

आफ्ना दुईवटा शैक्षिक प्रतिष्ठानमा पढ्ने विद्यार्थीलाई उनले न्यानो कपडा संकलन गर्न लगाएछन् । चइनराङका ती बालकको बिजोग देखेर जयराजले गर्न थालेको कपडा संकलन अभियानबाट यति पोशाक जम्मा भएछ कि ती बालक पढ्ने शक्तिखोर भिउरानको सिद्ध राप्रावि सवैलाई लगाउन पुग्ने भएछ । बालबालिका मात्रै हो र अभिभावकले समेत पाउने भएछन् कपडा । कपडाको पोका गाडीमा राखेर प्रा डा आचार्य शुक्रबार चितवन आए । एउटा खुट्टो सानैमा पोलियोले छोएको हुँदा अलि खोच्चाउँदा रहेछन् । बृद्ध नै भइसकेका । स्कुलनै पुग्छु भन्छन् । शक्तिखोरदेखि उत्तरमा एउटा डाँडाको टाँकुरोमा छ स्कुल । फेदसम्म गाडी गए पनि त्यहाँबाट हिड्न आचार्यलाई आफ्ठेरो हुने हो कि भन्ने लाग्यो मलाई ।
संयुक्त राष्ट्र संघदेखि क्युवा लगायतका देशमा नेपालको राजदूत भइसकेका आर्चायले आफ्नो कार्याकालमा भोगेका एक दुई घटना सुनाउँदा नसुनाउँदै शक्तिखोर आइपुग्यो । कतै कुनै नेपालीलाई आफ्ठेरो परेमा नेपालीले नै सहयोग गर्नु पर्छ सहयोग गर्न सकिने अवस्था पनि छ भन्ने कुराको उदाहरण दिदा उनी आफ्ना अनुभवहरुलाई पस्कने गर्दथे । भिउरान चढ्ने टाँकुराको फेदमा पुगेपछि बुढा आर्चाय फटाफट बाटो लागे । हामी बरु त्यो उकालो चढ्न आत्तियौं । बस्दै थकाइ मार्दै उक्लियौं स्कुलसम्म । हामीभन्दा निकै पहिलो पुगेर आर्चाय विद्यालयले टकारेको कुर्चीमा बसि सकेछन् । कपडा बाड्न मान्छे आउँदै छन् भन्ने सुनेका गाउँलेहरु स्कुलमा जम्मा भइ सकेका थिए ।



No comments:
Post a Comment