
भदौ महिनाको चर्को गर्मी, आकास बादल बिहीन थियो । मध्य दिनको सुर्यको तापले सडकको कालोपत्रे पग्लेलाझै भएको थियो । यस्तो बेलामा ६९ वर्षका एक बृद्ध प्ले कार्ड बोकेर सडकमा निस्किए । चितवनको विकट पहाडी गाविस कोराकका बिर्खबहादुर चेपाङ 'समय मै संविधान देऊ' भन्ने नारा लगाउँदै खाली खुट्टा तातो पिचमा फटाफट हिँडे । हामीले पढेको राजाको सम्झना गराउँदैन त यो दृश्यले ।
नेपाल चेपाङ संघ चितवन जिल्ला कार्य समितिले भरतपुरमा आयोजना गरेको दवाव र् याली र कोणसभामा भाग लिन उनी कोराकबाट आएका हुन् । भरतपुरबाट उत्तर पुर्वी दिशामा रहेको कोराक ५० किलो मिटर टाढा छ । तर २० किलो मिटर मोटर बाटोमा हिडेर अरु बाटो पैदल जानु पर्छ । 'गाउँमा चप्पल लगाउने गरेको छैन' संविधान माग्न सदरमुकाम आएका बिर्खबहादुरले भने ।

संविधान के हो ? सरकार के हो ? अहिले प्रधानमन्त्री को छ ? यस्ता कुराको केही मेसो छैन उनलाई । हिजो देशमा अशान्ति थियो भन्ने कुरा भने थाहा छ उनलाई । उनको गाउँमा लुक्नका लागि माओवादी जान्थे माओवादी खोज्दै सेना पनि पुग्थे । भिडन्त भएर मान्छे पनि मरे । कोराकको चिप्लेटी र नजिकैको वीरेन्द्रनगरमा भिडन्त भएर मान्छे मरेको उनको दिमागमा ताजै छ ।
'अब त्यस्तो लडाइ नहोस भन्ने चाहना मात्रै हो । मलाई अरु धेरै कुरा थाहा भएन' बिर्खबहादुरले भने । तर उनका चाहना यहाँका नेताले सुन्ने नसुन्ने ठेगान छैन । गाउँका साथीहरुले जाउँ भनेकाले उनी सदरमुकाम आएका हुन् । गाउँबाट भरतपुर पनि उनी कमै आउजाउ गर्छन् । संविधान माग्न चितवनमा विभिन्न पहाडी गाउँबाट भरतपुर आएका चेपाङहरुमा बिर्खबहादुर जस्ता चप्पल बिहीन चेपाङ चारजना थिए ।
भरतपुरको केन्द्रीय बसपार्कमा भेला भएर उनीहरुले र् याली निकाले । तीन् किलो मिटर तातो पिच हिडेर र् याली चितवन जिल्ला विकास समितिको कार्यलय प्राङगण भित्र छिर् यो । जहाँ कोणसभा सम्पन्न भयो । 'चेपाङ बहुल्य चितवन धादिङ गोरखा मकवानपुर र तनहुँमा जिल्लामा हामीले र् याली निकालेका हौं' नेपाल चेपाङ संघका केन्द्रीय महासचिव यमन चेपाङले जानकारी दिए ।
भदौ १४ मा संविधानको मस्यौदा जारी हुनु पर्ने उनीहरुको माग थियो । चेपाङ बाहुल्य क्षेत्रलाई चेपाङ स्वायत्त गणराज्य घोषणा गर्नु पर्ने उनीहरुको अर्को मुख्य माग रहेको छ । विकट क्षेत्रमा बस्ने लोपोन्मुख अवस्थाका जाति भए पनि संविधान सभामा दुईजना चेपाङ पुगेको छन् । माओवादी र एमालेले समानुपातिक सिटमा एक एकजना चेपाङलाई सभासद बनाएका छन् ।
No comments:
Post a Comment