Wednesday, May 21, 2014

नचिनेकाले फोन नम्बर टिप्यो, धोका दिएर जेल हिड्यो

एफएम रेडियो जस्ता सार्वजनिक सञ्चार माध्यममार्फत् सहजै आफ्नो मोबाइल नम्बर सार्वजनिक गर्ने बानी छ भने विचार पु¥याउनु होला है !  यसो गर्दा युवतीहरु जोखिममा र युवकहरु जेल जाने खतरा देखा परेको छ ।
स्थानीय एफएममार्फत सार्वजनिक हुने युवतीका मोबाइल फोन नम्बर सुन्न यौनदुराचारमा लाग्नेहरु पनि कान ठाडा बनाएर बस्दा रहेछन् । चितवनमा भएको एक घटनाले यो कुरा पुष्टि गरेको छ । एफएम रेडियोबाट मोबाइल फोन नम्बर सार्वजनिक गरी अपरिचितसँग मित्रता गाँस्ने रहर गरेकी एक युवती दुराचारीको चंगुलमा परेकी छन् ।
चितवन जिल्ला अदालतले जेठ ५ गते सोमबार चितवन कोराक गाविस वडा नं. १ का सागर तामाङ भन्ने सिमसोम चेपाङले यौन शोषण गरेको ठहर गर्दै उनलाई दुई वर्ष कैद गर्ने फैसला सुनाएको छ । त्यस्तै यौन शोषणमा परेको भनेर उनी विरूद्ध उजुरी गर्ने युवतीलाई पनि चेपाङले ५० हजार रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसलामा उल्लेख छ ।
भरतपुरको एक एफएम रेडियोबाट सार्वजनिक भएको युवतीको नम्बर सुनेर सिमसोमले सम्पर्कको सुरूवात् गरेका थिए । अपरिचितलाई फोनबाट साथी बनाउने उद्देश्यले सञ्चालित कार्यक्रममा युवतीले नम्बर सार्वजनिक गरेकी थिइन् । फोनबाट सुरू भएको सम्पर्क विस्तारै भेटघाटसम्म पुगेको थियो ।
‘एक दिन फोन आयो तिमी कहाँ छौं भन्यो । म आफन्तको उपचार गराउन भरतपुरको मेडिकल कलेज आएकी थिएँ । मैले मेडिकल कलेजमा छु भने । ऊ त्यही भेट्न आयो । यसरी पहिलो पटक हाम्रो भेटघाट भएको थियो’ युवतीले अदालतमा दिएको बयानमा उल्लेख छ । भेटघाटपछि झ्याम्मिदै गएपछि सिमसोमले विहेको प्रस्ताव राख्न थाले ।
‘बिहे गर्ने मेरो चाहना थिएन । तर ऊ आफ्नो अडानमा कायम रह्यो’ अदालतमा दिएको बयानमा युवतीले भनेकी छन् । विसं. २०६९ सालको जेठ ५ गतेको भेटमा सिमसोमले पहिलो पटक विहेको कुरा गरेका थिए । त्यसपछि सोही वर्षको साउन १२ मा भएको अर्को भेटघाटमा पनि बिहेका लागि कर नै गरे । युवतीसँग सिमसोमले आफ्नो नाम सागर बताएका थिए ।
सिमसोमले नाम थरमात्रै होइन, ठेगाना पनि ढाँटेका थिए । उनले युवतीलाई आफ्नो घर इलाम भएको बताउने गर्दथे । यी सबै कुरा थाहा पाएपछि युवतीले सिमसोमका बारेमा थप बुझ्न थालिन् । त्यसपछि उनलाई सिमसोमले बिहेको आश्वासन दिएर आफूलाई यौन शोषणमात्रै गरेको पक्का भयो । युवतीले चासो दिन थालेपछि सिमसोम सम्पर्कविहीन भए ।
त्यसपछि युवतीले दिएको उजुरीका आधारमा विसं. २०६९ सालको भदौ ५ गते सिमसोमविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको हो । सो मुद्दामा सिमसोमसहित उनको सहयोगीका रुपमा असिमकुमार भन्ने प्रतिवादी रहेका छन् । असिम हालसम्म फरार छन् ।
सिमसोमको खोजीमा जुटेको प्रहरीले उनका बारेमा पत्ता लगाएको जानकारी पनि आश्चर्यजनक नै
थियो । मानव बेचबिखन तथा ओसार–पसारसम्बन्धी अपराधमा मुद्दा चलेका कारण सिमसोम विसं. २०६९ सालको असोज एक गतेदेखि लम्जुङ कारागारमा रहेको तथ्य पत्ता लगाएको थियो । लमजुङ अदालतले उनलाई चितवनको नभएर लमजुङकै घटनामा थुनामा राख्ने आदेश
दिएको थियो ।
लमजुङको सोे अवस्था र चितवनमा दायर भएको मुद्दामा संकलित प्रमाणका आधारमा सिमसोमले मानव बेचबिखन तथा ओसारपसार ऐनको दफा तीनको उपदफा एक र दफा चारको उपदफा दुईको ख अनुसार यौन शोषण गरेको ठहर्ने फैसला चितवन जिल्ला अदालतले गरेको हो । सिमसोम हाल लमजुङ कारागारमा नै रहेका छन् ।

Monday, May 12, 2014

कसरी उम्कन्छन् खाग तस्कर

यो पटक लामो समयको अन्तरालपछि चितवनमा सिकारीले गैंडा मारे । दुर्लभ वन्यजन्तु गैंडा मार्नु भनेको ठुलो अपराध हो । विस २०६९ सालको फागुन ५ गतेयता यस्तो अपराध भएको थिएन । गएको बैशाख १९ गते मध्यरातमा तस्करहरुले गोली हानेर गैंडा मारे । गैंडाको नाक माथि हुने सिंग जस्तो अंग खागका लागि तस्करहरुले गैंडा मार्छन् । यस पटक पनि खाग निकालेर छाडेको गैंडाको मृत शरिर निकुञ्जका अधिकारीहरुले घटनाको भोलि पल्ट मात्रै भेटाए । जब कि गैंडा मार्न गोली चलेको आवाज निकुञ्जमा तैनाथ सुरक्षा पोष्टमै सुनिएको थियो । चोरी सिकार विरुद्ध निकुञ्ज निकै आक्रमक रुपमा लागेको समय हो । यस्तो बेलामा पनि तस्करहरु सजिलै उम्के ।
      त्यसो त निकुञ्जमा तैनाथ सेनाको पुरानो गण हालै परिवर्तन भएको छ । त्यसैले नयाँ सुरक्षाकर्मीले मेसो पाउन सकेनन् कि भनेर पनि सोच्न सकिन्छ । तर गैंडा मारेपछि खाग लिएर तस्कहरु डाँडा कटेको घटना यो मात्रै होइन । प्रायस सिकारीहरुले गैंडा मारेर खाग उम्काएपछि सजिलै समातिन नसक्ने घटनाहरु अनेक छन् । गैंडा मारेपछि सुरक्षाकर्मीको सक्रियताका कारण खाग लैजान नपाएका घटना नभएका होइनन् तर त्यस्तो विरलै हुने गरेका छन् ।
    निकुञ्जले गैंडा मार्न ठिक्क परेकाहरुलाई बन्दुक र पासोसहित समाएका घटनाहरु बरु प्रशस्तै छन् । तर घटना भएपछि तत्काल अपराधीहरु किन समातिदैनन् ? यो चाही सोचनीय विषय बनेको छ । घटना भएको एक वर्ष, दुइृ वर्ष, चार वर्ष र १० वर्षपछि पनि मान्छे समातिने गरेका छन् । लगातार नौ, १० वटा गैंडा मारेर खाग उम्काएको अपारधी समाउन पनि निकुञ्जलाई दशक नै लाग्ने गरेको देखिएको छ । गैंडा मारेपछि तत्काल खागसहित कतिलाई समाउनु भएको छ भनेर सोध्ने हो भने अधिकारीहरुलाई नाजवाफ हुन गर्छन् ।
    अपराधीहरुलाई पछ्याउन निकुञ्जले आधुनिक विधिहरुको पनि प्रयोग नगरेको होइन  । तालिम प्राप्त कुकुरहरुको पनि उपयोग हुन थालेको छ । तर खाग लिएर कुदेका अपराधीहरुलाई समाउन अझै सफल्ता मिलेको छैन । निकुञ्जले यो पटक पनि तालिम प्राप्त कुकुर ल्यायो तर नतिजा उही खाली हात मात्रै भयो  । गैंडा, बाघ जस्ता दुर्लभ वन्यजन्तु जोगाउन राज्यले ठुलो लगानी गरेको छ । चितवन निकुञ्जमा मात्रै कुरा गर्ने हो भने पनि एउटा गण र एउटा अर्को गुल्मका गरेर झण्डै ११ सय सुरक्षाकर्मी गैंडा र बाघका लागि भनेर तैनाथ छन् । निकुञ्ज प्रशासनको पनि आफ्नो सुरक्षा र सुराकी संयन्त्र छ । हामी सर्वसाधरणले सुन्दा लाग्छ निकुञ्ज सुरक्षाको मजबुद किल्लाभित्र रहेको छ ।
    तर यो अभेद्य किल्लभित्र पनि चोरी सिकारी र तस्करहरु र्निे गर्छन् । अनि आफ्नो काम सकेर सजिलै बाहिर पनि आउँछन् र आफ्नो सुरक्षित गन्तब्यमा पनि सजिलै पुग्छन् । पहिला निकुञ्ज क्षेत्रबाट उम्केपछि समातिन गाह्रो पनि थियो । किन कि गैंडा मार्नेलाई समाउने भनेको निकुञ्जका मान्छे र त्यहाँ तैनाथ सेनाले मात्रै हो भन्ने जस्तै थियो । पछिल्लो समय प्रहरीले पनि तस्करहरु समाउन सक्रियता देखाएको छ । प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी) यो काममा लागेको छ  । सीआईबीको सक्रियताले धेरै पुराना पुराना नामुद सिकारी र तस्कहरुहरु गिरफ्तार भए । तर सीआईबीको सक्रियता सुरु भएपछि पनि गैंडा मारेर रगत चुहुदै गरेको खाग बोकेर हिडेका तस्करहरु समातिन सकेका छैनन् ।
    निकुञ्जका लागि तैनाथ सुरक्षा संयन्त्रले पहिलो काम गैंडा, बाघ लगायतका दुर्लभ वन्यजन्तुको सिकार नै हुन दिनु भएन । यो काममा धेरै हदसम्म सफल्ता मिल्दै पनि गएको छ  । तर घटना एपछि अपराधमा संलग्नहरु तत्काल समातिनु पर्छ । सुरक्षाका दृष्टीले यो प्रमुख सर्त हो । तर निकुञ्जको सुरक्षा संयन्त्र दोस्रो काममा भने असफल नै छ । यस्तो किन हुने गरेको छ ? निकुञ्ज प्रशासनले कहिल्यै विचार विमर्श गरेको छ कि छैन कुन्नी ?
    कुनै अपराधीले कसैको हत्या गरेमा हामी अन्य कुरा भन्दा पनि सवैभन्दा पहिले हत्यामा संलग्नहरु गिरफ्तार होउन भन्ने चाहन्छौं । प्रहरीले सवैभन्दा पहिले त्यस्ताको पहिचान गरोस उनीहरुलाई समाओस भन्छौं । अपराधमा संलग्नहरु तत्काल समातिएनन् भने हामी प्रहरी असफल भयो भन्छौं । अपाराधिक घटना हुनै नदिनु सवैभन्दा राम्रो । घटना भएपछि त्यस्मा संलग्नहरु तत्काल समातिनु पनि सुरक्षाकर्मीको सफल्ता मानिन्छ । यही कुरा वन्यजन्तु अपराधमा किन लागु हुँदैन ?
    हजारबढी सुरक्षाकर्मी र प्रशासन संयन्त्रलाइृ छक्काएर एकाध मान्छेहरु कसरी सफल भएका होलान ? हामी सर्वसाधरण र संरक्षणकर्मीहरु पनि यसरी घोत्लिने र सम्भावित कारणहरुका पत्रहरु केलाउने तर्फ पनि लागेका छैनौं । न त निकुञ्ज प्रशासनलाई नै कहिल्यै यसरी सोधेका छौं । अपराधीहरु खागका लागि लामो समयसम्म कुरेर पनि बस्दा रहेछन् भन्ने देखिएको छ । विस २०६७ सालयता वर्षमा फाट्ट फुट्ट गैंडा मर्न थालेका छन् । ६७ साल पुस १९, ६८ सालको चैत्र २०, ६९ सालको फागुन ५ पछि ७१ सालको बैशाख १९ मा तस्करहरु गैंडा मार्न सफल भए । पुरै ७० सालमा निकुञ्जका एउटा पनि गैंडा मरेनन् ।
    राज्यको सानो प्रयास र लागनीले यो सफल्ता मिलेको होइन । यस्तो सक्रियता बढेका बेलामा पनि एकाध घटना नहुने होइन । तर तत्काल अपराधी समाउन नसक्ने कमजोरीलाई सुधार्न निकुञ्ज प्रशासनको किन ध्यान नगएको हो ? यो पुरानो रोग हो । उपचार नखोजे रोग झनै बल्झेर गम्भीर खालका समस्याहरु ल्याउँछ । वर्षमा एकाध घटना मात्रै गराएर भए पनि तस्करहरु आफ्नो उस्थिती कायमै राख्ने योजनामा रहेको देखिएको छ । घटना गराएपछि समानसहित सजिलै उम्कदा उनीहरुको मनोवल बढेर जान्छ । गैंडा मारेको तत्कालै अपराधीहरु पनि समातिन थालेमा अवस्था अर्कै बनेर आउने छ ।  गोली चलेको आवाज सुरक्षा पोष्टहरुमा सुनिदा पनि तस्करहरु खाग बोकेर सुरक्षित तरिकाले निस्कन सक्छन् भने यो जस्तो कमजोरी अथवा लापरवाही अरु के हुन सक्छ ?
    एकाध घटना भएका भए त्यसलाई कमजोरी पनि भनेर नजरअन्दाज गर्न सकिन्थ्यो होला । तर विगतका थुप्रै घटनामा यस्तै भएको छ । तस्कर गैंडा नजिक पुग्न सक्यो भने गोली हान्छ खाग झिक्छ अनि खाग बोकेर उम्कन पनि सफल हुँदै आएको छ । यो क्रमलाई निकुञ्जले रोक्न सक्नु प¥यो । नभए निकुञ्जले लापरवाही गरेको छ है भन्ने बुझाइ निर्माण हुने छ ।  राज्यनै सिकार शुन्य बनाउन उच्च तयारीका साथ जुटेपछि उचित मौकाका लागि धैर्य गरेर बसेका तस्करहरु आफ्नो प्रयासमा सफल हुनुको रहस्य के हो ? निकुञ्ज प्रशासनले खोजविन गर्न आवश्यक छ ।
   

Thursday, May 1, 2014

पहिले मरेको भनेर उम्किए, अहिले सजायमाथि सजाय

ताञ्जिङ निमा लामा
गैंडा मारेको आरोपमा पहिलो पटक समातिदा साधरण तारेखमा छुटेका र पछि मरेको भन्ने कागजी प्रमाण जुटाएर मुद्दा नै बन्द गराउन सफल भएका एक व्यक्ति सोही काण्डमा फेरि समातिदा सजायमाथि साजाय पाउन थालेका छन् । छ  महिनाअघि १५ वर्ष जेल सजाय पाएका उनालाई फेरि १३ वर्ष कैद हुने फैसला भएको छ ।
स्थायी ठेगना तिब्बत भए पनि काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध फुलवारी बस्दै आएका ७० वर्षीय ताञ्जिङ निमा लामालाई चितवन निकुञ्जले अहिले एकपछि अर्को सजाय सुनाउन थालेको छ । गएको चैत्र २७ गते निकुञ्जले उनलाई गैंडा मारेको अभियोगमा १३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोक्यो ।
निमालाई गएको असोज १६ मा पनि चितवन निकुञ्जले १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । वन्यजन्तु अपरधमा हुने यो नै सवैभन्दा ठुलो सजाय हो । ६८ सालको असोज २९ देखि कात्तिक दुई गतेसम्म निकुञ्जले चोरी तस्कर विरुद्ध पक्राउ अभियान चलाएको थियो । निमा त्यही बेला समातिएका हुन् ।
त्योभन्दा आठ वर्षअघि पनि निमालाई निकुञ्जले समाएको थियो । तर त्यो बेला निमा निकै चलाखी पुर्ण तरिकाले मुद्दाबाट उम्केका थिए । निमा विस.२०६० साल बैशाख १९ गते नारायणगढ पोखरा बसपार्कको गुल्मेली होटलबाट हुम्लाका छिरिङ भन्ने दोग्लासहित समातिएका थिए ।
उनीहरुलाई निकुञ्जले जेठ १६ गते पुर्पुक्षका लागि थुनामा पठाइएको थियो । थुनामा राख्ने निकुञ्जको आदेशका विरुद्ध निमा र दोग्लाले पुनरावेदन अदालत हेटौंडामा निवेदन दिएपछि ६० साल भदौ १० गते उनीहरु धरौटीमा छुटेका थिए ।
‘सो आदेशले गैंडा मुद्दामा धरौटीमा छुटेको निमा विरुद्ध बाघको छालाको केश पनि थियो । जसका कारण फेरि समातेर मुद्दा चलायौं । प्रमाणले नपुगेपछि बाघको छाला केशमा उसलाई हाजिरी जमानिमा छाड्नु प¥यो’ चितवन निकुञ्जका तत्कालिन सहायक संरक्षण अधिकृत र अहिलेका प्रमुख कमलजंग कुँवरले सुनाए ।
गैंडाको खाग बिक्री व्यवसाय गरेको अभियोगमा अदातलबाट धरौटी र बाघको छाला कारोबार गरेको मुद्दामा हाजिरी जमानिमा छुटेका निमाको मृत्यु भएको भन्ने कागज निकुञ्जमा पेश भयो ।
‘इन्डियाको प्रभाइभेट क्लिनिकमा तान्जिङ निमाको मृत्यु भयो भन्ने डाक्टरी रिपोर्ट पेश भयो । तर लाशको फोटो, पोष्टमार्टमा रिपोर्ट र कुन रोगले मरेको हो केही उल्लेख थिएन’ कुँवरले भने ।
‘त्यसपछि मैले यथेष्ट प्रमाण नभएकाले थप प्रमाण पेस गर्न लगाउनु भन्ने तोक लगाए पनि तत्कालिन सुब्बा उत्तम खरेलले मान्छे मरेपछि अपराधको अन्त्य हुन्छ भन्ने लेखेछन् र वार्डेन शिवराज भट्ट सरले मुद्दा फैसला गर्दा सोही बमोजिम गरिदिनु भएछ’ कुँवरले लेखेको चर्चित पुस्तक ‘गैंडालाई चार वर्ष’ मा यस्तो विवरण उल्लेख छ ।
निमा पहिलो पटक समातिदा सहायक वार्डेन रहेका कुवँर दोस्रो पटक समातिदा भने चितवनमा थिएनन् । सो बेला चितवन राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की थिए ।
 निमा विरुद्धको पछिल्ला मुद्दामा दुवै पटक सजाय सुनाउँदा चाही प्रमुख संरक्षण अधिकृतको हैसियतले कुवँरले नै सजाय सुनाएका हुन् । विस २०६८ को असोज २९ देखि कात्तिक २ गतेसम्म १७ जना गिरफ्तार भएका थिए । स्थानीय सिकारीदेखि अन्तराष्टिय बजारमा खाग बेच्न लैजाने गिरोह नै समातिएको निकुञ्जको दावि थियो ।
अन्तराष्टिय बजारमा एउटा खागको मुल्य ३५ लाख रुपैयाँसम्म पर्ने सोही गिरोहको गिरफ्तारीपछि खुलासा भएको थियो । त्यो बेला समातिएका १७ मध्ये ११ जनालाई गएको असोजमा सजाय भएको थियो । सवैभन्दा धेरै सजाय पाउनेमा निमा एक्ला थिए ।
भारतको वाल्मिकी टाइगर रिजर्भमा गैंडा मारेर नेपालमा खागको कारोबार गरेको अर्को मुद्दामा चैत्र २७ गते उनलाई सजाय भएको चितवन निकुञ्जका सुचना अधिकारी टीकाराम पौडेलले बिहीबार निकालेको विज्ञप्तीमा उल्लेख छ । यो मुद्दामा निमासहित थप अर्को तिब्बती र दुईजना नेपालीलाई पनि सजाय भएको छ ।
गैंडा मारेर खाग बिक्री गर्ने काममा संलग्न भएको पुष्टि भए ५० हजारदेखि एक लाख रुपैयाँ जरिवाना या पाँचदेखि १५ वर्षसम्म कैद अथवा कैद र जरिवाना दुवै सजाय हुने कानुनी व्यवस्था छ ।