
बाघ होटल पार्क साइडको कम्पाउण्ड भित्रको झाडीमा बसेको थियो । 'बिहान साढे पाँच बजे उठेको एक्कासी विरालो कराएको जस्तो ठुलो आवाज आयो । माथि गएर हेरेको अजंगको बाघ पो रहेछ " होटलको पर्खालसँगै घर जोडिएकी प्रमिला पाण्डेले बताइन् । केही बेर कराउँदै यता उता गरेको बाघ पछि झाडीमा बस्यो ।
निकुंजका कर्मचारीहरु नौ बजे आएर सुरुमा आसापासको क्षेत्रमा सेतो कपडाको घेरा बनाए । सेतो कपडाको घेरो बाघले ननाघ्ने हुँदा मान्छे भएको क्षेत्रमा बाघ पसेर बितण्डा नगरोस भन्नका लागि त्यसो गरेको बाघको आनिबानीका बारेमा जानकार विष्णु लामाले बताए । निकुंज मुख्यालय कसाराबाट टोली आउँदा १० बज्यो ।
सो टालीले बाघलाई लठ्याएर डार्ट गरेर नियन्त्रणमा लिने निर्णय गर् यो । 'बाघ अलि अशक्त जस्तो लाग्यो । त्यसै जंगल लखेट्न उपयुक्त नहुने ठानेर डार्ट गरेर नियन्त्रणमा लिने र अशक्त भए उपचार गरेर छाड्ने निधो गरको हौं" निकुंजका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताए ।

डार्ट गर्नका लागि टोली निस्कन निकै समय लाग्यो । त्यो बेलासम्म होटलमा बाघ भेटिएको खवर वनको डढेलो झै पुरै सौराहामा फैलिएको थियो । अग्ला घरहरुमा बसेर पर्यटक र स्थानीय सर्वसाधरण समेत बाघको एक झल्को पाउन मरिहत्ते गरेको देखिन्थ्यो । पर्यटकका स्तरीय डिजिटल क्यामरादेखि क्यामरा भएका मोवाइल फोनको सामान्य सेट पनि बाघ तर्फ सोझिन्थे । तर बाघको आधा शरीर झाडीमा बिलाएको थियो ।
बाघको झलक नपाए पनि हेर्ने उत्सुकताले सौराहा भरी मान्छेको भिड लाग्यो । डार्ट गर्ने बेलामा निकुंजका कर्मचारीले माइकबाटै परपर जान आग्रह गर्नु पर् यो । सौराहाका धेरै घरमा आज बिहान भात पाकेन । बच्चा बच्चि स्कुल जान पाएनन् बाघ पसेको पार्क साइड होटलका कर्मचारी राधा श्रेष्ठले बताए । उत्सुकताले सवै होटलमै झुम्मिएका थिए ।

No comments:
Post a Comment