
महराको घोषणा आएको केही समयपछि नै चरी पक्राउ परेका छन् । पक्राउ पर्नमा डब्लुसीएनको सुराकीले काम गरेको भन्ने पढ्न पाइयो पत्रिकाहरुमा । झण्डै एक किलोको खाग बिक्री गर्न लागेको भन्ने आरोपमा समातिएर चरी सहितका मान्छेहरु अहिले चितवन निकुंजको हिरासत कक्षमा गुम्सिन बाध्य छन् । जंगलमा चराले बनाउने गुँड बराबरको पनि छैन चितवन निकुंजको हिरासत कक्ष । सुराकी दिएर चरीलाई समाउन लगाउने डब्लुसीएनको रेकर्ड भने त्यत्ति राम्रो छैन है चितवनमा ।
डब्लुसीएनले सुराकी दिएर खाग सहित एक ताका भटाभट मान्छे समातिन्थे । चितवनको भण्डारादेखि मुग्लिनसम्म प्रहरीले धेरैलाई समात्यो । अनि पत्रिकामा नाम आउँथ्यो समातिने, समात्ने र डब्लुसीएनको । समातिएको खाग परीक्षण गर्दा नक्कली भेटियो प्राय । आशंका बढेको थियो नामका लागि मात्रै डब्लुसीएनले केही नक्कली काम त गरेको छैन । एक पटक मनहरीमा बाघको काँचो छाला सहित मान्छे समातिए । डब्लुसीएनको सुराकीमा उनीहरु समातिएका थिए । निकुंजको एकजना अधिकारीले कुरा गर्दथे डब्लुसीएनकै मान्छे गएर बाघ मार्न उक्साएका थिए रे । अनि मारेर छाला काडेपछि निकुंजमा खबर गरेछन् ।
महराको उद्घोषपछि डब्लुसीएनको सुराकीले चरी र रमेश हाल नाम गरेका माओवादी छापामारको सेक्सन सहकमाण्डर काठमाडौंबाट समातिएका छन् खाग सहित । कामना गरौं अघिका जस्तै त्यो खाग नक्कली नपरोस । चरीको खाग प्रकरण टाँयटाँय फिस नहोस । बल्लबल्ल निकंजमा गुँड लगाउन आएको चरी त्यसै भुर्र उडेर गयो भने कम्ता खल्लो हुँदैन है । भाले रुपी सरकारले बनाएको गुँडमा चरी आएर त बसेको छ । उपलब्धि रुपी फुलपार्ने कर्म नगरेको भएत बर्बादै हुन्छ नि, होइन र ? यस्ता चरीलाई अर्को चंखे प्रतिद्वन्दीले गुँडबाट तानेर लैजाने खतरा पनि उत्ति छ हाम्रो नेपालमा । आखिर यो चरी पार्टी रुपी ठुलो रुखको संरक्षणमा छ नि । अनि ठुलो रुखको आड लागेपछि यो गुँड र त्यो गुँड गर्न केही गाह्रो छैन ।
No comments:
Post a Comment