कात्तिक १७ गतको मध्यरातेदेखि मंसिर ३० गतेको मध्यरातसम्म चितवनको माडी क्षेत्रमा पर्ने गर्दी गाविसमा जंगली हात्तीले आक्रमण गर्दा चारजनाको ज्यान गयो । डेढ महिना भित्रै एकै गाविसमा यति धेरै मान्छेको ज्यान गएपछि अहिले यो घटना राष्ट्रव्यापी चर्चामा छ । तर चितवन राष्ट्रिय निकुञ्ज आसपासका गाउँमा जंगली जनावरको आक्रमणको घटना नौलो भने होइन ।
यस पटकको हात्ती आक्रमणको चर्चासँगै केही गम्भिर विषय भने जन्मेको छ । त्यो हो जंगली जनावरको सधै त्रास रहने निकुञ्ज नजिकका गाउँमा जनावरको आक्रमणबाट मानिसहरुलाई जोगाउन कुनै भरपर्दो ठोस पहल नगरे ज्यान लिने जनावर मारी हाल्नु पर्छ भन्ने माग उठि रहन सक्छ । जुन कुरा संरक्षणका दृष्टीले निकै घातक हुने छ ।
वर्षेनी १० भन्दा बढीले ज्यान गुमाउँछन् चितवन राष्ट्रिय निकुञ्ज विस २०३० सालमा स्थापना भएको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज विश्व मै दुर्लभ मानिएका एक सिंगे गैंडा, पाटो बाघ लगायतका वन्यजन्तुको मुख्या वासस्थल पनि हो । यी जनावरहरु निकै ह्रिसंक पनि हुन्छन् । त्यस्तै भिमकाय जनावर हात्ती पनि पानी र आहारका लागि चितवन निकुञ्जमा विचरण गर्छ ।
|
विस २०६७ साल पुसमा जंगली हात्तीले आक्रमण गरेर ज्यान गुमाएका माडी अयोध्यापुरीका सुकराम सुनारको किरिया बसेका छोराहरुको फाइल फोटो । |
निकुञ्जसँगै जोडिएका बस्तीहरु छन् । त्यसैले जनावरको आक्रमणमा पर्न जंगलै छिर्नु पर्दैन गाउँ मै आएका जंगली जनावरले स्थानीयको ज्यान लिने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट प्राप्त जानकारी अनुसार विस २०६८ सालको साउनदेखि ६९ सालको असारसम्म जंगली जनावरले मान्छेमाथि आक्रमण गरेका ३३ घटना छन् । जसमा दुईवटा घटना मात्रै निकुञ्ज भित्र भएका छन् ।
यी घटनाहरुमा १३ जनाको ज्यान गएको र २० जना घाइते भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । चितवन निकुञ्ज भित्र गत वर्षको चैत्रमा बाघको आक्रमणमा परेर पटिहानीका किसान महतोको ज्यान गएको थियो । त्यस्तै पटिहानी कै नरबहादुर मगरलाई गएको बैशाखमा निकुञ्ज भित्रै गैंडाले हानेर मारेको थियो । यो बाहेकका सवै घटना निकुञ्ज बाहिर भएका छन् ।
बदेल र भालुको आक्रमणमा परेर फाट्ट फुट् मान्छे नमरेका होइनन् तर मान्छेकै ज्यान लिने गरेर आक्रमण गर्ने जंगली जनावरको सूचिमा बाघ, गैंडा र हात्ती नै रहेको छ । यो वर्ष हात्ती आक्रमण चर्चामा छ । तर दुई वर्षअघि विस २०६७ सालको साउनदेखि ६८ सालको असारसम्म जंगली हात्तीले हान्दा चितवन निकुञ्ज आसपासका गाउँमा बस्ने १० जनाको ज्यान गएको थियो ।
चितवन निकुञ्जका रेञ्जर बिष्णु थपलिया भन्छन् ‘त्यो आर्थिक वर्षमा जंगली हात्तीले १० जना मारेको थियो भने गत आर्थिक वर्ष २०६८÷०६९ मा दुईजनालाई मारेको थियो ।’ यो वर्ष भदौमा जंगली हात्ती गाउँमा देखा परेको थियो । माडीको गर्दी र चितवनको पुर्वी सिमना पिप्ले गाविसमा हात्तीले धान खान थाल्दा यो पटक हात्ती आतंक यो हदसम्म जाला भनेर सायदै कसैले सोचेको थियो ।
माडी गर्दी गाविस वडा नं. १ अमेलिया गाउँका ६५ वर्षीय अमरबहादुर थापा मगरलाई विस २०४४ सालमा भालुले आक्रमण गरेको थियो । त्यो बेला उनको दाहिने आँखा गुमेको थियो । उनै अमरबहादुरलाई कात्तिक १७ गते मध्यरातमा घरको पिढिबाटै हात्तीले तानेर छातिमा कुल्च्यो । यस पटक उनको ज्यान जोगिएन ।
पुर्वभन्दा पश्चिम क्षेत्र असुरक्षित ः
निकुञ्जबाट निस्केका जनावरहरुले ज्यान लिने घटना निकुञ्जको पुर्वी क्षेत्रभन्दा पश्चिम क्षेत्रका गाउँमा बढी देखिएको छ । अघिल्लो आर्थिक वर्षको तथ्याङकलाई आधार मान्ने हो भने पनि कुल ३३ घटनामध्ये छवटा घटना मात्रै पुवी क्षेत्रका छन् । त्यस्तै ज्यान गुमाउने १३ मध्ये दुईजना मात्रै पुर्वी क्षेत्रका छन् ।
चितवन निकुञ्जको मुख्यालय कसराभन्दा पश्चिममा क्षेत्रहरुमा गैंडा धेरै रहेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की बताउँछन् । संरक्षण शिक्षाका लागि समुदायमा जागर फैलाउने काममा सक्रिय हुँदै आएका चितवन निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादवको अनुभव पनि त्यस्तै छ । नेपाल भर ५३४ र चितवन निकुञ्जमा मात्रै ५०३ वटा गैंडा छन् ।
‘अहिले पश्चिममा धेरै गैंडा छन् । जंगलबाट निस्केर गाउँमै जान्छन् । उखुबारीमा गैंडा आएर बच्चा जन्मायो भन्ने खवर समेत मलाई बेला बेलामा आउँछ । यसरी गैंडा बाहिर आउँदा आक्रमणका घटना हुने नै भए’ यादवले भने । नवलपरासीको नारायणी, कवासोती, पिठौली, दुम्किवास, कोल्हुवा गाविस र चितवनको जगतपुर, मेघौली गाविसमा गत वर्ष गैंडाले हानेर १२ जना घाइते भए ।
निकुञ्ज मुख्यालय कसराबाट प्राप्त विवरणमा गैंडाले हानेर पुर्वी क्षेत्रका जम्मा दुईजना मात्रै घाइते भएको देखिन्छ । गत वर्षको फागुन १९ गते पुर्वी चितवन रत्ननगर नगरपालिका वडा नं. ७ का सावित्री देवकोटा र शिशिर रेग्मीलाई गैंडाले आक्रमण गर्दा घाइते भएका थिए । यो एक दिनको घटना बाहेक पुर्वी चितवनमा गैंडा आक्रमणको घटना दोहरिएन ।
पुर्वमा गैंडा कम मात्रै भएको होइन भएका गैंडा पनि जंगलबाट गाउँमा नपसोस भन्नका लागि विद्युतीय तारबार ठाउँ ठाउँमा गरिएको छ । त्यसैले आक्रमणका घटना कम भएको हुन सक्ने अधिकारीहरुको अनुमान छ । नारायणी नदीसँग जोडिएका पश्चिमका गाउँहरुमा त्यसरी विद्युतीय बार लगाउन सम्भव पनि छैन । त्यसैले गैंडा गाउँमा छिरेको छ ।
बाघको आक्रमण नदी आसपासमा ः
बाघले आक्रमणका घटना नारायणी नदी आसपासमा क्षेत्रमा बढी हुने गरेका छन् । गत वर्ष बाघको आक्रमणमा पाँचजनाको ज्यान गयो । जसमध्ये चारजना नदी आसपासका गाउँलेहरु छन् । मृतकमध्ये तीनजनालाई माछा मार्न लागेको बेलामा बाघले नदी मै आक्रमण गरेको थियो । यो वर्ष अहिलेसम्मको एक मात्र बाघ आक्रमणको घटना पनि नदी आसपासमा भएको छ ।
गत वर्षको भदौ ११ गते पश्चिम चितवन मेघौली वडा नंं ३ का ५० वर्षीय बिष्णुबहादुर कुमाललाई बाघले मा¥यो । डुंगामा बसेर नदीमा माछा मार्न लागेका बेला उनीमाथि बाघले आक्रमण गरेको चितवन निकुञ्जले जानकारी दिएको छ । त्यस्तै यही जेठ २७ गते नवलपरासीको रजहर वडा नं. ७ का हिराबहादुर माझीलाई बाघले नदीमै आक्रमण गरेर ज्यान लियो ।
मुकुन्दपुर गाविसको वडा नं. ९ मा पर्ने नारायणी नदीको तीन भंगालो भन्ने ठाउँमा माझीलाई बाघले आक्रमण गरेको थियो । माझीको ज्यान गएको हप्ता दिन बित्दा नबित्दै सोही भंगालोमा बाघले फेरि आर्को आक्रमण ग¥यो । असार ३ गते एका बिहानै सो ठाउँमा बाघले आक्रमण गर्दा माछा मार्न आएका प्रगतिनगर वडा नं. १ का ५४ वर्षीय देवीबहादुर बोटेको निधन गएको थियो ।
नदीभन्दा बाहिर गत बैशाख १२ गते मेघौली गाविस वडा नं. ५ की ३५ वर्षीया राधा भण्डारीलाई स्थानीय सदाबाहार मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेर मारेको थियो । सो ठाउँ निकुञ्जलाई छोएर बग्ने अर्को ठुलो नदी राप्ती नजिक । नदीभन्दा टाढा गत चैत्र २३ मा बाघको आक्रमणमा परेर पटिहानी गाविस वडा नंं २ का २१ वर्षीय किसान महतोको ज्यान गएको थियो ।
यो वर्ष पनि नदी आसपासमा बाघको आक्रमण सुरु भएको छ । यही भदौ १३ गते मेघौली गाविसको वडा नं. २ का ५० वर्षीय दिलबहादुर कुमालको बाघको आक्रमणमा परेर ज्यान गएको छ । ‘केही वर्षयता मेघौली र यस आसपासका गाउँ जो नारायणी नदीसँग जोडिएका छन् त्यहाँ बढी बाघको आक्रमण हुने गरेको छ’ चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले भने ।
चितवन निकुञ्ज नेपालमा बाघको मुख्य बासस्थल हो । नेपाल भर कुल १५५ वटा बाघ रहेकोमा १२५ वटा बाघ चितवन निकुञ्जमा नै छन् । निकुञ्ज भित्र बाघलले खाने आहार प्रजातिका चित्तल, बदेल कम हुँदै गएपछि बाले मान्छेको सिकार गर्न थाल्छ ।
सुरक्षा र राहतको प्रवन्ध ः
जंगली जनावरलाई बस्तीमा आउन रोक्न उनीहरुलाई चाहिने पर्याप्त आहारको व्यवस्था निकुञ्ज भित्रै मिलाउनु पर्छ । त्यसका लागि निकुञ्जमा पर्याप्त घाँसे मैदान हुनु पर्छ । तर केही वर्षयता घासे मैदानको क्षेत्र निरञ्तर खुम्चदै गएको छ ।
|
मंसिर ३० गते मध्यरातमा हात्तीले आक्रमण गर्दा ज्यान गुमाएका माडी गर्दी गाविस वडा नं. ९ द्रोपतीनगरका वृद्धदम्पत्तिको लाश कुर्दै उनका छोराहरु । |
यसरी आउने जनावरलाई रोक्न नियन्त्रित रुपमा विद्युत छाडेर गरिएको विद्युतीय तारबार (इलेक्ट्रीक फेन्स) ले केही हदसम्म काम गरेको छ । जसको सिको गर्दै विजुली नै नभएको माडी क्षेत्रमा सौर्य ऊर्जाबाट चल्ने इलेक्ट्रिक फेन्स राखिएको । एक किलो मिटरको एक लाख रुपैयाँ खर्च गरेर माडीमा ३८ किलो मिटर इलेक्ट्रिक फेन्सगरिएको छ । तर प्रभाव राम्रो परेन ।
विषेश गरेर जंगली हात्तीलाई तारबारले कुनै असर नगरेको माडी गर्दी गाविसमा रहेको पाँचपाण्डब मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष यमकान्त भुषालको भनाइ छ । पुर्वी चितवनमा गत वर्ष निधन हुने दुईजना पनि हात्ती कै आक्रमणमा परेका थिए । चितवन माडीका चार गाविस र पर्साको ठोरीमा हात्तीबाट जोगिने उपाएका बारेमा गाउँलेलाई प्रशिक्षित पनि नगरेको होइन ।
निकुञ्जका पशु चिकित्सक डा.कमल गैरेका अनुसार हात्ती रक्सीको गन्धमा आकर्षित हुन्छ । केराका रुख खान रुचाउँछ । कमजोर खालका घरहरु भत्काउने र त्यहाँ बसेका मान्छेलाई पनि हान्ने मार्ने गर्छ । हात्ती प्रभावित क्षेत्रमा बस्नेहरुले यस्ता कुरा ख्याल राख्न आवश्यक छ । तर व्यवहारमा यस्ता कुरा लागु हुन सकेका छैनन् ।
चितवन निकुञ्जले वर्षमा १० करोड रुपैयाँको हाराहारीमा आम्दानी गर्छ । त्यसको आधा रकम मध्यवर्ती समितिहरुलाई जान्छ । निकुञ्जसँग जोडिएका गाउँलेहरुलाई समेटेर मध्यवर्ती उपभोक्ता समिति गठन हुन्छ । समितिले सो रकमबाट संरक्षण र विकास मुलक कार्यक्रमका साथै वन्यजन्तुको आक्रमणमा परेकाहरुलाई उपचार र राहत खर्च गर्ने व्यवस्था गरेको हुन्छ ।
वन्य जन्तुको आक्रमणमा परेर घाइते हुनेले उपचार वापत बढीमा ५० हजार रुपैयाँ पाउने व्यवस्था छ । त्यस्तै मृतकका परिवारले एकजना मृतकको डेढ लाख रुपैयाँ राहत पाउँछन् । सो रकम पाँच लाख पु¥याउनु पर्ने आफुहरुको माग रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियार बताउँछन् ।
सरकारले तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । तर पुर्ण वजेट नआउनाले निर्णय कार्यन्वयन हुन सकेको छैन । चितवन निकुञ्जमा केही वर्षयता वन्यजन्तुको संख्या लगातार बढेको छ । त्यस्तै घुम्न आउने पर्यटकको संख्या र निकुञ्ज छेउछाउमा बस्नेहरु पनि बढेका छन् । तर जनावरको वासस्थान व्यवस्थापन र स्थानीयको सुरक्षाका बारेमा पर्याप्त चासो र कार्यक्रमहरु भने छैनन् ।