
हामी शहरको कोलाहलबाट,
भीडको अभेद्य आवाजबाट ,
एक दिन एक साँझ छुट्टिएर,
यो एकान्त भूमिमा आएका छौं ।
हामी तिमी सित एकेक भएका छौं, चूपचाप तिमी हामी भित्र ,
बहादुर शाहको ऐतिहासिक स्मरण भएका छौं ,
फोटो जस्तै ।
यी हरफ सुनाउनु भन्दा आधा घण्टा पहिले सर्जक प्रकाश सायमीले चितवनको पुरानो सदरमुकाममा रहेको उपरदाङगढीको पर्खालबाट पश्चिमी र उत्तरी क्षितिजलाई लगभग १० मिनेट नियालेका थिए । समुन्द्री सतहबाट १२७५ मिटर उचाईको त्यस ठाउँमा उनी सहितका ३३ जना साहित्यकारहरुले सुनाएका सिर्जनाहरु सवै 'स्थलगत उत्पादन" थिए ।उपरदाङगढी प्राकृतिक सुन्दरताले जसरी छोपिएको छ वेवास्ताको पर्दाले पनि उसै गरेर ढाकिएको छ । त्यो पर्दा उघार्नेप्रयास केही सयम यता तिब्र रुपमा चलेको छ । वि।स. २०१४ सालसम्म चितवन जिल्लाको सदरमुकाम रहेको उपरदाङगढीको पर्यटकीय महत्वलाई जनमानससम्म पुर् याउने जमर्कोमा चितवनको सिनर्जी एफएम पनि लाग्यो ।
जे थियो जस्तो थियो संस्कार यहाँ ,
मैले मिठो स्वाद लिएँ आटो गढीको ।
यो हिमाल यो पहाड यो ढुंगा यो माटो ,
स्वर्ग भनु जस्तै लाग्यो साटो गढीको ।
गढीको वातावरण र जनजीवनले युवा गजलकार भावना पाठकलाई यो तहसम्म मोहित बनाएछ । गजलका सेरमा गढीको बखान हुने क्रम यत्तिमै थामिएन । समूहमा जे जति थिए ती मध्ये उमेरमा काँचो देखिन्थिन दिपिका अधिकारी । डेढ सताब्दी अघि बनेको गढी र त्यस वरपरकॊ परिवेशको बखानमा उनले खर्चेको गजलको अन्तिम सेर यस्तो थियो ।
कसरी उठाउँ म, बस्यो दिल गढीमा,
सम्हाल्दा सम्हाल्दै, खस्यो दिल गढीमा ।
धेरैले चितवनका भनेर चिन्ने तर नवलपरासीको गैंंडाकोटमा बस्ने पाका कवि गोविन्दराज विनोदीको रचान सुनाउने पालो अन्तिम अन्तिममा थियो । झण्डै १५ मिनेट अगाडी पुरा भएको उनका हरफमा गढीको यस्तो प्रभाव झल्किएको थियो ।
देखे जव तिमीलाई मुस्कुराइ दियौ तिमी ,
उपरदाङ दिलै भित्र झलमलाई दियौ तिमी ।
सिनर्जी एफएमले आपुनो आठौं वार्षिकोत्सवको सुरुवात कात्तिक १८ गते शुक्रबारबाट गर्दै थियो । पहिलो कार्यक्रम थियो स्रष्टालाई गढी पुर् याउने । त्यसका भोगाइहरुलाई शनिबार बिहान रचना मार्फत व्यक्त गर्ने । भरतपुरबाट बसमा एक घण्टा यात्रा गरेर शक्तिखोर गुपेपछि अनि सुरु भयो पैदल मार्च । साढे तीन घण्टे पैदल यात्रामा अढाई घण्टा ठाडो उकालो चढ्नु परेको थियो ।
कुनै बेला हामी हिँडेका बाटाहरुमा पनि ,
सपना हिँड्दथे हामी जस्तै ठाडो उकालो ।
चुहाउँदै पसिना हाम्रा जस्तै तपतप तपतप ।
अघिल्लो दिनको चढाइलाई यसरी उतार्ने काम गरेका हुन् हैटौंडाबाट आएका कवि साम्ब ढकालले । गढीको सुन्दरता एकतर्फ छँदै थियो त्यहाँको भौगोलिक विकटताको यथार्थता पनि पस्कन थाले साहित्यकारहरुले । चितवनका प्रगतिवादी सर्जकहरुले गढी र यसले चर्चेको गाउँ माथि अन्यायनै भएको उद्घोष गरे ।
बग्दै गरेको समयले,
तिम्रो बेँसीलाई सभ्य सहर बनाइ दिएको छ ।
र तिमीलाई एउटा अपायक कुनामा छाडेर,
तिम्रो अध्यारो प्रति उपहास गर्दै ,
वैभवको उज्याले बाँचन खोज्दै छ त्यो सहर ।
कवि सरिता तिवारीले वि.स. २०१४ सालअघिको सदरमुकाम गढी र १८ सालमा सदरमुकाम भएको भरतपुरको तुलना आपुना रचनामा यसरी व्यक्त गरिन् । रातको अध्यारोलाई चिर्न गढीमा मट्टि तेलको टुकी बाहेक केही छैन । जवकी त्यहाँबाट पश्चिममा पर्ने भरतपुर बिजुलीमा नुहाएको प्रष्टै देखिन्छ । कवि पोषराज पौडेलले पनि आफ्नो रचनामा सौन्दर्य बखानलाई होइन विद्रोहलाई नै महत्व दिए ।
ए हरिया जंगल ,
ए गाउँ ए वेंसी ,
किन चुपचाप वसि रहेछौ ?
किन सुति रहेछ चेपाङ ?
झुपडी न चिच्याइकन ।
उत्तर तर्फका हरिया थुम्काहरुलाई शिर मान्ने हो भने सेता हिमाललाई त्यसको टोपी भन्नु पर्ने हुन्छ । दाँया बाँया गाढा हरियो डाडाहरु नै छन् तर त्यता सेतो हिमालको लहर भने छैन । दक्षिणमा भिरालो पहाड होंचो हुँदै गएर हरियो जंगल र मैदानी वस्तीमा टुंगिएको छ । अनि वरिपरी चेपाङ र गुरुङका साना साना झुपडीहरु देखिन्छन् । गढीको यो परिवेसले कविहरुलाई जे जसरी प्रभाव पार् यो त्यो नै रचनामा प्रकट भए ।
No comments:
Post a Comment