Friday, August 9, 2013

तस्करले बाघ नमारोस्,बाघले मान्छे नमारोस्

बैशाख २६ मा गीतानगरमा एकै दिन दुईजनाको ज्यान लिएको पाटे बाघ
यो पटकको बाघ दिवस साउन १४ गतेका दिन चितवन, काठमाडौँ र बर्दियामा विशेष कार्यक्रम भए । गएको माघदेखि जेठसम्म भएको बाघ गणनाको नतिजा सो कार्यक्रममा सार्वजनिक गरियो । तराई क्षेत्रको रौतहटदेखि कञ्चनपुरसम्मका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, जैविक मार्ग, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रहरुमा भएको गणनाले कतै बाघको संख्यामा केही सुधार भएको, कतै केही घटेको, कतै ह्वात्तै बढेको देखायो । समग्रमा देशभर बाघको संख्या बढेको पाइयो । चार वर्षअघि वि.सं. २०६६ सालमा सार्वजनिक भएको तथ्याङ्कअनुसार नेपालभर १२१ बाघ थिए । यसपटक १९८ पुग्यो ।
सरकारले आउँदो नौ वर्षभित्र अर्थात् सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या २५० को हाराहारीमा पु¥याउने लक्ष्य राखेको छ । सन् २००९ मा भेटिएका भन्दा सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने काम असम्भवै त नहोला, तर चुनौतीरहित भने पक्कै छैन । नेपालमा सबैभन्दा बढी बाघ पाइने क्षेत्र चितवनमा बसेर नियाल्दा यो लक्ष्यको मुख्य तगारो भनेको चोरीसिकार र मानवमाथि बाघको बढ्दो आक्रमण देखिन्छ ।
चितवन निकुञ्जमा सन २००९ मा भएको गणनामा ९१ वटा वयस्क बाघ भेटिएका थिए । त्यसका आधारमा चितवनमा अधिकतम १४७ वटा बाघ रहेको अनुमान थियो । त्यसको एक वर्षपछि चितवन निकुञ्जको चुरे क्षेत्रमा मात्रै बाघको अनुगमन गर्दा ३४ वयस्क बाघ फेला परेका थिए, जसका कारण चितवनमा १२५ वयस्क बाघ रहेको निकुञ्जले जानकारी दिएको थियो । तर, यस पटक चितवनमा न्यूनतम ९८ देखि अधिकतम १३९ र औसत अर्थात् कुल १२० बाघ रहेका छन् । सन् २००९ मा भएको गणनामा ९१ र त्यसको एक वर्षपछि चुरेमा भएको अनुगमनमा फेला परेका ३४ गरी कुल १२५ वयस्क बाघभन्दा यस पटक पाँचवटा कम बाघ फेला परेका छन् ।
चितवनमा बाघ घटे वा बढेभन्दा पनि मानवमाथि लगातार हुने गरेको आक्रमण चिन्ताको विषय बनेको छ । गएको आर्थिक वर्षमा चितवन निकुञ्जआसपासका क्षेत्रमा जंगली जनावरको आक्रमणमा परेर १६ जनाले ज्यान गुमाएको निकुञ्ज प्रशासनले जानकारी गराएको छ । बाघ दिवसका दिन चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार त्यसरी मर्नेमध्ये आधा अर्थात् आठ जनालाई बाघले नै आक्रमण गरेको छ ।
योभन्दा अघिल्लो आर्थिक वर्षमा बाघका कारण चार जनाको मृत्यु भएको थियो । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणमा परेर मर्ने कोही पनि थिएनन् । अर्थात्, शून्यबाट चार अनि आठ गरेर मान्छेहरु मरिरहेका छन् । सन् २०२२ सम्म बाघ दोब्बर बनाउने लक्ष्य पूरा होला वा नहोला, तर बाघको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या दोब्बर भइसकेको छ । त्यसैले, यो ज्यादै चिन्ताको विषय हो । स्थानीयमाथि जनावरले गर्ने आक्रमण नरोकिए संरक्षणप्रति उनीहरुलाई उत्प्रेरित गर्न गाह्रो हुन्छ । स्थानीयको जागरूकता र सक्रिय सहभागिताबिना संरक्षण कार्य प्रभावकारी बन्दैन ।
स्थानीयमाथि बाघको आक्रमण किन बढ्दो छ ? यसप्रति ध्यान दिन आवश्यक छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्ण भुर्तेलको अनुभवमा बाघको आहारा निकुञ्जमा घट्दो छ । अहिले भएको गणनाले पनि यो कुरालाई पुष्टि गरेको छ । बाघ धेरै पाइने चितवन निकुञ्ज, बर्दिया निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमध्ये बाघको आहारा प्रजातिको सबैभन्दा कम घनत्व चितवन निकुञ्ज क्षेत्रमा नै छ ।
चितवन निकुञ्जआसपासमा मध्यवर्ती सामुदायिक वनको राम्रो विकास भएको छ । राम्रो घाँस पाइने भएका कारण जरायो, चित्तलले बथान बढाएका छन् सामुदायिक वनहरुमा । जरायो, चित्तल भएको ठाउँमा बाघ आउने नै भयो ।
आहारा खोज्दै आउने बाघ र घाँसदाउरा लिन मध्यवर्ती वन पस्ने गाउँलेहरुबीच जम्काभेट बढ्न थालेको हो भन्छन् भुर्तेल । बाघले धेरै दुःख दिने मेघौली क्षेत्रका बासिन्दा हुन् उनी । संख्या बढाउने योजनामा लागेको सरकारले निकुञ्जभित्रका घाँसे मैदानको अवस्था सुधारेर बाघको आहारा प्रजातिका जनावरहरु चित्तल, जरायोको संख्या बढाउन सुझाव दिन्छन्, भुर्तेल । बाघ निकुञ्जभन्दा बाहिर नआउने उपायको खोजीमा लाग्नु उत्तम हुने उनको भनाइ छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको भनाइलाई आधार मान्ने हो भने बाघको आनीबानी थाहा पाउने हो भने उसको आक्रमणबाट जोगिन सकिन्छ । तर, उसको आनीबानी के–कस्तो हो, सिकाउने कसले ? बस्तीमा लगातार बाघ आक्रमणका घटना बढिरहँदा स्थानीयलाई सचेत बनाउने विषयमा सरकारले अहिलेसम्म कुनै कार्यक्रम गरेको भोग्न तथा सुन्न पाइएको छैन । स्थानीयलाई असुरक्षित बनाएर संरक्षणमा फलदायी काम गर्न सकिन्न भन्ने कुरा सरकारले बेलैमा बुझ्न आवश्यक छ ।
बाघ संरक्षणको अर्को चुनौती यसको चोरीसिकार नै हो । गैँडा मारेर खाग मात्रै लैजान्छन्, अजङको शरीर त्यसै छाड्छन् । त्यसैले, तस्करले मारेको गैँडाको सूचना बाहिर आउँछ । बाघको बारेमा अप्ठ्यारो के हो भने यसका रौँ, हड्डी, छालादेखि लगभग सबै अंगप्रत्यंग बिक्री हुने भएकाले तस्करले मारेको बाघको अवशेषसम्म राख्दैनन् । त्यसैले, बाघको सिकार कति भयो भनी पत्ता लगाउन गाह्रो हुन्छ । तर, सिकार भई नै राखेको हुन्छ ।
बाघ मार्न प्रयोग हुने पासोसहित समातिएका एक व्यक्ति
तस्करहरु कति चलाख छन् भन्ने कुरा बर्दियामा भएको घटनाले नै पुष्टि गर्छ । वि.सं. २०६७ सालको असोजमा चितवनमा एउटा बाघ होटलमा फेला प¥यो । उद्धारपछि केही समय चितवन निकुञ्जको कसरामा पशुचिकित्सकको रेखदेखमा रहेपछि बाघ स्वस्थ भयो । त्यसलाई बर्दिया लगेर छाड्ने निर्णय भयो । नमो बुद्ध नाम राखेर सो बाघलाई निकै तामझामका साथ बर्दिया लगियो । बाघको घाँटीमा सेटलाइट जडित रेडियोकलर बाँधियो । त्यस प्रकारको अत्याधुनिक रेडियोकलरले काठमाडौँमा बसेर नै बाघ कहाँ छ, पत्ता लाग्छ भनियो ।
तर, केही दिनपछि एकाएक बाघ गायब भयो । खोजी गर्दै जाँदा बाघ फेला परेन, रेडियोकलर भने भेटियो । अधिकारीहरुले बाघ चोरी तस्करले नै मारेको ठहर गरे । बाघ तस्करहरु कति शक्तिशाली छन् भन्नका लागि यो उदाहरण नै काफी छ । भारतका विभिन्न संरक्षित क्षेत्रहरुमा चोरीसिकारका घटना बढेको खबर त्यहाँका सञ्चारमाध्यममा आइरहेका छन् । त्यसमाथि, डरलाग्दो अर्को खबर पनि छ, कुख्यात बाघ तस्कर संसारचंदको रिहाइ ।
भारत राजस्थानमा रहेको सरिस्का नेसनल पार्कका पूरै बाघ मारेर अंगको कारोबार गरेको आरोप लागेका संसारचंद केही दिनमै छुट्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सन् २००५ मा समातिएका संसारचंदमाथि लागेका आरोपहरुको पर्याप्त प्रमाण नभएपछि दुई सय बाघ मार्ने मुद्दाका अभियुक्त संसार रिहा हुँदा नेपालमा पनि तस्करहरुले टाउको उठाउने जमर्को अवश्य गर्नेछन् ।
संसारचंद जेलबाट छुटेर बाघको अंगको कारोबारमा फेरि हात हालेमा भारतका मात्रै होइन, नेपालका बाघ पनि उनको निशानामा पर्नेछन् । चोरीसिकार पहिलाको भन्दा झनै बढेर जाने सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन । तस्करले बाघ नमारुन् र बाघले स्थानीयलाई नमारोस्, यी दुई कुरालाई ध्यानमा राखेर संरक्षण योजना बनाए सफलता अवश्य मिल्नेछ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete