Sunday, February 27, 2011

पार्टीले पार्छ पत्रकारलाई पिरमा, लेलिनको लेख

पत्रकार महासंघलाई खुला चुनौति- यसो गर्न सक्छौ?

–लेनिन बञ्जाडे-

महासंघको विधानको परिच्छेद– ८ को ३० (ख) मा भनिएको छ, ‘महासंघका केन्द्रीय समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउनेछैन।’ मुलुकभरका शाखा वा एसोसियट्स पदाधिकारीमध्ये महासंघले एउटा त्यस्तो स्वतन्त्र नाम देओस्, जसले युनियन, चौतारी, क्रान्तिकारी वा प्रगतिशीलजस्ता भ्रातृ संगठनको सदस्यता नलिएको होस्। एउटा दलको जिल्ला समितिमा बहाल रहेका त्यस्ता व्यक्ति धेरै छन्, जसले भर्खरै सम्पन्न महासंघको अधिवेशनबाट पदाधिकारीको सपथ लिएका छन्। महासंघलाई यो खुला चुनौती हो– त्यस्ता पदाधिकारीको सदस्यता खारेज वा निलम्बन गरोस्।
कुनै जमाना थियो– पत्रकारको अघोषित पदवी पाउँदा धेरैको छाती गर्वले फुल्थ्यो, मानिसहरू आदर गर्थे। धेरै होइन– आधा दशकमात्रै भएको छ, पत्रकारिता पेसा यसरी घीनलाग्दो भइदिएको छ कि आमनागरिक हिजोआज पत्रकार बन्ने सपना बुन्दैनन्।

वाद र आस्था जे–जस्ता भए पनि रीत पुर्‍याएका हरेक पत्रकारहरू ‘छाता संगठन’ नेपाल पत्रकार महासंघसँग आबद्ध छन्। यो त्यस्तो संगठन हो, जोसँग आफ्नो छुट्टै विधान छ, छुट्टै कार्यशैली छ र सबैभन्दा महत्वपूर्ण– यसले सबै वर्ग र पक्षका पत्रकारको प्रतिनिधित्व गर्छ। श्रमजीवी व्यावसायिक पत्रकारको हकहित र क्षमता अभिवृद्धिको सारभूत उद्देश्य बोकेको यो संगठनको सदस्य हुनु सबैका लागि सहज छैन। त्यसैले पत्रकारिता गर्नेहरू यसको सदस्यताका लागि मरिहत्ते गर्छन्। तर, यही सदस्यता यो पंक्तिकारका लागि बोझ बन्यो। त्यसो त नेपालभरिका हजारौं सदस्यमध्ये एकजनाले सदस्यता त्याग्नुले कुनै अर्थ नराख्ला। तर, पछिल्लो समय महासंघ जसरी राजनीतिक दलको क्रिडास्थल बन्दै गएको छ र जसरी दलीय प्रतिनिधिहरू सगर्व छाती फुलाएर आफूलाई ‘पत्रकार’ बताउँदैछन्, यसले महासंघको सदस्य हुनुमा गौरवभन्दा आत्मग्लानी बढी छ।

‘महासंघभित्र व्यावसायिक पत्रकारहरू अल्पमतमा पर्ने खतरा छ, यस्तोमा राजीनामा दिई भागेर हैन, महासंघलाई विशुद्ध कमलजीवीको छाता संगठन बनाउनुतर्फ लाग्नु उत्तम हुन्छ,’ फेसबुक वालमा पोस्ट गरेको राजीनामा पत्रमा नेपालगन्जका जनक नेपालले प्रतिक्रिया लेखे, ‘शुद्धीकरण अभियानको असफलताको परिणाम हो तपाईंको राजीनामा।’

महासंघजस्तो व्यावसायिक पत्रकारहरूको नितान्त व्यावसायिक संगठनमा पछिल्लो समय देखिएको चरम राजनीतिक भागबण्डा, प्रत्यक्ष दलीय हस्तक्षेपलगायतका विविध कारणले अहिले पत्रकारहरूलाई हेर्ने आमजनधारणा सकारात्मक छैन। व्यावसायिक हित, मर्यादा र मूल्य–मान्यताको कसीमा उदाहरण बन्नुपर्ने पत्रकारहरूको यतिबिघ्न राजनीतिक लडाइँ पक्कै पनि ‘चौथो अंग’का लागि अभिशाप हो। दलीय आस्थालाई सर्वोपरि ठानी सोझै राजनीतिक दलका प्रतिनिधिको दबाबमा हुने कथित ‘सर्वसम्मति’ पक्कै पनि न्यायोचित हुन सक्दैन।

व्यावसायिकता प्रतिस्पर्धामा टिकेको हुन्छ र संगठनमा प्रतिनिधित्व पनि त्यस्तै प्रतिस्पर्धाबाट गरिनुपर्छ भन्ने आधारभूत लोकतान्त्रिक मान्यताबाट महासंघ अछुतो पक्कै छैन। महासंघका अनेकन जिल्ला र एसोसिएट शाखामा पछिल्लो पटक राजनीतिक भागबण्डा लगाएर जसरी पदाधिकारी चयन गर्ने प्रयास गरिएको छ, यसले समग्र व्यावसायिक र स्वतन्त्र पत्रकारिताको खिल्ली उडाएको छ र यसप्रति आमनागरिकले गर्व गर्न सक्ने ठाउँ बाँकी छैन। महासंघको नेतृत्व सक्षम नभएर हो वा ‘बहुदलमा यस्तै हो’ भन्ने मान्यताले हो– हिजोआज राजनीति अचाक्ली बढेको छ।

बिडम्बना मान्नुपर्छ– अधिकांश जिल्ला अधिवेशनमा स्थानीय राजनीतिक दलका नेताहरूको कोठेबैठकले महासंघका पदाधिकारी चयन गरेका छन्। कतिपय जिल्लामा कुनै राजनीतिक दलको सांगठनिक सदस्यता लिएको व्यक्ति मुख्य जिम्मेवार पदमा ‘सर्वसम्मत’ भएको छ। सर्वसम्मतको नाउँमा राजनीतिक भागबण्डा स्वीकार्य हुनुहुँदैन– कमसेकम चौथो अंगबाट। होइन भने तुलसी गिरी, टंक ढकाललाई ‘टीके’ भनेर गाली र आलोचना गर्नुको तुक छैन। माथि फर्केर थुक्दा आफैमाथि पर्छ।

महासंघको विधानको परिच्छेद– ८ को ३० (ख) मा भनिएको छ, ‘महासंघका केन्द्रीय समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउनेछैन।’ मुलुकभरका शाखा वा एसोसियट्स पदाधिकारीमध्ये महासंघले एउटा त्यस्तो स्वतन्त्र नाम देओस्, जसले युनियन, चौतारी, क्रान्तिकारी वा प्रगतिशीलजस्ता भ्रातृ संगठनको सदस्यता नलिएको होस्। एउटा दलको जिल्ला समितिमा बहाल रहेका त्यस्ता व्यक्ति धेरै छन्, जसले भर्खरै सम्पन्न महासंघको अधिवेशनबाट पदाधिकारीको सपथ लिएका छन्। महासंघलाई यो खुला चुनौती हो– त्यस्ता पदाधिकारीको सदस्यता खारेज वा निलम्बन गरोस्।

‘म पत्रकार हुँ’ भनेर परिचय दिँदा लज्जाबोध हुने अवस्था सिर्जना हुनुमा यी र यस्तै कारण जिम्मेवार छन्। ‘म युनियन, म चौतारी, म क्रान्तिकारी वा म प्रगतिशील’ भनेर परिचय दिनुमा आत्मसन्तुष्टि लिने त्यस्ता ‘पत्रकार’ र उनीहरूकै बहुबलमा संगठित भएको महासंघका लागि यो एउटा चुनौती हो। ‘म यो संगठनको’ भनेर महासंघमा जाने आँट कोही किन गर्छ?

‘राजनीतिक दलको झन्डा बोक्दै स्वतन्त्र पत्रकारिता गरेको धाक लगाउने त्यस्तो महासंघबाट राजीनामा दिनु बेस,’ फेसबुकमा काठमाडौंकी कृपा थापाले लेखिन्, ‘पत्रकार हकहितको कुरा गर्ने तर पत्रकारमाथि आक्रमण हुँदा विज्ञप्ति निकालेरै चित्त बुझाउने त्यस्तो नाममात्रको संगठनमा बस्नुको तुक छैन। पद पाउनु र नपाउनु ठूलो कुरा होइन, सबैभन्दा ठूलो कुरा निष्पक्षता र स्वतन्त्रता हो। सोर्सफोर्स र शक्ति–भक्तिकै भरमा चलेको महासंघबाट कस्तो निष्पक्षताको आश गर्ने? राजनीतिक दलको कार्यकर्ता बनेका व्यक्तिहरू महासंघमा हावी हुनुले राम्रो संकेत गर्दैन।’

भन्नेहरू भनिरहन्छन्, लेख्नेहरू लेखिरहन्छन्– संगठनभित्रै आन्तरिक संघर्षको विकल्प छैन। महासंघको शुद्धीकरणका लागि भागेर होइन, संघर्ष गरेर जित्नुपर्छ। यी कुरा मीठा लागे पनि वास्तविकता फरक छ। स्वतन्त्र र व्यावसायिक पत्रकारको प्रतिनिधित्व गर्छु भनेर उभिने हो भने महासंघका ‘मठाधीश’हरूले कुनै न कुनै प्यानल वा संगठनमा हुत्याउने गरेका उदाहरण अनेकन छन् र यो भोग्ने पत्रकारहरू थोरै पनि छैनन्। तैपनि विद्रोह गरेर स्वतन्त्र उभिइयो भने पनि थचार्ने प्रवृत्ति व्याप्त छ। महासंघका महाधिवेशन र अधिवेशनमा धेरैले धेरैपटक भोगेको यथार्थ हो यो। राजनीतिक आस्था नितान्त बेग्लै कुरा हो। कुनै पनि व्यक्ति यस्तो आस्थाबाट विमुख हुँदैन। तर, त्यही आस्थालाई कहाँ प्रयोग गर्ने भन्ने आत्ममूल्यांकन कम्तीमा एउटा पत्रकारले गर्नैपर्छ। होइन भने महासंघको भवनमाथि राजनीतिक दलका झन्डा राखे पनि केही हुँदैन, सम्पर्क कार्यालय खोले पनि फरक पर्दैन।

‘चरम राजनीतिक भागबण्डा र दलीय हस्तक्षेपले व्यावसायिक सञ्चारकर्मीहरू महासंघजस्तो संगठनबाट छेउ लाग्ने अवस्था आउँछ र पार्टी पत्रकारिता गर्ने कथित पत्रकारहरूको हालिमुहाली बढ्नेछ,’ अर्का पत्रकार महेश चौरसियाले फेसबुकमा यसरी प्रतिक्रिया लेखे। उनलाई साथ दिँदै विष्णु भट्टराईले थपे, ‘हामीलाई थाहा छ– महासंघमा पत्रकारभन्दा नेता बढी छन्। त्यसभित्रका बेथितिहरूलाई त्यहीं रहेर शुद्धीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो तर एकजनाको प्रयासबाट मात्र त्यो सम्भव छैन, सम्पूर्ण सदस्य एकजुट हुनैपर्छ।’

महासंघ केही सीमित पत्रकारहरूका लागि कमाउने भाँडो भएको आरोप स्वयं केन्द्रीय पदाधिकारीहरूले खेपिरहेका छन्। हुन पनि महासंघले प्रेस स्वतन्त्रता हनन्का एकाध घटनामा सडकमा नाराजुलुस गर्नेबाहेक केही काम गर्न सकेको छैन। प्रेस अभिव्यक्ति स्वतन्त्रताका वकालत गर्नु, श्रमजीवी पत्रकारको हकहितका लागि बोल्दिनु, व्यावसायिकतामा देखिएका विकृतीविरुद्ध बहस चलाउनु, पत्रकारहरूको वृत्ति विकासका लागि पहल गर्नु महासंघका प्रमुख काम हुन सक्छन् तर यी काम पेसागत मर्यादाभित्र अडेर महासंघले गर्न सक्नुपर्छ। महासंघलाई परियोजनामुखी भएको आरोप त्यसै लागेको छैन। पैसा आउँछ भन्दैमा अन्तर्राष्ट्रिय जगत्मा दातृ निकायको छवि उसको मनसाय नहेरिकन अघि बढिहाल्नु, पत्रकार मुछिएका वा पीडामा परेका घटनाको छानबिन, अवलोकन वा अन्य कुनै नाममा पदाधिकारीहरूले रकम कुम्ल्याउनुजस्ता विगतमा भएका कार्यले महासंघको छविमा आँच पुर्याएको कसैबाट छिपेको छैन। होइन भने पत्रकारद्वय सचेन गौतम पुष्प आचार्यले फेसबुकमा लेखेजस्तै हविगत महासंघले भोग्नुपर्छ, ‘महासंघ एनजीओ भइसक्यो, व्यावसायिक हुन सकेन, बरु ठगी खाने भाँडोजस्तो भएको छ। यस्तो कुनै व्यावसायिक मर्यादा नभएको पेसागत संगठनलाई राजनीतिक दलमा विलय गराए हुन्छ। …. यसको सदस्य बन्नुको कुनै अर्थ छैन। जबसम्म महासंघ सिन्डिकेटबाट मुक्त भएर ट्रेड युनियन हुँदैन, सदस्य बन्नु बेकार हो।

No comments:

Post a Comment