
तर भड्डु शब्द नबुझ्ने त्यत्ति धेरै छन् जस्तो मलाई लाग्दैन । भड्डु भनेको कसौडी हो । कसौडी भनेको प्राय नेपालीलले बुझेकै हुन्छ । कसौडी क्षेत्रीय शब्द हुँदै होइन । भड्डु र कान्छी शिर्षक राखेर आज ब्लगमा नेपालको कुनै गाउले जन जीवन बखान गर्न खोज्यो होला भन्ने तपाइँहरुले अनुमान लगाइ राख्नु भएको होला । तर कुरा त्यसो पनि होइन । म आज अपराधिक दुनियाको कुरा गर्न गएरहेको छु । हिजो साउन २१ गते शुक्रबार दिउँसो एक बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन थियो । कार्यालयका प्रहरी उपरीक्षक एसपी पुष्पचन्द्र रंजित बोल्दा बोल्दै केही सुस्ताएको बेला नायव प्रहरी उपरीक्षक डीएसपी रविराज खड्काले भने हामीले कान्छी र भड्डुलाई पनि समात्न सक्यौं ।
यो सुचनाले सवैले अन्दाज लगाउछन् प्रहरीले कुनै गाउँबाट कान्छी भन्ने एउटा महिललाई कसौडी अर्थात भड्डु सहित समात्यो । विचरीले के गरेकी रहिछ र कान्छीलाई कसौडी सहित नै प्रहरीले ल्याए छ भन्ने पनि केहीले ठान्दा हुन् । तर भड्डु र कान्छीको साझो अर्थमा धाराणा बानाउन थाल्दा सवै अनुमान फेल खान्छ । प्रहरीले भड्डु र कान्छी उपनाम भएका दुईजना नामुद गुण्डा केटाहरुलाई पो समातेको रहेछ । यमबहादुर कार्कीले आफ्नो उपनाम कान्छी राखेका रहेछन् । उनको घर भरतपुर नगरपालिकाको कडा न ९ मा रहेछ । त्यस्तै भरतपुर नगरपालिका बडा न ११ बस्ने कुमार गुरुङले आफ्नो उपनाम भड्डु राखेका रहेछन् । यी रहेछन् चितवनको अपराध दुनियाका साँडेहरु ।
प्रहरी नायव उपरीक्षक खड्का भन्दै थिए मान्छे काट्दै भाग्नमा उनीहरुले रेकर्ड कामय गरेका छन् । ज्यान मार्ने प्रयास गरेको थुप्रै मुद्दा चितवनमा मात्रै हो र काठमाडौंमा समेत चलेको रहेछ । केही अपराधमा उनीहरुले सजाय समेत पाएका रहेछन् तर सधै फरार । समातिनै नसकेका कान्छी र भड्डुलाई पक्रन पाउँदा चितवन प्रहरी किन दंग नपरोस । यी दुईले गत चैत्र २० गते भरतपुर नगरपालिका वडा नं। ११ का राजेश कुमाललाई पनि खुकुरीले काटेका रहेछन् । सख्त घाइते राजेश धन्न धन्न बाँचेछन् । अनि चितवन प्रहरी रन्थनिएर उनीहरुको पछि लागेको रहे छ । उही साउन १५ गते जुटपानीको वडा नं ८ लंकालाइनबाट प्रहरीले उनीहरुलाई कब्जामा लिएछ । त्यति बेला पनि यी दुईको साथमा खुँडा थियो भन्छन् खड्का ।
अपराधिको पहिचान बनाएका दुइजनालाई समात्दा प्रहरी मख्ख पर्ने नै भयो । तर यस्ता नामुद गुण्डाहरुले आफ्नो नाम किन होला कान्छी र भड्डु राखेका । कान्छी भनेको नेपाली समाजमा सोझी लजालु र मायालु युवतीको विम्ब हो । भड्डु त दालदेखि भातसम्म पकाएर मान्छेको उपकार गर्ने जिनिस हो । गुण्डाहरुले आफ्नो चरित्रभन्दा विपरित अर्थ आउने उपनामहरु किन राखे होला न खै । सायद शब्दको मर्म थाहा नभएर नै होला । त्यस्तो शब्दको मर्मसँग खेल्न सक्ने भएको भए सायद उनीहरु अपराधको संसारमा नै आउने थिएनन् होला ।
No comments:
Post a Comment