भार्लाङ हेर्दा तरुल जस्तै हुन्छ तर यो बिषलु चिज हो । यसको बिष मार्न २४ घण्टा सम्म पकाउनु पर्ने धमिलेका सुनबहादुर चेपाङ बताउछन् । पकाउदा आकाशको ताराले देख्यो भने पनि बिष मेटिदैन भन्ने उनीहरुलाई लाग्छ । त्यसैले राम्रोसँग पातले छोपेर पकाउने गर्छन । यो भार्लाङ पनि त्यती सजिलै पाईदैन । जंगलमा निकै दुख बेहोरेर खोज्नु पर्छ । चितवन मकवानपुर धादिङ र गोरखा जिल्लाको पहाडी क्षेत्रमा चेपाङहरु बस्छन् । पाखा पखेरामा खोरीया फाँडेर उनीहरु प्रायले मकै र कोदो मात्र रोप्छन् । नयाँ बाली भदौमा स्याहार्ने गर्छन् । तर त्यसले छ महिना पनि खान नपुग्ने चेपाङहरु धेरै छन् । घरको अन्न सकिए पछि डोकोकुटो र खन्ती लिएर कन्दमुल खन्न वन पस्छन् ।
वि.स.२०५८ सालको जनगणना अनुशार नेपालमा चेपाङहरुको जनसंख्या ५२ हजार २३७ छ । नेपाल चेपाङ संघका पूर्व अध्यक्ष पहलमान चेपाङ आफ्नै उब्जनीले छ महिना पनि खान नपुग्ने चेपाङ ६० प्रतिशत रहेको बताउँछन् । वर्ष भरी खान पुग्ने चेपाङ चार प्रतिशत मात्र छन् । यी बाहेकका चेपाङहरुलाई तीन महिना पनि पुग्दैन । चेपाङहरु आय आर्जन तर्फ पनि त्यत्ती सकि्रय भएको पाईदैन । गाउँ छिमेक छाडेर कमाउन टाढा विदेश जानेहरुपनि कमै छन् । गाउँमै मिहेनत मजदुरी गर्दा हुने सामान्य आम्दानीले धेरै किन मेल गर्न सक्दैनन् । त्यसैले उनीहरु सस्तोमा थोरै अन्न बेसाहाएर त्यसमा गिठ्ठा भ्याकुर थपी छाक घचेटी रहेका हुन्छन् ।
वनबाट ल्याएको गिठ्ठा पातलो गोलो चाना बनाई काट्छन् अनि खरानी पानीमा १२ घण्टा पकाउछन् । गिठ्ठाको पातलो चाना एक पल्ट पानी उम्लिदैमा पाक्छ तर त्यसमा हुने तितो र टर्रो पन हट्न लामो समय लाग्ने सनबहादुर बताउछन् । उनी भन्छन् 'छाक टार्नै यस्तो दुःख गर्नु पर्छ हाम्रो बाँकी जीवनको अवस्था कति नाजुक होला तपाई आफै सोच्नुहोस ।" राजधानीकको नजिक सुगम जिल्लामै बस्ने चेपाङहरु यस्तो दुरावस्थामा छन् भन्ने कुरा धेरैलाई पत्यार पनि नलाग्ला तर यीनीहरु मध्ययुगीन जिवन शैलीमा रुमलीन बाध्य छन् ।
धमिलेका ८५ बर्षीय ज्ञानबहादुर चेपाङको अनुभव छ 'एक जमानामा नयाँ मान्छे देख्दा डराएर भाग्ने जात हामीनै हो अचेल डर त लाग्दैन तर उ बेला र अहिलेको हाम्रो दुःख भने जस्ताको तस्तै छ ।" यो समुदायलाई भनेर सरकारले वि.स.२०३३ साल देखिनै प्रजा विकास कार्यक्रम चलाउँदै आएको छ । विकासे संघ सस्थाले पनि काम गरिरहेका छन् । तर अझै पाखा पखेरा नछाडेका चेपाङहरुको जीवन बदलिएको छैन ।
No comments:
Post a Comment