले बचाउँछन् । त्यस्तै कैलाश यात्राका क्रममा एकजना भारतीय सुरक्षाकर्मी भेट हुन्छ सर्वेश । मैदानी क्षेत्रमा हुर्के बढेको उ हिमाली क्षेत्रमा हिड्दा बिरामी पर्छ र जीवन मरणको दोसाधमा पुग्छ । सर्वेश बिरामी अवस्थामा भए पनि त्यसलाई उसका साथीले छाडेर जान्छन तर लेखकले डोराउँदै ठाउँमा पु¥याएपछि उसले बल्ल नयाँ जीवन पाउँछ । समग्रमा भन्नु पर्दा पुस्तकमा सरकारी वेवास्ताका कारण जन्मेका बेथिति, स्थानीयका कष्टकर जीवन र प्रकृतिका सुन्दर दृश्यहरु अटाएका छन् । अनि जीवनसँग जोडिएर आउने मानवीयता र आत्मीयता पनि  त्यसमा गाँसिएको छ ।
पुस्तकमा घत लाग्दा एक हैन अनेक प्रशंगहरु छन् । लेखक एउटा घरमा बासबस्न पुग्छन् जहाँ खाना र ओढ्ने लुगाको अभाव  । तर मान्छेको गलामा भने १० लाख रुपैयाँभन्दा बढीका गहना झुण्डिएका छन् । मान्छेको गलामा मात्रै होइन त्यो उपल्लो थलोले प्रकृतिको पनि असिम माया पाएको छ । तर गलाको माला र त्यहाँको अपार प्राकृतिक स्रोतको अवस्था एकै छ । हे¥यो बस्यो उपभोग गर्न सकिने सम्भावनाको खोजी नै छैन ।
 पढ्दै जाँदा मलाई पुस्तकमा भेटिएका तीनवटा प्रशंग भने निकै घत लागे । पुस्तकको पृष्ठसंख्याका आधारमा ति तीन प्रशंग यहाँ एकपछि अर्को गर्दै राख्न गइ रहेको छु । पहिलो प्रशंग पेज नं. ९२ रहेको ‘पाठाको ठाउँमा मान्छे’ शिर्षकको लेखमा छ । वास्तवमा त्यो पुरै लेख नै मार्मिक छ । लेखकलाई सुत्ने ठाउँ दिनको लागि विरामी पाठोलाई खोरबाट निकालिन्छ । भोलिपल्ट बिहान त्यो पाठो मर्छ । एउटा पाठोको मुल्य के हो लेखमा बर्णन छ । पाठो मर्दा गोठालोले के गुमायो त्यसको हिसाब किताव पनि लेखमा छ । तर साह्रै घत लाग्ने कुरा भनेको भेडाको बगालमा रहेका दुईवटा लक्का भेडा आपसमा जुध्छन् । ती दुई लक्का भाले भेडा भेडीमाथि आधिपत्य जमाउन जुधेका थिए ।
 अनि पुस्तकमा भनिएको छ ‘पछाडी घुम्रिएका सिंग भिडाएर ती निकै बेर जुधि रहे । तिनका सिंग ठकठक गरेर बजिरहेका थिए । मानिस जुधेका भए रमितेको भिड लाग्दथ्यो । तर वैंशले मात्तीएका दुई भेडा जुधेको घटनालाई अरु भेडाले त्यत्ति महत्व दिएका थिएनन् ।’ सवैभन्दा विवेक हिन मान्छेलाई उपमा दिन प¥यो भने भेडो भनिन्छ तर भेडाको संसार मान्छेको भन्दा कति माथि । लेखमा यस्तै भन्न खोजीएको छ र निचोडमा भनिएको छ ‘लड्ने भेडाहरुले पनि लड्दा अरुलाई दुख्ख दिएका थिएनन् । लडाइबाट टाढा बस्न खोज्नेले बढी भुक्तमान खप्नु पर्ने मान्छेको जस्तो थिएन त्यो लडाई ।’ यो निचोड मलाई साह्रै नै घत लाग्दो लाग्यो ।
 अर्को घत लाग्दो कुरो पेज नं. १०८ मा छ । लेखको शिर्षक छ ‘लुतो र कम्युनिष्ट’ । पञ्चायत कालमा पञ्च र बहुदलकालमा काँग्रेस भइ सकेका व्यक्ति हुन् जगत भन्ने गाउँका होटल मालिक बलबहादुर कार्की । मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार बनेपछि उनै बलबहादुर फेरि एमाले भएछन् । किन एमाले भएको त भन्ने लेखको सोधाइमा बलबहादुरको उत्तर आउँछ ‘म कम्युनिष्ट भए । किन भने यो कम्युनिष्ट भन्ने चीज लुतो जस्तो रहेछ । जति कन्यायो त्यति सन्चो । एउटाबाट अर्कोमा चाडै सरिहाल्ने ।’ नेपालमा कम्युनिष्ट निकै फैलिए । संविधानसभामा समेत कम्युनिष्टको राम्रै जमघट थियो । कम्युनिष्टका कुरा पनि राम्रै हुन्छन् । तर काम के गर्छन् जगजाहेर छ । विश्वका मजदुर एक हौं भन्नेहरुको नेपालमा अनेक पार्टी छन् । अनि जो नजिकको मित्र शक्ति हो भन्छन् उसैको सत्तो सराप गर्छन् सिध्याउन पनि उसैलाई कसिन्छन् । सर्वहारा र गरिवको हितको कुरा गर्छन् तर उनीहरुका् जीवनशैली कुनै महाराजाकोभन्दा फरक भएन ।
दुरदराजको गाउँको एक व्यक्तिले कम्युनिष्टलाई ‘लुतो’सँग तुलना गरेर साच्चे सही बिम्ब दिए । जुन बिम्ब कुनै राजनीतिज्ञले निकालेको थिएन । कुनै भाषविद्ले मेसो पाएको थिएन । कुरा राम्रा राम्रा गर्दै फैलदै गएका कम्युनिष्टले काम भने त्यस अनुरुपको गरेनन् । कन्याउँदा आनन्द आउने र पछाडी पोल्ने लुतोभन्दा के फरक भए त उनीहरु भन्ने कुरा बलबहादुरको मुखबाट निस्केको छ । जुन मलाई पनि निकै घत लाग्दो लाग्यो ।
 अर्को प्रशंग पेज नं. १५८ मा छ ।  त्यो घत लाग्दो मात्रै होइन विचरणीय विवरण हो । नीति निर्माताले विचार गर्नु पर्ने विषय हो । नीति निर्मातालाई दबाब दिन सक्ने पक्षले ख्याल राख्नु पर्ने कुरा हो । ‘घरभरी लुगा विरेत नाङ्गै’ शिर्षकको लेखमा हाम्रा अमुल्य वन जंगल कसरी कौडीको मोलमा बिक्री गर्न नासिदै गरेका छन् भन्ने कथा छ । ल्यो, स्यो, स्याला र सामा गाउँमा बन फाँडेर तिब्बत काठ लैजाने र तिब्बतबाट अन्न साटेर ल्याउने चलनले हाम्रो सम्पदा सखाप हुँन लाग्दैछ । यो विषयमा वृत्तचित्र नै बनाएर लेखले जापानसम्म प्रदर्शन गरेको कुरा पुस्तकको त्यो लेखमा पढ्न पाइन्छ ।
ती गाउँमा वन जंगल जडिबुटी, फूल र हिमालको चमात्कारी दृश्य छ ।  प्रकृतिले यसरी सिंगारेका गाउँमा धमाधम जंगल फाँडेको दृश्य देखेपछि जापानमा जापानीहरुले लेखकलाई सोधेछन् ‘उनीहरुले यस्तो राम्रो जंगल किन मासेको ?’ लेखकको उत्तर थियो ‘गरिबिको कारणले ।’ तर जापानीहरुले पत्याएनन् र फेरि सोधे छन् ‘प्रकृतीले यति धेरै कुरा दिएको यस्तो धनी ठाउँमा पनि गरिवीले पाइला हाल्न सक्छ र ?’ अर्थात हामीलाई प्रकृतीले साह्रै धनी बनायो तर हामी त्यसको सदुपयोग गर्न नसकेर अथवा नजानेर आफैलाई गरिव ठानेर बसेका छौं । पुरै कथा घत लाग्दो छ त्यसमाथि जापानीहरुको जिज्ञासाले हामी गरिव हुनुको रहस्य उद्घाटन गरेको छ ।
यस्तो किन भयो ? सत्ताको लागि लड्ने र त्यो लडाइका सरोकार नराख्ने सवैलाई सताउने दलको परिपाटी, अनि चाहिदोभन्दा नचाहिदो कुरामा वास्ता दिने हामी सर्वसाधरण र कुरा राम्रो गरे पनि काम घातक गर्ने नेता यस्ता दुई चारवटा कुराले नै हामीलाई समस्यामा पारेको हुन सक्छ भन्ने लागेर मलाई पुस्तकका यी तीन प्रशंग निकै घत लाग्दो लागेको हो । भनिन्छ लक्ष्यमा भन्दा यात्रामा भेटिनेहरुको सम्झना बढी हुन्छ । वरिष्ठ पत्रकार मैनालीले यात्रामा भेटिएका पात्र र दृश्यहरुलाई राम्रोसँग टिपेर पुस्तकमा लिपिवद्ध गर्दा पाठकका लागि निकै उपयोगी सामग्री तयार भएका छन् ।