Sunday, July 10, 2011

साहारा छिन्ने गैंडाले नै आशा जगायो लहनीको

पश्चिम चितवनको मेघौली गाविस वडा नं. ५ कि लहनी महतोलाई गैंडा भनेपछि निकै रिस उठ्ने गर्दथ्यो । गैंडाले हानेर तीन वर्षअघि श्रीमान शिवरामको मृत्यु भएपछि उनको साहारा गुम्यो । तर जंगलका तिनै गैंडाका कारण अहिले लहनीको जीवनमा नयाँ आशा जन्मिएको छ ।
मैघौलीको वडा नं. ५ चितवन राष्ट्रिय निकुंजको जंगलसँग पुरै जोडिएको छ । त्यहाँ गैंडा हेर्न पर्यटकहरु आउन थालेका छन् । पर्यटकलाई खाने बस्ने सुविधा दिन गाउँमा होमस्टे तयार भएका छन् । लहनीको घर पनि गाउँमा बनेका सातवटा मध्येको एउटा होमस्टे हो ।
होमस्टेमा बस्ने पर्यटकहरुले तिर्ने पैसाबाट घर खर्च जुटाउन सजिलो हुने लहनी बताउँछिन् । कुनै बेला श्रीमान मारेर बेसाहारा बनाएको गैंडा अहिले आएर उनका लागि आर्जनको माध्यम बन्न पुगेको छ । गैंडा नभएको भए यॊ गाउँमा बस्न भनेर को नै आउँथ्यो र भन्छिन् उनी ।
लहनीको नाममा पाँच कठ्ठा जमिन छ । त्यसको खेतीले छ सात महिना मात्रै खान पुग्छ । शिवरामले दुई विहे गरेका हुन् । लहनी कान्छी श्रीमती हुन् । जेठीको ४९ सालमै निधन भयो । लहनीको कोखबाट पाँचजना छोरी जन्मेका छन् । जेठीको कोखाबाट पनि छजना छोरी मात्रै जन्मे ।
विस. २०६५ सालको फागुन १ गते मेघौलीको बेतरी खोला नजिक गैंडाले आक्रमण गरेको थियो शिवरामलाई । घर बार्ने स्याला लिन उनी जंगल पसेका थिए । गैंडाले हानेपछि उनको घटना स्थलमै प्राण गयो । परिवारको अभिभारा लहनीको काँधमा आयो ।
शिवरामको मृत्यु हुँदा पाँच कक्षामा पढ्दै थिइन् माइली छोरी विष्णु । घर खर्च जुटाउनको लागि उनले पढ्न छाडेर् अर्काको घरमा काम गर्न थालिन् । जेठीको कोखबाट जन्मेका छमध्ये पाँच छोरीको बिहे भइ सकेको छ । लहनीका पाँच छोरीमा कुनैको पनि बिहे भएको छैन ।
छोरीहरुलाई अर्काको घरमा काममा पठाएर र आफुले पनि मेलापात गरेर उनले खर्चको जोहो गर्दै आएकी थिइन् । फागुनमा गाउँमा होमस्टे राख्ने तयारी भयो । 'साह्रै दुख कष्ट भोगेको हुँदा लहनीलाई हामीले छनौट गर् यौ' मेघौली पर्यटन विकास समितिका अध्यक्ष इन्द्रबहादुर केसीले भने ।
होमस्टेमा सुतेको एक रातको तीन सय रुपैयाँ लाग्छ । मासु खानाको दुई सय र सादा खानाको छाकको एक सय रुपैयाँ तिर्नु पर्छ । घुम्न आएकाहरु होमस्टेमा बस्दा तिर्ने यो पैसाले आफुलाई धेरै राहत हुने लहनी बताउँछिन् ।
श्रीमानको निधन भएपछि मध्येवर्ती उपभोक्ता समितिले क्षतिपुर्ती वापत ५० हजार रुपैयाँ दिएको थियो । त्यही रकम मध्येबाट २५ हजार निकालेर उनले दुई पाखे घर जस्ताले छाएकी छन् । नयाँ बिछ्यौना पनि किनिन् । उनको घरमा तीनजना पाहुना सुत्न मिल्छ ।
कमाइको सम्भावना देखेपछि अर्काको घरमा काम गर्न बसेकी छोरीलाई घरमै डाकिन् । विष्णुले पाँच पढेपछि स्कुल छाडेकी थिइन् । तीन वर्षपछि यस पटक उनले विष्णुलाई फेरि पाँच कक्षामा नै भर्ना गरिदिइन् । जेठीदेखि कान्छीसम्म लहनीका सवै छोरी अहिले स्कुल जान्छन् ।
'गैंडा जोगिएमा हाम्रो गाउँमा पर्यटक घुम्न आउँछन् । पर्यटक आउँदा हामीलाई नै फाइदा हुन्छ' लहनी अहिले गैंडा प्रति पुरै सकारात्मक देखिन्छिन् । चितवनमा गैंडा हेर्न भनेर पुर्वी क्षेत्रको सौराहामा अत्याधिक मात्रामा पर्यटकहरु आउने गरेका छन् । मेघौलीमा पनि चहल पहल बढ्न थालेको छ ।








Saturday, July 9, 2011

महराको गुँडमा पार्ला त फुल चरीले

चरी चितवन आइ पुगे । त्यो पनि चितवन राष्ट्रिय निकुंजमा । असली नाम दिनेश अधिकारी भए पनि कामले गर्दा पाएको नाम हो यो चरी । एमालेको राजनीति गरेर पार्टीको धादिङ जिल्ला क्षेत्र नम्बर १ का उपाध्यक्ष पदमा पुगेका छन् उनी । तर अनेक खालका अपराधमा मुछिन्छन् यी चरी । जसका कारण पक्राउ पर्छन् घरीघरी । माओवादीका नेता कृष्णबहादुर महरा गृहमन्त्री भएका छन्, उनले केही दिनअघि घोषणा गरेका थिए 'सय डेढ सय डन समाइने छ ।' वन्यजन्तु संरक्षण संघ नेपाल र छोटकरीमा डब्लुसीएन भन्ने एउटा गैरसरकारी संस्था छ यसले वन्ययजन्तु अपराधसँग सम्बन्धित गतिविधिको सुराकी दिएर प्रहरीलाई त्यस्ता मान्छे समाउन लगाउने र आफ्नो संस्थाको नाम पत्रिकामा छपाउने गर्छ ।
महराको घोषणा आएको केही समयपछि नै चरी पक्राउ परेका छन् । पक्राउ पर्नमा डब्लुसीएनको सुराकीले काम गरेको भन्ने पढ्न पाइयो पत्रिकाहरुमा । झण्डै एक किलोको खाग बिक्री गर्न लागेको भन्ने आरोपमा समातिएर चरी सहितका मान्छेहरु अहिले चितवन निकुंजको हिरासत कक्षमा गुम्सिन बाध्य छन् । जंगलमा चराले बनाउने गुँड बराबरको पनि छैन चितवन निकुंजको हिरासत कक्ष । सुराकी दिएर चरीलाई समाउन लगाउने डब्लुसीएनको रेकर्ड भने त्यत्ति राम्रो छैन है चितवनमा ।
डब्लुसीएनले सुराकी दिएर खाग सहित एक ताका भटाभट मान्छे समातिन्थे । चितवनको भण्डारादेखि मुग्लिनसम्म प्रहरीले धेरैलाई समात्यो । अनि पत्रिकामा नाम आउँथ्यो समातिने, समात्ने र डब्लुसीएनको । समातिएको खाग परीक्षण गर्दा नक्कली भेटियो प्राय । आशंका बढेको थियो नामका लागि मात्रै डब्लुसीएनले केही नक्कली काम त गरेको छैन । एक पटक मनहरीमा बाघको काँचो छाला सहित मान्छे समातिए । डब्लुसीएनको सुराकीमा उनीहरु समातिएका थिए । निकुंजको एकजना अधिकारीले कुरा गर्दथे डब्लुसीएनकै मान्छे गएर बाघ मार्न उक्साएका थिए रे । अनि मारेर छाला काडेपछि निकुंजमा खबर गरेछन् ।
महराको उद्घोषपछि डब्लुसीएनको सुराकीले चरी र रमेश हाल नाम गरेका माओवादी छापामारको सेक्सन सहकमाण्डर काठमाडौंबाट समातिएका छन् खाग सहित । कामना गरौं अघिका जस्तै त्यो खाग नक्कली नपरोस । चरीको खाग प्रकरण टाँयटाँय फिस नहोस । बल्लबल्ल निकंजमा गुँड लगाउन आएको चरी त्यसै भुर्र उडेर गयो भने कम्ता खल्लो हुँदैन है । भाले रुपी सरकारले बनाएको गुँडमा चरी आएर त बसेको छ । उपलब्धि रुपी फुलपार्ने कर्म नगरेको भएत बर्बादै हुन्छ नि, होइन र ? यस्ता चरीलाई अर्को चंखे प्रतिद्वन्दीले गुँडबाट तानेर लैजाने खतरा पनि उत्ति छ हाम्रो नेपालमा । आखिर यो चरी पार्टी रुपी ठुलो रुखको संरक्षणमा छ नि । अनि ठुलो रुखको आड लागेपछि यो गुँड र त्यो गुँड गर्न केही गाह्रो छैन ।

Tuesday, July 5, 2011

उले खायो खिर, मेरो भागमा पिर

आफ्नो हातमा जग्गाको असली लालपुर्जा छ भनेर ढुक्क हुन नमिल्दो रहेछ । मान्छेले कति दुख गरेर कमाएको धनले दुई चार धुर जग्गा जोड्छन तर त्यसमा अनेकको गिद्धे दृष्टी लागेको हुँदो रहेछ । बैंक भनेको हाम्रो भरोसाको केन्द्र हो । लाखौं करोडौ रुपैयाँ बैंकमा जम्मा गरेर हामी ढुक्कसँग निदाउँछौं । तर त्यही बैंकबाट गडबड भयो भने कस्तो होला भोग्नेलाई मात्र थाहा हुन्छ यो व्यथा । दिपकको कथा भित्र लुकेको छ त्यो व्यथा ।
नारायणगढ आँपटारीमा १५ वर्षअघि एक कठ्ठा चार धुर जग्गा किनेका दिपककुमार सिलवाल अहिले रुन न हाँस्नु भएका छन् । जग्गा किनेपछि उनले त्यसलाई बैंकमा धितो राखेर मौरी पालन पनि गरे । ऋण चुक्ता पनि गरेका हुन् । तर अहिले उनको जग्गा बैंक कै कारण रोक्का भएको छ ।
दिपकले लिएको ऋणका कारण जग्गा बैंकमा बन्धक भएको पनि होइन । उनले जोसँग किनेका थिए सोही जग्गा धनीले धितो राखेर लिएको ऋण नै चुक्ता नभएकाले बैंकले अहिले दिपकको नाममा पुगेको जग्गा रोकेर राखेको छ । पुरानो जग्गा धनीले बैंकको ऋण नतिरे पनि फुकुवाको कागज बनाउन सफल भएकाले मालपोतबाट जग्गा नामसारी सम्भव भएको थियो ।
'मैले वि.स.२०५३ साल जेठ ७ गते उमा पाठक बराकोटीको नामको एक कठ्ठा चार धुर जग्गा किनेको हुँ' दिपकले भने । उमाले आफ्नो नाममा रहेको दुई कठ्ठा जग्गा मध्येबाट दिपकलाई त्यो जग्गा बेचेकी थिइन् । बाँकी रहेको जग्गा निर्मला तिमिल्सेना र परशुराम अधिकारीले किनेका छन् ।
उमाबाट जग्गा किनेपछि दिपकले सो जग्गा कृषि विकास बैंक सुपरिवेक्षण तथा निरीक्षण कार्यालय भरतपुरमा वि.स.२०५५ साल असार २२ मा धितो राखेर मौरी पालनका लागि ४० हजार रुपैयाँ ऋण झिके । उनले त्यसको सावा ब्याज समेत गरेर विस. ०५८ साल पुस ४ गते ७० हजार रुपैयाँ चुक्ता गरे । धितोका लागि राखेको उनको जग्गा फुकुवा भयो ।
त्यसको एक वर्षपछि सो जग्गा बिक्रीका लागि राजिनामा पास गर्न उनी भरतपुरको मालपोत कार्यालय गए । त्यो बेला मालपोतमा मोठ भिडाउदा कर्मचारीहरुले जग्गा बैंकबाट रोक्का भएको जानकारी दिए । जग्गा कृषि विकास बैंक नारायणगढबाट रोक्का भएको सिलवाललाई भनियो । उनी छाँगाबाट खसे झै भए ।
सो जग्गा धितो राखेर उनले कृषि विकास बैंकको सुपरिवेक्षण तथा निरीक्षण कार्यालय भरतपुरबाट लिएको ऋण एक वर्षअघि नै चुक्ता भएको थियो । अरु कुनै बैंकमा उनले जग्गा धितो राखे कै थिएनन् नत धितो राख्नका लागि कसैलाई माजुरी नामा दिएका थिए । लिदै नलिएको ऋणको बारेमा सोधखोज गर्दा अचम्म लाग्ने तथ्य फेला पर्यो ।
'खासमा दिपक लगायत तीजनालाई जस्ले जग्गा बेच्यो उसले सो दुई कठ्ठा जग्गा यस बैंकमा धितो राखेर वि.स. २०५० साल चैत्र २२ मा ऋण लिएको हो । त्यो ऋण तिरेको यहाँ देखिदैन । तर जग्गा बिक्री भए छ' कृषि विकास बैंक नारायणगढ शाखाका वर्तमान शाखा प्रवन्धक शुभनिधी लोहनीले भने ।
बैंकले रोक्का रहेको जग्गा कसरी बिक्री भयो भनेर वि.स.२०५७ जेठ २३ गते मालपोत कार्यालयलाई पत्र लेखेको थियो । 'उमाले ऋण चुक्ता गरेको हुँदा जग्गा फुकुवा गरी दिनु' भन्ने पत्र बैंकबाट वि.स. २०५२ साल फागुन १८ गते आएकाले जग्गा फुकुवा गरेको जानकारी मालपोतले बैंकलाई पठाएको छ ।
'ऋण कत्ति पनि चुक्ता भएको छैन त्यस्तो पत्र गएको रहेछ' शाखा प्रवन्धक लोहनीले भने । त्यसपछि बैंकले वि।स. २०५८ साल पुसमा मालपोतमा अर्को पत्र पठाएर उमाले बेचे पनि किनेका सवै तीनजनाको जग्गा रोक्का गरेको हो । 'यो कार्यले हामी सरासर अन्यायमा पर् यौ' दिपकको गुनासो छ । उमाले जग्गा धितो राखेर १० लाख रुपैयाँ ऋण झिकेको बैंकले जानकारी दिएको छ । अहिले त्यो ऋण ४० लाख रुपैयाँ नाघेको छ । '
सो ऋण झिक्ने उमा कुनै सम्पर्कमा छैनन् । दिपक सहित निर्मला र परशुराम आफुलाई परेको अन्यायका बारेमा जानकारी गारउन कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा पटक पटक पुगेको छन् । तर बैंकले अझैसम्म निकास दिएको छैन ।
शाखा प्रवन्ध लोहनी भन्छन् 'ऋण नतिरे पनि जग्गा फुकुवाको कागज पठाउनेमा तत्कालिन शाखा प्रवन्धक जगदिश गङ्गोल र कार्यालय सहायक चिन्तामणि आचार्यको नाम देखिएको छ । दोषि पाइएमा उनीहरुलाई कारवाही गर्ने छौ ।' यी दुवैजानले अवकास पाइसकेका छन् । जग्गा किनेका तीनजना माथि अन्याय नै भएको र उनीहरुलाई निसाफ दिन केन्द्र्रीय कार्यालयले चासो लिएको लोहनीले बताए ।




Friday, July 1, 2011

चर्पीलाई पनि विशेश्वर

मैले नेपाली काँग्रेसले महामानव भन्ने गरेको विशेश्वरप्रसाद अर्थात वीपी कोइरलाको नै चर्चा गर्न थालेको हुँ । वीपीले १०४ वर्षीय जहानीया राणा शासन उखेल्न महत्वपुर्ण भुमिका खेले । उनी नेपालका निर्वाचित पहिलो प्रधानमन्त्री पनि हुन् । वीपी कस्ता व्यक्ति हुन मैले चिनाइ रहन आवश्यकता नै छैन । उनको मृत्यु उहील्यै भएको हो तर अझै लामो समयसम्म बाँच्ने छन् नेपालीको मन मनमा ।
वीपीले प्रजातन्त्रका लागि योगदान दिए । साहित्यलाई पनि हराभरा बनाए । अनि वीपीसँग यो चर्पी कसरी जोडिन आयो भन्नु होला त्यसको पनि म चर्चा गर्ने छु विस्तारमा । नेपाल सरकारले एउटा कार्यक्रम घोषणा गरेको छ जसको नाम छ गरिबसँग विशेश्वर । जिल्ला विकास समितिको स्थानीय विकास कोष मार्फत गरिवसँग विशेश्वर कार्यक्रम संचालन हुँदो रहेछ । कार्यक्रमको कस्तो प्रभाव छ त भन्ने हेर्न अनुगमन गर्ने टोलीमा बसेर एक दिन गाउँ घुम्न गइयो ।
मंगलपुर गाविसको वडा नं। ९ झनझनेमा रहेको माया नेपालीको सानो छाप्रोमा गइयो सुरुमा । मायाको उमेर त्यस्तै २५ वर्ष जति रहेछ । तर१० वर्षभन्दा कम उमेरका दुईजना भदासँग उनी बस्दी रहेछिन् त्यहाँ । सात धुर जग्गा उनको रहेछ जंगलको छेउमा । बाआमा भाइ श्रीमान सवै बितेका । बुहारी अरुसँगै बिहे गरेर हिडेकी । मायाको आफन्त भन्नु तिनै दुई साना भदा मात्रै ।
विपन्न र असाहयको त्योभन्दा अर्को रुप सायदै हुन्छ होला । अनि स्थानीय विकास कोषले सहयोग गरेर उनले यस पटक छाप्रो पछाडी खानेपानीको धारा गाड्न लागेकी रहिछन् । तर चर्पी अझै रहेनछ । सवैको घरमा शौचालय बन्यो भनेर खुला दिसा मुक्त क्षेत्र खुदिमुक्ष घोषणा भएको गाउँ हो त्यो तर मायाको घरमा चर्पी छैन त्यो पनि अर्को यथार्थ हो । आखिर मायाको घरमा मात्रै होइन रहेछ चर्पी नभएको ।
मायाकोभन्दा सय मिटर वरको अर्को घरमा गयौं हामी । त्यो घर राम्रो थियो । टिनले छाएको घर सानो भए पनि सिमेन्टले जोडेको इटको गाह्रो भएको थियो । पसल थियो त्यसमा एकजना महिलाले चलाएकी । २५ हजार रुपैयाँ ऋण लिएर दुई वर्षअघि पसल थापेकी राम्रोसँग चले छ एक वर्षअघि थप एक लाख ऋण झिकिछन् स्थानीय विकास कोषबाट । त्यसमा पनि ५० हजार रुपैयाँ चुक्ता भइसके छ । आहा कस्तो सफल कार्यक्रम सवैले प्रशंसा गर्न थाले उनको । कसैलाई शैच जानु पर्ने भए छ र शौचालयको सोधखोज भयो । तर त्यहाँ शौचालय रहेनछ । कम से कम प्यान सहयोग भए शौचालय बनाउने छु भनिन् ति महिलाले ।
माया जस्तो विपन्नले त्यस्तो आशा राख्नु खासै अस्वभाविक हुँदैन थियो तर यहाँ पैसा खेलाउन सिपालु मायाकी छिमेकी पनि कसैले प्यान सहयोग गर्ला र चर्पी बनाउँला भनेर बसेकी छन् खुदिमुक्ष गाउँमा । अनि एउटा कुरा प्रष्ट पारौं यहाँ शौचालय र गरिबसँग विशेश्वर कार्यक्रमको भने कुनै सम्बन्ध छैन । चर्पी र विशेश्वरको प्रतक्ष्य सम्बन्ध शुक्रनगर आएपछि भेटियो । अनुगमनको क्रममा पुरा शुक्रनगरमा जम्मा एक घरमा मात्रै पसियो । त्यहाँ पसेर पनि चर्पी मात्रै हेरेर फर्कियो ।
त्यो घरमा गरिवसँग विशेश्वर कार्यक्रमका लागि आएको पैसाबाट चर्पी बनेको रहेछ । भर्खर बनेको छानो पनि हाल्न नभ्याइएको चर्पी थियो त्यो ।यसो हेर्दा अनुमगनमा परेका मध्ये सवैभन्दा राम्रो खालको थियो त्यो घर । चर्पीका लागि विशेश्वर नै कुर्नु पर्ने अवस्थाको थिएन । तर किन हो विशेश्वर नै लाग्नु परेछ त्यहाँ चर्पी बनाउन ।