कान्दा अचेल संचारमाध्यममा धेरै आउने चितवनको एउटा विकट गाउँ हो । सो गाउँमा च्याउ खाएर आठजनाको निधन हुँदा बरु त्यत्ति चर्चामा आएको थिएन । सो गाउँमा विस २०६७ साल असार ३ गते पहिलो पटक पुगेर लेखेको समाचार हो यो । यस पटक कान्दा पुगेकी सावित्री सापकोटालाई उ बेलाको कान्दा जान्न मन लागे छ र मलाई पुरानो समाचार खोजी दिन अनुरोध गरिन । पुरानो समाचार पढ्दा म पनि दङ खाए । वास्तवमा कान्दा अहिले धेरै फेरिएको छ ।
‘खर्च नभएकाले किरिया पनि गरेको छैन’
रमेशकुमार पौडेल,
कान्दा (चितवन), असार ५ ।
दायाँ बयाँ रहेका साना छाप्रामा बाच्छी सहितको एउटा गाई र केही सँगुरहरु छन् । मान्छे बस्ने बीचको घरको दैलोमा सानो ताला झुण्डीएको छ । खानका लागि जंगलबाट खोजेर ल्याएको दुईवटा डोकोमा राखेको कन्दमुल गिठ्ठा उम्रेर डोको बाहिरै लहरा निस्केको छ । जंगली च्याउ खाएर परिवारका आठजनाको निधन भएको सो घर अहिले उराठ लाग्दो छ ।
गाडीबाट ओर्लेपछि लगातार १२ घण्टा पैदल हिडेर पुगिने चितवनको लोथर गाविस वडा नं ९ को कान्दा गाउँमा रहेको सो घरको आडैमा कान्दा खोला सुस्याएको सुनिन्छ । नजिकै उच्च पहाड छ । त्यो घरको आँगनमा बस्दा मान्छेको आवाज र अरु घरहरु देख्न मुस्किल छ । त्यहाँबाट १५ मिनेट हिडेपछि देविमाया चेपाङको घर आउँछ ।
देविमाया कान्दाका ६५ वर्षीय बाबुराम चेपाङकी तीन मध्येकी जेठी श्रीमती हुन् । बाबुराम माइली श्रीमती मतीमाया सहित दुई छोरा,दुई बुहारी, दुई नातिनी र नौ महिने एक नातीसहित देविमाया बस्नेभन्दा तलकोे घरमा छुट्टै बस्थे । उनै बाबुरामले जंगलबाट ल्याएर पकाएको च्याउ खादा सानो नाती बाहेक बाबुरामको परिवारको सवै आठजनाको निधन भयो ।
देवमाया अहिले १५ वर्ष भएको छोरो सन्त्बहादुर सहित अलग्गै भान्सा गरेर बसेको १० वर्षभन्दा बढी भयो । उनले भनिन् ‘म त तल बेसीमा बसेको थिएँ । फागुनमा बुढाले किन टाढा बस्छेर हिड् आडैमा घर बनाइ दिन्छु भनेर बैशाखमा यहाँ आए । आखिर च्याउ खाएर सवै नासिए ।’ कम्म्रमाथि आङमा कपडाको नाममा घागो पनि नलगाएकी उनले भनिन् ‘उनीहरु सवै मरेर गए । मलाई आपत थपियो । पैसा नभएकाले किरिया पनि गर्न सकिएन ।’
जेठ १४ गते शुक्रबार बाबुरामको परिवारले च्याउ पकाएर खाएको थियो । त्यसको हप्ता दिन भित्र जेठ २२ गते शनिबारसम्म आठजनाको ज्यान गएको हो । बाबुराम उनकी श्रीमती र कान्छी नातिनीको गाउँमै निधन भयो । भरतपुर अस्पतालमा उपचारका बेलामा बाबुरामका जेठा छोरा पूर्णबहादुर पूर्णबहादुरकी श्रीमती र उनीहरुको जेठी छोराीको मृत्यु भयो ।
बाबुरामका माइला छोरा जीतबहादुरको सवैभन्दा पछि उपचारका क्रममा काठमाडौंमा ज्यान गएको हो । जीतबहादुरकी श्रीमतीले पनि भरतपुर अस्पतालमै प्राण त्यागेकी हुन् । संगोलमै रहे पनि सानो भएकाले च्इाउ नखाएका नौ महिने बालक सन्सरबहादुर मात्रै अहिले जिवित छन् । उनलाई भरतपुरको एसओएस बालग्रामले आश्रय दिएको छ ।
पहाडी भिरालो बाटोबाट उपचारका लागि हिँडाएर भरतुरसम्म ल्याउँदा लगभग २४ घण्टा लागेको थियो । उपचारमा ढिलाई भएकाले कलेजोमा असर भएर उनीहरुलाई बचाउन नसकेको चिकित्सक डा.विजय पौडेलको भनाइ छ । काठमाडौंमा मृत्यु भएका जीतबहादुरको मात्रै आर्यघाटमा दाहसंस्कार भयो । भरतपुर र गाउँमा मरेका सवैलाई खाल्टोमा गाडियो ।
‘कान्दा खोलाको तिरमा लगेर जलाउने गर्दथ्यौं । त्यहाँ पु¥याउन दुई घण्टा लाग्दथ्यो । बोक्ने मान्छे नभएर घरभन्दा केही पर लगेर बुढाबुढीको लाशलाई नजिक नजिक खाल्डो खनेर पु¥यौं’ कान्दाका ४५ वर्षीय सिताबहादुर चेपाङले बताए । भरतपुर अस्पतालमा मृत्यु भएका चारजनालाई नारायणीको किनारमा गाडेको स्थानीय शिक्षक बालकृष्ण थपलियाले बताए ।
कान्दा गाउँमा ३८ घर छन् । नजिक नजिकमा कुनै घर छैनन् । डाडा र कोप्चेरामा अलग अलग घर बनाएर मान्छेहरुले बस्ने बासको जोहो गरेका छन् । उपचारका लागि बिरामी बोकेर झण्डै १२ जना भरतपुर झरेपछि गाउँमा मलामीको समेत संकट परेको हो ।
किरिया उम्काउन सुँगुर काट्ने, जाँड बनाउने, पाहुना भेला गरेर मरेकाहरुले मन पराएका चिजहरु खुवाउने गर्नु पर्छ । यसका लागि चाहिने खर्च छैन भन्छिन् देविमाया । ‘नुन आफैले फुकाए्र खान थालेकी छु । किरिया उम्काउने आँट भने आएन’ उनले भनिन् । यो असरा भित्र जसरी पनि किरिया नउम्काइ हुँदैन । यो कुराले उनलाई निकै पिरोलेको छ ।
‘किरिया नगरेकाले होला साह्रै तस्राउन थालेको छ । साँझ पर्न हुँदैन बुढाले दाउरा चिरेरको र बुहारीहरुले घाँस काटेको देख्ने गरेको छु । साह्रै डर मात्रै लाग्छ अचेल’ उनले आफ्नो समस्या सुनाइन् । पहाडी पखेरोमा बस्ने गरेकाले चेपाङहरुलाई वर्षभरी खान निकै कठिन छ । आर्थिकरुपमा पनि उनीहरु निकै कमजोर छन् । चेनताको पनि अभाव छ ।
‘खाने कुराको अभावले नै च्याउ खानु परेको हो’ स्थानीय कानबहादुर चेपाङले बताए । उपचारको लागि गाउँकै धामी झाक्रीको भर पर्छन् । च्याउ खाएर थला पर्न लागेपछि उनीहरुलई कुकुरको र सुँगुरकोु दिसा पानीमा घोलेर खान दिइयो । गर्भवती आईमाई खोजेर नाध्न लगाइयो । टुमुर र खरानी घोलेर ख्वाइयो । तर अस्पताल हिडाउने विचार कसैले गरेनन् ।
‘शुक्रबार च्याउ खाएछन् आएतबार दिउँसो तीन बजेसम्म दुईजनाको ज्यान गएपछि यहाँ राखेर हुँदैन । भरतपुर जाउँ भनेर मैले निकै कर गरेपछि बल्ल उनीहरुले अस्पताल देख्न पाए’ स्थानीय शिक्षक थपलियाले बताए । उनै शिक्षकले विरामीलई काठमाडौंसम्म पु¥याए । बाँचेको एकजना बालकलाई बालग्राममा राख्न पहल गरे ।
यो बाहेक राज्यको तर्फबाट विकटका विपन्न चेपाङलाई सहयोग गर्न अझैसम्म कोही तयार छैन । घटना स्थलको मुचुल्का गर्न चितवनको भण्डाराबाट आएर प्रहरी टोली बैशाखसम्म देविमाया बस्ने गरेको बेसीको घरसम्म आएर फर्के छ । घटना स्थल त्यहाँबाट झण्डै डेढ घण्टा पर छ । ‘सर नभएको भए च्याउ खाएर यत्रा मान्छे मरेको खवर यही गाउँमै गुपचुप हुन्थ्थ्यो’ स्थानीय सीताबहादुर बताउँछन् । गाउँमा च्याउ खाएर यसरी मान्छे मरेको कसैलाई सम्झना छैन । तर अन्न सकिएर गिठ्ठा र कन्दमुलको भर पर्नु पर्ने बेलामा फेरि च्याउ टिपेर खाने सम्भावना उत्तिकै छ । त्यसैले यस्तो घटना दोहरिने हो कि भन्ने त्रास गाउँमा छ ।
अहिलेलाई अरु गाउँले भन्दा पनि बढ्ता शोकमा घर अलग बनाएर बसेकी बाबुरामकी जेठी श्रीमती देविमाया नै छन् । मरेर जाने बाबुरामकी माइली श्रीमती मतीमाया पनि देविमायाको आप्mनै बहिनी हुन् । ‘एकजना बतिलो बचेछ । अरु सवै गए । त्यो बतिलोलाई पनि कता हो राखेर रे । खै गएर भेट्न पाइँछ पाइँदैन । त्यो गाउँ कहिले आउने हो । आएको दिन भगवान नै गाउँ पसे जस्तै हुने थियो’ देविमायाले एसओसएमा आश्रय पाएको सानो नाति सम्झदै आँशु झारिन् । बाबुरामकी कान्छी श्रीमती कोपीमायाको धेरै वर्षअघि निधन भएको थियो । मर्ने छोराहरु कोपिमायाकै सन्तान हुन् । बाबुरामसँग सगै बस्ने माइली मतिमायाका कुनै सन्तान थिएनन् ।