Sunday, July 10, 2011

साहारा छिन्ने गैंडाले नै आशा जगायो लहनीको

पश्चिम चितवनको मेघौली गाविस वडा नं. ५ कि लहनी महतोलाई गैंडा भनेपछि निकै रिस उठ्ने गर्दथ्यो । गैंडाले हानेर तीन वर्षअघि श्रीमान शिवरामको मृत्यु भएपछि उनको साहारा गुम्यो । तर जंगलका तिनै गैंडाका कारण अहिले लहनीको जीवनमा नयाँ आशा जन्मिएको छ ।
मैघौलीको वडा नं. ५ चितवन राष्ट्रिय निकुंजको जंगलसँग पुरै जोडिएको छ । त्यहाँ गैंडा हेर्न पर्यटकहरु आउन थालेका छन् । पर्यटकलाई खाने बस्ने सुविधा दिन गाउँमा होमस्टे तयार भएका छन् । लहनीको घर पनि गाउँमा बनेका सातवटा मध्येको एउटा होमस्टे हो ।
होमस्टेमा बस्ने पर्यटकहरुले तिर्ने पैसाबाट घर खर्च जुटाउन सजिलो हुने लहनी बताउँछिन् । कुनै बेला श्रीमान मारेर बेसाहारा बनाएको गैंडा अहिले आएर उनका लागि आर्जनको माध्यम बन्न पुगेको छ । गैंडा नभएको भए यॊ गाउँमा बस्न भनेर को नै आउँथ्यो र भन्छिन् उनी ।
लहनीको नाममा पाँच कठ्ठा जमिन छ । त्यसको खेतीले छ सात महिना मात्रै खान पुग्छ । शिवरामले दुई विहे गरेका हुन् । लहनी कान्छी श्रीमती हुन् । जेठीको ४९ सालमै निधन भयो । लहनीको कोखबाट पाँचजना छोरी जन्मेका छन् । जेठीको कोखाबाट पनि छजना छोरी मात्रै जन्मे ।
विस. २०६५ सालको फागुन १ गते मेघौलीको बेतरी खोला नजिक गैंडाले आक्रमण गरेको थियो शिवरामलाई । घर बार्ने स्याला लिन उनी जंगल पसेका थिए । गैंडाले हानेपछि उनको घटना स्थलमै प्राण गयो । परिवारको अभिभारा लहनीको काँधमा आयो ।
शिवरामको मृत्यु हुँदा पाँच कक्षामा पढ्दै थिइन् माइली छोरी विष्णु । घर खर्च जुटाउनको लागि उनले पढ्न छाडेर् अर्काको घरमा काम गर्न थालिन् । जेठीको कोखबाट जन्मेका छमध्ये पाँच छोरीको बिहे भइ सकेको छ । लहनीका पाँच छोरीमा कुनैको पनि बिहे भएको छैन ।
छोरीहरुलाई अर्काको घरमा काममा पठाएर र आफुले पनि मेलापात गरेर उनले खर्चको जोहो गर्दै आएकी थिइन् । फागुनमा गाउँमा होमस्टे राख्ने तयारी भयो । 'साह्रै दुख कष्ट भोगेको हुँदा लहनीलाई हामीले छनौट गर् यौ' मेघौली पर्यटन विकास समितिका अध्यक्ष इन्द्रबहादुर केसीले भने ।
होमस्टेमा सुतेको एक रातको तीन सय रुपैयाँ लाग्छ । मासु खानाको दुई सय र सादा खानाको छाकको एक सय रुपैयाँ तिर्नु पर्छ । घुम्न आएकाहरु होमस्टेमा बस्दा तिर्ने यो पैसाले आफुलाई धेरै राहत हुने लहनी बताउँछिन् ।
श्रीमानको निधन भएपछि मध्येवर्ती उपभोक्ता समितिले क्षतिपुर्ती वापत ५० हजार रुपैयाँ दिएको थियो । त्यही रकम मध्येबाट २५ हजार निकालेर उनले दुई पाखे घर जस्ताले छाएकी छन् । नयाँ बिछ्यौना पनि किनिन् । उनको घरमा तीनजना पाहुना सुत्न मिल्छ ।
कमाइको सम्भावना देखेपछि अर्काको घरमा काम गर्न बसेकी छोरीलाई घरमै डाकिन् । विष्णुले पाँच पढेपछि स्कुल छाडेकी थिइन् । तीन वर्षपछि यस पटक उनले विष्णुलाई फेरि पाँच कक्षामा नै भर्ना गरिदिइन् । जेठीदेखि कान्छीसम्म लहनीका सवै छोरी अहिले स्कुल जान्छन् ।
'गैंडा जोगिएमा हाम्रो गाउँमा पर्यटक घुम्न आउँछन् । पर्यटक आउँदा हामीलाई नै फाइदा हुन्छ' लहनी अहिले गैंडा प्रति पुरै सकारात्मक देखिन्छिन् । चितवनमा गैंडा हेर्न भनेर पुर्वी क्षेत्रको सौराहामा अत्याधिक मात्रामा पर्यटकहरु आउने गरेका छन् । मेघौलीमा पनि चहल पहल बढ्न थालेको छ ।








No comments:

Post a Comment