
चितवन धादिङ मकवानपुर र गोरखाका पहाडी पखेरामा बस्ने चेपाङ नेपालको अल्पसंख्यक आदिवासी समुदाय हो । धेरै चेपाङले पाखो र भिरालो जमिनमा खोरीया फाँडेर खेती गर्ने चलन त्यागेका छैनन् । त्यस्तो ठाउँको उब्जनीले खान नपुग्ने र अरु पेशा व्यवसायमा पनि नलाग्ने हुँदा उनीहरुको जीवन साह्रै कष्टकर छ । जयबहादुर चेपाङ जेरी पसल धानेर बस्ने आफ्नो समुदायको एक दुईजना भित्र पर्छन् । वि.स. २०५८ सालको जनगणना अनुसार देशभर चेपाङको जनसंख्या ५२ हजारको हाराहारीमा भए पनि आफै पेशा व्यवसाय गर्ने चेपाङहरु औलामा गन्न सकिने अवस्थामा छन् । दुःख परेपछि बाँच्ने उपाय खोज्न थाल्दा उनलेले यो बाटो पत्ता लगाएका हुन् ।
'के गर्ने ५२ सालमा त्यस्तो बेथाले समायो । यहाँको हेल्थपोष्टको उपचारले मात्रै नभ्याउने रहेछ" जयबहादुरले पुराना दिन कोट्याउन थाले । कुष्टरोग भयो भने समाजमा नराम्रो मानेर हेर्ने चलन थियो । त्यसमाथि कमाइ र जेथा नभएका चेपाङलाई उपचारका लागि बाहिर जानु पर्ने कुरा सुन्दा दुःखको पहाडले थिचेझै भयो । उनी ५४ सालमा उपचरका लागि पोखराको हरियो खर्क पुगे । त्यँहा चार महिना बस्दा शरीरको स्वरुप अर्कै भयो । सवै उपचार निःशुल्क थियो । पैसा नभएका कारण उपचारै नपाइ मर्ने भइयो भन्ने लागेका जयबहादुर निःशुल्क उपचराले स्वस्थ भएर घर फर्के । तर ज्यानमा पहिलाको जस्तो फुर्ति भने नभएको अनुभव उनले गरे ।
'पहिलाको जस्तो हात गोडा चलाएर खान सकिएला जस्तो लाग्न भने छाडेको थियो" जयबहादुरलाई यो कुराले सताइ रहेका बेला किराना पसल राखे पाँच हजार सहयोग गर्ने एउटा संस्था निस्कियो । जुन कामका थाल्न उनले कुनै बिलम्ब गरेनन् । चेपाङ समुदायले नै नगरेको जेरी पकाउने काम भने उनले केहीपछि सुरु गरेका हुन् । 'जेरी बनाउने काम सजिलो होइन । पिठो तयार पार्न त्यत्तिकै गाह्रो घुमाउन पनि जान्नु पर्ने फेरि गुलियो पनि भर्नु पर्ने" जयबहादुरले सुरुको झण्झट सम्झिए । आपुनो पसलबाट झण्डै १५ किलोमिटर टाढा पर्ने रत्ननगरको टाँडी बजारका पसलमा जेरी बनाएको हेरेर र केही कुरा सोधेर उनले यो काम आँटेका हुन् ।
माओवादी लडाकुहरुको बेथान स्मृति बि्रगेड बसेको गैरीबारी जाने बाटोको चोकमा उनको पसल परेकाले व्यपार मौलाएको छ । 'त्यस्तै हो भिडभाड बढ्यो जात्रा मेला लाग्यो भने दिनकै १५ सय तीन हजारको व्यपार हुन्छ । अरु बेला पाँच सय हजार" जयबहादुरले पसलबाट हुने आम्दानी सुनाए । जयबहादुरको हजुरबा वि.स.२००६ सालमा त्यस ठाउँमा आएका हुन् । उति बेला आएका धेरै चेपाङ अहिले शक्तिखोर जस्तो तुलनात्मक रुपमा विकसित ठाउँमा नभइ पाखा पखेरामै फर्केका छन् । त्यति बेला ओगटेको जमिन धेरै चेपाङले जोगाउन सकेनन् । जयबहादुरको भागमा परेको १० कठ्ठा मध्ये चार कठ्ठा चोइटि सकेको छ । 'पसल नभएको भए जग्गा कत्ति पनि रहने थिएन । खर्च धान्नका लागि सवै भ्याएर भिर तिरै लाग्नु पर्दथ्यो । तर जेरीको कमालले त्यस्तो हुन पाएन" चारचार छोरा र छोरी गरेर आठ सन्तानका धनी जयबहादुरले लामो हासोसँगै कुराको बिट मारे ।
No comments:
Post a Comment