Thursday, July 4, 2013

माया बाँड्न मान्छेले सिकौ यीबाट

जंगली हात्तीको छावा (दायाँ) र आफ्नो छावालाई सँगै दूध चुसाउँदै चितवनकली ।
‘धुर्बे’ को कथा सुनेकालाई हात्ती क्रुर मात्रै हुन्छ भन्ने लाग्दो हो । तर माया, ममता जनावरहरुमा पनि हुन्छ । त्यसमाथि हात्तीले गर्ने माया ममता मान्छेकोभन्दा कम हुँदैन । यो कुरा ख्याल होइन साच्चै हो । देख्नै मन लागेको छ भने भरतपुरबाट पुर्वी चितवन तर्फ लम्के हुन्छ ।
आफ्नो बथान र आमाबाट बिछोडिएको भर्खरको जंगली हात्तीको बच्चा (छावा)ले आमाको जस्तै माया र साथ पाएको छ । सौराहाको घरपालुवा ढोइ (पोथी हात्ती)ले उसलाई दूध चुसाउने गर्छे । आफ्नै र जंगली छावालाई सँगसँगै दूध चुसाएको दृश्यले सवैलाई दंग पार्छ ।
आफ्ना बच्चालाई पशुपंक्षिले पनि माया गर्छ । अर्काका बच्चालाई माया गर्न र स्याहार पु¥याउन मान्छेले मात्रै जानेको हुन्छ भन्ने बुझाई धेरैको छ । तर चितवन निकुञ्जको सौराहा हात्तीसारको जंगली छावा र घरेलु ढोइबीचको आत्मियताले यी सवै मान्यता गलत सावित गरेको छ ।
रौतहट बागमती किनारमा अलपत्र परेको जंगली छावालाई पर्सा वन्यजन्तु आरक्षका अधिकारीहरुले सौराहाको हात्तीसारमा ल्याएर बुझाएका हुन् । असार १७ गते दिउँसो सो छावा त्यहाँ आउँदा असार १४ गते राती बच्चा जन्माएको चितवनकलीको दूध चुस्ने अवसर पाएको छ ।
‘सुरु सुरुमा त नजिक जान यो छावा हिचकिचाउँथ्यो, डराउँथ्यो । अहिले त दूध चुसेको चुस्यै गरेर उल्टै माउलाई हैरान बनाउन थालेको छ’ हात्तीसारका प्रमुख विचित्रकुमार चौधरीले भने । चितवनकलीले जन्माएको छावा पोथी हो । जंगली छावा भाले हो । जंगली छावा अन्दाजी २० दिन पहिले जन्मेको हात्तीसारका कर्मचारीहरुको अनुमान छ ।
 हात्तीको बच्चाले लगभग एक वर्षसम्म आमाको दूध मात्रै खान्छ । त्यसपछि बल्ल घाँस खान थाल्छ । ‘दूध चुस्न पाएन भने त बच्चा धेरै दिन बाँच्न सक्दैन’ केन्द्र प्रमुख चौधरीले भने । भर्खर बच्चा जन्माएकी चितवनकलीको दूध चुस्न पाएको सो छावाले अरु पोथी हात्तीको माया पनि उत्तिकै पाउँछ । ऐश्वर्यमाला छावा खेलाउन मरिहत्ते गर्छ ।
‘चितवनकलीसहित यहाँ छवटा अरु पोथी छन् । भर्खरकी सुत्केरी चितवनकलीलाई त बच्चा मन पर्ने नै भयो । अरु पोथी पनि उत्तिकै हुरुक्क हुन्छन् । ऐश्वर्यामाला त झन बच्चा खेलाउन सुत्केरीभन्दा पनि बढी मरिहत्तै गर्छे’ चौधरीले भने । दूध र माया पाएका कारण जंगली छावा अहिले हस्टपुस्ट हुँदै आएको छ । हात्तीसारमा ल्याउँदा हाडछाला मात्रै देखिन्थ्यो ।
पटक पटक दूध चुसेर हैरान गरेपछि बाँधेर राख्नु परेको छ । दुई छावाले दूध चुस्ने गरेपछि हात्तीलाई पौष्टिक पदार्थ थप्न हात्तीसारका कर्मचारीलाई भ्याइ नभ्याइ छ । हात्तीले जुम्ल्याहा बच्चा प्राय जन्माउँदैन । खोरसोरमा रहेको हात्ती प्रजनन् केन्द्रमा पाँच वर्षअघि एउटा हात्तीले जुम्ल्याहा जन्माएको थियो । एउटा जन्माए पनि चितवनकलीलाई दुई बच्चा हुर्काउने जिम्मेवारी थपिएको छ ।
‘आफ्नो समूह र आमाबाट बिछोडिनु दुर्भाग्य हो । तर यहाँ भर्खर बच्चा जन्माएको हात्ती रहेको हुँदा उ बाँच्न हुर्कन सहज हुने भयो’ चितवन राष्ट्रिय निमुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने । हात्ती समूहमा मिलेर बस्ने प्राणी हो । फरक समूहका ठुला भाले हात्ती एक अर्कामा घुलमिल हुन सक्दैनन् । तर पोथी हात्तीमा यस्तो समस्या हुँदैन ।

Tuesday, July 2, 2013

भरतपुरबाट भारतहुँदै जिल्लाको छेउ टेकियो

तमसा नदी तर्दै । सिमाना पर स्वर्णभद्रा नदी भए पनि भारतीयहरु यसको आडमा बसेका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भने ‘वालमिकी आश्रम जाने कार्यक्रम बनाएको जाउँन है रमेशजी ।’ वालमिकी आश्रम चितवन जिल्लाकै भुभाग हो । आश्रम वरपर मगर समुदायका १२ घर छन् । उनीहरुका लागि सरकारी सेवा दौलोमा नै पुराउन प्रमुख जिल्ला अधिकारीको अगुवाइमा टोली जाने कार्यक्रममा म पनि मिसिए मिति २०७० साल असार १८ गते बिहान ।
बिहान छ बजे भरतपुरमा भेला भएर हिडियो गन्तब्य तर्फ । भरतपुरबाट नारायणगढ हुँदै हामी लाग्यौ पश्चिम नेपाल तर्फ । पुल तरेपछि राजनैतिक साँध सिमाना फरक छ । हामी मध्यमाञ्चलको नारायणी अञ्चल चितवन जिल्लाबाट पश्चिमाञ्चल क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा छौं अब । जानु छ आफ्नो जिल्लाको गर्दी गाविस वडा नं. ९ मा पर्ने भुभागमा । कुरो यति मात्रै हो र हामी त देशकै साँध सिमाना नाघेर जानु पर्नेछ त्यहाँ पुग्न ।
बर्दघाटबाट दक्षिण छिरेर बिहान आठ बजे हामी पुग्यौं गण्डक नदीको बाध बाँधेको ठाउँमा । नारायणी नदीमा बाँध बाँधेर भारतले ठुलो मात्रामा पानी आफ्नो देशमा लगेको छ ।  नारायणी नदीमा बाँधेको बाँधलाई गण्डक बाँध भनिन्छ । हुन त सिमानामा भएको नदीलाई साझा भनिन्छ । तर राजा महेन्द्र र पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरलाको पालामा भएको गण्डक सम्झौताबाट भारतले नेपालको भुमी हुँदै लगभग त्रिशुली नदी जत्रै पानी आफ्नो तर्फ लगेको छ । नेपालमा पानी जाने नहर अहिले ठुलो खालको कुलो भन्न सुहाउने खालको छ । गण्डक बाँध थुनिएर बिशाल भएको नदी क्षेत्रमा उभिएर नियाल्दा मन पोल्छ ।
बाँधका केही बेर बसेपछि अब हामी गनतब्य तर्फ दौडियौं । बाँधको पुलबाट भारत छिरेपछि लगभग सात किलो मिटर भारतीय वनमा हामी चढेका गाडीको लस्कर लाग्यो । चितवनबाट १२ वटा गाडी गएका थिए । चारवटा सुरक्षा निकायका प्रमुख पनि थिए । निजामती प्रशासन तर्फका १२ जना प्रमुख थिए हाम्रो टोलीमा । स्वर्णभद्रा, तमसा नदी तरेर हामीले वालमिकी आश्रम क्षेत्रमा पाइला राख्यौं । अर्थात नेपाल भुमि प्रवेश भयो हाम्रो । अर्थात मध्यमाञ्चल क्षेत्रको नारायणी अञ्चलमा पर्ने चितवन जिल्लाको गर्दी गाविस वडा नं. ९ को एउटा छेउमा पुग्यौं हामी । भरतपुरबाट हिडेको लगभग तीन घण्टापछि । यहाँ पुग्न भारत छिर्नुको विकल्प थिएन ।
वालमिकी पुग्दा पुजारी र त्यहाँको वासिन्दाले सुरुमा अरु कुरा होइन आफ्नो आडमा बसेको भारतीय सिमा सुरक्षा फैजका विषयमा कुरा राखे । सिमाना स्वर्णभद्रा नदी भए पनि भारतीय सिमा सुरक्षा फौज स्वर्णभद्रा तरेर तमसाको किनारमा आएर बसेको रहेछ । अर्थात हाम्रो साध सिमाना मिचिएको छ । सरकारी अधिकारीहरु कुरा सुन्दैनन् ।
त्यसपछि मन्दिर क्षेत्र ओझेलमा पर्दै गएको चर्चा भयो । बाल्मिकी ऋषिले रामायण लेखेको पौराणिक भुमि प्रचारमा छैन । पानी बत्तीको सुधिवा छैन । अनि त्यहाँ बस्ने सुमदायको बारेमा कुरा उठ्यो । मगर समुदायका १२ घर हेछन् । मगरको चेली बहिे गरेका एकजना घले अर्थात गुरुङ पनि त्यही बस्दा रहेछन् । ति घलेका छोरा छुट्ट भिन्न भए छन् यो पटक त्यसैले गुरुङका पनि दुई घर । विस २०२४ सालदेखि नै बस्दै आएका रहेछन् मगर हरु त्यहाँ ।
तर शिक्षा, स्वास्थ्य, रोजगार जस्ता राज्यले दिने न्युनतम आधारभुत सुविधाहरुबाट बञ्चित छन् उनीहरु । बस्ने चितवनको भुगोलमा नागरिकता नवलपरासीबाट बुझेका रहेछन् । निमेक गर्न पनि नदी तरेर नेपाल आउन सक्दा रहेनछन् उनीहरु । भारत पस्यो ज्यालामा काम गरेर कमाएको पैसाले भारतीय बजारबाटै नुन तेल किनेर गुजरा चलायो । चर्पी पनि रहेनछन् घरमा । विदेशी भुमि हुँदै जिल्ला टेक्दा जिल्लावासीको बेहाल देखेर आइयो । साच्चै राज्यले केही गर्न सक्दैन र उनीहरुको जिवन स्तर उकास्न ???????

Friday, June 28, 2013

किन बढ्न लागेको हो खानेपानी महशुल, थाहा छ ????

धारामा हो र पाइप फुटेर सडकमा बढी छ्यालब्याल हुन्छ पानी ।
सरकारले सञ्चालन गरेको संस्थानले खानोपानी आपुर्ती राम्रोसँग गर्न सकेन भनेर भरतपुरमा एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नयाँ खानेपानी आयोजना सुरु भयो ।  एडीबीले सर्त राख्यो संस्थान हटाउनै पर्छ । करोडौंको आयोजना सञ्चालनमा भ्रष्टाचार पनि उत्तिकै भयो । यस्तो कमअसल पाइप राख्यो कि पाइप फुटेर खानेपानीको पानी उपभोक्ताको धारामा कम सडक चोक जताततै छ्यालब्याल हुन थाल्यो । एडीबीलाई १५ वर्ष भित्र पैसा फिर्ता चाहिएको छ । भ्रष्टचारीहरुलाई जनताको खल्ती निचर्नु छ । गाँठी कुरो नै यही हो शुल्क बढ्नु को ।
१५ वर्ष भित्र एडीबीलाई ऋण तिर्ने सर्तमा भरतपुर नगरपालिकामा सञ्चालन भएको शहरी वातावरण सुधार परियोजना अन्तर्गत सो खानेपानी आयोजना तयार भएको हो । सोही ऋण तिर्नका लागि अहिले उपभोक्ताको थाप्लोमा मुल्यबृद्धीको भार परेको हो । यो मुल्यवृद्धीलाई चुपचाप स्वीकार गरे हे नगरवासी खानेपानीको जिम्मा नै निजी क्षेत्रको हातमा जाने छ । अनि धारमा पानी आकाशको फल हुने छ ।
नगरवासीहरुलाई उपयोग गरेर नेपाल खानेपानी संस्थानलाई भरतपुरबाट हटाउन सफल भएपछि खानेपानी व्यवस्थापन बोर्ड चर्को मुल्यवृद्धीको तयारीमा जुटेको छ । नगरक्षेत्रमा खानेपानीमाथि बोर्डको एकाधिकार कायम भएको वर्ष दिन नपुग्दै मुल्य बढ्ने भएपछि उपभोक्ताहरु ‘संस्थान हटाएको पाप लाग्न सुरु भएको’ टिप्पणी गर्न थालेका छन् ।
एसियाली विकास बैंक (एडीबी) को २६ करोड २७ लाख रुपैयाँ खर्च गरेर सम्पन्न भएको खानेपानी आयोजना सुरुदेखि नै भ्रष्टाचारको अखण्डा बनेको थियो । कमअसल खालको पाइप राखेका कारण ठाउँ ठाउँमा फुटेर आहाल बन्दा पनि मर्मतमा ढिलाई गर्ने बोर्डले मुल्य बढाउन थाल्दा उपभोक्ता आक्रोशित भएका छन् ।
उपभोक्ताले पानी उपभोग गरे वापत अहिले न्युनतम ५० रुपैयाँ तिरेका छन् । १० युनिट पानी खपत गर्दा यो शुल्क तिर्नु पर्छ । अब बोर्डले ११० रुपैयाँ न्ुनतम शुल्क लगाउने तयारी गरेको छ । १० युनिटभन्दा माथि उपभोग गर्दा प्रति युनिट १५ रुपैयाँ तिर्दै आएकोमा अब १८ हुने भएको छ ।
घरायसीका साथै संस्थागत र निजी संस्थागतमा पनि शुल्क बढाउने बोर्डको योजना छ ।  बढ्न लागेको शुल्कको बारेमा बोर्डले असार १५ मा भरतपुर नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम समेत राखेको छ । खानेपानी संस्थान हटाउ आन्दोलनका अगुवाहरु मुल्यवृद्धिको विरुद्ध देखिएका छैनन् ।
भरतपुर नगरपालिकामा लामो सयमदेखि नेपाल खानेपानी संस्थानले पिउने पानी आपुर्ती गर्दै आएको थियो । तर संस्थाले गुणस्तरीय सेवा दिन नसकेको भन्दै एडीबीले संस्थानलाई विस्थापन गर्ने सर्तमा नगरपालिकालाई खानेपानी आयोजनामा सहयोग गरेको थियो । गत वर्षको भदौबाट संस्थान भरतपुरबाट हटेको छ
तर आयोजना सम्पन्न नभएको दुई वर्ष पुग्दा नपुग्दै पाइप फुटेर ठाउँ ठाउँमा पानीको भल नै बगेको छ । मर्मतमा बोर्डले सिन्को पनि नभाँचेको उपभोक्ताहरु बताउँछन् । बोर्डका कार्यकारी निर्देशक शालिकराम पौडेल आयोजना निर्माणमा भएको कमजोरीले यस्तो दुरावस्था आएको जिकिर गर्छन् । खानेपानी वितरणका लागि कमजोर पाइप राखेको उनको भनाइ छ ।    
 खानेपानी आपुर्ती गर्न ३५० किलो मिटर पाइप बिछ्याइएको छ । जसमध्ये तीन सय किलो मिटर पाइप पोलिथिनको छ । ‘पोलिथिनको पाइप भएको ठाउँमा नै अहिले समस्या आएको छ । सायद निर्माण गर्दा नै गलत सामग्री छनौट भएको हुनु पर्छ । पोलिथिनले पानीको दवाव झेल्न सके जस्तो देखिएन’ कार्यकारी निर्देशक पौडेलले भने ।   
विस २०६७ सालको पुसमा खानोपानी आयोजना सम्पन्न भएको थियो । तर दुई वर्ष नहुँदै ठाउँ ठाउँमा फ्ट्न थालेको छ ।     आयोजना चरणमा नै यस्तो लापरवाही हुनु र अहिले मर्मतमा चासो नदेखाइनुले बोर्डको काम संस्थानको भन्दा पनि गए गुर्जेको अवस्थामा पुगेको छ । बरु बोर्ड आएपछि जडान र महशुल चर्को भएको थियो । सुरुदेखि कै चर्को शुल्कमा थप बृद्धि हुने भएको छ ।
    
   

Thursday, June 27, 2013

गैंडा हेर्न बाघखोरमा

गैंडा हेर्न को हुँदैन हुरुकक
चितवन निकुञ्ज आसपासका गाउँमा गैंडा देखिनु नौलो कुरा हुँदैन । गैंडा हेर्न जाँदा बास बस्नु परे होटल नपाइएला भन्ने पिरलो पनि छैन । तर गैंडाका बथान, बास बस्ने ठाउँमा न्यानो स्वागत सत्कार र जिब्रोमा गढ्ने स्वादिला स्थानीय परिकार । यी सवै कुरा नवलपरासी अग्यौली गाविसको बाघखोर गाउँमा बाहेक अन्यत्र सायदै पाइएला । पछिल्लो समय ठाउँ ठाउँमा होमस्टे खुल्ने लहर नै चलेको छ । तर प्रचारमा आए जस्तो राम्रो सेवा सुविधा दिन नसकेको गुनासो पनि उत्तिकै छ । अग्यौली गाविसको वडा नं. ५ मा पर्ने बाघखोर गाउँमा खुलेका होमस्टे हेर्दा चिटिक्कका छन् । सञ्चालक मिजाशिला छन् । उनीहरुले खुवाउने खाना नास्ता रुचिकरका साजै स्वास्थ्यका लागि पनि हितकर छन् ।
पुर्व पश्चिम राजमार्गको डण्डा बजारबाट सात किलो मिटर दक्षिणमा छ बाघखोर गाउँ । गाउँको आडमा छ गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वन । वनसँगै छ नारायणी नदी । नारायणी पारी छ विश्व प्रशिद्ध चितवन राष्ट्रिय निकुञ्ज । निकुञ्ज, नदी र वन दुर्लभ वन्यजन्तु, पंक्षी र जलचरको वासस्थल हो । यी हेर्न पर्यटक आउने नै भए ।
 नेपालको पहिलो जंगल लज टाइगर टप्स होटलका संचालकहरुले नै दुई दशकअघि सोही गाउँमा थारु लज खोलेका थिए । निकुञ्ज भित्र रहेका मचान होटल र टेम्पल टाइगर होटलले पनि भित्र होटल राख्न नपाउने भएपछि बाघखोरमा नै होटल बनाएका छन् । पर्यटनको सम्भावना देखेपछि सोही गाउँका थारु समुदायले होमस्टे सुरु गरेका छन् ।
आदिवासी थारु समुदायका आफ्नै पोशाक, संस्कार, संस्कृति र खानपान छ । गैंडा हेर्न बाघखोर जाँदा यी सवै कुरा देख्न भोग्न पाइन्छ । होमस्टेमा बस्ने पाहुना आउँदा सञ्चालकहरु एकै ठाउँ भेला भएर फुल अबिरले स्वागत गर्छन् । आफ्नो मौलिक पोशाक र गहनासहित स्वागतमा उपश्थित हुन्छन् उनीहरु ।
 फर्कदा विदाइ पनि त्यसरी नै गर्छन् उनीहरु । स्वागत, बिदाई र त्यसबीचमा हुने सवै खालका गतिविधि झट्ट बिर्सन सक्दैन बाघखोर आउनेले । सामुहिक स्वागतपछि घर घरमा बस्ने पाहुनाको छिनोफानो हुन्छ । घरमुलीले साथमा लैजान्छन् आफ्ना पाहुनालाई । आँगनमा रहेको खाटमा बसेर हात बुना पङ्खा हल्लाएर  हावा खाँदै गर्दा घरमुली अङ्खरा भरी धाराको चिसो पानी लिएर आउँछन् ।
 अनदी धानको चामल बाफमा पकाएर तयार गरिन्छ चिच्चर नामको परिकार । पिठोको राटी पनि वाफमा नै बफाएर पकाइन्छ । थारु समुदायका यी खास खान्की खाजा र खानाका रुपमा प्रयोग गर्न सकिन्छ । तरकारीमा हुन्छ हाँस, कुखुरा या सिद्रा र ठुला माछाका परिकार । उनीहरुको भान्सामा पाकेका घिरौला, लौका र चिचिण्डा पनि भिन्न स्वादका हुन्छन ।
‘निमिर्चा’ नुन र रातो खुर्सानी पिसेर बनाएको धुलो हो । हेर्दा सामान्य लाग्छ तर स्वाद बिछट्टैको हुन्छ । ‘हाम्रो होमस्टेमा भुटानका पाहुना आएर बस्नु भएको थियो । निमर्चा उहाँहरुले यस्तो मन पारउँनु भयो कि बस्दा सधै खानु भयो । जाँदा पनि पोको पारेर कोशेलीका रुपमा लैजानु भयो’ होमस्टे नं. १ का सञ्चालक रुपनारायण थारुले भने ।
खान खाएपछि सुत्नुअघि सवै पाहुनालाई भेला पारेर गाउँमा थारु नाँच देखाइन्छ । बोटे पनि छन् गाउँमा । उनीहरुको नाँच पनि पाहुनालाई पस्कन्छन् होमस्टे सञ्चालकहरु । होमस्टेको सुविधा पनि चर्को मुल्य तिर्ने होटल सरहको छ । एटेच ट्वाइलेट बाथ रुम भएका होमस्टे चिटिक्क र सफा छन् । भान्सामा पलेटी मारेर परिवारसँग खाना नास्ता खाँदा छुट्टै आनन्द आउँछ ।
खाँदा बस्दा मात्रै होइन डुल्दा पनि बेग्लै रमाइलो हुन्छ बाघखोर गाउँमा । थारुका डेढ सयभन्दा बढी घर छन् । गाउँको बीचबाट हात्ती या गाडामा बसेर गैंडा हेर्न वन छिर्ने गरिन्छ । ‘हाम्रो वनमा ३० वटा गैंडा छन् । एकै ठाउँमा १२ या १५ वटासम्म गैंडा देख्न सकिन्छ’ अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रेमशंकर मरदनीयाले भने ।
बाघखोरमा मुसहर पनि छन् । नदी र खोलामा माछा मारेर गुजरा गर्ने समुदाय हो मुसहर । निकुञ्जका सिमाना भित्र माछा मार्न उनीहरुका लागि सहज छैन अहिले । त्यसैले गाउँमा आठवटा माछा पोखरी छन् । घुम्न आएका पाहुनाहरु तालमा आफै बल्छी थापेर माछा मार्ने र तिनै माछा होमस्टेमा पकाएर खाने बन्दोवस्ता पनि मिलाइएको छ ।
शहरको होहलाहलबाट पर गाउँमा बस्दाको आनन्द बाघखोर पुग्नेले अनुभव गर्न सक्छ । एक रात बसेको तीन सयदेखि चार सय रुपैयाँ तिरे पुग्छ । खाजाको सय रुपैयाँ पर्छ । एक छाक मांछा मासुसहितको खानाको डेढ सय रुपैयाँ पर्छ । शाकाहारी खाना ९० रुपैयाँमा नै पाइन्छ । सस्तो मुल्यमा सुविधा युक्त होमस्टेमा स्वादीला खाना आत्मिय सत्कार । बाघखोरका होमस्टेका विशेषा हो यो ।
 बाघखोरमा २० घरमा होमस्टे छन् । जहाँ ८० जनासम्म बस्न सकिन्छ । एउटा होमस्टे तयार गर्न दुई लाख रुपैयाँ खर्च लागेको छ । मध्यवर्ती क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को तराइ भूपरिधि कार्यक्रम (ताल) ले ५० हजार रुपैयाँ सहयोग गरेको छ । अरु रकम गाउँले आफैले जुटाएका हुन् । जेठ पाँच गतेबाट होमस्टे सञ्चालनमा आएका हुन् । होमस्टे सञ्चालनमा आएदेखि सवैमा गरेर ८४० जना पर्यटक बास बस्न आएका छन् । पाहुनको आवागमन सन्तोषजक देखिएपछि गाउँलेहरु निकै उत्साहित बनेका छन् ।
   
   
   
   
   

Sunday, March 17, 2013

त्यो बेलाको कान्दा


कान्दा अचेल संचारमाध्यममा धेरै आउने चितवनको एउटा विकट गाउँ हो । सो गाउँमा च्याउ खाएर आठजनाको निधन हुँदा बरु त्यत्ति चर्चामा आएको थिएन । सो गाउँमा विस २०६७ साल असार ३ गते पहिलो पटक पुगेर लेखेको समाचार हो यो । यस पटक कान्दा पुगेकी सावित्री सापकोटालाई उ बेलाको कान्दा जान्न मन लागे छ र मलाई पुरानो समाचार खोजी दिन अनुरोध गरिन । पुरानो समाचार पढ्दा म पनि दङ खाए । वास्तवमा कान्दा अहिले धेरै फेरिएको छ । 

‘खर्च नभएकाले किरिया पनि गरेको छैन’
रमेशकुमार पौडेल,
कान्दा (चितवन), असार ५ ।
दायाँ बयाँ रहेका साना छाप्रामा बाच्छी सहितको एउटा गाई र केही सँगुरहरु छन् । मान्छे बस्ने बीचको घरको दैलोमा सानो ताला झुण्डीएको छ । खानका लागि जंगलबाट खोजेर ल्याएको दुईवटा डोकोमा राखेको कन्दमुल गिठ्ठा उम्रेर डोको बाहिरै लहरा निस्केको छ । जंगली च्याउ खाएर परिवारका आठजनाको निधन भएको सो घर अहिले उराठ लाग्दो छ । 
गाडीबाट ओर्लेपछि लगातार १२ घण्टा पैदल हिडेर पुगिने चितवनको लोथर गाविस वडा नं ९ को कान्दा गाउँमा रहेको सो घरको आडैमा कान्दा खोला सुस्याएको सुनिन्छ । नजिकै उच्च पहाड छ । त्यो घरको आँगनमा बस्दा मान्छेको आवाज र अरु घरहरु देख्न मुस्किल छ । त्यहाँबाट १५ मिनेट हिडेपछि देविमाया चेपाङको घर आउँछ ।
देविमाया कान्दाका ६५ वर्षीय बाबुराम चेपाङकी तीन मध्येकी जेठी श्रीमती हुन् । बाबुराम माइली श्रीमती मतीमाया सहित दुई छोरा,दुई बुहारी, दुई नातिनी र नौ महिने एक नातीसहित देविमाया बस्नेभन्दा तलकोे घरमा छुट्टै बस्थे । उनै बाबुरामले जंगलबाट ल्याएर पकाएको च्याउ खादा सानो नाती बाहेक बाबुरामको परिवारको सवै आठजनाको निधन भयो । 
देवमाया अहिले १५ वर्ष भएको छोरो सन्त्बहादुर सहित अलग्गै भान्सा गरेर बसेको १० वर्षभन्दा बढी भयो । उनले भनिन् ‘म त तल बेसीमा बसेको थिएँ । फागुनमा बुढाले किन टाढा बस्छेर हिड् आडैमा घर बनाइ दिन्छु भनेर बैशाखमा यहाँ आए । आखिर च्याउ खाएर सवै नासिए ।’ कम्म्रमाथि आङमा कपडाको नाममा घागो पनि नलगाएकी उनले भनिन् ‘उनीहरु सवै मरेर गए । मलाई आपत थपियो । पैसा नभएकाले किरिया पनि गर्न सकिएन ।’ 
जेठ १४ गते शुक्रबार बाबुरामको परिवारले च्याउ पकाएर खाएको थियो । त्यसको हप्ता दिन भित्र जेठ २२ गते शनिबारसम्म आठजनाको ज्यान गएको हो । बाबुराम उनकी श्रीमती र कान्छी नातिनीको गाउँमै निधन भयो । भरतपुर अस्पतालमा उपचारका बेलामा बाबुरामका जेठा छोरा पूर्णबहादुर पूर्णबहादुरकी श्रीमती र उनीहरुको जेठी छोराीको मृत्यु भयो । 
बाबुरामका माइला छोरा जीतबहादुरको सवैभन्दा पछि उपचारका क्रममा काठमाडौंमा ज्यान गएको हो । जीतबहादुरकी श्रीमतीले पनि भरतपुर अस्पतालमै प्राण त्यागेकी हुन् । संगोलमै रहे पनि सानो भएकाले च्इाउ नखाएका नौ महिने बालक सन्सरबहादुर मात्रै अहिले जिवित छन् । उनलाई भरतपुरको एसओएस बालग्रामले आश्रय दिएको छ । 
पहाडी भिरालो बाटोबाट उपचारका लागि हिँडाएर भरतुरसम्म ल्याउँदा लगभग २४ घण्टा लागेको थियो । उपचारमा ढिलाई भएकाले कलेजोमा असर भएर उनीहरुलाई बचाउन नसकेको चिकित्सक डा.विजय पौडेलको भनाइ छ । काठमाडौंमा मृत्यु भएका जीतबहादुरको मात्रै आर्यघाटमा दाहसंस्कार भयो । भरतपुर र गाउँमा मरेका सवैलाई खाल्टोमा गाडियो । 
‘कान्दा खोलाको तिरमा लगेर जलाउने गर्दथ्यौं । त्यहाँ पु¥याउन दुई घण्टा लाग्दथ्यो । बोक्ने मान्छे नभएर घरभन्दा केही पर लगेर बुढाबुढीको लाशलाई नजिक नजिक खाल्डो खनेर पु¥यौं’ कान्दाका ४५ वर्षीय सिताबहादुर चेपाङले बताए । भरतपुर अस्पतालमा मृत्यु भएका चारजनालाई नारायणीको किनारमा गाडेको स्थानीय शिक्षक बालकृष्ण थपलियाले बताए । 
कान्दा गाउँमा ३८ घर छन् । नजिक नजिकमा कुनै घर छैनन् । डाडा र कोप्चेरामा अलग अलग  घर बनाएर मान्छेहरुले बस्ने बासको जोहो गरेका छन् । उपचारका लागि बिरामी बोकेर झण्डै १२ जना भरतपुर झरेपछि गाउँमा मलामीको समेत संकट परेको हो । 
किरिया उम्काउन सुँगुर काट्ने, जाँड बनाउने, पाहुना भेला गरेर मरेकाहरुले मन पराएका चिजहरु खुवाउने गर्नु पर्छ । यसका लागि चाहिने खर्च छैन भन्छिन् देविमाया । ‘नुन आफैले फुकाए्र खान थालेकी छु । किरिया उम्काउने आँट भने आएन’ उनले भनिन् । यो असरा भित्र जसरी पनि किरिया नउम्काइ हुँदैन । यो कुराले उनलाई निकै पिरोलेको छ । 
‘किरिया नगरेकाले होला साह्रै तस्राउन थालेको छ । साँझ पर्न हुँदैन बुढाले दाउरा चिरेरको र बुहारीहरुले घाँस काटेको देख्ने गरेको छु । साह्रै डर मात्रै लाग्छ अचेल’ उनले आफ्नो समस्या सुनाइन् । पहाडी पखेरोमा बस्ने गरेकाले चेपाङहरुलाई वर्षभरी खान निकै कठिन छ । आर्थिकरुपमा पनि उनीहरु निकै कमजोर छन् । चेनताको पनि अभाव छ । 
‘खाने कुराको अभावले नै च्याउ खानु परेको हो’ स्थानीय कानबहादुर चेपाङले बताए । उपचारको लागि गाउँकै धामी झाक्रीको भर पर्छन् । च्याउ खाएर थला पर्न लागेपछि उनीहरुलई कुकुरको र सुँगुरकोु दिसा पानीमा घोलेर खान दिइयो । गर्भवती आईमाई खोजेर नाध्न लगाइयो । टुमुर र खरानी घोलेर ख्वाइयो । तर अस्पताल हिडाउने विचार कसैले गरेनन् ।
‘शुक्रबार च्याउ खाएछन् आएतबार दिउँसो तीन बजेसम्म दुईजनाको ज्यान गएपछि यहाँ राखेर हुँदैन । भरतपुर जाउँ भनेर मैले निकै कर गरेपछि बल्ल उनीहरुले अस्पताल देख्न पाए’ स्थानीय शिक्षक थपलियाले बताए । उनै शिक्षकले विरामीलई काठमाडौंसम्म पु¥याए । बाँचेको एकजना बालकलाई बालग्राममा राख्न पहल गरे ।
यो बाहेक राज्यको तर्फबाट विकटका विपन्न चेपाङलाई सहयोग गर्न अझैसम्म कोही तयार छैन । घटना स्थलको मुचुल्का गर्न चितवनको भण्डाराबाट आएर प्रहरी टोली बैशाखसम्म देविमाया बस्ने गरेको बेसीको घरसम्म आएर फर्के छ । घटना स्थल त्यहाँबाट झण्डै डेढ घण्टा पर छ । ‘सर नभएको भए च्याउ खाएर यत्रा मान्छे मरेको खवर यही गाउँमै गुपचुप हुन्थ्थ्यो’ स्थानीय सीताबहादुर बताउँछन् । गाउँमा च्याउ खाएर यसरी मान्छे मरेको कसैलाई सम्झना छैन । तर अन्न सकिएर गिठ्ठा र कन्दमुलको भर पर्नु पर्ने बेलामा फेरि च्याउ टिपेर खाने सम्भावना उत्तिकै छ । त्यसैले यस्तो घटना दोहरिने हो कि भन्ने त्रास गाउँमा छ । 
अहिलेलाई अरु गाउँले भन्दा पनि बढ्ता शोकमा घर अलग बनाएर बसेकी बाबुरामकी जेठी श्रीमती देविमाया नै छन् । मरेर जाने बाबुरामकी माइली श्रीमती मतीमाया पनि देविमायाको आप्mनै बहिनी हुन् । ‘एकजना बतिलो बचेछ । अरु सवै गए । त्यो बतिलोलाई पनि कता हो राखेर रे । खै गएर भेट्न पाइँछ पाइँदैन । त्यो गाउँ कहिले आउने हो । आएको दिन भगवान नै गाउँ पसे जस्तै हुने थियो’ देविमायाले एसओसएमा आश्रय पाएको सानो नाति सम्झदै आँशु झारिन् । बाबुरामकी कान्छी श्रीमती कोपीमायाको धेरै वर्षअघि निधन भएको थियो । मर्ने छोराहरु कोपिमायाकै सन्तान हुन् । बाबुरामसँग सगै बस्ने माइली मतिमायाका कुनै सन्तान थिएनन् । 


Sunday, January 13, 2013

भाग्य दुर्भाग्य

 शिशुसँग चालिसे
यो कथा जन्मदा वित्तिकै सालनाल सहित पोको पारेर फालिएकी नवजात शिशु स्याहार्ने एक प्रौढ पुरुषको हो । जन्मदाताबाट मिल्काइएकी ति बच्चीका लागि उनले सम्पुर्ण माया खनाए । तर आफैसँग सधै राख्न पनि पाएनन् । संयोग पनि कस्तो प¥यो भने पुर्णीमाका दिन फेला परेकी शिशुलाई १५ दिनपछि आएको औशीका दिन अर्कैलाई सुम्पिए ।
पुस १३ गते स्थानीय एफएमहरुले साल नालसहितको नवजात बच्ची भरतपुरको आस्था चोकमा भेटिएको खवर प्रशारण गरे । सो शिशु फेला परेपछि प्रहरीले भरतपुर अस्पताल लगेको थियो । यो खवर सुनेपछि भरतपुरबाट नौ किलो मिटर टाढा रत्ननगर नगरपालिकाको वडा नं. ७ कपरखोरी घर भएका ४६ वर्षीय इन्द्रप्रसाद चालिसेका पाइला अस्पताल तर्फ लम्किए ।
 एफएममा समाचार बज्दा उनी टिकौली जंगलमा कुलपुजामा सामेल हुन आएका थिए । ‘पुजामा पैसा उठाउने अभिभारा मेरो थियो । खवर सुनेपछि मन कस्तो कस्तो भयो । अहो न्यानो काख चाहिने बच्चीलाई स्याहार्ने कोही छैन भन्ने भयो । म त कुलपुजाको काम च्यात्तै छाडेर अस्पताल दौडिए’ चालिसेले सुनाए ।
अस्पताल पुग्दा बच्चीको शरिर निलो भएको थियो । कपासले बेरेर नर्सहरुले न्यानो बनाउने प्रयास गरेका थिए । शरीरको रुप रंग फेरिदै आएपछि नर्ससँग उनले बच्ची मागे । कपडाले बेरेर जकेट भित्र घुसाइ छातीमा टाँसेर राखे । ‘त्यसो गरेको केही बेरपछि बच्ची च्याँ गरेर रोइ । मेरो शरीरमा थोरै दिसा पनि चुहाइ छ’ चालिसेले भने ।
अस्पतालमा तीन रात राखेपछि बच्चा डिस्चार्ज गरेर उनले आफ्नो घर लगे । यो तीन रातमा दुई घण्टाभन्दा बढी सुतिन भन्छन् उनी । चालिसेकी श्रीमती निर्मला हुलाकी जागिरे हुन् । चालिसे पनि प्रहरी सेवाबाट अवकाश लिएका व्यक्ति हुन् । उनका १५ वर्षकी छोरी र १३ वर्षका छोरा छन् । घर लगेपछि सवै मिलेर शिशुको स्याहार गरे ।
चालिसेकी छोरी फरक क्षमताकी अर्थात सुस्त मनस्थिती भएकी छन् । त्यो छोरीको स्याहारमा उनी दत्त चित्त भएर लाग्छन् । त्यसैले नवजात शिशु स्याहार्न कुनै अल्छि र आलस्य नलागेको उनले बताए । पुसको ठण्डीमा त्यसै मिल्काइएकी शिशुलाई चिसोले निकै गाँजेको थियो । तेल तताउँदै मालिस गर्ने र कोइलाको रापमा सेक्ने गर्दा शिशु चिसोको चपेटाबाट मुक्त भइन् ।
    ‘प्रहरीमा २२ वर्ष बिताएको हुँ । कयौ बच्चाहरु मरेको देखे । चोट लागेका कयौ बच्चालाई काखमा राखेर उपचार गर्न अस्पताल पु¥याँए । त्यस्तो बेलाम मनमा कतै केही उब्जदैन थियो । यो पटक त के भयो के’ चालिसेको भनाइ छ । जन्मेको ११ औ दिनका दिन उनको वैदिक विधि अनुसार चालिसेले न्वारन पनि गरेर अनि नाम राखिदिए ‘पुर्णीमा’ ।
वेवारिसे बच्ची फेला परेको खवर सुनेपछि अस्पताल दौडिनेमा चालिसे मात्रै थिएनन् । विस २०५५ सालमा बिबाह भएको तर हालसम्म निसन्तान रहेका नवलपरासी त्रिवेणी गाविस वडा नं. ९ विष्णुनगरका शोभाखर र गोमा ज्ञवाली पनि उनलाई स्याहार्ने मनसाय राखेर अस्पताल पुगेका थिए । तर अस्पतालबाट बच्चा चालिसेले बुझेर लगे पनि सन्तान रहरमा रहेको ज्ञवाली दम्पति  चुप लागेर बसेन ।
जिल्ला वालकल्याण समितिमा यो विषय प्रवेश भयो । समितिले चालिसेले खन्याएको ममता हे¥यो । ज्ञवाली दम्पतिको चाहना सुन्यो । चालिसेलाई एक पटक आग्रह पनि गर्ने विचार ग¥यो ।  ‘यो बच्ची कसैलाई दिएपछि त म बाच्नै सक्दिन विक्षप्त भएर मर्छु हजुर’ चितवन जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सामुन्ने धरधरी आँशु चुहाउँदै उनले बिलौना गरे ।
चालिसेबाट शिशु लिदै ज्ञवाली दम्पति (बाँया)
 तर चालिसेको मन परिवर्तन भयो । उनी जिल्ला वालकल्याण समितिले जे निर्णय गर्छ त्यो मान्छु भन्न राजी भए । जिल्ला प्रशासनमा पुस २७ गते शुक्रबार चालिसे र ज्ञवाली दम्पति जम्मा भए । ‘चालिसे ज्युको ममतामा हामीलाई शंका होइन । ज्ञवाली जी पनि बच्चाको चाहनामा हुनु हुँदो रहेछ । सन्तान सुखको अनुभुती गराउन चालिसे जीले त्याग गर्नु प¥यो’ सहायक प्रजिअ गेलालले आग्रह गरे ।
 त्यपछि निकै भावुक हुँदै चालिसे धारा प्रवाह बोल्न थाले । उनको भनाइको सार थियो ‘छोरी कसैलाई दिन्न भन्ने अडान त लिए । तर ज्ञवाली दम्पतिको चाहनालाई ख्याल गरे । संसारमा लिनुमा भन्दा दिनुमा माहनता छ भन्ने उद्गार पनि स्मरण गरे । अनि जे निर्णय हजुरहरुले गर्नु हुन्छ मान्छु भनेर दरो मन बनाएर आएको हुँ ।’
 चालिसेको सकारात्मक जवाफ सुन्दा वित्तिकै ज्ञवाली दम्पतिको आँखा रसायो । चालिसे शिशुलाई गालमा टाँसेर राख्न थाले । निकै बेर त्यसो गरेपछि यसो भन्दै उनले त्यो शिशु जिम्मा लगाए ‘सेकी राख्नु होला । उमालेको पानी मन तातो बनाएर खुवाउने गर्नु होला । तातो तेल खुट्टामा घसी राख्नु होला । राम्रोसँग हुर्काउनु यदी राम्रो गर्नु भएन भने म तपाइँको घरमा आगो लगाइ दिन्छु ।’

Friday, January 4, 2013

हजामको भुमिकामा हेडसर

हजामको भुमिकामा हेडसर

दारोचोक गाविसमा पर्छ कमेरे गाउँ । पृथ्वीराजमार्गको कुरिनघाटबाट उत्तर तर्फ केही उकालो बाटो हिडेपछि पुगिन्छ सो ठाउँमा । त्योभन्दा पनि उत्तरमा छ चैतारा गाउँ । जहाँ विस २०६२ सालको चैत्र ८ गते तत्कालिन शाही नेपाली सेनाको रेञ्जर बटालियन र माओवादीको ठुलो भिडन्त भएको थियो । माओवादीका २० भन्दा बढी लडाकुले ज्यान गुमाए तर सेनाको केही क्षति भएन भन्ने खवर आएको थियो । सत्य कुरा बुझ्न स्थलगत रिपोर्टिङमा जाँदा पहिलो पटक कमेरे गाउँ र चौतरा पुगिएको थियो भिडन्त भएको दोस्रो दिन । कमेरेमा भेट भएको थियो नारायणप्रसाद अधिकारीसँग । हामीले भेट्दा अधिकारी स्थानीय राप्रावि कमेरेको प्रधानअध्यापक हुनु हुन्थ्यो । सो भेटपछि  अधिकारीसँग निकै आत्मिय सम्बन्ध कायम भएको छ ।
चौतारामा दोहराएर पनि गइयो विस २०६५ सालको चैत्रमा । पहिलो पटक जाँदा चौतारा पुगेर समाचार संकलन गरी फर्केर कमेरेमा बास बस्न आइएको थियो । दोस्रो पटक जाँदा कमेरेमा बास बसेर चौतारा हानिएको थियो । यस पटक फेरि चौतार जाने मनसाय राखेर कमेरे तर्फ पाइला बढाइयो । तर चिसोले गर्दा ठाडो उकालो चढ्ने आँट आएन त्यसैले एक रात कमेरे गाउँमा बसेर भरतपुर फर्कियो । कमेरे गाउँ पुग्दा नारायणप्रसाद अधिकारीसँग भेट भएकै हुन्छ । शिक्षण पेशाबाट अवकाश लिएपछि अधिकारीको सक्रियता राजनीति र सामाजिक काममा निकै बढेको छ । नेकपा(एमाले) चितवन जिल्ला कार्य समितिको सचिवालय सदस्य अधिकारी निष्ठाको राजनीति गर्ने साह्रै कम व्यक्ति मध्येका एक हुनु हुन्छ । समाज सेवामा सामजिक उन्नतिको स्वार्थ बाहेक अन्य केही भावना राख्नु हुन्न । 
हामी पहिलो पटक जादा उहाँले सम्मालेको राप्रावि कमेरेको प्रध्यानअध्यापकको पदमा अहिले ऋषिराम अधिकारी पुग्नु भएको छ । पुस १८ गते साँझ हामी कमेरे पुगेका थियौं । बिहान गाउँ घुम्न निस्कियौ । कमेरेभन्दा पल्लो पाखोमा घर बनाएका ध्रुव अधिकारीलाई भेटेका थियौ । मिजासिला ध्रुवको दम्तिनै शिक्षण पेशामा आवद्ध रहेछन् । दम्पति मिलेर अम्रिसो खेती गरेका । अन्य अन्नवालीभन्दा यो फाइदा जनक थिए भन्ते उनीहरु । कारण अन्नबाली लगायो बाँदरले सखाप पार्ने । छोराछोरी भरतपुर बसेर पढ्ने । आफुहरु पढाउन गाउँदेखि एक घण्टा परको स्कुल जाने । पढाउने बेलामा पनि बाँदरले मकै खायो कि भनेर पिरोलीनु पर्ने । अम्रिसो लगाएपछि क्या आनन्द । बाँदरले नखाने मात्र होइन पैसो पनि कमाइन थाले छ यो खेतीबाट । 
पढाउने र खेती गर्ने ध्रुब गजल लेख्दा रहेछन् । मन परेका अरुका गजल समेत कापीमा सारेर गाउँने पनि  रहेछन् । ध्रुबसँग भलाकुसारी गरेर हामी कमेरे तर्फ फर्कियौं । नारायण अधिकारीको घरभन्दा दुई सय मिटर पर छ विद्यालय । विद्यालयमा आइ पुग्दा प्रधानअध्यापक ऋषिराम अधिकारी एकजना कपाल जिङरिङ्ग भएको विद्यार्थीका अगाडी थिए । उनी त्यसलाई कपाल किन नकाटेको बाबु भनेर केरकार गर्दै थिए । केटो केही बोल्न सकेको थिएन । त्यसो भए तेरो कपाल मै काटि दिन्छु भन्दै प्रधानअध्यापक अधिकारीले कैची र काइयो मगाए । त्यसपछि मिलाई मिलाई कपाल काटिदिन लागे । कक्षा दुईमा पढ्ने सो विद्यार्थीको नाम सरोज पोखरेलले रहेछ । कपाल राम्रैसँग काटिदिए प्रधानअध्यापकले ।
विद्यार्थीको हात खुट्टा धोइ दिदै प्रअ अधिकारी
कपाल मात्रै काटि दिएको हो र उनले त अर्को उधुम गर्न थाले । ठुलो ठुलो ढुंगा बटुलेर तीन मुखे चुल्हो बनाउन लगाए । छात्राहरुले डेक्चीको बाहिर खरानी लगाएर चुल्होमा राखे । त्यो डेक्चीमा पानी तताउन भने । पानी मन तातो भएपछि शिशु कक्षामा पढ्ने भुराहरुलाई बाहिर निकाले । अनि उनीहरुका खुट्टा धोइदिन थाले । ति बालबालिकाहरुको खुट्टामा मैलाको पत्रैपत्र थियो । मैले आज धोएर पठाए भने भोलीदेखि लाजले पनि अभिभावकले खुट्टा धाइ दिन थाल्छन् भन्ने प्रधानअध्यापक अधिकारीको तर्क थियो । 
सो विद्यालयमा ६६ जना पढ्दा रहेछन् । जसमा ३२ जना चेपाङ समुदायका बालबालिका रहेछन् । चेपाङ समुदाय नेपालको अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी हो । पाखा पखेरामा बस्ने अधिकांश चेपाङहरु विपन्न छन् । सफा सुग्घर भएर बस्नु पर्छ भन्ने ज्ञान कमैलाई छ । चेपाङ मात्रै हो र त्यहाँ पढ्ने क्षेत्री बाहुन समुदायका केटाकेटीको हालत पनि उस्तै हो । तर उनीहरुलाई सफा सुग्घर बनाउन प्रधानअध्यापक अधिकारीले गरेको प्रयास प्रशंसनीय छ ।
गाउँमा पत्रकार आएका बेलामा यो काम गरे प्रचार हुन्छ भन्ने ठानेर अधिकारीले केटाकेटीको कपाल काट्ने र खुट्टा धोइ दिएको पक्कै होइन होला । केटाकेटीलाई सफा सुग्घर राख्न अभिभावकलाई नझक्झकाइ हुँदैन । त्यसका लागि केही न केही गर्नै पर्ने ठानेर अकिारीले कैची चलाउन र जग डुवाउन परेको होला भन्ने हामीलाई लाग्यो । किन कि नारायण अधिकारी जस्तो निष्ठावान व्यक्ति बसेको ठाउँमा कसैले केवल प्रचारका लागि मात्रै केही गर्न अघि सर्छ भन्ने हामीलाई लागेन । आशा छ प्रधानअध्यापक ऋषिराम अधिकारी सरले नानीहरुलाई सफा सुग्घर हुने बानी बसाल्न हाम्रा अगाडी गरेको काम अरु बेला पनि गर्नु हुने छ ।